सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हानिकारक सङ्‌गीतदेखि बच्नुहोस्‌!

हानिकारक सङ्‌गीतदेखि बच्नुहोस्‌!

हानिकारक सङ्‌गीतदेखि बच्नुहोस्‌!

“यसकारण कसरी हिंड्‌छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिस जस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।”—एफिसी ५:१५, १६.

१. सङ्‌गीतलाई किन “ईश्‍वरीय वरदान” भन्‍न सकिन्छ?

 “सङ्‌गीत . . . एउटा ईश्‍वरीय वरदान हो।” लुलु रम्‌से विलिले यसप्रकार आफ्नो पुस्तक बाइबल म्युजिक-मा लेखिन्‌। प्राचीन समयदेखिनै ईश्‍वरभीरु पुरूष र स्त्रीहरूले यो भावनालाई मानीलिदैं आएका छन्‌। सङ्‌गीतद्वारा मानिसले आनन्द, दुःख, क्रोध र प्रेम जस्तो गहिरा भावनाहरू पोखेको छ। यसप्रकार बाइबलको समयमा सङ्‌गीतले ठूलो भूमिका निभायो र पवित्र पुस्तकको सुरुदेखि अन्तसम्म यसको उल्लेख गरिएको छ।—उत्पत्ति ४:२१; प्रकाश १८:२२.

२. बाइबलका समयमा सङ्‌गीतलाई कसरी यहोवाको प्रशंसा गर्नमा चलाइयो?

सङ्‌गीतले सबैभन्दा आदरयोग्य चित्रण त यहोवाको उपासनामा पायो। यहोवा परमेश्‍वरका निम्ति रचिएका प्रंशसाका श्रेष्ठ अभिव्यक्‍तिहरू मध्ये केहीलाई मूलतः सङ्‌गीतमै लिपिबद्ध गरिएको थियो। “गाएर म परमेश्‍वरको नाउँको प्रशंसा गर्नेछु,” दाऊदले लेखे। (भजनसंग्रह ६९:३०) एकाकीपनमा प्रार्थनाशील मननलाई साथ दिन सङ्‌गीतको प्रयोग गरिन्थ्यो। आसपले लेखे, “राती मेरो गीत म सम्झन्छु। म मेरै मनमा गुन्छु। र मेरो आत्माले परिश्रमसाथ खोजी गर्छ।” (भजनसंग्रह ७७:६) यहोवाको मन्दिरमा सङ्‌गीतलाई भव्य ढङ्‌गमा सङ्‌गठित गरिएको थियो। (१ इतिहास २३:१-५; २ इतिहास २९:२५, २६) कहिलेकाहीं ठूल-ठूलो सङ्‌गीत टोली सङ्‌गठित गरिन्थ्यो, उदाहरणका लागि मन्दिरको समर्पणमा तुरही बजाउन १२० जना मानिसहरूलाई खटाइएको थियो। (२ इतिहास ५:१२, १३) यो भव्य सङ्‌गीत कस्तो सुनियो हामीसँग त्यसको कुनै रेकर्ड छैन तर द म्युजिक अफ द बाइबल नामक पुस्तकले यसो भन्छ: “महत्त्वपूर्ण अवसरहरूका दौडान सङ्‌गीतको सामान्य प्रभावको विषयमा मत प्रकट गर्न गाह्रो हुनेछैन . . . त्यस्तो दृश्‍य बीचमा हामीमध्ये कसैलाई अहिले लग्ने हो भने, आश्‍चर्य र भव्यताको प्रबल अनुभव नगरी रहन सक्दैनौं।” a

सङ्‌गीतको दुरुपयोग

३, ४. परमेश्‍वरको मानिसहरूले र तिनीहरूको मूर्तिपूजक छिमेकीहरूले सङ्‌गीतको उपहारको कसरी दुरुपयोग गरे?

तथापि, सङ्‌गीतको सधैं त्यस्तो श्रेष्ठ उपयोगको लागि मात्र प्रयोग भएन। सुनको बछेडाको मूर्तिपूजा गर्न उस्काउन सीनै पर्वतमा सङ्‌गीतकै प्रयोग गरिएको थियो। (प्रस्थान ३२:१८) बेला-बेलामा सङ्‌गीतलाई मतवालीपन र वेश्‍यावृति समेतसँग पनि जोडिएको थियो। (भजनसंग्रह ६९:१२; यशैया २३:१५) यस ईश्‍वरीय वरदानको दुरुपयोग गर्नमा इस्राएलको मूर्तिपूजक छिमेकीहरू पनि कम दोषी थिएनन्‌। द इन्टरप्रेटर्स डिक्सनरी अफ द बाइबल-ले भन्छ, “फोनिसिया र सिरियामा, प्राय सबैजस्तो लोकप्रिय सङ्‌गीतहरूले प्रजनन शक्‍तिको देवी इस्तारको उपासनालाई प्रतिबिम्बित गर्थ्यो। अतः लैङ्‌गिक उत्सवहरूको आरम्भनै प्राय लोकप्रिय सङ्‌गीत हुन्थ्यो।” त्यस्तै प्राचीन युनानीहरूले पनि “कामुक नृत्यहरू”-लाई साथ दिन सङ्‌गीतको प्रयोग गर्दथे।

हो, सङ्‌गीतसँग प्रेरणा दिने, मोहित गर्ने र प्रभाव पार्ने शक्‍ति छ। केही दशक अघि जोन स्टेनरले आफ्नो पुस्तक द म्युजिक अफ द बाइबल-मा झन्‌ यसो भनेर दावा समेत गरे: “वर्तमान समयमा मानवजातिमाथि सङ्‌गीतले जस्तो प्रभाव अरू कुनै कलाले पारेको छैन।” अहिलेसम्म पनि सङ्‌गीतले बलियो प्रभाव पारिनैराखेको छ। तसर्थ, ईश्‍वरभीरू जवानहरूका लागि खराब प्रकारका सङ्‌गीतले गम्भीर खतरा ल्याउन सक्छ।

सावधान हुन आवश्‍यक

५. (क) धेरै किशोर-किशोरीहरूको जीवनमा सङ्‌गीतले कस्तो ठूलो भूमिका खेल्छ? (ख) जवानहरूले आनन्द उठाउने सम्बन्धमा परेमश्‍वरको विचारधारा के छ?

यदि तपाईं एकजना जवान व्यक्‍ति हुनुहुन्छ भने तपाईंकै उमेरका थुप्रै व्यक्‍तिहरूलाई सङ्‌गीत—विशेषगरी विभिन्‍न प्रकारको पप (pop) र रक (rock) सङ्‌गीत कति महत्त्वपूर्ण छ भनेर तपाईंलाई राम्रैसँग थाहा छ। सङ्‌गीतलाई “किशोरवस्थाको रचानान्तर (metabolism)-को एउटा भाग” भनिएको छ। यो अनुमान लगाइएको छ कि आफ्नो स्कूलको पढाइको अन्तिम छ वर्षहरूको दौडान एकजना अमेरिकी युवाले हरेक दिन चार घण्टा रक सङ्‌गीत सुन्‍न बिताउनेछ! निश्‍चयनै यसले सन्तुलनको कमीलाई देखाउँछ। तपाईंलाई आनन्द र रमाईलो लाग्ने कुनै कुराको आनन्द उठाउनुमा त्यस्तो कुनै गल्ती छैन। निश्‍चयनै आनन्ददायी सङ्‌गीतको सृष्टिकर्ता यहोवा, जवानहरू उदास र दुःखी भएको चाहनुहुन्‍न। वास्तवमा भन्‍ने हो भने, उहाँ आफ्नो मानिसलाई यसो भनेर आज्ञा गर्नुहुन्छ: “हे धर्मात्मा हो, परमप्रभुमा मग्न होओ र रमाओ। र सोझो हृदय भएका हो, तिमीहरू सबै आनन्दसाथ कराओ।” (भजनसंग्रह ३२:११) जवानहरूलाई चाहिं उहाँको वचनले यसो भन्छ: “ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर।”—उपदेशक ११:९.

६. (क) सङ्‌गीतप्रतिको आफ्नो छनौटबारे युवाहरू सावधान हुन किन आवश्‍यक छ? (ख) बितेका पुस्ताको भन्दा वर्तमान समयको धेरैजसो सङ्‌गीत किन झन्‌ बढी आपत्तिजनक छन्‌?

तर त्यसो भए पनि तपाईंले छान्‍नु भएको सङ्‌गीतप्रति होशियारी हुनुपर्ने एउटा राम्रो कारण छ। एफिसी ५:१५, १६-मा प्रेरित पावलले यसो भने: “यसकारण कसरी हिंड्‌छौं ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।” शायद केही युवाहरूले आपत्ति प्रकट गलार्न, जस्तो एउटी जवान केटीले गरिन, तिनले भनिन्‌: “हाम्रा आमा-बाबुहरू जवान हुँदा, आफूलाई मनपर्ने सङ्‌गीत तिनीहरूलाई नसुनी हुँदैन थियो। हामीले चाहिं आफ्नो किन सुन्‍नु हुँदैन?” तपाईंकै उमेरको हुँदा तपाईंका आमा-बाबुहरूले आनन्द उठाएका केही सङ्‌गीतहरूमा पनि शायद आपत्तिजनक कुराहरू थिए होलान्‌। राम्रोसँग केलाएर हेर्दा त्यतिबेला स्तरयोग्य मानिएका धेरैजसो लोकप्रिय सङ्‌गीतहरूमा निकै मात्रामा लैङ्‌गिक छेडपेचहरू र अनैतिकता सम्बन्धी अस्पष्ट शब्दहरू भएको पाइयो। तर जुन कुरालाई एकताका इशारा मात्रै गरिन्थ्यो त्यही कुरालाई अहिले स्पष्टरूपमा खुल्लम खुल्ला वर्णन गरिन्छ। एकजना लेखकले यसो भनेर टिप्पणी गरे: “बच्चाहरूलाई स्पष्ट सन्देशहरूले यति मात्रामा प्रहार गरिन्छ कि हाम्रो संस्कृतिले अहिलेसम्म त्यस्तो कुनै कुरा देखेकै छैन।”

र्‌याप (Rap) सङ्‌गीत—विद्रोहको सङ्‌गीत

७, ८. (क) र्‌याप सङ्‌गीत भनेको कस्तो हुन्छ, र यसको लोकप्रियताको कारण के हो? (ख) र्‌याप जीवन-शैली पछ्याउने व्यक्‍तिलाई कुन कुराहरूले चिनाउन सक्छ?

उदाहरणको लागि, र्‌याप सङ्‌गीतको वर्तमान फैसनलाई विचार गर्नुहोस्‌। टाइम पत्रिकाअनुसार र्‌याप “एउटा प्रमाणिक, ताल र लयको विश्‍वव्यापी क्रान्ति” भएको छ र ब्राजिल, युरोप, जापान, रुस र अमेरिकामा यसप्रकारको सङ्‌गीत अति नै लोकप्रिय छ। यसप्रकारको सङ्‌गीत प्राय लय विनाको हुन्छ र गीतका शब्दहरूलाई गाइनुको सट्टा प्रभावशाली तालसँग मिलाएर बोलिन्छ। र्‌याप सङ्‌गीतको ठूलो व्यापारिक सफलताको रहस्य शायद त्यही प्रभावशाली तालहरूमा लुकेको हुनसक्छ। एकजना जापानी युवतीले भनिन्‌, “म जब र्‌याप सङ्‌गीतलाई सुन्छु, म एकदम उत्तेजित हुन्छु र नाच्दाखेरि आफूलाई स्वतन्त्र महसुस गर्छु।”

प्राय दुर्वचन र सडकछाप बोलीको कर्कश मिसावटले बनेको र्‌याप गीतका शब्दहरू पनि र्‌याप सङ्‌गीतको लोकप्रियताको अर्को कारण हुनसक्छ। रक सङ्‌गीतमा अक्सर प्रयोग गरिने बोलको विपरित, जुन धेरैजसो किशोर प्रेमको विषयमा हुन्छ, र्‌याप सङ्‌गीतको बोलमा धेरैजसो गम्भीर सन्देशहरू हुन्छन्‌। कुनै कुनै र्‌याप सङ्‌गीतले अन्याय, जातीयवाद र पुलिसहरूले गर्ने निर्दयताको विरूद्धमा बोल्दछ। तथापि, सुर मिल्ने कोरस (chorus)-लाई कहिलेकाहीं एकदम अश्‍लील र कल्पनै गर्न नसकिने फोहर भाषाहरूमा गाइएको हुन्छ। पहिरन, श्रृंगार-पटार र लैङ्‌गिक नैतिकताका स्तरहरूको विरुद्धमा पनि र्‌याप सङ्‌गीतले विद्रोह स्थापित गरेको जस्तो देखिन्छ। त्यसकारण र्‌याप एउटा जीवन-शैली बन्‍नु कुनै अनौठो कुरा होइन। यस प्रकारका जीवन शैली अपनाउनेहरू तिनीहरूको भड्‌किलो इशाराहरू, सडकछाप बोली र तिनीहरूको लुगा—ब्यागी जीन पाइन्ट, फित्ता नबाँधिकन लगाएको माथी सम्म आउने जुत्ता, सुनको सिक्री, बेसबल क्याप र कालो चस्माबाट चिनिन्छन्‌।

९, १०. (क) र्‌याप सङ्‌गीत र त्यसको जीवन-शैली “प्रभुलाई मनपर्ने” हो कि होइन भनेर थाहा लगाउन कुन कुराहरूलाई युवाहरूले विचार गर्नुपर्छ? (ख) कुन कुरालाई कुनै कुनै मसीही युवाहरूले हलकासँग लिइरहेको जस्तो देखिन्छ?

एफिसी ५:१०-मा मसीहीहरूलाई “प्रभुलाई मनपर्ने के हो सो जाँचेर [राख]” भनेर सल्लाह दिइएको छ। र्‌यापले आफ्नो लागि कमाएको ख्यातीलाई विचार गर्दा के तपाईं त्यसमा सम्मिलित हुनु “प्रभुलाई मनपर्ने” हुन्छ जस्तो तपाईंलाई लाग्छ? संसारका कतिपय मानिसहरूले समेत अस्वीकार्य ठानेका जीवन-शैलीद्वारा परिचित हुन के एकजना जवान मसीहीले चाहने छ र? एकजना समालोचकले र्‌याप सङ्‌गीत समारोहलाई कसरी व्याख्या गरे त्यसलाई ध्यान दिनुहोस्‌: “अश्‍लीलता र स्पष्ट लैङ्‌गिक बोलहरूद्वारा उज्जन्ड देखिनका लागि र्‌याप गायकहरूले एक-आपसमा प्रतिस्पर्धा गरे . . . नतर्क, नतर्कीहरूले मञ्चमै लैङ्‌गिक क्रियाहरूको नकल गरेर देखाए।” एउटा मुख्य प्रदर्शनको सम्बन्धमा एकजना प्रवर्तकले यसो भने: “तिनीहरूको मुखबाट निस्कने प्रायजसो सबै शब्दहरू अश्‍लील हुन्छन्‌।”

१० त्यसो भए तापनि त्यस साँझ बजाइएको सङ्‌गीतलाई साधारण र्‌याप ठानिएको थियो। जहाँ सङ्‌गीत समारोह भएको थियो त्यस सभा-भवनको निर्देशकले यसो भने: “तपाईंले जे सुनिरहनुभएको छ त्यो त साधारण र्‌याप मात्र हो—जुन जवानहरूले पसलहरूबाट किनिरहेको छन्‌।” त्यस सङ्‌गीत समारोहमा उपस्थिति हुने ४,००० भन्दा बढी जवानहरूमध्ये, आफूलाई यहोवाका साक्षी भनी दावा गर्नेहरू पनि थिए भनेर रिपोर्ट दिनु कति दुःखलाग्दो कुरा हो! शैतान “आकाशको शक्‍तिको मालिक” हो भन्‍ने कुरालाई कसै कसैले प्रत्यक्षत हलका ठानिरहेका छन्‌। त्यही शैतानले “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा [अथवा प्रबल मानसिक प्रवृत्ति]” लाई सञ्चालन गर्छ। (एफिसी २:२) तपाईं यदि र्‌याप सङ्‌गीतमा वा र्‌याप जीवन-शैलीमा शामेल हुनुभयो भने तपाईंले कसको इच्छा पूरा गरिरहेको हुनेछ? हो, यो कुरा सही हो कि कुनै कुनै र्‌यापमा भएका कुराहरू कम आपत्तिजनक होला। तर मसीही स्तरहरूका लागि मुख्यतः आपत्तिजनक हुने कुनै पनि प्रकारका सङ्‌गीतप्रति चासो बढाउनु के समझदारी कुरा हो र?

हेभी मेटल (Heavy Metal)—यौन, हिंसा र शैतानवाद

११, १२. (क) हेभी मेटल सङ्‌गीत कस्तो हुन्छ र कस्तो आपत्तिजनक कुराहरूले त्यसलाई परिचित गराउँछ?

११ अर्को प्रकारको लोकप्रिय सङ्‌गीत हेभी मेटल हो। हेभी मेटल चर्को स्वरको हार्ड रक (hard rock) भन्दा भिन्दै छ। द जरनल अफ द अमेरिकन मेडिकल एसोसिएसन-मा दिएको रिपोर्टले यसो भन्छ: “हेभी मेटल सङ्‌गीत . . . चर्को थर्काउने ताल र त्यस्ता शब्दहरूले भरपूर हुन्छ जसले घृणा, दुर्व्यवहार, लैङ्‌गिक भ्रष्टता र कहिलेकाहीं शैतानवादलाई समेत महिमित गर्छ।” भनौं भने, अति लोकप्रिय भएका केही सङ्‌गीत टोलीको नाउँले समेत यस प्रकारको सङ्‌गीतको भ्रष्टताको गवाही दिन्छ। “विष,” “बन्दुक” र “मृत्यु” जस्ता शब्दहरू त्यस्ता नाउँमा प्रयोग गरिएको हुन्छ। तथापि, हेभी मेटलबाटै निस्केका थ्रास मेटल (thrash metal) र डेथ मेटल (death metal) को दाँजोमा हेभी मेटल सङ्‌गीत शान्त देखिन्छ। यी सङ्‌गीत टोलीहरूको नाउँले “मनुष्यभक्षी” र “निधन सुचना” जस्ता शब्दहरूको प्रयोग गर्छ। यी नाउँहरू अंग्रेजी वा अन्य विदेशी भाषामा भएको हुँदा धेरैजसो मुलुकका जवानहरूले ती नाउँहरू कति घृणित छन्‌ भनेर शायद महसुस नगर्लान्‌।

१२ हेभी मेटल सङ्‌गीतलाई बारम्बार कैशोर्य आत्माहत्या, निराशा र लागू पदार्थको प्रयोगसँग जोडेको छ। हिंसात्मक व्यवहारसँग यसको नजीक सम्बन्ध देखेर एकजना रेडियो परामर्शकले यसलाई “तपाईंको माता-पितालाई मार्ने सङ्‌गीत” भनेर उपनाम दिए। शैतानवादसँगको यसको लसपस, माता-पिताहरू—र प्रहरी अधिकारीहरूका लागि चिन्ताको कारण भएको छ। एउटा अन्वेषककले दावा गरे कि शैतानी उपासनामा कौतूहल राख्ने युवाहरू यही सङ्‌गीतद्वारानै उत्प्रेरित भएर यस्तो तन्त्र विद्यामा फँसेका हुन। “आफू कस्तो कुरामा लाग्दै छन्‌ भनेर तिनीहरूलाई थाहै छैन,” तिनी निष्कर्षमा भन्छन्‌।

१३. हेभी मेटल सङ्‌गीतमा मुछिदाँ कस्तो खतराहरू हुनसक्छ?

१३ तथापि, मसीही युवाहरू “[शैतानका] युक्‍तिहरूका विषयमा . . . अजान” हुनुहुँदैन। (२ कोरिन्थी २:११) आखिरमा जे भए पनि “हाम्रो यो लडन्त . . . स्वर्गीय स्थानहरूमा दुष्ट्याँइका आत्मिक सेनाहरूको विरुद्धमा हो।” (एफिसी ६:१२) आफूलाई मनपर्ने सङ्‌गीतद्वारा आफ्नो जीवनमा प्रेतहरूलाई प्रवेश गर्न दिनु कति मूर्खता हुनेछ! (१ कोरिन्थी १०:२०, २१) भए पनि, प्रत्यक्षतः थुप्रै मसीही युवाहरू यसप्रकारको सङ्‌गीतलाई रूचाउँछन्‌। आफूलाई मनपर्ने सङ्‌गीत सुन्‍ने इच्छालाई पूरा गर्न कसै कसैले गुप्त उपायहरूको पनि सहारा लिएका छन्‌। एकजना जवान केटीले यसरी दोष स्वीकार गर्छिन्‌: “कहिलेकाहीं म रातभरि हेभी मेटल सङ्‌गीत सुन्‍ने गर्थें। हेभी मेटल सम्बन्धी पत्रिकाहरू किनेर त्यसलाई मेरो आमा-बाबुले नदेखोस्‌ भनेर म त्यसलाई जुत्ताको बाकसभित्र लुकाउँथें। मैले मेरा आमा-बाबुलाई ढाँटे। मलाई थाहा छ यहोवा मसँग खुशी हुनुहुन्‍न थियो।” अवेक! पत्रिकाको एउटा लेखद्वारा तिनले आफ्नो विचारलाई सुधारे। अरू कति युवाहरू अझ पनि यस्ता सङ्‌गीतको पासोमा पर्ने होला?

जे रोप्यो त्यसैको कटनी गर्ने

१४, १५. हानिकारक सङ्‌गीत सुन्‍नाले नकारात्मक प्रभाव पार्नेछ भनी हामी किन विश्‍वस्त हुनसक्छौं? उदाहरण दिनुहोस्‌।

१४ यस्ता सङ्‌गीतले ल्याउन सक्ने खतरालाई हलका नठान्‍नुहोस्‌। हो, तपाईंले त्यसप्रकारको सङ्‌गीत सुन्यो भन्दैमा तपाईं कसैको ज्यान लिन वा लैङ्‌गिक अनैतिकतामा फँस्न प्रवृत नहुनुहोला। तथापि, गलाती ६:८ ले यसो भन्छ: “जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ।” सांसारिक, जङ्‌गली र भूताआ सङ्‌गीतलाई सुन्‍नाले तपाईंमाथि नकारात्मक प्रभाव मात्र पर्नसक्छ। (याकूब ३:१५ तुलना गर्नुहोस्‌) सङ्‌गीतको प्रोफेसर जोसेफ स्टुसेले यसो भनेको उदृत गरिएको छ: “हाम्रो मनस्थिति, भावना, मनोवृति र हाम्रो व्यवहारलाई जुनसुकै प्रकारको सङ्‌गीतले पनि असर गर्छ . . . ‘हेभी मेटल सुनेर पनि मलाई केही हुँदैन’ भन्‍ने व्यक्‍तिहरू गलत धारणामा छन्‌। यसले फरक फरक मानिसहरूलाई फरक फरक ढङ्‌गमा कम वा बढी असर गर्छ।”

१५ एकजना मसीही युवा मानिलिन्छ: “म थ्रास मेटलमा यति नराम्रोसँग मुछिएको थिएँ कि मेरो पूरै व्यक्‍तित्त्व नै बद्‌लियो।” चाँडै नै तिनले प्रेतहरूसँग समस्याहरू अनुभव गर्न थाले। “अन्तमा मैले मेरो सबै क्यासेटहरू फालिदिएँ र प्रेतहरूबाट मुक्‍त भएँ।” अर्को एकजना जवानले यसो भन्दै आफ्नो दोष प्रकट गर्छ: “मैले सुन्‍ने गरेको सङ्‌गीत या त प्रेतवाद र लागू पदार्थसँग वा यौनसँग सम्बन्धित हुन्थ्यो। आफूलाई त्यसले असर गर्दैन भनेर धेरै युवाहरू भन्छन्‌ तर त्यसले साँच्चैनै असर गर्छ। म सच्चाईंबाट झन्डै बाहिर भइसकेको थिएँ।” एउटा हितोपदेशले यसो भन्दै सोध्छ: “आफ्नो लुगा नडढाइकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्नसक्छ?”—हितोपदेश ६:२७.

सतर्क हुनुहोस्‌

१६. आज हाम्रो समयको सङ्‌गीतलाई लेख्ने र प्रस्तुत गर्ने व्यक्‍तिहरूको विषयमा के भन्‍न सकिन्छ?

१६ प्राचीन एफिससको मसीहीहरूलाई पावलले लेखे: “यसकारण म यो भन्छु, र प्रभुमा साक्षी दिन्छु कि तिमीहरू फेरि यस्तो चाल नचल जस्तो अन्यजातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्दछन्‌। तिनीहरूका हृदय कठोर भएका र तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना भए।” (एफिसी ४:१७, १८) आज हामीले सुन्‍ने सङ्‌गीतलाई लेख्ने र प्रस्तुत गर्ने व्यक्‍तिहरूको विषयमा के यही कुरा भन्‍नु मिल्दैन र? झन अहिले त सबै प्रकारको सङ्‌गीतले “यस संसारको देव”-को प्रभाव प्रतिबिम्बित गर्छ।—२ कोरिन्थी ४:४.

१७. कसरी युवाहरूले कुन सङ्‌गीत सुन्‍ने भनेर निर्णय गर्न र जाँच्न सक्छन्‌?

१७ “अखिरी दिन”-को सम्बन्धमा बाइबलले यो भविष्यवाणी गरेको थियो: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।” (२ तिमोथी ३:१, १३) त्यसकारण तपाईं कस्तो प्रकारको सङ्‌गीत छान्‍नुहुन्छ भनेर, अहिले झन्‌ बढी सजग हुनुपर्छ। प्राय क्यासेटहरूको अश्‍लील शीर्षकबाट नै त्यो सङ्‌गीत सुन्‍न अयोग्य छ भनेर थाहा लगाउन सकिन्छ। अय्यूब १२:११ ले सोध्छ: “के जिब्रोले खानेकुराको स्वाद लिएझैं बोलेको वचन कानले जाँच गर्दैन र?” त्यस्तैगरी विवेचित कानले सङ्‌गीतको एउटा नमूनालाई सुनेर तपाईं त्यसलाई जाँच्न सक्नुहुन्छ। सङ्‌गीतको लयले तपाईंमा कस्तो किसिमको भावनालाई जगाउँछ? के त्यसले जङ्‌गली र भ्रष्ट व्यवहार—हो-हल्ला र मोजमज्जाको आत्मालाई प्रोत्साहित गर्छ? (गलाती ५:१९-२१) गीतको बोल नि? के त्यसले लैङ्‌गिक अनैतिकता, लागू पदार्थको प्रयोग वा “बोल्नु पनि शर्म” लाग्ने अरू गलत कामहरूलाई जोड दिन्छ? (एफिसी ५:१२) त्यस्ता कुराहरूको “नाउँसमेत पनि” परमेश्‍वरका मानिसहरूबीच नलिइओस्‌ भनेर बाइबलले भन्छ। त्यस्ता कुराहरू बारम्बार दोहोऱ्‍याउनु र त्यसमा धेरै व्यस्त हुनु हुँदैन। (एफिसी ५:३) क्यासेटको खोलको विषयमा के भन्‍न सकिन्छ? के त्यसमा प्रेतवादसँग सम्बन्धित शीर्षकहरू वा लैङ्‌गिक भावना जगाउने खालका चित्रहरू छन्‌?

१८. (क) सङ्‌गीतको सम्बन्धमा केही युवाहरूले कस्तो परिवर्तन गर्नु पर्नसक्छ? (ख) स्वस्थकार सङ्‌गीतप्रति युवाहरूले कसरी रुचि जगाउन सक्छन्‌?

१८ शायद तपाईंले आफूले सुन्‍ने गरेको सङ्‌गीतमा केही परिवर्तन ल्याउनु आवश्‍यक होला। यदि तपाईंसँग अनैतिक र प्रेतवादसँग सम्बन्धित शीर्षकहरू भएको रेकर्ड, टेप र डिस्कहरू छन्‌ भने त्यसलाई तपाईंले तुरुन्तै फालिहाल्नुपर्छ। (प्रेरित १९:१९ तुलना गर्नुहोस्‌।) यसको अर्थ तपाईंले सङ्‌गीतको आनन्द लिनै हुँदैन भनेको होइन; सबै लोकप्रिय सङ्‌गीतहरू आपत्तिजनक छैनन्‌। केही युवाहरूले सङ्‌गीतप्रतिको आफ्नो रुचिलाई बढाउन सिकेका छन्‌ र अहिले केही प्रकारका शास्त्रीय सङ्‌गीत, लोक सङ्‌गीत, हलका जाज (Jazz) र अन्य प्रकारको सङ्‌गीतको अनन्द उठाउँछन्‌। किङ्‌गडम मेलोडिज-ले धेरै युवाहरूलाई उल्लासपूर्ण अर्केष्ट्रा (orchestra) सङ्‌गीत प्रति रुचि बढाउन मदत गरेको छ।

१९. सङ्‌गीतलाई त्यसको आफ्नो ठाउँमा राख्नु किन आवश्‍यक छ?

१९ सङ्‌गीत एउटा ईश्‍वरीय वरदान हो। तथापि, धेरैजनाको निम्ति यो हानिकारक तल्लिनता बन्‍न पुग्छ। तिनीहरू प्राचीन समयका इस्राएलीहरूझैं छन्‌ जो “वीणा, सारङ्‌गी, ढोलक, बाँसुरी”-को आनन्द उठाउँथे “तर तिनीहरू परमप्रभुको कामको वास्ता गर्दैन [थिए]।” (यशैया ५:१२) सङ्‌गीतलाई त्यसको आफ्नै ठाउँमा राख्ने र यहोवाको क्रियाकलापलाई आफ्नो मुख्य चासोको विषय बनाउने लक्ष्य राख्नुहोस्‌। तपाईंले सुन्‍ने गरेको सङ्‌गीतप्रति होशियार हुनुहोस्‌ र ध्यान पुऱ्‍याएर छान्‍ने गर्नुहोस्‌। यसप्रकार तपाईंले ईश्‍वरीय वरदानको दुरुपयोग नभई सदुपयोग गर्न सक्नुहुनेछ। (w93 4/15)

[फुटनोटहरू]

a इस्राएलको राष्ट्रले सङ्‌गीत कला क्षेत्रमा प्रत्यक्षतः निकै उन्‍नति गरेका थिए। राजा हिजकियाहसित राजा सनहेरीबले इस्राएली सङ्‌गीतकारहरूलाई कर स्वरूप मागेका थिए भनेर एउटा अश्‍शुरी प्रतिमाद्वारा थाहा लागिएको छ। ग्रुभ्स डिक्सनरी अफ म्युजिक एण्ड म्युजिसियन भन्छ: “सङ्‌गीतकारहरूलाई कर स्वरूप माग्नु . . . साँच्चै नै एउटा अनौठो कुरा थियो।”

के तपाईंलाई सम्झना छ?

▫ सङ्‌गीतलाई किन ईश्‍वरीय वरदान भन्‍नु मिल्छ?

▫ प्राचीन समयमा सङ्‌गीतको दुरुपयोग कसरी गरियो?

▫ र्‌याप र हेभी मेटल सङ्‌गीतले मसीही युवाहरूका निम्ति कस्तो खतरा प्रदान गर्छ?

▫ सङ्‌गीतप्रतिको आफ्नो छनौटमा मसीही युवाहरू कसरी होशियार हुनसक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]