तपाईं विरुद्ध बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ
तपाईं विरुद्ध बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ
“तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ।”—यशैया ५४:१७.
१, २. यशैया ५४:१७ मा लिपिबद्ध प्रतिज्ञा साँचो हो भनेर अल्बेनियाका साक्षीहरूको अनुभवले कसरी देखाउँछ?
दशकौंअघि युरोपको दक्षिणपूर्वी भागमा पर्ने एउटा सानो पहाडी देशमा मसीहीहरूको एउटा निडर समूह थियो। ईश्वर नै नमान्ने कम्युनिस्ट सरकारले तिनीहरूलाई दबाउन सकेजति प्रयास गऱ्यो। तर यातना, श्रम शिविर र झूटो प्रचार-प्रसारले तिनीहरूको जरा उखेल्न सकेन। तिनीहरू को थिए? अल्बेनियाका यहोवाका साक्षीहरू। तिनीहरूलाई एकसाथ भेला हुन र प्रचार गर्न अत्यन्तै गाह्रो थियो। तैपनि, तिनीहरू वर्षौंको दौडान दृढतापूर्वक लागिरहेको कारण साँचो मसीहीधर्म उच्च पारियो र महिमित भयो, साथै यहोवाको नाउँको पनि प्रशंसा भयो। गत वर्ष अल्बेनियाको नयाँ शाखा कार्यालयको समर्पणमा धेरै वर्षदेखि विश्वासीपूर्वक सेवा गरिरहेका एक साक्षी भाइले यसो भने: “शैतानले जति नै प्रयास गरे पनि त्यसले हार खाइरहन्छ र जित यहोवाकै भइरहन्छ!”
२ यी सबै, आफ्ना जनहरूसित परमेश्वरले गरेको प्रतिज्ञा साँचो हो भन्ने कुराको जिउँदो-जाग्दो प्रमाण हुन् जुन प्रतिज्ञा यशैया ५४:१७ मा लिपिबद्ध छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्ने जोसुकैलाई पनि तैंले हराउनेछस्।” इतिहास साक्षी छ, यहोवाका जनहरूलाई उहाँको उपासना गर्नबाट शैतानको संसारले कहिल्यै रोक्न सक्दैन।
शैतानको असफल प्रयास
३, ४. (क) शैतानले कस्ता हतियारहरू चलाउँछ? (ख) कुन तरिकामा शैतानको हतियार विफल साबित भएको छ?
३ साँचो उपासकहरू विरुद्ध उठाइएका हतियारहरूमा प्रतिबन्ध, हूलदंगा, काराबास र ‘ऐनद्वारा विपद् ल्याउनु’ समावेश छन्। (भजन ९४:२०; NRV) भनौं भने, हामीले अहिले यो लेख पढ्दै गर्दा समेत कतिपय मुलुकमा परमेश्वरप्रति निष्ठा कायम राख्ने सन्दर्भमा साँचो मसीहीहरू “परीक्षामा” परिरहेका छन्।—प्रकाश २:१०.
४ उदाहरणका लागि, यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालयले रिपोर्ट दिएअनुसार त्यहाँ केवल एक वर्षभित्र ३२ वटा यस्ता घटना भए जसमा सेवकाईमा भाग लिइर हेको बेला परमेश्वरका सेवकहरूमाथि शारीरिक तवरमा आक्रमण भएको थियो। त्यसबाहेक, ५९ वटा यस्तो घटना भए जसमा प्रचारकार्यमा भाग लिइरहेका जवान, वृद्ध, पुरुष तथा स्त्री साक्षीहरूलाई प्रहरीले गिरफ्तार गरे। कतिपयको औंठा छाप लिइयो, फोटो खिचियो र तिनीहरूलाई अपराधी सरह जेल हालियो। अरू कतिपयलाई चाहिं शारीरिक रूपमा हानि पुऱ्याउने धम्की दिइयो। अर्को एउटा देशमा चाहिं साक्षीहरूलाई गिरफ्तार गरेको, जरिवाना तिराएको वा पिटेको १,१०० वटाभन्दा बढी मामिलाहरूको लिखित रिपोर्ट नै छ। यी मामिलामध्ये २०० भन्दा बढी त येशूको मृत्युको स्मरणार्थमा भेला हुँदा भएका थिए! तैपनि, यी र अन्य मुलुकमा भएको असाध्यै कठिन परिस्थितिको बावजूद यहोवाको आत्माले उहाँका जनहरूलाई बाँच्न सक्षम बनाएको छ। (जकरिया ४:६) यहोवाको प्रशंसा गर्नेहरूको मुखलाई शत्रुहरूको तीव्र रीसले बन्द गर्न सक्नेछैन। हो, हामी विश्वस्त छौं कि कुनै पनि हतियारले परमेश्वरको उद्देश्यलाई जित्न सक्दैन।
झूटो आरोपलाई गलत ठहऱ्याउने
५. प्रथम शताब्दीमा यहोवाका सेवकहरू विरुद्ध कस्ता झूटा आरोपहरू आइलाग्यो?
५ परमेश्वरका जनहरू आफू विरुद्ध लगाइएको आरोपलाई गलत ठहऱ्याउँछन् भनेर यशैयाले भविष्यवाणी गरे। प्रथम शताब्दीमा मसीहीहरूको अक्सर गलत अर्थ लगाइयो, तिनीहरूलाई खराब मानिसहरूको रूपमा चित्रण गरियो। त्यस्तै एउटा आरोप हो, प्रेरित १६:२०, २१ का यी शब्दहरू: “यी मानिसहरू . . . हाम्रो शहरमा साह्रो हलचल मच्चाउँछन्। औ यस्ता यस्ता रीति-थितिहरू सिकाउँछन् जो ग्रहण गर्न र मान्न हामी रोमीहरूलाई उचित हुँदैन।” अर्को घटनामा, धर्म विरोधीहरूले ख्रीष्टका अनुयायीहरू विरुद्ध कदम चाल्न सहरका शासकहरूलाई उक्साउने प्रयास गर्दै यसो भने: “संसारलाई उलट-पुलट पार्नेहरू यता पनि आएछन् [र तिनीहरू] सिजरको उर्दीको विरुद्ध काम गर्दछन्।” (प्रेरित १७:६, ७) प्रेरित पावललाई “एक खतरनाक तत्व” र ‘सारा संसारमा’ राजद्रोह गराइहिंड्ने गुटको मुख्य अगुवा भनेर नाउँ दिइयो।—प्रेरित २४:२-५.
६, ७. साँचो मसीहीहरूले आफूमाथि आइपरेको मौखिक आक्रमणको खण्डन गर्ने एउटा तरिका के हो?
६ त्यसैगरि, आज पनि साँचो मसीहीहरूको एकदमै गलत अर्थ लगाइएको छ, उनीहरूको द्वेषपूर्ण निन्दा गरिएको छ र उनीहरूबारे झूटो कुरा फैलाइएको छ। यसमा हामी छक्क पर्दैनौं। हामी यस्ता मौखिक आक्रमणलाई कसरी गलत ठहऱ्याउँछौं?—यशैया ५४:१७.
७ यहोवाका साक्षीहरू विरुद्ध लगाइएका यस्ता आरोप र झूटो प्रचारबाजी उनीहरूको असल आचरणसित पटक्कै मेल खाँदैन। (१ पत्रुस २:१२) मसीहीहरूले आफूलाई नियमपालक नागरिक र सँगी मानवहरूको हितप्रति साँचो चासो राख्ने नैतिकवान् व्यक्ति प्रमाणित गर्दा तिनीहरू विरुद्ध लगाइएका आरोपहरू झूटा साबित हुन्छन्। हाम्रो असल आचरणले नै यसको गवाही दिन्छ। हामी असल काममा लागिरहेको देख्दा स्वर्गमा हुनुहुने हाम्रा पिताको महिमा गर्न र उहाँका जनहरूको उच्चकोटिको जीवनशैली मानिलिन मानिसहरू अक्सर प्रोत्साहित हुन्छन्।—यशैया ६०:१४; मत्ती ५:१४-१६.
८. (क) हामीले बाइबल आधारित आफ्नो अडानको बचाउ गर्न कुनै बेला के गर्नुपर्ने हुन सक्छ? (ख) ख्रीष्टको अनुकरण गर्दै हामी कसरी झूटा आरोपहरूलाई गलत ठहऱ्याउँछौं?
८ हाम्रो मसीही आचरणको अलावा कुनै बेला हामीले निडरतासाथ बाइबल आधारित आफ्नो अडानको बचाउ गर्नुपर्ने पनि हुन सक्छ। यसको लागि एउटा तरिका हो, सुरक्षाको लागि सरकार र अदालतमा अपिल गर्नु। (एस्तर ८:३; प्रेरित २२:२५-२९; २५:१०-१२) पृथ्वीमा हुँदा येशूले समय-समयमा उहाँको आलोचना गर्नेहरूले लगाएको झूटो आरोपको खण्डन गर्दै तिनीहरूसित खुलमखुला तर्क गर्नुभयो। (मत्ती १२:३४-३७; १५:१-११) उहाँको अनुकरण गर्दै हामी पनि आफ्नो गहिरो विश्वासबारे स्पष्टसित बताउन मौका छोप्छौं। (१ पत्रुस ३:१५) स्कूलमा, काम गर्ने ठाउँमा वा अर्कै धर्म मान्ने आफन्तबाट आउने खिसीटिउरीको कारण हामी परमेश्वरको वचनको सत्य बताउन कहिल्यै नछोडौं।—२ पत्रुस ३:३, ४.
यरूशलेम—“एउटा गह्रौं ढुंगा”
९. जकरिया १२:३ मा बताइएको “गह्रौं ढुङ्गा[ले]” कुनचाहिं यरूशलेमलाई चित्रण गर्छ अनि यसको प्रतिनिधित्व पृथ्वीमा कसले गर्छ?
९ राष्ट्रहरूले साँचो मसीहीहरूको विरोध किन गर्छन्, त्यसको कारण जकरियाको भविष्यवाणीले प्रकाश पार्छ। जकरिया १२:३ ले के भन्छ, ध्यान दिनुहोस्: “त्यस दिन म यरूशलेमलाई सबै जातिहरूका निम्ति एउटा गह्रौं ढुंगा तुल्याइदिनेछु।” यस भविष्यवाणीले कुनचाहिं यरूशलेमलाई संकेत गर्छ? यहाँ बताइएको यरूशलेम “स्वर्गीय यरूशलेम” अर्थात् स्वर्गीय राज्य हो जहाँ अभिषिक्त मसीहीहरूलाई बोलावट भएको छ। (हिब्रू १२:२२) मसीही राज्यका यी उत्तराधिकारीमध्येका केही अझै पृथ्वीमा रहेका छन्। तिनीहरूले “अरू भेडा[का]” सहयोगीहरूसित मिलेर मानिसहरूलाई समय हुँदा नै परमेश्वरको राज्यतिर आउन आग्रह गर्छन्। (यूहन्ना १०:१६; प्रकाश ११:१५) यस निमन्त्रणाप्रति राष्ट्रहरूले कस्तो प्रतिक्रिया देखाएका छन्? अनि आज यहोवाले आफ्ना साँचो उपासकहरूलाई कस्तो खालको समर्थन दिनुहुन्छ? यी कुराहरू, जकरिया १२ अध्यायको अर्थलाई थप केलाउँदै थाह लगाऔं। यसो गर्दा परमेश्वरका अभिषिक्त जनहरू र तिनीहरूका समर्पित सहयोगीहरू विरुद्धको “जुनसुकै हतियार पनि बेकामको हुनेछ” भनेर हामी आश्वस्त हुन सक्छौं।
१०. (क) परमेश्वरका जनहरूलाई किन आक्रमण गरिंदैछ? (ख) त्यो “गह्रौं ढुङ्गा” हटाउन खोज्नेहरूलाई के भएको छ?
१० राष्ट्रहरूले “साह्रै चोट” पाउँछन् भनेर जकरिया १२:३ संकेत गर्छ। यो कसरी हुन्छ? परमेश्वरको आज्ञा छ, राज्यको सुसमाचार प्रचार गरिनै पर्छ। प्रचार गर्ने जिम्मेवारीलाई यहोवाका साक्षीहरू गम्भीरतापूर्वक लिन्छन्। तर परमेश्वरको राज्यलाई मानिसजातिको एकमात्र आशाको रूपमा घोषणा गरिनु राष्ट्रहरूका लागि “एउटा गह्रौं ढुङ्गा” भएको छ। राज्य प्रचारकहरूको काममा हस्तक्षेप गरेर तिनीहरू त्यो गह्रौं बोझलाई हटाउने प्रयास गर्छन्। यसो गर्दा हस्तक्षेप गर्ने राष्ट्रहरूले आफैलाई “साह्रै चोट” पारेका छन्। लज्जास्पद हार हुँदा तिनीहरूको नाउँमा दाग समेत लागेको छ। यस रीतिरिवाजको अन्त हुनअघि नै परमेश्वरको मसीही राज्यको “अनन्त सुसमाचार” घोषणा गर्नुपर्ने सुअवसरको मोल गर्ने साँचो उपासकहरूलाई तिनीहरूले चूप गराउन सक्दैनन्। (प्रकाश १४:६) यहोवाका सेवकहरूमाथि भएको हिंसा देखेर एउटा अफ्रिकी देशको झ्यालखानाका गार्डले यसो भने: ‘यी मानिसहरूलाई सताएर तपाईंहरू आफ्नो प्रयास व्यर्थै खेर फाल्नु हुँदैछ। तिनीहरू कहिल्यै सम्झौता गर्दैनन्। तिनीहरू केवल बढ्दै जान्छन्।’
११. जकरिया १२:४ मा लिपिबद्ध आफ्नो प्रतिज्ञालाई परमेश्वरले कसरी पूरा गर्नुभएको छ?
११ जकरिया १२:४ पढ्नुहोस्। यहोवा के प्रतिज्ञा गर्नुहुन्छ भने परमेश्वरको राज्यका साहसी सन्देशवाहकहरू विरुद्ध युद्ध गर्नेहरूलाई उहाँले प्रतीकात्मक अर्थमा अन्धा तुल्याइदिनुहुनेछ र ‘तर्साइदिनुहुनेछ।’ उहाँले आफ्नो यो प्रतिज्ञा पूरा गर्नुभएको छ। उदाहरणको लागि, साँचो उपासनामाथि प्रतिबन्ध लगाइएको एउटा देशमा विरोधीहरूले परमेश्वरका जनहरूलाई बाइबल प्रकाशनहरू प्राप्त गर्नदेखि रोक्न सकेनन्। एउटा समाचार पत्रिकाले के समेत दाबी गऱ्यो भने यहोवाका साक्षीहरूले बाइबल प्रकाशनहरू भित्र्याउन बेलुनहरू प्रयोग गरे! परमेश्वरले आफ्ना वफादार सेवकहरूलाई गर्नुभएको यो प्रतिज्ञा साँचो साबित भयो: “म मेरो दृष्टि राख्नेछु, जब अन्यजातिको हरेक घोडालाई म अन्धा तुल्याइदिनेछु।” परमेश्वरको राज्यका शत्रुहरू रीसले अन्धा भएका छन् र कुन बाटो अपनाउने हो तिनीहरूलाई थाह छैन। तर हामीचाहिं विश्वस्त छौं कि यहोवाले आफ्ना जनहरूलाई सामूहिक रूपमा जोगाउनुहुनेछ र हेरचाह गर्नुहुनेछ।—२ राजा ६:१५-१९.
१२. (क) पृथ्वीमा हुँदा येशूले कुन अर्थमा आगो सल्काउनुभयो? (ख) पृथ्वीमा रहेका अभिषिक्त जनहरूले प्रतीकात्मक अर्थमा कसरी आगो सल्काएका छन् र त्यसले कस्तो नतिजा ल्याएको छ?
१२ जकरिया १२:५, ६ पढ्नुहोस्। “यहूदाको मुखियाहरूले” परमेश्वरका जनहरूबीच निरीक्षण गर्ने जिम्मेवारी पाएकाहरूलाई जनाउँछ। यहोवाले यी अभिषिक्त निरीक्षकहरूलाई आफ्नो राज्यको पार्थिव गतिविधिको लागि जल्दोबल्दो जोस दिनुहुन्छ। एक अवसरमा येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “म पृथ्वीमा आगो लाउन आएको हुँ।” (लूका १२:४९) साँच्चै, उहाँले आगो सल्काउनुभयो। उहाँले जोसका साथ प्रचार गर्दा परमेश्वरको राज्यलाई नै सबैभन्दा महत्त्वपूर्ण विषय बनाउनुभयो। यसले यहूदी राष्ट्रभरि चर्को विवादको आगो सल्कायो। (मत्ती ४:१७, २५; १०:५-७, १७-२०) त्यस्तैगरि, “दाउराको बीचमा आगोको कराहीजस्तै र बिटाहरूको बीचमा बल्दो राँकोजस्तै” हाम्रो समयका ख्रीष्टका अनुयायीहरूले पनि प्रतीकात्मक अर्थमा आगो सल्काउँछन्। सन् १९१७ मा द फिनिश्ड मिस्ट्रि a (टुंगिएको रहस्य) किताबले जोरदार ढंगमा मसीहीजगत्को कपट्याइँको पर्दाफास गऱ्यो। पादरीहरूले त्यसको तीव्र विरोध गरे। हालसालै, “धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?” विषयको राज्य समाचार नम्बर ३७ ले थुप्रै मानिसलाई या त परमेश्वरको राज्यको पक्षमा या यसको विरुद्धमा खडा हुनको लागि सोच्न उत्प्रेरित गरेको छ।
“यहूदाका तम्बूमा बस्नेहरूलाई” बचाइयो
१३. “यहूदाका तम्बूमा बस्नेहरू” भन्ने अभिव्यक्तिले कसलाई संकेत गर्छ र यहोवाले यी प्रभावित व्यक्तिहरूलाई किन बचाउनुहुन्छ?
१३ जकरिया १२:७, ८ पढ्नुहोस्। प्राचीन इस्राएलमा तम्बू अर्थात् पाल एउटा विशेष चिनारी थियो जसलाई गोठाला र किसानहरूले समय-समयमा प्रयोग गर्थे। यरूशलेम सहरमाथि कुनै शत्रु राष्ट्रले आक्रमण गरेको खण्डमा सबैभन्दा पहिला, पालमा बस्ने त्यस्ता मानिसहरू प्रभावित हुन्थे र तिनीहरूलाई सुरक्षा चाहिन्थ्यो। प्रतीकात्मक अर्थमा भन्नुपर्दा, “यहूदाका तम्बूमा बस्नेहरू” भन्ने अभिव्यक्तिले सुरक्षित सहरभित्र नभई असुरक्षित खुला ठाउँमा बस्ने हाम्रो समयका पृथ्वीमा रहेका अभिषिक्त जनहरूलाई संकेत गर्छ। त्यहाँ तिनीहरू साहसपूर्वक मसीही राज्यका गतिविधिहरूको पक्षमा उभिन्छन्। सेनाहरूका परमेश्वर यहोवाले “यहूदाका तम्बूमा बस्नेहरूलाई पहिले” बचाउनुहुनेछ किनभने तिनीहरू नै शैतानको आक्रमणको मुख्य तारो हुन्।
१४. “यहूदाका तम्बूमा बस्नेहरूलाई” यहोवाले कसरी बचाउ गर्नुहुन्छ र कमजोर हुन दिनुहुन्न?
१४ हो, इतिहासले प्रमाण दिन्छ कि खुला ठाउँमा ‘तम्बूमा’ रहेका परमेश्वरको राज्यका यी अभिषिक्त राजदूतहरूलाई यहोवाले बचाउ गरिरहनुभएको छ। b उहाँले तिनीहरूलाई “कमजोर” हुन दिनुहुन्न, मतलब योद्धा राजा दाऊदलाई जस्तै बलियो र साहसी बनाउनुहुन्छ।
१५. यहोवाले किन “जाति जातिहरूलाई नाश” गर्नुहुन्छ र उहाँले यो कहिले गर्नुहुनेछ?
१५ जकरिया १२:९ पढ्नुहोस्। यहोवाले किन “जाति जातिहरूलाई नाश” गर्नुहुन्छ? किनभने तिनीहरू मसीही राज्यको निरन्तर विरोध गर्छन्। परमेश्वरका जनहरूलाई दुःख दिनुका साथै सताएकोले तिनीहरू दण्ड पाउन योग्यको छन्। शैतानको इशारामा नाच्ने व्यक्तिहरूले अब चाँडै परमेश्वरका साँचो उपासकहरूमाथि अन्तिम आक्रमण गर्नेछ जसले संसारलाई बाइबलमा आर-मागेडोन भनिएको परिस्थितितर्फ धकेल्नेछ। (प्रकाश १६:१३-१६) त्यस आक्रमणको जवाफ दिंदै सर्वोच्च न्यायाधीशले आफ्ना सेवकहरूको बचाउ गर्नुहुनेछ र राष्ट्रहरूबीच आफ्नो नाउँ पवित्र पार्नुहुनेछ।—इजकिएल ३८:१४-१८, २२, २३.
१६, १७. (क) “परमप्रभुका दासहरूको पैतृक-सम्पत्ति” के हो? (ख) शैतानले आक्रमण गर्दा हामीले सहनशीलता देखाउनु कुन कुराको प्रमाण हो?
१६ शैतानसित यस्तो कुनै हतियार छैन जसले विश्वभरिका परमेश्वरका जनहरूको विश्वासलाई कमजोर पार्न वा तिनीहरूको जोसलाई मार्न सक्छ। यहोवाको बचाउने शक्तिको नतिजास्वरूप हामीले पाएको आध्यात्मिक शान्ति “परमप्रभुका दासहरूको पैतृक-सम्पत्ति” हो। (यशैया ५४:१७, NRV) शान्ति र आध्यात्मिक समृद्धि पाउनबाट हामीलाई कसैले पनि जबरजस्ती वञ्चित गर्न सक्दैन। (भजन ११८:६) शैतानले निरन्तर विरोधको आगो दन्काउन र सतावटको भेल ल्याउन कोसिस गर्नेछ। निन्दित हुँदा हामीले वफादार भई सहनशीलता देखाउनु नै परमेश्वरको आत्मा हामीमाथि छ भन्ने प्रमाण हो। (१ पत्रुस ४:१४) परमेश्वरको स्थापित राज्यको सुसमाचार विश्वभरि घोषणा गरिंदैछ। अलमल्याउने अवरोधहरूजस्तै विरोधका थुप्रै प्रतीकात्मक “घुँयेत्रोका ढुङ्गाहरू” परमेश्वरका जनहरू विरुद्ध घुइँक्याइएका छन्। तैपनि, यहोवाका सेवकहरूले उहाँको शक्ति पाएर त्यस्ता ढुङ्गाहरूलाई पन्छ्याउँछन् र तिनीहरूको असरलाई बेकामको पारिदिन्छन्। (जकरिया ९:१५) पृथ्वीमा रहेका अभिषिक्त जनहरू र तिनीहरूका वफादार सहयोगीहरूलाई रोक्न सकिने छैन!
१७ हामी शैतानको आक्रमणबाट पूर्ण मुक्ति पाउने दिनको बाटो हेर्छौं। ‘तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ र तेरो विरुद्धमा उठ्ने जोसुकैलाई पनि तैंले हराउनेछस्’ भनी ग्यारेन्टी पाउँदा हामी कत्ति राहत महसुस गर्छौं!
[फुटनोटहरू]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिंदैन।
b थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित जेहोभाज् विट्नेसेज—प्रोक्लेमर्स अफ गड्स किङगडम (यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू) किताबको पृष्ठ ६७५-६७६ हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• शैतानका हतियारहरू बेकामको भएका छन् भनेर केले देखाउँछ?
• स्वर्गीय यरूशलेम कसरी “एउटा गह्रौं ढुङ्गा” बन्छ?
• यहोवाले कसरी “यहूदाका तम्बूमा बस्नेहरूलाई” बचाउनुहुन्छ?
• आरमागेडोन नजिकिंदै जाँदा तपाईं कुन कुराबारे विश्वस्त हुनुहुन्छ?
[प्रश्नहरू]
[पृष्ठ २३-मा भएका चित्रहरू]
शैतानको आक्रमणको बावजुद अल्बेनियाका यहोवाका साक्षीहरू विश्वासी रहिरहे
[पृष्ठ २५-मा भएको चित्र]
येशूले झूटो आरोपहरूलाई गलत साबित गर्नुभयो
[पृष्ठ २६-मा भएका चित्रहरू]
सुसमाचार घोषणा गर्नेहरू विरुद्ध बनाइएका जुनसुकै हतियार पनि बेकामको हुनेछ