यहोवाको सार्वभौमिकता र परमेश्वरको राज्य
यहोवाको सार्वभौमिकता र परमेश्वरको राज्य
“हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्। . . . हे परमप्रभु, राज्याधिकार तपाईंकै हो।”—१ इतिहास २९:११.
१. ब्रह्माण्डको सर्वोच्च शासक हुने अधिकार किन यहोवाको हो?
‘यहोवाले आफ्नो सिंहासन स्वर्गमा स्थापित गराउनुभएको छ। र उहाँको राज्य सबैमाथि छ।’ (भजन १०३:१९) भजनरचयिताले लेखेका यी शब्दहरूले राज्य गर्ने अधिकार कसको हुनुपर्छ, त्यसबारे सत्य कुरा बताउँछ। त्यो हो—सृष्टिकर्ता भएकोले ब्रह्माण्डको सार्वभौमसत्ताधारी अर्थात् सर्वोच्च शासक हुने अधिकार यहोवा परमेश्वरको हो।
२. यहोवाले आफ्ना आत्मिक पुत्रहरूमाथि गर्ने शासनबारे दानियलले के भने?
२ प्रजाबिना शासक हुनुको अर्थ रहँदैन। उसोभए, यहोवाका प्रजा को हुन्? उहाँको पहिलो प्रजा आत्मिक प्राणीहरू हुन्। हो, यहोवाले सबैभन्दा पहिला आफ्नो एक मात्र पुत्र अनि त्यसपछि अनगिन्ती स्वर्गदूत सृष्टि गरेर तिनीहरूमाथि शासन गर्नुभयो। (कलस्सी १:१५-१७) स्वर्गमा उहाँको शासन कसरी चल्छ, धेरै वर्षपछि अगमवक्ता दानियलले त्यसको दर्शन पाए। तिनले जे देखे, त्यो यसरी बताए: “मैले हेरिनै रहें, र के देखें भनें, सिंहासनहरू बसालिए, औ एक जना अति वृद्ध व्यक्ति त्यसमा बस्नुभयो। . . . हजारौं हजारले उहाँको सेवा गर्दथिए। लक्खौं लाख उहाँको सामु खडा भइरहन्थे।” (दानियल ७:९, १०) यसप्रकार, “अति वृद्ध” यहोवाले आफ्ना ‘सेवक’ अर्थात् उहाँको इच्छाअनुसार काम गर्ने आत्मिक पुत्रहरू मिलेर बनेको विशाल अनि व्यवस्थित परिवारमाथि सर्वोच्च शासकको हैसियतले युगानुयुगदेखि शासन गर्दै हुनुहुन्छ।—भजन १०३:२०, २१.
३. यहोवाले भौतिक ब्रह्माण्डमाथि कसरी आफ्नो सार्वभौमिकता फैलाउनुभयो?
३ आत्मिक प्राणीहरू सृष्टि गरिसकेपछि यहोवाले अन्तमा पृथ्वीलगायत हाम्रो यो विशाल अनि जटिल ब्रह्माण्डको सृष्टि गर्नुभयो र आफ्नो शासन फैलाउनुभयो। (अय्यूब ३८:४, ७) आकाशका नक्षत्रहरू व्यवस्थित ढंगले चलेको देख्दा ती कसैको निर्देशनबिना आफै चलिरहेका हुन् भन्ने मानिसहरूलाई लाग्दो हो। तर भजनरचयिताले के भने ध्यान दिनुहोस्: “[यहोवाले] हुकुम गर्नुभयो, र ती सृष्टि भए। उहाँले सधैंको निम्ति स्थिर पनि गर्नुभयो, उहाँले एउटा उर्दी बनाउनुभएको छ, जो बित्नेछैन।” (भजन १४८:५, ६) यसप्रकार, आफ्ना आत्मिक पुत्रहरूका साथै भौतिक ब्रह्माण्डलाई निर्देशन दिएर, नियन्त्रणमा राखेर अनि त्यसका कामहरूमाथि नजर राखेर यहोवाले अहिलेसम्म शासन गरिरहनुभएको छ।—नहेम्याह ९:६.
४. यहोवाले मानिसहरूमाथि आफ्नो सर्वोच्च अख्तियार कसरी चलाउनुहुन्छ?
४ प्रथम मानव दम्पती सृष्टि गरेपछि यहोवाले बेग्लै ढंगमा आफ्नो अख्तियार चलाउनुभयो। मानिसजातिलाई अर्थपूर्ण अनि सन्तोषजनक जीवन बिताउन चाहिने सबै कुरा दिनुका साथै पशुप्राणीहरूमाथि अख्तियार चलाउने सुअवसर पनि उहाँले दिनुभयो। एक अर्थमा भन्नुपर्दा यहोवाले तिनीहरूसित अख्तियार बाँड्नुभयो। (उत्पत्ति १:२६-२८; २:८, ९) अतः यहाँनेर हामी एउटा कुरा प्रस्टै भन्न सक्छौं। त्यो हो—यहोवा परमेश्वर आफ्ना प्रजाको हितलाई ध्यानमा राखेर शासन गर्नुहुन्छ। उहाँ तिनीहरूसित कठोर व्यवहार गर्नुहुन्न। बरु, उहाँ आफ्ना प्रजालाई इज्जत दिनुहुन्छ। यहोवाको सार्वभौमिकता स्वीकारेर त्यसको अधीनमा बसिरहेको भए आदम र हव्वाले प्रमोदवनमा सधैंभरि बाँच्ने मौका कहिल्यै गुमाउने थिएनन्।—उत्पत्ति २:१५-१७.
५. यहोवाको शासनबारे तपाईं के भन्न सक्नुहुन्छ?
५ त्यसोभए, माथि चर्चा गरिएका कुराहरूको आधारमा हामी के निष्कर्षमा पुग्न सक्छौं? पहिलो, यहोवाले सुरुदेखि अहिलेसम्म आफ्ना सृष्टिमाथि शासन गरिरहनुभएको छ। दोस्रो, परमेश्वर आफ्नो प्रजाको हितलाई ध्यानमा राखेर शासन गर्नुहुन्छ र तिनीहरूलाई इज्जत दिनुहुन्छ। तेस्रो अनि अन्तिम, परमेश्वरको शासन स्वीकारेर त्यसको अधीनमा बस्यौं भने सुख अनि सन्तुष्टिले भरिएको जीवन सधैंभरि बिताउन पाउनेछौं। परमेश्वरको शासन यति असल भएकोले नै प्राचीन इस्राएलका राजा दाऊद यसो भन्न प्रेरित भए: “हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ।”—१ इतिहास २९:११.
परमेश्वरको राज्य किन चाहियो?
६. परमेश्वरको सार्वभौमिकता अनि उहाँको राज्यबीच के सम्बन्ध छ?
६ यहोवा सारा ब्रह्माण्डको सर्वोच्च शासक हुनुहुन्छ र उहाँले सुरुदेखि शासन गर्दै हुनुहुन्छ भने परमेश्वरको राज्य किन चाहियो त? राजा वा नेताले अक्सर कुनै माध्यम चलाएर जनतामाथि शासन गर्छ। त्यसैगरि परमेश्वरको राज्य पनि एउटा माध्यम हो, जसद्वारा परमेश्वरले आफ्ना सृष्टिमाथि शासन गर्नुहुन्छ अर्थात् आफ्नो सर्वोच्च अख्तियार चलाउनुहुन्छ।
७. यहोवाले नयाँ शासन व्यवस्था किन स्थापित गर्नुपऱ्यो?
७ यहोवाले समयअनुसार विभिन्न तरिकाले शासन गर्नुभयो। एउटा नयाँ परिस्थितिले जन्म लिंदा उहाँले नयाँ शासन व्यवस्था स्थापित गर्नुभयो। परमेश्वरको विद्रोही आत्मिक पुत्र शैतानले आदम र हव्वालाई उक्साएर यहोवाको शासनको विरोध गराउन सफल भएपछि यहोवाले यसप्रकार नयाँ शासन व्यवस्था स्थापित गर्नुपऱ्यो। शैतान अनि आदम र हव्वाले परमेश्वरको विद्रोह गर्नु उहाँको सार्वभौमिकतालाई चुनौती दिए बराबर थियो। कसरी? यहोवाले निषेध गर्नुभएको रूखको फल खाए पनि “कदापि मर्नेछैनौ” भनेर शैतानले हव्वालाई भनेको थियो। वास्तवमा, शैतानको यो दाबी यहोवा झूट बोल्नहुन्छ, उहाँ भरोसायोग्य हुनुहुन्न भन्ने अप्रत्यक्ष आरोप थियो। त्यसले हव्वालाई अझ यस्तो समेत भन्यो: “परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।” परमेश्वरको आज्ञा मानेर उहाँको अधीनमा बस्नुभन्दा त आफूखुसी गरेर स्वतन्त्र हुनुमा नै आदम र हव्वाको भलाइ छ भनेर शैतानले भन्न खोजिरहेको थियो। (उत्पत्ति ३:१-६) शैतानको यस्तो कुटिल तर्क वास्तवमा परमेश्वरको शासनविरुद्ध ठाडो चुनौती थियो। उसोभए, यहोवाले शैतानको चुनौतीको जवाफ कसरी दिनुभयो?
८, ९. (क) कसैले विद्रोह गऱ्यो भने शासकले के गर्छ? (ख) अदनको बगैंचामा विद्रोह भएपछि यहोवाले के गर्नुभयो?
८ कसैले खुलेआम विद्रोह गऱ्यो भने त्यो देशको शासकले के गर्छ जस्तो तपाईंलाई लाग्छ? यदि तपाईंलाई इतिहासमा रुचि छ भने बितेका समयमा शासकहरूले के गरे भनेर निश्चय पनि विभिन्न घटना सुनाउन सक्नुहुन्छ होला। कुनै पनि शासकले विद्रोहीलाई हल्कासित लिंदैन। अत्यन्त भला अनि असल राजा वा शासकले समेत त्यस्तो व्यक्तिलाई देशद्रोहको आरोप लगाएर दण्ड सुनाउँछ। त्यसपछि, त्यो शासकले भरपर्दो मान्छे रोजेर विद्रोही सेनालाई दबाउने र शान्ति स्थापना गर्ने अख्तियार सुम्पन सक्छ। यहोवाले पनि त्यसै गर्नुभयो। शैतान अनि आदम र हव्वाले विद्रोह गरे तापनि परिस्थिति अझै आफ्नै हातमा छ भनेर देखाउन यहोवाले तुरुन्तै कारवाही गर्नुभयो र विद्रोहीहरूलाई न्यायदण्ड सुनाउनुभयो। उहाँले आदम र हव्वालाई अनन्त जीवन पाउन अयोग्य घोषित गर्नुभयो र तिनीहरूलाई अदनको बगैंचाबाट बाहिर निकाल्नुभयो।—उत्पत्ति ३:१६-१९, २२-२४.
९ शैतानलाई न्यायदण्ड सुनाउँदा यहोवाले आफ्नो सार्वभौमिकताको नयाँ रूप अर्थात् आफ्नो सम्पूर्ण राज्यभित्र सुशासन अनि शान्ति स्थापना गर्ने नयाँ माध्यम प्रकट गर्नुभयो। उहाँले त्यसलाई यसो भन्नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्।” (उत्पत्ति ३:१५) यसप्रकार ‘सन्तानलाई’ अख्तियार दिएर शैतान र त्यसका सैन्यदललाई दबाउने अनि आफ्नो शासन ठीक छ भनेर प्रमाणित गर्ने आफ्नो उद्देश्य यहोवाले प्रकट गर्नुभयो।—भजन २:७-९; ११०:१, २.
१०. (क) यहोवाले भविष्यवाणी गरेको “सन्तान” को साबित भयो? (ख) अदनको बगैंचामा गरिएको पहिलो भविष्यवाणी पूरा हुने विषयमा पावलले के भने?
१० येशू ख्रीष्ट अनि साथै उहाँसित मिलेर शासन गर्ने मानिसहरूको एउटा विशिष्ट समूह, यहोवाले भविष्यवाणी गरेको “सन्तान” साबित भयो। येशू अनि उहाँसँगै शासन गर्ने मानिसहरू मिलेर बनेको सरकार नै परमेश्वरको राज्य अर्थात् मसीही राज्य हो। (दानियल ७:१३, १४, २७; मत्ती १९:२८; लूका १२:३२; २२:२८-३०) तथापि, यी सबै कुरा तुरुन्तै प्रकट गरिएन। वास्तवमा, अदनको बगैंचामा गरिएको पहिलो भविष्यवाणी कसरी पूरा हुन्छ, ‘त्यसको रहस्य’ “सनातनदेखि गुप्त रहेको थियो।” (रोमी १६:२५) परमेश्वरमाथि विश्वास गर्ने पुरुषहरूले सयौं वर्षसम्म त्यो भविष्यवाणीको “रहस्य” प्रकट गर्ने समय कहिले आऊला र कहिले त्यो भविष्यवाणी पूरा होला भनेर जान्न लालसा गरे।—रोमी ८:१९-२१.
“रहस्य” एक-एक गरी बिस्तारै खुल्यो
११. यहोवाले अब्राहामसित कुन रहस्य खोल्नुभयो?
११ समय बित्दै जाँदा यहोवाले “परमेश्वरको राज्यको रहस्य” एक-एक गरी बिस्तारै खुलाउनुभयो। (मर्कूस ४:११, NRV) यहोवाले रहस्य खोल्नुभएका मानिसहरूमध्ये अब्राहाम पनि हुन् जसलाई बाइबलमा “परमेश्वरका मित्र” भनिएको छ। (याकूब २:२३) यहोवाले अब्राहामसित तिनीबाट “एउटा ठूलो जाति खडा गर्नेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। पछि, अझ रहस्य खोल्दै परमेश्वरले अब्राहामलाई यसो भन्नुभयो: “तँबाट राजाहरू उत्पन्न हुनेछन्” र “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्।”—उत्पत्ति १२:२, ३; १७:६; २२:१७, १८.
१२. जलप्रलयपछि शैतानको सन्तान कसरी देखा पऱ्यो?
१२ अब्राहामको पालासम्ममा मानिसजातिले आफ्नो शासन अनि अख्तियार स्थापित गर्ने प्रयास गरिसकेका थिए। उदाहरणका लागि, नूहका पनाति निम्रोदबारे बाइबलमा यस्तो लेखिएको हामी पाउँछौं: “यिनी नै प्रथम वीर पुरुष थिए। तिनी परमप्रभुको दृष्टिमा शक्तिशाली शिकारी थिए।” (उत्पत्ति १०:८, ९) तथापि, निम्रोद अनि आफूलाई पृथ्वीका राजा घोषित गर्ने अरू मानिस वास्तवमा शैतानका कठपुतली मात्र थिए। तिनीहरू र तिनीहरूका समर्थक शैतानका सन्तान बने।—१ यूहन्ना ५:१९.
१३. यहोवाले याकूबमार्फत के अग्रिमवाणी गर्नुभयो?
१३ शैतानले एकपछि अर्को जतिसुकै मानव शासक खडा गर्ने कोसिस गरे तापनि यहोवाको उद्देश्यलाई त्यसले विफल तुल्याउन सक्दैन। अब्राहामको नाति याकूबमार्फत यहोवाले पहिलो भविष्यवाणीको रहस्य यसरी अझ खुलाउनुभयो: “यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाको बीचबाट हट्नेछैन, जबसम्म शीलो आउँदैन। औ मानिसहरू उहाँको आज्ञाकारी बन्नेछन्।” (उत्पत्ति ४९:१०) यहाँ चलाइएको “शीलो” शब्दको अर्थ हो, “यो जसको हो; जसको हक लाग्छ।” यसप्रकार, भविष्यमा एक जना व्यक्ति देखा पर्नेछन् र तिनी नै “राजदण्ड” अर्थात् सार्वभौमसत्ता र “राज्य चलाउनेको लाठी” अर्थात् राज्याधिकारको सही हकदार हुनेछन् भनेर यहोवाले भन्नुभएका यी भविष्यसूचक शब्दले संकेत गऱ्यो। त्यो व्यक्ति को हुन सक्ला?
“जबसम्म शीलो आउँदैन”
१४. यहोवाले दाऊदसित के वाचा बाँध्नुभयो?
१४ यहूदा कुलबाट यहोवाले आफ्ना जनहरूको राजा हुन चुन्नुभएको पहिलो व्यक्ति, यिशैको गोठाला छोरा दाऊद थिए। a (१ शमूएल १६:१-१३) दाऊदले जीवनमा धेरै पाप अनि गल्ती गरे तापनि यहोवाको अनुमोदन पाए। किनकि तिनी यहोवाको सार्वभौमिकताप्रति वफादार थिए। अदनको बगैंचामा गरिएको भविष्यवाणीको रहस्य अझ खोल्दै यहोवाले दाऊदसित यस्तो वाचा बाँध्नुभयो: “म तेरै घरानाको एक जना, तेरै छोराहरूमध्येको एक जना, तेरो उत्तराधिकारी हुनलाई बसाल्नेछु, र त्यसको राज्य स्थिर गराउनेछु।” यहोवाले दाऊदसित गर्नुभएको यो वाचा तिनको छोरा अनि उत्तराधिकारी सुलेमानलाई मात्र लागू हुन्छ भन्न मिल्दैन। किनकि उहाँले दाऊदलाई यसो पनि भन्नुभएको थियो: “त्यसको राजकीय सिंहासन सधैंको निम्ति स्थिर गर्नेछु।” जेहोस्, दाऊदसित गरिएको यो वाचाले अदनको बगैंचामा प्रतिज्ञा गरिएको “सन्तान” कालान्तरमा दाऊदकै घरानाबाट आउनेछ भनेर प्रस्ट पाऱ्यो।—२ शमूएल ७:१२, १३.
१५. यहूदाको राज्यलाई परमेश्वरको राज्यको नमुना किन भन्न सकिन्थ्यो?
१५ दाऊदबाट सुरु भएको राजघरानाका राजाहरूलाई अक्सर प्रधान पूजाहारीले पवित्र तेल खन्याएर अभिषेक गर्थे। त्यसैले यी राजाहरूलाई पनि अभिषिक्त जनहरू अर्थात् मसीहहरू भन्न सकिन्थ्यो। (१ शमूएल १६:१३; २ शमूएल २:४; ५:३; १ राजा १:३९) तिनीहरू बसेको सिंहासनलाई यहोवाको सिंहासन अनि तिनीहरूले यरूशलेममा गरेको शासनलाई यहोवाको प्रतिनिधित्व गर्दै गरिएको शासन ठानिथ्यो। (२ इतिहास ९:८) त्यसैले, एक अर्थमा भन्ने हो भने, यहूदाको राज्य परमेश्वरको राज्य अर्थात् यहोवाको शासन गर्ने माध्यम थियो।
१६. यहूदा कुलका राजाहरूको शासन कस्तो साबित भयो?
१६ यहोवाको सार्वभौमिकताको अधीनमा बस्दा यहूदा कुलका राजा अनि तिनका प्रजाले उहाँले दिने सुरक्षा अनि आशिष् पाए। सुलेमानको शासनकालमा एकताक अतुलनीय शान्ति अनि संवृद्धि छाएको थियो। परमेश्वरको राज्यले शैतानको प्रभाव पूर्णतया हटाएर यहोवाको सार्वभौमिकता नै उचित छ भनेर साबित गरेपछि पृथ्वीमा पनि त्यस्तै शान्ति अनि संवृद्धि छाउनेछ भनेर त्यसले पूर्वझलक दिन्छ। (१ राजा ४:२०, २५) तर दुःखको कुरा, दाऊदको राजघरानाका धेरैजसो राजाहरू यहोवाले तोक्नुभएको स्तरबमोजिम चलेनन्। यहोवालाई बिर्सेर तिनीहरू र तिनीहरूका प्रजा मूर्तिपूजा अनि अनैतिकतातिर लागे। अन्तमा, ईसापूर्व ६०७ मा यहोवाले बेबिलोनीहरूको हातबाट दाऊद वंशको राज्य नष्ट हुन दिनुभयो। यहोवाको सार्वभौमिकताको बदनाम गर्ने शैतानको दुष्प्रयास सफल भयो जस्तो देखियो।
१७. दाऊद वंशको राज्यको पतन भए तापनि यहोवाको सार्वभौमिकता यथावत् थियो भनेर कुन कुराले देखाउँछ?
१७ दाऊद वंशको राज्यको पतन हुनु र त्योभन्दा पहिले इस्राएलको दस गोत्रे राज्यको पतन हुनु वास्तवमा यहोवाको सार्वभौमिकताको कमजोरी वा असफलता थिएन। बरु त्यो शैतानको कुप्रभाव अनि परमेश्वरबाट स्वतन्त्र हुन खोज्ने मानव प्रयासको दुःखलाग्दो नतिजा थियो। (हितोपदेश १६:२५; यर्मिया १०:२३) यहूदा अनि दस गोत्रे राज्यको पतन भए तापनि आफ्नो सार्वभौमिकता यथावत् छ भनेर देखाउन अगमवक्ता इजकिएलमार्फत यहोवाले यस्तो घोषणा गर्नुभयो: ‘पगरी हटा र शिरपेच उतारिदे। उजाड, उजाड! म त्यसलाई उजाड पार्नेछु। जसको त्यसमाथि अधिकार छ, त्यसलाई नै म यो सुम्पिनेछु।’ (इजकिएल २१:) यहोवाले भन्नुभएको यो कुराले प्रतिज्ञा गरिएको “सन्तान” अर्थात् “अधिकार” लाग्ने हकदार देखा पर्न बाँकी नै थियो भनेर संकेत गर्छ। २६, २७
१८. गब्रिएल स्वर्गदूतले मरियमलाई के कुरा सुनाए?
१८ अब हामी ईसापूर्व २ मा भएको घटनातर्फ आफ्नो ध्यान मोडौं। प्यालेस्टाइनको उत्तरी भूभागमा पर्ने गालीलको नासरत भन्ने सहरमा एउटी कन्ये केटी मरियम बस्थिन्। एकदिन गब्रिएल नाउँ गरेको स्वर्गदूत तिनीकहाँ पठाइए र तिनले मरियमलाई यो कुरा सुनाए: “हेर, तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, औ परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।”—लूका १:३१-३३.
१९. कस्ता रोमाञ्चकारी घटना हुने समय आइपुग्यो?
१९ अन्तमा, अदनको बगैंचामा गरिएको भविष्यवाणीको “रहस्य” प्रकट हुने बेला आइपुग्यो। प्रतिज्ञा गरिएको ‘सन्तानको’ मुख्य व्यक्ति अब छिट्टै देखा पर्ने भयो। (गलाती ४:४; १ तिमोथी ३:१६) भविष्यवाणी गरिएझैं तिनी देखा परेपछि शैतानले तिनको कुर्कुच्चो डस्ने थियो। तर ‘सन्तानले’ शैतानको शिर कुच्याएर त्यसको र त्यसका दलको कुप्रभाव निष्फल तुल्याउने थिए। साथै, शैतानले गरेका सबै हानिकारक कामलाई परमेश्वरको राज्यले हटाउनेछ र यहोवाको सार्वभौमिकता ठीक छ भनेर साबित गर्नेछ भनेर पनि त्यो सन्तानले घोषणा गर्ने थिए। (हिब्रू २:१४; १ यूहन्ना ३:८) यी सबै काम येशूले कसरी गर्नुहुने थियो? उहाँले हाम्रो लागि कस्तो नमुना छोड्नुभयो? यी दुई प्रश्नको जवाफ हामी अर्को लेखमा पाउनेछौं।
[फुटनोट]
a परमेश्वरले चुन्नुभएको इस्राएलको पहिलो राजा शाऊल बिन्यामीन कुलका थिए।—१ शमूएल ९:१५, १६; १०:१.
के तपाईं बुझाउन सक्नुहुन्छ?
• के कारणले गर्दा यहोवा ब्रह्माण्डको सर्वोच्च शासक हुनुहुन्छ?
• यहोवाले किन आफ्नो राज्य स्थापना गर्ने योजना बनाउनुभयो?
• अदनको बगैंचामा गरिएको भविष्यवाणीको “रहस्य” यहोवाले एक-एक गरी कसरी बिस्तारै खोल्नुभयो?
• दाऊद वंशको राज्यको पतन भए तापनि यहोवाको सार्वभौमिकता यथावत् रह्यो भनेर कुन कुराले देखाउँछ?
[प्रश्नहरू]
[पृष्ठ ५-मा भएको चित्र]
यहोवाले अब्राहाममार्फत के प्रकट गर्नुभयो?
[पृष्ठ ७-मा भएको चित्र]
दाऊद वंशको राज्यको पतन हुनु यहोवाको सार्वभौमिकताको असफलताको प्रमाण किन होइन?