‘स्थिर होओ र परमप्रभुले दिनुहुने छुटकारा हेर’
‘स्थिर होओ र परमप्रभुले दिनुहुने छुटकारा हेर’
“परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?”—भजन ११८:६.
१. मानिसजातिले भविष्यमा कस्तो निर्णायक समयको सामना गर्नुपर्नेछ?
मानिसजातिले पहिला कहिल्यै अनुभव नगरेको विपत्ति अब चाँडै अनुभव गर्नेछ। हाम्रो दिनबारे भविष्यवाणी गर्दै येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेतावनी दिनुभयो: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।”—मत्ती २४:२१, २२.
२. महासंकष्टलाई कसले रोकिरहेको छ?
२ मानव आँखाले देख्न नसके तापनि स्वर्गदूतहरूले महासंकष्टलाई रोकिरहेका छन्। येशूले दिनुभएको दर्शनमा महासंकष्टलाई यसरी रोकिरहनुको कारण बुझ्ने सुअवसर प्रेरित यूहन्नाले पाए। यी वृद्ध प्रेरितले यसरी वर्णन गरेको पाउँछौं: “चार दूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चारकुनामा उभिरहेका मैले देखें। औ मैले अर्को एउटा दूतलाई जीवित परमेश्वरको छाप लिएर सूर्योदय हुनेपट्टिबाट उक्लेको देखें, औ . . . चारवटा दूतलाई यसो भनेर तिनले ठूलो सोरले भने, ‘हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा छाप नलगाउञ्जेलसम्म पृथ्वी, समुद्र र रूखहरूमाथि केही हानि नगर।’ ”—प्रकाश ७:१-३.
३. महासंकष्ट सुरु हुँदा सबैभन्दा पहिला के हुन्छ?
३ “परमेश्वरका दासहरू[लाई]” अन्तिम छाप लगाउने काम पूरा हुनै लागेको छ। चार स्वर्गदूतहरू त्यो विनाशकारी बतास छोडिदिन तयार छन्। तिनीहरूले बतास छोडिदिंदा सबैभन्दा पहिला के हुन्छ? स्वर्गदूत यसको जवाफ यसरी दिन्छन्: “महान् शहर बेबिलोन ठूलो झोक्काले फालिनेछ, र फेरि कहिल्यै पाइनेछैन।” (प्रकाश १८:२१) झूटो धर्मको विश्व साम्राज्य विनाश हुँदा स्वर्गमा कत्ति रमाहट हुनेछ!—प्रकाश १९:१, २.
४. कस्ता घटनाहरू हुन बाँकी नै छन्?
४ पृथ्वीका सबै राष्ट्रहरू यहोवाका जनहरू विरुद्ध एकजुट हुनेछन्। तर के ती राष्ट्रहरू विश्वासी मसीहीहरूलाई नामेट पार्न सफल हुनेछन्? यसो हेर्दा त तिनीहरू सफल होलान् जस्तो देखिन्छ। तर हेर्नुहोस् त! ख्रीष्ट येशूको स्वर्गीय सेनाले ती मानव शक्तिहरूलाई पक्कै विनाशसम्म पुऱ्याउनेछन्। (प्रकाश १९:१९-२१) अन्ततः दियाबल र त्यसका प्रेतहरूलाई निष्क्रिय पारी अगाध खाँधमा फ्याँकिनेछ। तिनीहरूले मानिसहरूलाई बहकाउन सक्ने छैनन् किनभने तिनीहरूलाई हजार वर्षसम्म बाँधेर राखिनेछ। आहा! महासंकष्टबाट बच्ने थुप्रै मानिसहरूका लागि कत्ति हाइसन्चो!—प्रकाश ७:९, १०, १४; २०:१-३.
५. यहोवाप्रति वफादार रहनेहरूले कस्तो आनन्द पाउँछन्?
५ हामीले चाँडै नै ती आश्चर्यलाग्दो र भयानक घटनाहरू अनुभव गर्नेछौं। ती सबै, यहोवाको शासन गर्ने अधिकार अर्थात् उहाँको विश्वव्यापी सार्वभौमिकतालाई उच्च पार्नुसित सम्बन्धित छन्। अनि यो कुराबारे पनि विचार गर्नुहोस्: हामी यहोवाप्रति वफादार रह्यौं र उहाँको सार्वभौमिकताको पक्ष लियौं भने उहाँको नाउँ पवित्र पार्ने र उहाँको उद्देश्य पूरा गर्ने काममा भाग लिने सुअवसर पाउनेछौं। त्यतिबेला पाइने आनन्दलाई अहिले सोचेर सोच्नै सकिंदैन!
६. आउनै लागेका कुराहरूलाई मनमा राख्दै हामी कुन घटनाबारे विचार गर्नेछौं?
६ के हामी ती महत्त्वपूर्ण घटनाहरूका लागि तयार छौं? यहोवासित हामीलाई बचाउन सक्ने शक्ति छ भनेर के हामी विश्वास गर्छौं? सही समयमा र सर्वोत्तम तरिकामा उहाँले हामीलाई मदत गर्नुहुन्छ भन्ने कुरामा के हामी विश्वस्त छौं? यस्ता व्यक्तिगत प्रश्नहरूको जवाफ दिंदा प्रेरित पावलले रोमका सँगी मसीहीहरूलाई भनेको कुरा मनमा राख्न सक्छौं: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा [“सान्त्वनाद्वारा,” NW] हामीलाई आशा होस्।” (रोमी १५:४) सान्त्वना र आशा पाउन सक्ने गरी हाम्रो शिक्षाको लागि लेखिएका विवरणमध्ये एउटा हो, इस्राएलीहरूलाई मिश्री दमनकारीहरूको कठोर बन्धनबाट यहोवाले छुटाउनु भएको घटना। चाँडै आउन लागेको महासंकष्टको बाटो हेर्दै गर्दा यहोवाले इस्राएलीहरूलाई छुटकारा दिलाउँदा चाल्नुभएका रोमाञ्चकारी घटनाहरूलाई राम्ररी नियालेर हेर्नु हाम्रो लागि ठूलो प्रोत्साहनको स्रोत हुनुपर्ने हो।
यहोवा आफ्ना जनहरूको उद्धार गर्नुहुन्छ
७. ईसापूर्व १५१३ मा मिश्रमा कस्तो तनावग्रस्त अवस्था सृजना हुन्छ?
७ यो घटना ईसापूर्व १५१३ को हो। यहोवाले मिश्रमाथि नौवटा विपत्ति ल्याइसक्नुभएको छ। नवौं विपत्ति आउनेबित्तिकै फिरऊनले मोशालाई छुच्चो बोली गर्दै यसो भन्छन्: “मेरो सामनेबाट गइहाल्। होसियार बस्, मेरो सम्मुखमा फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास् त्यो दिन तँलाई मार्नेछु।” जवाफमा मोशा यसो भन्छन्: “तपाईंले भन्नुभए जस्तै होस्, म फेरि कहिल्यै तपाईंको मुख हेर्नेछैनँ।”—प्रस्थान १०:२८, २९.
८. इस्राएलीहरूले आफ्नो बचाउको लागि कस्तो निर्देशन पाए र नतिजा कस्तो भयो?
८ फिरऊन र सबै मिश्रीमाथि अझै एउटा अर्थात् अन्तिम विपत्ति ल्याउनेछु भनी यहोवा मोशालाई भन्नुहुन्छ। आबीब (नीसान) महिनाको १४ औं दिनमा सबै मिश्रीको र सबै गाईवस्तुका पहिलो जन्मेका सन्तान मर्ने थिए। तर इस्राएलीहरू भने परमेश्वरले मोशा मार्फत दिनुभएको निर्देशनलाई होसियार भई पालन गरेको खण्डमा बच्न सक्नेथिए। तिनीहरूले आ-आफ्नो घरको चौकोसका दुईपट्टिका खामाहरू र माथिल्लो खामामा पाठोको रगत लगाउनुपर्थ्यो र घरभित्रै बस्नुपर्थ्यो। त्यस रात के भयो? मोशाकै विवरण हामी पढौं न: “मध्यरातमा . . . मिश्रमा सबै पहिले जन्मेकालाई परमप्रभुले मार्नुभयो।” फिरऊनले तुरुन्तै प्रतिक्रिया देखाइहाल्छन्। मोशा र हारूनलाई बोलाएर तिनी यसो भन्छन्: “तिमीहरू, . . . मेरा प्रजाहरूका बीचबाट निक्लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको सेवा गर।” अनि इस्राएलीहरू पनि आलेटाले गरिरहँदैनन्, निस्किहाल्छन्। गैर-इस्राएलीहरूको गन्नै नसकिने “एक मिश्रित दल” सम्भवतः तीस लाखभन्दा बढी इस्राएलीहरूका साथमा लाग्छन्।—प्रस्थान १२:१-७, २९, ३१, ३७, ३८.
९. परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट निस्केपछि कुन बाटो लानुहुन्छ र किन?
९ प्रतिज्ञा गरेको देश पुग्न इस्राएलीहरूका लागि भूमध्यसागरको बाटो हुँदै पलिश्तीहरूको देश भएर जाँदा सबैभन्दा नजिक पर्थ्यो। तर त्यो शत्रुहरूको इलाका थियो। त्यसैले, आफ्ना जनहरूलाई लडाइँ गर्नुपर्ने अवस्थाबाट जोगाउन यहोवा तिनीहरूलाई उजाडस्थानको बाटो हुँदै लाल समुद्रबाट लानुहुन्छ। लाखौं मानिसहरू हिंडिरहेको भए तापनि त्यो जमातमा भद्रगोल छैन। बाइबल रेकर्ड यसो भन्छ: “इस्राएलीहरू युद्धमा गए जस्तो गरी ताँती लागेर मिश्रबाट हिंडे।”—प्रस्थान १३:१७, १८, NW.
‘परमप्रभुले दिनुहुने छुटकारा हेर’
१०. यहोवाले इस्राएललाई किन पी-हहीरोत नजिकै बास बस्न भन्नुहुन्छ?
१० त्यसपछि घटनाले अचम्मलाग्दो मोड लिन्छ। यहोवा मोशालाई यसो भन्नुहुन्छ: “इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिगदोल र समुद्रको बीचमा पी-हहीरोतको नजीकै वास बसून्। समुद्रनेर बाल-सेफोनकै अगाडि डेरा हालेर बसून्।” यो निर्देशनअनुसार चल्दा त्यो ठूलो भीडले आफू पहाड र लाल समुद्रको बीच फन्दामा परेको पाउँछन्। त्यहाँबाट उम्कने कुनै उपाय छैन जस्तो देखिन्छ। तर यहोवालाई आफूले के गर्दैछु भनेर राम्ररी थाह छ। उहाँले मोशालाई यसो भन्नुहुन्छ: “म फारोको [फिरऊनको] हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्नेछ। तर फारो [फिरऊन] र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्।”—प्रस्थान १४:१-४, NRV.
११. (क) फिरऊनले कस्तो कदम चाल्छन् र इस्राएलीहरूले कस्तो प्रतिक्रिया देखाउँछन्? (ख) इस्राएलीहरूले गनगन गर्दा मोशा के भन्छन्?
११ इस्राएलीहरूलाई जान दिएपछि थकथकाउन थालेका फिरऊन आफ्ना ६०० असल-असल रथहरूका साथमा इस्राएलीहरूलाई खेद्न निस्कन्छन्। जब मिश्री सेना पछि-पछि आइरहेको इस्राएलीहरूले देख्छन्, तिनीहरू साह्रै डराउँछन् र मोशालाई यसो भनेर कराउन थाल्छन्: “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्नलाई ल्याउनुभयो?” यहोवाले छुटकारा दिनुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै मोशा यस्तो जवाफ दिन्छन्: “तिमीहरू नडराओ, स्थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर। . . . परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस।”—प्रस्थान १४:५-१४, NRV.
१२. यहोवाले आफ्ना जनहरूलाई कसरी बचाउनुहुन्छ?
१२ इस्राएलीहरूका निम्ति यहोवा आफै लड्नुहुनेछ भनी मोशाले भनेका थिए र अब साँच्चै नै तिनले भनेझैं स्वर्गदूतहरूले यहोवाको समर्थनमा कदम चाल्छन्। इस्राएलीहरूलाई डोऱ्याइरहेको बादलको खामोलाई स्वर्गदूतले चमत्कारी ढंगमा पछिल्तिर सार्छन्। त्यो बादलको खामो इस्राएलीहरूको लागि उज्यालोको स्रोत बन्छ भने मिश्रीहरूको लागि अन्धकारको। (प्रस्थान १३:२१, २२; १४:१९, २०) परमेश्वरको आज्ञा मान्दै मोशा अब आफ्नो हात पसार्छन्। विवरण अझै यसो भन्छ: “परमप्रभुले रातभरि जोरसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो। . . . औ इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमीनमा हिंडेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भए।” मिश्रीहरूले फेरि खेद्न थाल्छन् तर यहोवा आफ्ना जनहरूको साथमा हुनुहुन्छ। उहाँले मिश्रीहरूको सेनालाई अस्तव्यस्त गराइदिनुहुन्छ र मोशालाई यसो भन्नुहुन्छ: “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र तिनीहरूका रथहरू र घोडचढीहरूमाथि त्यो पानी फेरि बढेर आओस्।” यसरी फिरऊनको सेना सबै सखाप हुन्छ, एक जना पनि बच्न सक्दैन!—प्रस्थान १४:२१-२८; भजन १३६:१५.
इस्राएलले पाएको छुटकाराबाट पाठ सिक्नुहोस्
१३. छुटकारा पाएपछि इस्राएलीहरूले कस्तो प्रतिक्रिया देखाए?
१३ त्यस्तो चमत्कारी ढंगमा छुटकारा पाएकाहरूमाथि यसले कस्तो असर पाऱ्यो? ओहो! मोशालगायत अन्य इस्राएलीहरू एकाएक यहोवाको स्तुति पो गाउन थाल्छन्! तिनीहरूले यस्तो भजन गाए: “म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँले ठूलो विजय गर्नुभएको छ, . . . परमप्रभुले सदा सर्वदै राज्य गर्नुहुनेछ।” (प्रस्थान १५:१, १८) हो, तिनीहरूको मनमा सबैभन्दा पहिला परमेश्वरलाई उच्च पार्ने विचार आयो। त्यतिबेला यहोवाको सार्वभौमिकता छर्लंग पारिएको थियो।
१४. (क) इस्राएलीहरूको अनुभवबाट हामी यहोवाबारे के सिक्न सक्छौं? (ख) सन् २००८ को लागि वार्षिक पद के हो?
१४ यी रोमाञ्चकारी घटनाहरूबाट हामी कस्तो शिक्षा, सान्त्वना र आशा पाउन सक्छौं? यहोवा आफ्ना जनहरूले सामना गर्ने जस्तोसुकै परीक्षा पनि सँभाल्न सक्षम हुनुहुन्छ भनेर हामी पक्कै बुझ्न सक्छौं। तिनीहरूले सामना गर्ने जस्तोसुकै परीक्षाको पनि उहाँ समाधान गर्न सक्नुहुन्छ। यहोवाले तीव्र गतिको पूर्वीय बतास चलाएपछि लाल समुद्र इस्राएलीहरूका लागि अवरोध भएन। अनि त्यही समुद्रलाई उहाँले फिरऊनको सेनाको लागि चिहानमा परिणत गर्न सक्नुभयो। यी कुराहरूमा विचार गर्दा हामी पनि भजनहारले जस्तै यसो भन्न सक्छौं: “परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?” (भजन ११८:६) हामी रोमी ८:३१ मा लेखिएका पावलका शब्दहरूबाट पनि सान्त्वना पाउन सक्छौं: “यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?” यी प्रेरित वचनहरू पढ्दा हामी कत्ति विश्वस्त हुन्छौं! यी वचनहरूले हामीमा भएको डर र शंका-उपशंकालाई शान्त पार्छ अनि हामीलाई आशा दिन्छ। त्यसैकारण सन् २००८ को लागि यो वार्षिक पद कत्ति उपयुक्त छ: ‘स्थिर होओ र परमप्रभुले दिनुहुने छुटकारा हेर’!—प्रस्थान १४:१३, NRV.
१५. मिश्रबाट छुटकारा पाउन इस्राएलीहरू आज्ञाकारी हुनु कत्तिको महत्त्वपूर्ण थियो र आज नि?
१५ इस्राएलीहरू मिश्रबाट निस्केको घटनाबाट हामी थप के कुरा सिक्न सक्छौं? यहोवाको हर आज्ञा हामीले पालन गर्नै पर्छ। निस्तार चाडको लागि तयारी गर्ने सन्दर्भमा इस्राएलीहरूले एक-एक कुरा पालना गरे। आज्ञा पालन गर्दै तिनीहरू नीसान १४ को रात घरबाहिर निस्केनन्। तिनीहरू अन्ततः मिश्रबाट निस्कँदा “युद्धमा गए जस्तो ताँती लागेर” जानुपर्ने थियो। (प्रस्थान १३:१८, NW) आज हामी “विश्वासी र बुद्धिमान दास” मार्फत पाउने डोऱ्याइअनुसार चल्नु एकदमै महत्त्वपूर्ण छ! (मत्ती २४:४५) परमेश्वरको वचनले पल्छितिरबाट यसो भनेको हामीले ध्यानसित सुन्नुपर्छ, “तिमीहरू दाहिने-देब्रे लाग्दा . . . यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड।’ ” (यशैया ३०:२१) महासंकष्ट झन् झनै नजिंकिदै जाँदा हामीले केही विस्तृत जानकारीहरू पाउन पनि सक्छौं। यी संकटग्रस्त दिनमा हाम्रो यात्रा सुरक्षित हुने/नहुने कुरा यहोवाका अन्य वफादार सेवकहरू सँगसँगै हिंडिरहेका छौं कि छैनौं, त्यसमा निर्भर हुन्छ।
१६. इस्राएलीहरूलाई छुटकारा दिन यहोवाले परिस्थितिलाई मोड्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौं?
१६ अनि यहोवाले इस्राएलीहरूलाई एकातिर पहाड र अर्कोतिर लाल समुद्रको बीच फन्दामा परेको जस्तो देखिने अवस्थामा पार्नुभएको कुरालाई पनि सम्झनुहोस्। यसो हेर्दा, त्यो कदम सही जस्तो त पटक्कै देखिंदैन थियो। तर सबै कुरा यहोवाको वशमा थियो अनि आफ्नो नाउँको महिमा गर्ने र आफ्ना जनहरूलाई छुटकारा दिने कुरामा उहाँ सफल हुनुभयो। आज केही संगठनात्मक कुराहरू किन कुनै खास तरिकामा गरिन्छ भनेर हामी स्पष्ट नबुझौंला तर यहोवाको विश्वासिलो माध्यम मार्फत पाइने डोऱ्याइमा भरोसा गर्ने हामीसित हर कारण छ। कहिलेकाहीं हाम्रा शत्रुहरू सफल भइरहेको जस्तो देखिएला। हाम्रो सीमित दृष्टिकोणबाट हेर्दा हामीले सबै कुरा बुझ्न नसकेका हुन सक्छौं। तैपनि इस्राएलीहरूको समयमा जस्तै आज पनि यहोवा सही समयमा कामकुरालाई मोड्न सक्षम हुनुहुन्छ।—हितोपदेश ३:५.
यहोवामा विश्वस्त हुनुहोस्
१७. यहोवाको डोऱ्याइमा हामी किन पूर्णतया विश्वस्त हुन सक्छौं?
१७ दिनमा बादलको खामो र राती चाहिं आगोको खामो भएको कुरालाई विचार गर्दा इस्राएलीहरूले कत्ति विश्वस्त महसुस गरे होलान्, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यो कुरा, “परमेश्वरका दूत[ले]” तिनीहरूलाई डोऱ्याएको प्रमाण थियो। (प्रस्थान १३:२१, २२; १४:१९) आज पनि यहोवाले आफ्ना जनहरूलाई सुरक्षा, डोऱ्याइ र छुटकारा दिनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं। “परमप्रभुले . . . आफ्ना भक्तहरूलाई त्याग्नुहुन्न, तिनीहरू सधैं सुरक्षित हुन्छन्” भन्ने प्रतिज्ञालाई हामी मनमा राख्न सक्छौं। (भजन ३७:२८) अनि आज परमेश्वरका सेवकहरूलाई साथ दिइरहेका शक्तिशाली स्वर्गदूतहरूलाई पनि कहिल्यै नबिर्सौं। तिनीहरूको साथ पाउँदा हामी ‘स्थिर हुन र परमप्रभुले दिनुहुने छुटकारा हेर्न’ सक्छौं।—प्रस्थान १४:१३, NRV.
१८. हामीले किन “परमेश्वरको सारा हात-हतियार धारण” गर्नुपर्छ?
१८ सच्चाइको लागि हामी कसरी ‘स्थिर हुन’ सक्छौं? एफिसीका मसीहीहरूलाई लेखेको पत्रमा पावलले भनेझैं आध्यात्मिक हतियार धारण गरेर। याद गर्नुहोस्, प्रेरित पावलले हामीलाई “परमेश्वरको सारा हात-हतियार धारण गर” भनेका छन्। के हामीले आध्यात्मिक हात-हतियारको ती सबै भाग धारण गरिरहेका छौं? आउँदो वर्ष, हामी प्रत्येकले सारा हात-हतियार यसको आफ्नै ठाउँमा चटक्क मिल्ने गरी लगाइरहेका छौं कि छैनौं भनी केलाएर हेर्नु बुद्धिमानी हुनेछ। हाम्रो शत्रु शैतानलाई हाम्रा कमीकमजोरीहरू थाह छ र त्यसले हाम्रो कमजोर पक्षलाई पक्रन वा चालै नपाउने तरिकामा आक्रमण गर्न खोज्छ। हामीले दुष्ट आत्मिक शक्तिहरू विरुद्ध “लडन्त” लड्नुपर्छ। तैपनि यहोवाको बल पाएर हामी विजयी हुन सक्छौं!—एफिसी ६:११-१८; हितोपदेश २७:११.
१९. हामीले सह्यौं भने के सुअवसर पाउन सक्छौं?
१९ येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “तिमीहरूको आफ्नो धैर्यमा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ।” (लूका २१:१९) आफूमाथि आइपर्ने जस्तोसुकै कठिनाइलाई पनि विश्वासी भई सहनेहरूमध्ये होऔं र परमेश्वरको अनुग्रह पाएर ‘स्थिर हुँदै परमप्रभुले दिनुहुने छुटकारा हेर्न’ सकौं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• चाँडै कस्ता रोमाञ्चकारी घटनाहरू हुनेछन्?
• ईसापूर्व १५१३ मा यहोवाले आफ्नो उद्धार गर्ने शक्ति कसरी प्रदर्शित गर्नुभयो?
• भविष्यमा तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?
[प्रश्नहरू]
[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]
सन् २००८ को वार्षिक पद हो: ‘स्थिर होओ र परमप्रभुले दिनुहुने छुटकारा हेर।’—प्रस्थान १४:१३, NRV.
[पृष्ठ १९-मा भएको चित्र]
“जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो”
[पृष्ठ २०-मा भएको चित्र]
फिरऊनको हठले गर्दा मिश्रले विपत्ति भोग्नुपऱ्यो
[पृष्ठ २१-मा भएको चित्र]
यहोवाको हर आज्ञा पालन गर्दा इस्राएल बच्यो