सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यो किताबलाई पत्याउन सकिन्छ?

के यो किताबलाई पत्याउन सकिन्छ?

के यो किताबलाई पत्याउन सकिन्छ?

“इतिहासको किताबमा भन्दा म बाइबलमा धेरै प्रमाणिकता पाउँछु।” —सर आइजक न्युटन, विश्‍वविख्यात बेलाइती वैज्ञानिक।

के बाइबललाई पत्याउन सकिन्छ? बाइबलमा उल्लेख गरिएका मानिस, ठाउँ एवं वृत्तान्तहरू के वास्तविक हुन्‌? हुन्‌ भने बाइबल होशियार, इमानदार लेखकहरूले लेखेको किताब हो भन्‍ने प्रमाण जरुर पनि हुनुपर्छ। अनि प्रमाण छ। प्रायजसो प्रमाणहरू जमीनमुनि फेला पारिए अनि कतिपय प्रमाण स्वयं बाइबलका पृष्ठहरूले दिन्छन्‌।

प्रमाण खोतल्ने

बाइबलमा उल्लिखित स्थानहरूमा फेला परेका मानव निर्मित सामग्रीहरूले गर्दा बाइबल ऐतिहासिक एवं भौगोलिक दुवै दृष्टिकोणले सही छ भन्‍ने आधार मिलेको छ। पुरातत्त्वविद्‌हरूले भेटाएका त्यस्ता केही प्रमाणहरू के हुन्‌ त? आउनुहोस्‌ हामी हेरौं।

दाऊद, बाइबल पाठकहरूका लागि चिरपरिचित नाउँ हो। तिनी बहादुर अनि जवान गोठाला थिए र पछि इस्राएल राष्ट्रको राजा पनि भए। बाइबलमा १,१३८ पटक दाऊद नाउँ उल्लेख गरिएको छ भने तिनको राजघरानालाई संकेत गर्ने अभिव्यक्‍ति “दाऊदको घराना” २५ पटक उल्लेख भएको छ। (१ शमूएल १६:१३; २०:१६) यद्यपि, केही समय अघिसम्म बाइबलमा बाहेक अरू कतै दाऊद भन्‍ने व्यक्‍ति कुनै समय अस्तित्वमा थियो भन्‍ने सुस्पष्ट प्रमाण थिएन। के त्यसोभए दाऊद काल्पनिक व्यक्‍ति थिए त?

सन्‌ १९९३ मा प्राध्यापक अब्राहम बिरानको नेतृत्वमा पुरातत्त्वविद्‌हरूको टोलीले गरेको अद्‌भुत खोजीबारे इजरायल एक्सप्लोरेसन जर्नल-मा उल्लेख गरिएको थियो। इजरायलको उत्तरी क्षेत्रमा पर्ने तेल दान भन्‍ने प्राचीन ढिस्कोमा तिनीहरूले कालो चट्टान भेट्टाए। त्यसमा “दाऊदको घराना” अनि “इस्राएलका राजा” भन्‍ने शब्दहरू कुँदिएका थिए। सा.यु.पू. नवौं शताब्दीताकको सो चट्टान पूर्वमा बस्ने इस्राएलका शत्रु आरामीहरूले खडा गरेको विजय स्तम्भमध्ये एक मानिन्छ। धूलोमूलो लागेको चट्टानमा कोरिएका ती शब्दहरू यति बिघ्न उल्लेखनीय हुनुको कारण?

प्राध्यापक बिरान अनि सहकर्मीहरूको रिपोर्टलाई आधार मानेर प्राध्यापक जोसेफ नाभेले बिब्लिकल आर्कियोलोजी रिभ्यू भन्‍ने पत्रिकामा यो लेख छपाए: “बाइबलबाहेक अन्य पुरातन शिलालेखहरूमा दाऊदको नाउँ फेला परेको यो पहिलो पटक हो।” a यो शिलालेखको अर्को खास कुरा पनि छ। “दाऊदको घराना” भन्‍ने अभिव्यक्‍ति एउटै सिंगो शब्दको रूपमा लेखिएको थियो। यस सन्दर्भमा भाषा विशेषज्ञ प्राध्यापक अन्सन रेने यसो भन्छन्‌: “चिरपरिचित, लोकप्रिय नाउँ हो भने . . . त्यसलाई बीचमा छुट्टाइँदैन थियो, सिंगो शब्दमै लेखिन्थ्यो। ‘दाऊदको घराना’ भन्‍ने नाउँ पनि सा.यु.पू. नवौं शताब्दीको चिरपरिचित राजनैतिक अनि भौगोलिक नाउँ थियो भन्‍ने कुरामा कुनै शंका छैन।” अतः राजा दाऊद अनि तिनको घराना प्राचीन संसारका लागि नौलो नाउँ थिएन भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ।

बाइबलमा उल्लिखित अश्‍शूरीहरूको ठूलो शहर निनवे पनि साँच्चै अस्तित्वमा थियो त? हालै १९ औं शताब्दीसम्म पनि केही बाइबल आलोचकहरू त्यसलाई विश्‍वास गर्न तयार थिएनन्‌। तर १८४९ मा सर अस्टिन हेन्री लेआर्डले कुइनजिक भन्‍ने ठाउँमा खनेर हेर्दा राजा सनहेरीबको दरबारका भग्नावशेषहरू भेट्टाए। यसप्रकार, प्राचीन निनवेको भाग फेला परेपछि आलोचकहरूको मुख बन्द भयो। तर यी भग्नावशेषका अरू विशेषताहरू पनि छन्‌। जस्तै, शकुशल फेला परेको एउटा खोपीको भित्तामा चित्र कुँदिएको भेट्टाइयो। चित्रमा बलियो शहरमाथि विजय हासिल गरेको अनि विजयी राजाअघि कैदीहरूलाई लाम कसेर अघि बढिरहेको देखाइएको छ। अनि राजाको चित्रको ठीक माथि यी शब्दहरू कुँदिएका छन्‌: “संसारको महाराज अनि अश्‍शूरका राजा सनहेरीबले निमेदु अर्थात्‌ सिंहासनमा विराजमान भई लाकीशको (लाकिसु) लुटको माललाई नजर गरिबक्स्यो।”

बेलाइती संग्रहालयमा हेर्न सकिने यो भित्ताको टुक्रा र लेखोट बाइबलको २ राजा १८:१३, १४ मा दिइएको विवरणसित मेल खान्छ। जहाँ सनहेरीबले यहूदाको शहर लाकीशमाथि विजय हासिल गरेको विवरण छ। यस अन्वेषणको महत्त्वमाथि प्रकाश पार्दै लेआर्डले लेखे: “निनवेका भग्नावशेषहरू फेला पार्नुअघि माटो र फोहरको थुप्रो मुनि [यहूदाको राजा] हिजकियाह र सनहेरीबको युद्धको इतिहास फेला पर्ला वा फेला पार्न सकिएला भनेर कसले सोचेको थियो होला र? र इतिहासको पनि त्यस्तो इतिहास, जुन घटना भएकै समयमा लेखिए अनि जसका एक एक विवरण बाइबलसित हुबहु मेल खान्छ।”

पुरातत्त्वविद्‌हरूले अरू थुप्रै मानव निर्मित साधनहरू, जस्तै, भाँडाकुँडा, घरका भग्नावशेष, शिलालेख, सिक्का, लेखोट, स्मारक अनि अभिलेख फेला पारेका छन्‌। यी सबैले बाइबलको सत्यताको पुष्टि दिन्छ। उत्खननहरूले अब्राहाम बसोबास गर्ने व्यापारिक तथा धार्मिक कनानी शहर ऊर फेला पारेका छन्‌। (उत्पत्ति ११:२७-३१) त्यस्तैगरि १९ औं शताब्दीमा फेला परेको नेबोनाइडसको इतिहासमा महान्‌ कोरेस राजाले सा.यु.पू. ५३९ मा बाबेलमाथि विजय हासिल गरेको घटना उल्लेख छ र त्यही विवरण हामी दानियल अध्याय ५ मा पाउँछौं। पुरातन थिस्सलोनिकाको बाटोमा फेला परेको एउटा गुम्बजमा शहरका शासकहरूलाई “पोलिटार्क्स” भनेर व्याख्या गरिएको पाइएको छ। (यसका टुक्राहरू बेलाइती संग्रहालयमा सुरक्षित छन्‌।) र यो एउटा यस्तो शब्द हो जुन बाइबल लेखक लूकाले प्रयोग गरेका थिए र अरू प्राचीन युनानी साहित्यहरूमा कतै पाइँदैन।१० (प्रेरित १७:६, पादटिप्पणी, NW) यसप्रकार, लूकाका अन्य विवरणलगायत यो पनि सही हो भन्‍ने कुरा प्रस्ट भयो।—लूका १:३ तुलना गर्नुहोस्‌।

तथापि, पुरातत्त्वविद्‌हरूको कुराहरू आपसमै सधैं मेल खाँदैनन्‌ भने बाइबलसित मेल खान त परै जाओस्‌। तर त्यसोभए तापनि, बाइबलको विवरण आफैले बाइबल पत्याउन योग्यको छ भन्‍ने बलियो प्रमाण दिन्छ।

निष्पक्ष विवरण

निष्पक्ष इतिहासकारहरूले विजय, (जस्तै सनहेरीबले लाकीशमाथि गरेको विजयको शिलालेख) सफलता अनि सद्‌गुण मात्र होइन हार, असफलता अनि कमजोरीको विवरण पनि लेख्छन्‌। तथापि, कमै इतिहासकारले त्यस्तो निष्पक्षता देखाएका छन्‌।

अश्‍शूरी इतिहासकारहरूको सन्दर्भमा डेनियल डि. लकेनबील यसो भन्छन्‌: “शाही अहंकारले ऐतिहासिक यथार्थसित खेलवाड गरेको प्रायः भेटिन्छ।”११ अश्‍शूरी महाराजा अश्‍शूर्नसिरपलको यस्तो घमन्डले त्यस्तो “शाही अहंकार[को]” चित्रण गर्छ: “म उच्च छु, म महान्‌ हुँ, म महिमित छु, म पराक्रमी छु, म सम्मानित छु, म महिमायोग्य छु, म सबैभन्दा ठूलो हुँ, म शक्‍तिशाली छु, म योद्धा हुँ, म सिंहजस्तो निडर छु र म बहादुर छु!”१२ अब यस्तो व्यक्‍तिको इतिहासका सबै विवरणलाई के तपाईं यथार्थ भनेर स्वीकार्न सक्नुहुन्छ?

त्यसको विपरीत बाइबल लेखकहरूले जबरजस्त निष्पक्षता देखाएका छन्‌। इस्राएलका नेता मोशाले आफ्नो दाइ हारून, दिदी मरियम, भतिजा नादाब र अबीहु, आफ्ना जनहरूका मात्र होइन, स्वयं आफ्नै भूल पनि लुकाएनन्‌। (प्रस्थान १४:११, १२; ३२:१-६; लेवी १०:१, २; गन्ती १२:१-३; २०:९-१२; २७:१२-१४) त्यस्तैगरि राजा दाऊदका गम्भीर भूलहरू लुकाएनन्‌ बरु खुलस्त लेखिए। यो पनि नबिर्सनुहोस्‌, राजा दाऊदले शासन गरिरहेकै बेला ती कुरा लेखिएका थिए। (२ शमूएल अध्याय ११ र २४) मत्तीरचित सुसमाचारका लेखक मत्तीले (तिनी आफै पनि प्रेरित हुन्‌) प्रेरितहरू कसरी व्यक्‍तिगत कुराहरूमा भनाभन गर्थे अनि येशू ख्रीष्ट गिरफ्तार हुँदा कसरी तिनीहरू उहाँलाई छाडेर भागे, एक एक विवरण लेखेका छन्‌। (मत्ती २०:२०-२४; २६:५६) मसीही युनानी धर्मशास्त्रमा पाइने पत्रका लेखकहरूले प्रारम्भिक मसीही मण्डलीहरूमा यौन अनैतिकता अनि विभाजनजस्ता कुराहरू थिए भनेर नहिचकिचाई स्वीकारे। अनि तिनीहरूले कुरा चपाई चपाई लेखेनन्‌ बरु एक एक समस्या खुलस्त लेखे।—१ कोरिन्थी १:१०-१३; ५:१-१३.

कुनै कुरा नलुकाई जनसमक्ष प्रकट गर्ने यस्ता विवरणहरूले सत्यप्रतिको निष्कपट चासो देखाउँछ। आफ्ना प्रिय जन, आफ्नै जाति अनि आफ्नै नमीठा कुराहरू स्वेच्छापूर्वक लेख्ने त्यस्ता बाइबल लेखकहरूका कुरा पत्याउने के असल कारण नहोला त?

सही विवरण

मुद्दा छिनफान गर्नुपर्दा साक्षीले दिएको बयान कत्तिको भरोसायोग्य छ भन्‍ने कुरा थाह लाउन सानोभन्दा सानो जानकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। सानोतिनो कुरामा पनि साक्षीको बयान मिल्छ भने उसको साक्षी सही अनि निष्पक्ष ठहरिन्छ। यद्यपि, भयंकर भिन्‍नताहरू देखेमा चाहिं जालसाजी गरेको पर्दाफास हुनसक्छ। तथापि, अर्कोतर्फ जानीबुझी सबै कुरा टक्क मिलाएजस्तो देखिने बयान पत्याउन गाह्रो हुन्छ।

त्यसोभए यस सन्दर्भमा बाइबल लेखकहरूको “बयान[लाई]” कुन दर्जामा राख्न सकिन्छ त? बाइबलका लेखकहरूले आफ्ना सबै विवरणहरूमा उल्लेखनीय एकरूपता देखाएको हामी भेट्टाउँछौं। सानोभन्दा सानो विवरणसमेत लेखकहरूबीच नबाझिएको हामी देख्छौं। तथापि, जानीबुझीकन एकरूपता ल्याउन खोजिएको जस्तो नभेटिएको हुँदा कतै लेखकहरूबीच साँठगाँठ थियो भन्‍ने शंका गर्ने ठाउँ पनि त्यहाँ देखिंदैन। लेखकहरूले जालसाजी गरेर भन्दा पनि अनजानमै एकअर्काको समर्थन गरेको प्रायः पाइन्छ। केही उदाहरणहरूलाई एकछिन विचार गरौं।

बाइबल लेखक मत्तीले लेखे: “पत्रुसको घरमा आएपछि येशूले तिनका सासूलाई ज्वरोले थलिएर पस्रिएकी देख्नुभयो।” (मत्ती ८:१४) मत्तीले यहाँ पाठकहरूले जान्‍नु नपर्ने र त्यति चाख पनि नलाग्ने विवरण दिए। मतलब, पत्रुस विवाहित थिए। यति नगण्य विवरणलाई पावलले कसरी समर्थन गर्न पुगे, तिनका यी शब्दहरूलाई ध्यान दिनुहोस्‌: “के अरू प्रेरितहरू, . . . र केफासलाई जस्तै हामीलाई पनि ख्रीष्टियान पत्नी लिएर हिंड़नालाई अधिकार छैन र?” b (१ कोरिन्थी ९:५) प्रसंगलाई विचार गर्नुहोस्‌। तपाईंले यहाँ पावलले बेकारको आलोचनाको खण्डन गरेको पाउनुहुन्छ। (१ कोरिन्थी ९:१-४) स्पष्ट छ, मत्तीको विवरण ठीक हो भन्‍ने कुरालाई समर्थन गर्न पावलले यहाँ पत्रुस विवाहित थिए भन्‍ने उल्लेख पक्कै पनि गरेका होइनन्‌। बरु संयोगवश ती दुइ बाइबल लेखकहरूबीच कुरा मिल्न गएको हो।

सुसमाचारका चारै लेखकहरू—मत्ती, मर्कूस, लूका अनि यूहन्‍नाले येशूलाई गिरफ्तार गरिएको रात येशूकै एक जना चेलाले तरवार झिकेर प्रधानपूजाहारीको दासको कान च्वाट्टै पारे भनेर उल्लेख गरेका छन्‌। तर यूहन्‍नारचित सुसमाचारमा मात्र “त्यस दासको नाउँ माल्कस थियो” भन्‍ने उल्लेख गरिएको छ। (यूहन्‍ना १८:१०, २६) यूहन्‍नाले मात्र किन त्यस दासको नाउँ उल्लेख गरे? आखिर, त्यस दासको नाउँ जान्‍नु त्यति आवश्‍यक छ जस्तो पनि त देखिंदैन। सोही विवरणको केही पद तल सानो जानकारीले त्यसको जवाफ दिन्छ, जुन जानकारी अरू कतै पाइँदैन। त्यो हो, यूहन्‍ना “प्रधानपूजाहारीका चिन्हारु थिए।” (यूहन्‍ना १८:१५, १६) यूहन्‍नाले प्रधानपूजाहारीको घरानालाई पनि चिनेका थिए। प्रधानपूजाहारीको दास अनि यूहन्‍ना दुवै एकअर्कासित परिचित भएकोले यूहन्‍नाले घाइतेको नाउँ उल्लेख गर्नु स्वाभाविक हो। तर जहाँसम्म सुसमाचारका अन्य लेखकहरूको कुरा छ, तिनीहरूले त्यस दासलाई चिनेका थिएनन्‌। अतः तिनको नाउँ उल्लेख गरेनन्‌।

कुनै कुनै ठाउँमा एउटा विवरणमा छुटेका कुराहरू अन्य ठाउँमा कुरै कुरामा उल्लेख भएको पनि हामी पाउँछौं। जस्तै, मत्तीले येशूको पुर्पक्षको विवरण लेख्दा यहूदी सभाघरमा उपस्थित केही व्यक्‍तिहरूले “लपटाले हिर्काएर, हे ख्रीष्ट, तँलाई हिर्काउने को हो, लौ अगमवाणी गर” भने भनेर उल्लेख गरेका छन्‌। (मत्ती २६:६७, ६८) अब येशूकै अगाडि उभिएर थप्पड हान्‍ने व्यक्‍तिले फेरि किन उहाँलाई थप्पड हान्‍ने को हो “अगमवाणी गर” भन्थे होला र? मत्तीले त्यसको जवाफ दिएका छैनन्‌। तर सुसमाचारका अन्य दुइ लेखकहरूले त्यसको जवाफ यसरी दिएका छन्‌: येशूलाई सताउनेहरूले उहाँको मुख छोपेर थप्पड लगाएका थिए। (मर्कूस १४:६५; लूका २२:६४) मत्तीले विवरणका एक एक पक्षलाई भन्दा घटनालाई बढी ध्यान दिएर लेखेको हुँदा, त्यो कुरा उल्लेख नगरेका हुन्‌।

त्यस्तैगरि यूहन्‍नारचित सुसमाचारमा एक पटक ठूलो भीड येशूको शिक्षा सुन्‍न भेला भयो भन्‍ने उल्लेख छ। अनि विवरणअनुसार येशूले भीडलाई हेरेर “फिलिपलाई भन्‍नुभयो, ‘हामी कहाँबाट रोटी किनौं र यिनीहरूलाई खानदिऔं?’ ” (यूहन्‍ना ६:५) सबै चेलाहरू हुँदाहुँदै उहाँले फिलिपलाई नै किन रोटी कहाँ किन्‍ने भनेर सोध्नुभयो? लेखकले त्यसको जवाफ दिएका छैनन्‌। तथापि, सोही विवरण उल्लेख गर्ने अर्को लेखक लूकाले उक्‍त घटना गालिलको समुद्रको उत्तरी किनारामा पर्ने बेत्सैदा शहरमा भएको हो भनेर थपेका छन्‌। अनि स्वयं यूहन्‍नाको विवरणअनुसार “फिलिप . . . बेत्सैदाका थिए।” (यूहन्‍ना १:४४; लूका ९:१०) अतः येशूले जसको शहर उसलाई सोध्नु सोह्रै आना तार्किक थियो। यी सम्पूर्ण विवरण यसरी मेल खानु निकै उल्लेखनीय छ। तथापि, तिनीहरूमध्ये कसैले जालसाजी गरी कुरा जोडजाड पारेको हामी देख्दैनौं।

अझ कतिपय घटनामा त्यसरी विवरण पूरा नहुँदा बाइबल लेखकको सत्यता झनै पुष्टि हुन्छ। उदाहरणका लागि, इस्राएलमा ठूलो अनिकाल पऱ्‍यो भनेर बताउने १ राजा पुस्तकको लेखकलाई लिनुहोस्‌। यो लेखकअनुसार अनिकाल यति भयंकर थियो कि राजाले आफ्नै घोडा र खच्चरहरूलाई जिउँदो राख्नसमेत कतै घाँस पानी पाएनन्‌। (१ राजा १७:७; १८:५) तर सोही विवरणमा लेखक के पनि भन्छन्‌ भने कार्मेल पर्वतमा (बलिदान चढाउन) बनाइएको झन्डै १,००० वर्ग मिटर ठूलो गहिरो खाल्डोमा पानी भर्न अगमवक्‍ता एलियाले प्रशस्त पानी ल्याउन अह्राए। (१ राजा १८:३३-३५) अब भयंकर अनिकाल परेको बेला त्यति बिघ्न पानी चाहिं कताबाट आयो? पहिलो राजा पुस्तकको लेखकले बताउने कष्ट गरेनन्‌। तथापि, त्यसताक इस्राएलमा बसेर कार्मेल पर्वत भूमध्य सागरको किनारमा पर्छ भनेर पनि थाह नहुने कमै थिए होलान्‌। संयोगवश सोही विवरणमा पछि समुद्रको उल्लेख पनि गरिएको छ। (१ राजा १८:४३, NW) अतः अनिकाल परेपनि त्यतिबेलाका मानिसहरूले समुद्रको पानी ल्याउनसक्थे। लेखकले साँच्चै मनगढन्ते कथालाई तथ्यको रूपमा प्रस्तुत गर्ने कोसिस गरेका भए, सबैले प्रस्टै देख्नसक्ने कुरा छुटाएर किन पो आफूलाई महाफटाहा बनाउँथ्यो होला र?

अतः तपाईंको के विचार छ? के बाइबललाई पत्याउन सकिन्छ? बाइबलमा साँच्चै वास्तविक व्यक्‍ति, ठाउँ अनि वास्तविक घटनाहरूको उल्लेख भएको छ भनेर पुरातत्त्वविद्‌हरूले थुप्रै प्रमाण खोतलेर निकालिसकेका छन्‌। तथापि, त्योभन्दा जबरजस्त प्रमाण त बाइबल आफैमा पाइन्छ। एक एक कुरा सत्य लेख्न निष्पक्ष लेखकहरूले अरूलाई त के आफैलाई बाँकी राखेनन्‌। बाइबलका लेखोटहरूबीचको आन्तरिक सामञ्जस्यता अनि घटनाहरूबीच मेल खानु अनि त्यसमा कुनै जालसाजी नहुनु, यी सबैले बाइबलमा साँचो विवरण पाइन्छ भन्‍ने “बयान” दिन्छ। अतः “धेरै प्रमाणिकता” भएको पुस्तक बाइबललाई तपाईं पत्याउन सक्नुहुन्छ भन्‍ने कुरामा दुइ मत छैन।

[फुटनोटहरू]

a सन्‌ १८६८ मा फेला परेको मेसा स्टेलामा (मोआबी शिलालेखको नाउँले पनि परिचित) क्षति पुगेका अक्षरहरूलाई पुनः सच्याउँदा “दाऊदको घराना” भन्‍ने उल्लेख गरिएको पाइयो भनेर प्राध्यापक आन्द्रे लेमरले यसको केही समयपछि रिपोर्ट गरेका थिए।

b “केफास” “पत्रुस[को]” यहूदी नाउँ हो।—यूहन्‍ना १:४२.

[पृष्ठ १५-मा भएको चित्र]

तेल दानका टुक्राहरू

[पृष्ठ १६, १७-मा भएको चित्र]

दोस्रो राजा १८:१३, १४ मा उल्लिखित लाकीशमाथि विजय हासिल गरेको चित्रण गर्ने अश्‍शूरी भित्ताको टुक्रा