सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यो किताब विज्ञानसित मेल खान्छ?

के यो किताब विज्ञानसित मेल खान्छ?

के यो किताब विज्ञानसित मेल खान्छ?

धर्मले विज्ञानलाई प्रायः शत्रुकै रूपमा हेरेको पाइन्छ। बितेका शताब्दीहरूमा बाइबलको अर्थ खुलाउन खोज्ने धर्मविज्ञानीहरूले वैज्ञानिक अन्वेषणहरूले आफ्नो कुरा काट्‌दा त्यसको घोर विरोध गरे। तर के विज्ञान साँच्चै बाइबलको शत्रु हो त?

बाइबल लेखकहरूले आफ्नो समयका वैज्ञानिक दृष्टिकोणहरूलाई समर्थन गरेका भए, आज हामीले थुप्रै भूलहरू भेट्टाउने थियौं। तर ती लेखकहरूले त्यस्ता अवैज्ञानिक गलत धारणाहरूको प्रवर्धन गरेनन्‌। बरु त्यस्ता थुप्रै कुराहरू उल्लेख गरे जुन वैज्ञानिक तवरमा सही हुनुका साथै तत्कालीन मानिसहरूले मान्यता दिएका विचारधाराभन्दा बिलकुलै विपरीत छन्‌।

पृथ्वीको आकार कस्तो छ?

हजारौं वर्षसम्म मानिसहरूलाई यो प्रश्‍नले कुतकुत्याइरहेको थियो। प्राचीन मानिसहरू पृथ्वी चेप्टो छ भनेर सम्झन्थे। उदाहरणका लागि, बेबिलोनीहरू ब्रह्‍माण्ड बाकसजस्तो चारपाटे कोठा जस्तो छ र त्यसको भुइँमा पृथ्वी छ भनेर विश्‍वास गर्थे। भारतका वैदिक ऋषीमुनीहरू पृथ्वी चेप्टो छ र त्यसको एक भागमा मात्र मानिसहरू बसोबास गर्छन्‌ भन्ठान्थे। त्यस्तैगरि एसियाका आदिवासीहरू पृथ्वीको चित्र कोर्नुपर्दा ठूलो किस्तीको आकार बनाउँथे।

समय बित्दै जाँदा यस्तै सा.यु.पू. छैटौं शताब्दीको प्रारम्भतिर युनानी दार्शनिक पाइथागोरसले सूर्य र चन्द्र गोलो भएकोले पृथ्वी पनि गोलो हुनुपर्छ भन्‍ने सिद्धान्त प्रतिपादन गरे। पछि अरस्तुले (सा.यु.पू. चौथो शताब्दी) चन्द्र ग्रहणले पृथ्वी गोलो छ भन्‍ने प्रमाण दिन्छ भन्‍ने तर्क गर्दै पाइथागोरसलाई समर्थन गरे। किनकि चन्द्र ग्रहण लाग्दा चन्द्रमामा पृथ्वीको गोलाकार छायाँ देखिन्छ।

तथापि, पृथ्वी चेप्टो छ (र त्यसको एक भागमा मात्र बसोबास गरिन्छ) भन्‍ने विचारधारा पूर्णतया हट्‌न सकेन। कसै कसैको दिमागमा प्रतिलोमको धारणा अर्थात्‌ पृथ्वी गोलो छ भन्‍ने कुरा घुस्नै सकेन। a सा.यु. चौथो शताब्दीका मसीही समर्थक लाकटानसियसले प्रतिलोमको उपहास गर्दै यस्तो तर्क गरे: “टाउको माथि पैताला हुन्छ भनेर विश्‍वास गर्ने भन्दा मूर्ख कोही होला? . . . बाली अनि रूखहरू तलतिर फर्केर उम्रन्छन्‌ र पानी अनि हिउँ तलतिर होइन मास्तिर पर्छ भनेर विश्‍वास गर्ने कस्तो मूर्ख होला त?”

प्रतिलोमको धारणाले गर्दा केही धर्मविज्ञानीहरू बिलखबन्दमा परे। किनकि समुद्र पार गर्नै नसकिने विशाल भएकोले त्यस्तैगरि उष्ण क्षेत्र पनि गर्मीले गर्दा पार गर्न नसकिने भएकोले पृथ्वीको अर्को छेउमा मानिसहरू छन्‌ भने पनि तिनीहरूले अरू मानिसहरूसँग सम्पर्क राख्न सक्दैनन्‌ भन्‍ने केही सिद्धान्तहरू त्यतिबेला देखा परेका थिए। त्यसोभए पृथ्वीको अर्को छेउमा मानिसहरू कसरी पुगे? यस्ता तर्कहरूको कारण बिलखबन्दमा परेका धर्मविज्ञानीहरूले बरु पृथ्वीको अर्को छेउमा मान्छेहरू नै छैनन्‌ भनेर विश्‍वास गर्न रुचाए। अझ कतिले लाकटानसियसले जस्तै पृथ्वी गोलाकार हुनैसक्दैन भनेर ठोकुवा पनि गरे!

यद्यपि यी सबका बावजूद पृथ्वी गोलो छ भन्‍ने धारणा रहिरह्‍यो र अन्ततः त्यसले व्यापक मान्यता पायो पनि। तथापि, २० औं शताब्दीमा आएर अन्तरिक्ष युग सुरु भएपछि मात्र मानिसजातिले अन्तरिक्षमा उडेर पृथ्वी साँच्चै गोलो रहेछ भन्‍ने कुरा आफ्नै आँखाले देख्न सके। b

अब पृथ्वीको आकारको सन्दर्भमा बाइबलको भन्‍नु के थियो त? युनानी दार्शनिकहरूले पृथ्वी गोलो छ भन्‍ने सिद्धान्त प्रतिपादन गर्नुभन्दा शताब्दीयौंअघि अनि मानिसजातिले अन्तरिक्षमा गएर पृथ्वी साँच्चै गोलो रहेछ भनेर आफ्नै आँखाले देख्नुभन्दा हजारौं वर्षअघि करिब सा.यु.पू. आठौं शताब्दीतिर हिब्रू अगमवक्‍ताले अति सरल भाषामा पृथ्वीको आकारबारे यसरी बताए: “उहाँ तिनै हुनुहुन्छ जो पृथ्वीभन्दा [“पृथ्वीको घेराभन्दा,” NW] उच्चमा विराजमान हुनुहुन्छ।” (यशैया ४०:२२) अनि स्मरण रहोस्‌, यस हिब्रू अगमवक्‍ताले यो कुरा त्यस बेला लेखेका थिए जुन बेला पृथ्वी चेप्टो छ भन्‍ने धारण अति व्यापक थियो। “घेरा” भनी अनुवाद गरिएको हिब्रू शब्द चुग-को अर्थ पनि विचार गर्न लायकको छ। किनभने त्यसको अर्थ “गोलाकार” पनि हुनसक्छ। त्यसैकारण, अन्य बाइबल अनुवादहरूमा सोही पदलाई “गोलाकार पृथ्वी” (डुवे संस्करण) अनि “गोलो पृथ्वी” भनेर उल्था गरिएको छ।—मोफट। c

बाइबल लेखक यशैयाले तत्कालीन मानिसहरूले पृथ्वीबारे जे-जस्तो धारणा राख्थे त्यसको समर्थन गरेनन्‌ बरु त्यस्तो कुरा लेखे जसलाई दिन प्रतिदिन प्रगति हुँदै गइरहेको वैज्ञानिक अन्वेषणहरूले समेत खण्डन गर्न सकेनन्‌।

पृथ्वीलाई कुन कुराले थामेको छ?

पृथ्वी कहाँ अडेको छ? सूर्य, चन्द्र अनि ताराहरूलाई के ले थामेको छ? जस्ता प्रश्‍नहरूले प्राचीन समयका मानिसहरूलाई निकै अन्योलमा पार्थ्यो। तिनीहरूसँग ब्रह्‍माण्डीय गुरुत्वाकर्षणको ज्ञान थिएन। अनि होस्‌ पनि कसरी। किनकि सर आइजक न्युटनले १६८७ मा गुरुत्वाकर्षणको नियम प्रतिपादन गरी छपाएपछि मात्र गुरुत्वाकर्षण भन्‍ने चीज पनि रहेछ भनेर मानिसहरूलाई थाह लाग्यो। सबै आकाशीय पिण्डहरू खुला अन्तरिक्षमा झुन्डिरहेका होलान्‌ भनेर तिनीहरूले कल्पनासमेत पनि गरेका थिएनन्‌। त्यसैकारण, पुरानो विवरणहरू हेर्नुहोस्‌। हामी त्यहाँ कुनै ठोस वस्तुले पृथ्वी अनि अन्य आकाशीय पिण्डहरूलाई थामेर राखेका कथाहरू पाउँछौं।

उदाहरणका लागि, एउटा त्यस्तै प्राचीन सिद्धान्तलाई लिनुहोस्‌। जुन शायद टापुवासीहरूले प्रतिपादन गरे होलान्‌। किनकि त्यस सिद्धान्तले पृथ्वीलाई वरपर पानीले ढाकेको छ र त्यही पानीमा पृथ्वी तैरिरहेको छ भनेर बताउँछ। हिन्दूहरू पृथ्वीका जगहरू थुप्रै छन्‌ र ती खप्टाएर राखिएका हुन्छन्‌ भन्‍ने विश्‍वास गर्थे। विशाल समुद्रमा बस्ने विशाल सर्पले विशाल कछुवालाई अनि विशाल कछुवाले चारवटा हात्तीलाई अनि हात्तीले चाहिं पृथ्वीलाई थामेको छ भन्‍ने तिनीहरूको धारणा थियो। सा.यु.पू. पाँचौं शताब्दीका युनानी दार्शनिक इम्पेडोकल्स पृथ्वी भुमरीमा अडेको छ र त्यही भुमरीले गर्दा आकाशीय पिण्डहरू घुम्छन्‌ भन्‍ने धारणा राख्थे।

तथापि, सबैभन्दा प्रभावकारी दृष्टिकोण त अरस्तुको थियो। पृथ्वी गोलो छ भन्‍ने सिद्धान्त प्रतिपादन गरे तापनि तिनले पृथ्वी खुला अन्तरिक्षमा अड्‌नसक्छ भन्‍ने धारणालाई अस्वीकार गरे। पृथ्वी पानीमा अडेको छ भन्‍ने धारणाको भर्त्सना गर्दै तिनले आकाशमाथि (अंग्रेजी) भन्‍ने किताबमा यसो भने: “न पानी न पृथ्वीमै खुला हावामा अडेर बस्ने क्षमता छ। कुनै आडबिना त्यो खुला हावामा अड्‌न सक्दैसक्दैन।” त्यसोभए पृथ्वी ‘अडेको छ’ केमा? अरस्तुले सूर्य, चन्द्र अनि ताराहरू पारदर्शी ठोस वस्तुका सतहमा अडेका छन्‌ भनेर सिकाए। तिनको विचारमा त्यो पारदर्शी ठोस वस्तु गोलाकार भकुन्डो जस्तो थियो र हरेक गोला भित्र अर्को गोलाहरू हुन्थे र सबैभन्दा बीचको गोलामा चाहिं पृथ्वी अचल अवस्थामा थियो। तिनको भनाइअनुसार गोलाहरू घुम्दा ती गोलाहरूमा सूर्य, चन्द्र, तारा के अडेका छन्‌, ती आकाशमा घुम्थे।

अरस्तुको कुरा तर्कसंगत देखिन्थ्यो। हुन पनि आखिर आकाशीय पिण्डहरू कुनै कुराले नथामी कसरी अड्‌नसक्थे? श्रद्धेय अरस्तुका धारणालाई झन्डै २,००० वर्षसम्म तथ्यको रूपमा स्वीकारियो। अझ द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका-अनुसार १६ औं अनि १७ औं शताब्दीताक अरस्तुका शिक्षाहरू चर्चको दृष्टिकोणमा “धार्मिक सिद्धान्त सरह” भए।

तथापि, समयको दौडान दूरदर्शी यन्त्रको आविष्कार भएपछि खगोलशास्त्रीहरूले अरस्तुको सिद्धान्तमाथि प्रश्‍न उठाउन थाले। यद्यपि, सर आइजक न्युटनले ग्रहहरूलाई तिनीहरूको आ-आफ्नो कक्षमा अदृश्‍य शक्‍ति अर्थात्‌ गुरुत्वाकर्षणले खुला अन्तरिक्षमा थामेर राखेको छ भन्‍ने धारणा प्रकाशमा आएपछि मात्र ती खगोलशास्त्रीहरूको आँखा छर्लंग भयो। तर सबै मानिसहरूले न्युटनको कुरा पत्याउन सकेनन्‌। यहाँसम्म कि न्युटनका केही सहकर्मीहरूलाई समेत अन्तरिक्ष खोक्रो, अनि प्रायः शून्य छ भनेर विश्‍वास गर्न असाध्यै कठिन पऱ्‍यो। d

अब यसबारे बाइबलको भन्‍नु के छ त? यस्तै ३,५०० वर्षअघि बाइबलले पृथ्वी “त्यतिकै झुन्डिएर रहेको छ” भनेर प्रस्टै बताएको थियो। (अय्यूब २६:७, NW) मूल हिब्रू भाषामा “त्यतिकै” (बेलिमा) भन्‍ने शब्दको अर्थ “कुनै कुराको आडबिना” हो। त्यसैकारण कन्टेम्पोररी इंग्लिस संस्करण-ले सोही पदलाई “खुला अन्तरिक्षमा” भनेर अनुवाद गरेको पनि छ।

त्यतिबेला प्रायजसो मानिसहरूले ग्रह “खुला अन्तरिक्षमा” अड्‌नसक्छ भनेर कल्पनासमेत पनि गरेका थिएनन्‌। यद्यपि, मानिसहरूले कैयौं शताब्दीसम्म पत्ता लगाउन नसकेको कुरा बाइबल लेखकले उहिले बताइसकेको थियो जुन वैज्ञानिक तवरमा पनि सही छ।

के बाइबल चिकित्सा विज्ञानसित मेल खान्छ?

रोग कसरी फैलिन्छ र त्यसको निवारण के हो, यस सम्बन्धमा आधुनिक चिकित्सा विज्ञानले हामीलाई धेरै कुरा सिकाएको छ। उन्‍नाइसौं शताब्दीताक चिकित्सा क्षेत्रमा भएको प्रगतिले गर्दा एन्टिसेप्सीस अर्थात्‌ संक्रमण हुन नदिन सरसफाइ विधि अपनाउने जस्ता चिकित्सा विधिहरू पनि प्रयोगमा आए। नतिजा निकै नाटकीय थियो। किनकि तत्पश्‍चात्‌ संक्रमण र अकाल मृत्युमा उल्लेखनीय कमी हुनथाल्यो।

तथापि, प्राचीन चिकित्सकहरूलाई न रोग कसरी फैलिन्छ थाह थियो नता रोग निवारण गर्न सरसफाइको ख्याल गर्नुपर्छ भनेर नै थाह थियो। अतः त्यसबेला मानिसहरूले अपनाएका चिकित्सा विधि सुनेर अहिले हामीलाई छक्कभन्दा पनि डर लाग्नु स्वाभाविक हो।

हालसम्म फेला परेको सबैभन्दा पुरानो चिकित्सासम्बन्धी लेख, एबर्स पपाइरस हो। सा.यु.पू. १५५० को मानिने यस पपाइरसमा मिश्री उपचार विधि बताइएको छ। “गोहीको टोकाइदेखि बुढीऔंलोको पीडासम्म” विभिन्‍न कष्टहरूको उपचार गर्ने लगभग ७०० विधिहरू त्यसमा पाइन्छ। यी विधिहरू कस्ता थिए त, त्यसबारे दि इन्टरनेशनल स्ट्याण्डर्ड बाइबल इनसाइक्लोपीडिया यसो भन्छ: “यी चिकित्सकहरूको उपचार विधि तथ्यमा भन्दा व्यक्‍तिगत अनुभवमै बढ्‌ता आधारित थिए र मुख्यतः जादुमन्त्र नै बढी थिए। ती चिकित्सकहरूको उपचार विधि पूर्णतया अवैज्ञानिक थिए।” त्यस्ता प्रायः विधिहरू बेकार मात्र नभई कुनै कुनै त अति खतरनाक पनि थिए। यहाँसम्म कि, त्यस्तै एउटा उपचार विधिमा चोटपटक लागेको खण्डमा मानिसको दिसामा अन्य वस्तुहरू मिलाई घाउमा लगाउने सुझाउ दिइएको पाइयो।१०

यो मिश्री उपचार विधि लेखेकै समयमा बाइबलका प्रथम किताबहरू लेखिएका थिए, जसमा मोशालाई दिइएको व्यवस्थामा समावेश थियो। सा.यु.पू. १५९३ मा जन्मेका मोशा मिश्रमै हुर्केका थिए। (प्रस्थान २:१-१०) फिरऊनको परिवारको सदस्य भएकोले तिनलाई “मिश्रीहरूका सारा विद्या” सिकाइयो। (प्रेरित ७:२२) तिनी मिश्रका “वैद्यहरू[सित]” परिचित थिए। (उत्पत्ति ५०:१-३) त्यसोभए ती वैद्यहरूको बेकार अझ भनौं भने डरलाग्दो उपचार विधिहरूले मोशाका लेखहरूलाई असर गरेनन्‌ त?

पटक्कै गरेन। बरु, मोशाको नियममा समावेश सरसफाइसम्बन्धी व्यवस्था तत्कालीन मानिसहरूको विचारधाराभन्दा धेरै विकसित थियो। जस्तै, छाउनीसम्बन्धी एउटा नियमअनुसार दिसा बस्ने ठाउँ छाउनी बाहिर हुनुपर्थ्यो र दिसा बसेपछि त्यसलाई पुर्नुपर्थ्यो। (व्यवस्था २३:१३) यो निकै विकसित निवारण विधि थियो। किनकि त्यसो गर्दा पानी दूषित हुन पाउँदैन थियो र साथै आउँ अनि झाडाबान्ताजस्ता झिंगाहरूद्वारा सर्ने रोग पनि फैलन पाउँदैन थियो। सरसफाइबारे राम्ररी ध्यान नदिने मुलुकहरूमा आज यी रोगहरूले गर्दा वर्षेनी लाखौं मानिसहरू अझै मरिरहेका छन्‌।

मोशालाई दिइएको व्यवस्थामा सरसफाइसम्बन्धी अरू नियमहरू पनि छन्‌ र ती सबैले इस्राएलीहरूलाई सरुवा रोगहरूदेखि बचाए। कुनै व्यक्‍तिलाई सरुवा रोग लागेको खण्डमा वा लागेको शंका लागेमा उसलाई मानिसहरूसँग घुलमिल हुन नदिई अलग्गै राख्नुपर्थ्यो। (लेवी १३:१-५) लुगा वा भाँडाकुँडामा (शायद रोगका कारण मरेको) जनावरको सिनो परेमा त्यसलाई चलाउनुअघि फेरि धुनुपर्थ्यो नभए फ्याँक्नुपर्थ्यो। (लेवी ११:२७, २८, ३२, ३३) मुर्दा छुने व्यक्‍तिलाई अशुद्ध मानिन्थ्यो र उसले आफ्नो लुगा धुने, नुहाउनेलगायत अन्य विधि पूरा गरेर आफूलाई शुद्ध पार्नुपर्थ्यो। सात दिनमा त्यस व्यक्‍तिले आफूलाई शुद्ध पार्नुपर्थ्यो। त्यस दौडान उसले अरू कसैसँग लसपस गर्नु हुँदैन थियो।—गन्ती १९:१-१३.

सरसफाइसम्बन्धी यी व्यवस्थाहरूले तत्कालीन समयका मानिसहरूलाई थाह नभएको बुद्धि प्रकट गर्छ। रोगहरू कसरी फैलिन्छ भनेर चिकित्सा विज्ञानले पत्ता लगाउनुभन्दा हजारौं वर्षअघि बाइबलले रोगहरूबाट बच्ने व्यवहारिक सुझाउहरू दिइसकेको थियो। यस्तो स्वास्थ्यकर सुझाउहरूले गर्दा होला मोशाले त्यतिबेलाका इस्राएलीहरू ७०/८० वर्षसम्म बाँच्थे भनेर भन्‍न सके। eभजन ९०:१०.

बाइबलका माथि उल्लिखित कुराहरू वैज्ञानिक तवरमा सत्य छन्‌ भनेर तपाईं स्वीकार्नुहुन्छ होला। तर बाइबलमा त्यस्ता कुराहरू पनि छन्‌ जसलाई वैज्ञानिक तवरमा प्रमाणित गर्न सकिंदैन। के त्यसको मतलब बाइबल विज्ञानसित मेल खाँदैन?

प्रमाणित गर्न नसकिने कुराहरूलाई स्वीकार्ने

प्रमाणित गर्न नसकिने कुराहरू असत्य हुन्छ नै भन्‍ने छैन। किनकि, वैज्ञानिक प्रमाण भन्‍ने कुरा, मानिसले आफ्नो क्षमताभित्र भेटाउनसक्ने प्रमाण अनि मानिसले तथ्यांकको अर्थ लगाउने योग्यतामा भर पर्ने कुरा हो। अतः कुनै कुनै सत्य कुरा पनि प्रमाणित गर्न नसकिने हुन्छ। कारण, प्रमाण जोगाएर राखिएको नहोला वा भएको प्रमाण पनि अस्पष्ट वा भेटिएकै छैन होला वा विज्ञानका गुरु वा विशेषज्ञहरू कुनै ठोस निष्कर्षमा पुग्न सकेका छैनन्‌ होला। के त्यस्तै कारणहरूले गर्दा बाइबलका कुनै कुनै कुराहरूको प्रत्यक्ष भौतिक प्रमाण दिन नसकिएको हो कि?

उदाहरणका लागि, आत्मिक व्यक्‍तिहरूको संसारबारे बाइबलमा जति पनि कुराहरू उल्लेख छन्‌ त्यसलाई वैज्ञानिक तवरमा न झूटो, न सत्य नै साबित गर्न सकिन्छ। बाइबलमा उल्लिखित चमत्कारपूर्ण घटनाहरूको विषयमा पनि त्यसै भन्‍न सकिन्छ। नूहको समयमा विश्‍वव्यापी जलप्रलय भएको थियो भन्‍ने जे-जति भौगोलिक प्रमाणहरू छन्‌, कत्तिलाई त्यतिले चित्त नबुझ्ला। (उत्पत्ति अध्याय ७) के त्यसको मतलब ती सबै छँदै छैनन्‌ वा हुँदै भएनन्‌ भन्‍नु त? नबिर्सनुहोस्‌, ऐतिहासिक घटनाहरूलाई समय र परिवर्तनले अस्पष्ट बनाउनसक्छ। हजारौं वर्षदेखि भइराखेका भौगोलिक गतिविधिहरूले जलप्रलयका कतिपय प्रमाणलाई असर गरे होलान्‌, हामीलाई के थाह?

हो, बाइबलका कुनै कुनै विवरणहरूलाई उपलब्ध कुनै पनि भौतिक प्रमाणद्वारा सत्य वा झूटो साबित गर्न सकिंदैन। त के त्यसमा हामीले अचम्म मान्‍नुपर्ने कुनै कुरा छ? बाइबल विज्ञानको पाठ्यपुस्तक होइन तर सत्यको किताब हो। यो किताब लेख्ने मानिसहरू कत्तिसम्म निष्ठावान्‌ अनि इमानदार थिए भन्‍ने सशक्‍त प्रमाणहरू हामीले विचार पनि गरिसक्यौं। अनि विज्ञानको दायराभित्र पर्ने कुराहरूलाई छुँदा यसले सधैं सही अनि प्राचीन समयका “वैज्ञानिक” सिद्धान्त अर्थात्‌ किंवदन्तीहरूबाट मुक्‍त विवरण दिंदो रहेछ भनेर पनि देखिसक्यौं। विज्ञान बाइबलको शत्रु होइन। अतः बाइबलले के भन्छ, खुला मन लिएर त्यसलाई तौलने यथेष्ट कारण छ।

[फुटनोटहरू]

a “प्रतिलोम भनेको . . . पृथ्वीको कुनै एक ठाउँदेखि सीधा उल्टोपट्टिको ठाउँ हो र तिनीहरूबीचको सीधा रेखा पृथ्वीको केन्द्रबिन्दु भएर जान्छ। युनानी भाषामा प्रतिलोमको अर्थ पैतालादेखि पैतालासम्म हुन्छ। प्रतिलोममा उभिने दुइ व्यक्‍तिबीचको सबैभन्दा छोटो दूरी एक व्यक्‍तिको पैतालादेखि अर्को व्यक्‍तिको पैताला हुन्छ।”— द वर्ल्ड बूक इनसाइक्लोपीडिया।

b किटेरै भन्‍ने हो भने पृथ्वी वृत्ताकार नभई गोलाकार छ; त्यसका दुइ ध्रुवहरू अलिकता चेप्टिएका छन्‌।

c अर्को कुरा के पनि छ भने, मात्र गोलाकार वस्तु जुनसुकै कोणबाट हेरे पनि वृत्ताकार देखिन्छ। फल्याकजस्तो चेप्टो गोलो वस्तु प्रायः वृत्ताकार होइन अण्डाकार नै देखिन्छ।

d न्युटनको समयमा ब्रह्‍माण्ड, ब्रह्‍माण्डीय द्रव्यले भरिएको छ र त्यो द्रव्यमा आएको भुमरीले गर्दा ग्रहहरू घुम्छन्‌ भन्‍ने धारणा व्यापक थियो।

e सन्‌ १९०० तिर थुप्रै युरोपेली मुलुक तथा संयुक्‍त राज्यमा मानिसहरूको औसत आयु ५० वर्षभन्दा कम थियो। तथापि तत्पश्‍चात्‌ चिकित्सा क्षेत्रमा भएको प्रगतिले गर्दा मात्र नभई राम्रो सरसफाइ अनि जीवनस्तरको कारण औसत आयुमा नाटकीय ढंगमा वृद्धि भइरहेको छ।

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

प्रमाणित गर्न नसकिने कुरा असत्य हुन्छ नै भन्‍ने छैन

[पृष्ठ १८-मा भएको चित्र]

मानिसले अन्तरिक्षमा गएर पृथ्वी साँच्चै गोलो रहेछ भनेर देख्नुभन्दा हजारौं वर्षअघि बाइबलले “पृथ्वीको घेरा[बारे]” उल्लेख गरिसकेको थियो

[पृष्ठ २०-मा भएको चित्र]

ग्रहहरू आ-आफ्नो कक्षमा गुरुत्वा- कर्षणद्वारा अडेका छन्‌ भनेर सर आइजक न्युटनले बताए