सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गलत अर्थ लगाइएको किताब

गलत अर्थ लगाइएको किताब

गलत अर्थ लगाइएको किताब

“पृथ्वी आफ्नै अक्षमा अनि सूर्य वरपर घुम्छ भन्‍ने सिद्धान्त पूर्णतया झूटो अनि पवित्र धर्मशास्त्र विपरीत सिद्धान्त हो।” यो थियो, रोमन क्याथोलिक चर्चको कंग्रिगेसन अफ इन्डेक्सले १६१६ मा प्रकाशित गरेको आज्ञप्ति।१ तर के बाइबल साँच्चै वैज्ञानिक तथ्यहरूसित मेल खाँदैन? वा कसैले त्यसको गलत अर्थ लगाएको हो?

यस्तै १६०९/१० को हिउँदतिर, ग्यालिलियो ग्यालिलीले आफूले भर्खरै तयार पारेको दूरदर्शक यन्त्र आकाशतिर घुमाए। घुमाउँदा त के देख्छन्‌, चारवटा उपग्रहहरूले बृहस्पति ग्रहलाई फन्को मारिरहेको। तिनले त्यतिबेला जे देखे त्यसले सबै आकाशीय पिण्डहरू पृथ्वी वरपर घुम्छन्‌ भन्‍ने व्यापक धारणालाई चकनाचूर पाऱ्‍यो। तथापि, यसअघि १५४३ तिर नै पोलिस खगोलशास्त्री निकोलस कपर्निकसले ग्रहहरू सूर्य वरपर घुम्छन्‌ भन्‍ने सिद्धान्त प्रतिपादन गरिसकेका थिए। ग्यालिलियोले आफ्नो आविष्कारद्वारा कपर्निकसको सिद्धान्त वैज्ञानिक तथ्य हो भनी प्रमाणित गरे।

तथापि, क्याथोलिक धर्मविज्ञानीहरूको लागि यो सोच्नै नसकिने कुरा थियो र तिनीहरूले यसलाई धर्म विरोधको संज्ञा दिए। किनकि चर्चहरूले निकै अघिदेखि पृथ्वी नै ब्रह्‍माण्डको केन्द्र हो भन्‍ने धारणा राख्दै आएका थिए। यो धारणा तिनीहरूले पृथ्वी “कहिल्यै नडग्मगाओस्‌ भनेर, . . . [उहाँले त्यसको] जग बसाल्नुभयो” भन्‍ने शास्त्रपदको शाब्दिक अर्थ लगाएर राखेका थिए। (भजन १०४:५) धर्म विरोधको अभियोग लागेको ग्यालिलियोलाई रोमको धार्मिक अदालत समक्ष हाजिर हुन बोलाइयो। नानाभाँतिका अनावश्‍यक केरकार गरेर धार्मिक अदालतले तिनलाई जबरजस्ती आफ्नो अन्वेषणलाई भूल भनी स्वीकार्न बाध्य गरायो र तिनको आफ्नै घरमा आजीवन नजरबन्द राख्यो।

ग्यालिलियोको मृत्यु भएको झन्डै ३५० वर्ष पछि १९९२ मा क्याथोलिक चर्चले आफ्नो भूल स्वीकाऱ्‍यो। यदि ग्यालिलियो सही थिए भने के बाइबल गलत थियो त?

बाइबलका परिच्छेदहरूको सही अर्थ पत्ता लगाउने

ग्यालिलियो बाइबल सत्य छ भनेर विश्‍वास गर्थे। समकालीन मानिसहरूले बाइबलका केही खास पदहरूको गलत अर्थ लगाएर व्यापक प्रचारप्रसारमा ल्याएका सिद्धान्तहरूसित आफ्नो वैज्ञानिक खोजको परिणाम मेल नखाँदा, धर्मविज्ञानीहरूले वास्तवमा बाइबलका अंशहरूको सही अर्थ बुझ्न नसकेको हो भनेर तिनले तर्क गरेका थिए। “आखिर, एउटा सत्य अर्को सत्यसित कसरी बाझिन्छ र,” तिनले लेखे। तिनले बाइबलको बोलीचालीका शब्दहरू वैज्ञानिक पदावलीहरूसित बाझिंदैन भनेर आफ्नो विचार पोखेका थिए। तर धर्मविज्ञानीहरू कहाँ सुन्‍न तयार थिए र? तिनीहरूले पृथ्वीबारे बाइबलमा जे-जस्तो लेखिएको छ त्यसलाई शाब्दिक अर्थमै लिनुपर्छ भनेर जिद्दी गरे। फलतः तिनीहरूले ग्यालिलियोको आविष्कारलाई स्वीकार्न इन्कार गरे नै तर त्यससँगसँगै धर्मशास्त्रका अभिव्यक्‍तिहरूको सही अर्थ पनि बुझ्न सकेनन्‌।

वास्तवमा बाइबलले “पृथ्वीका चारकुना” भनेर उल्लेख गऱ्‍यो भन्दैमा त्यसका लेखकहरूले पृथ्वी साँच्चै बाकसजस्तो चारपाटे थियो भनेर विश्‍वास गर्थे भन्‍नु मिल्दैन भनेर सुद्धिबुद्धि हुने जो-कसैले पनि भन्‍नसक्छ। (प्रकाश ७:१) बाइबल साधारण मानिसहरूले बोल्ने भाषामा लेखिएको थियो। त्यसैकारण बाइबलमा प्रायः अलंकारहरू प्रयोग गरेको पाइन्छ। अतः “चारकुना,” बलियो “जग,” “खामा” र “जगको ढुंगा” जस्ता अलंकारहरू चलाएर बाइबलले पृथ्वीको कुनै वैज्ञानिक विवरण दिन खोजेको होइन। बरु, ती प्रतीकात्मक शब्दहरू हुन्‌ र हामी अरूसित कुराकानी गर्दा त्यस्तै शब्दहरू प्रयोग गर्छौं, होइन र? aयशैया ५१:१३; अय्यूब ३८:६.

जीवनी लेखक एल. गामोनाटले ग्यालिलियो ग्यालिली (अंग्रेजी) भन्‍ने आफ्नो किताबमा लेखे: “संकुचित विचारधारा हुने धर्मविज्ञानीहरू बाइबलको आफ्नै अर्थ लगाएर विज्ञानलाई चार किल्लाभित्र कैद गर्न चाहन्थे र खुद बाइबलको बदनाम गर्नसमेत पछि पर्दैनथे।” हो, बाइबलको बदनाम त तिनीहरूले गरे नै। वास्तवमा, बाइबलले गर्दा होइन तर बाइबलको आफ्नै अर्थ लगाउने धर्मविज्ञानीहरूले गर्दा विज्ञान क्षेत्रमा नचाहिंदो रोकटोक लाग्न पुग्यो।

त्यस्तैगरि, आज कट्टरपन्थीहरू २४ घण्टे छ दिनमा पृथ्वी सृष्टि भएको हो भनेर जिद्दी गर्छन्‌। तिनीहरूले पनि बाइबललाई बंग्याइरहेका छन्‌। (उत्पत्ति १:३-३१) न तिनीहरूको त्यस्तो विचाराधारा विज्ञान वा बाइबलसितै मेल खाओस्‌। बाइबलमा चलाइएको “दिन” भन्‍ने शब्द हाम्रो दैनिक बोलीचालीमा जस्तै विभिन्‍न अर्थ लाग्ने शब्द हो र त्यसले सीमित मात्राको समयावधि नभई लामो-छोटो समयावधि बोध गराउँछ। उदाहरणका लागि, उत्पत्ति २:४ मा सृष्टिका छ दिनहरूलाई गाभेर “दिन” पनि भनिएको छ। “दिन” भनी अनुवाद गरिएको हिब्रू शब्दले “लामो समय” भन्‍ने मात्र पनि बोध गराउनसक्छ। अतः भन्‍ने नै हो भने, सृष्टिका दिनहरू २४ घण्टे दिन थियो भनेर पुष्टि दिने कुनै बाइबलीय आधार छैन। वास्तवमा, कट्टरपन्थी धार्मिक विचारधारा हुनेहरूले बाइबलको गलत अर्थ लगाएर अर्कै कुरा सिकाउन खोजेका मात्र हुन्‌।—२ पत्रुस ३:८ पनि हेर्नुहोस्‌।

हुन पनि इतिहासभरि यस्ता धर्मविज्ञानीहरूले प्रायः सधैं बाइबललाई बंग्याएका छन्‌। उदाहरणका लागि, मसीहीजगत्‌का धर्महरूले बाइबलले भनेका कुराहरूको कसरी गलत अर्थ लगाएका छन्‌, केही उदाहरणहरू विचार गर्नुहोस्‌।

धर्मले गलत अर्थ लगाएका कुराहरू

बाइबलअनुसार चल्छु भन्‍नेहरूले प्रायः आफ्नो कामद्वारा बाइबलको नाउँमा कलंक लगाएका छन्‌। मसीही भनौंदाहरू परमेश्‍वरको नाउँमा एकअर्काको ज्यान लिन्छन्‌। तर बाइबलले ख्रीष्टका अनुयायीहरूलाई ज्यान लिने त होइन बरु “आपसमा प्रेम गर” भन्‍ने सल्लाह दिन्छ।—यूहन्‍ना १३:३४, ३५; मत्ती २६:५२.

कुनै कुनै पादरीहरू आफ्ना अनुयायीहरूले पसिना चुहाई चुहाई कमाएको पैसा थुतेर आफ्नै बगालको रगत चुस्छन्‌। कत्ति भिन्‍न काम! किनकि धर्मशास्त्रले “सित्तैंमा पायौ, सित्तैंमा देओ” भन्‍ने निर्देशन दिएको छ।—मत्ती १०:८; १ पत्रुस ५:२, ३.

स्पष्ट छ, बाइबल उद्धरण गर्ने वा त्यसअनुसार चल्छु भनेर दाबी गर्ने मानिसहरूको काम र बोली हेरेर बाइबललाई तौलनु मिल्दैन। बरु खुला विचारधारा राख्ने व्यक्‍ति आफैले बाइबल पढेर वास्तवमा त्यसमा के के लेखिएका छन्‌ अनि बाइबल किन उल्लेखनीय किताब हो भनेर जाँच्नु आवश्‍यक ठान्ला।

[फुटनोट]

a जस्तै, एक-एक अक्षरको शाब्दिक अर्थ लगाउने सबैभन्दा होशियार खगोलशास्त्रीले पनि सूर्य, तारा अनि नक्षत्रहरू “अस्ताएको” “उदाएको” कुरा गर्छन्‌। तर वास्तवमा ती न अस्ताउँछन्‌, न उदाउँछन्‌। बरु पृथ्वी घुम्ने हुनाले ती आकाशीय पिण्डहरू हामीलाई उदाएको वा डुबेको जस्तो लाग्ने मात्र हो।

[पृष्ठ ४-मा भएको चित्र]

ग्यालिलियोका दुइ दूरदर्शक यन्त्र

[पृष्ठ ५-मा भएको चित्र]

ग्यालिलियो धार्मिक अदालतको कठघरामा