सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंका लागि उपयोगी किताब?

तपाईंका लागि उपयोगी किताब?

तपाईंका लागि उपयोगी किताब?

“पुस्तकहरूको उपयोगको केही अन्त छैन।” (उपदेशक १२:१२) झन्डै ३,००० वर्षअघि सुलेमानले भनेका शब्दहरू आज पनि सोह्रै आना सही छ। परम्परागत शैलीमा लेखिएका किताबहरू बाहेक वर्षेनी हजारौं नयाँ किताबहरू छापिन्छन्‌। अतः यति धेरै किताबहरू हुँदाहुँदै तपाईंले बाइबल पढ्‌नु किन आवश्‍यक छ त?

थुप्रै मानिसहरू मनोरञ्जनका लागि, जानकारी हासिल गर्न वा शायद दुवैका लागि किताब पढ्‌छन्‌। बाइबलको सन्दर्भमा त्यसै भन्‍न सकिन्छ। बाइबल पढ्‌दा तपाईंको बौद्धिक अनि भावनात्मक विकास पनि हुन्छ र शायद त्यसले मनोरञ्जन पनि देला। तर बाइबलले दिने कुरा त्यतिमै सीमित छैन। किनकि बाइबलमा अरू कतै नपाइने विशिष्ट ज्ञान पाइन्छ।—उपदेशक १२:९, १०.

मानिसहरूले युगौंयुगदेखि सोच्दै आएका कुराहरू—हाम्रो भूत, वर्तमान अनि भविष्यका प्रश्‍नहरूको जवाफ बाइबलले मात्र दिन्छ। हामी कहाँबाट आयौं? जीवनको उद्देश्‍य के हो? सुखी जीवन कसरी बनाउने? के पृथ्वीमा सधैं जीवन रहिरहन्छ? हाम्रो भविष्य कस्तो छ? इत्यादि प्रश्‍नहरू थुप्रैका मनमा खेल्छन्‌।

तपाईंको हातमा भएको यो पुस्तिकामा जति पनि प्रमाणहरू दिइएका छन्‌ ती सबैले बाइबल सही अनि प्रामाणिक छ भनेर प्रस्टै देखाउँछ। आज सुखी अनि अर्थपूर्ण जीवन बिताउन बाइबलका व्यवहारिक सल्लाहहरूले हामीलाई कसरी मदत गर्छ, त्यो पनि हामीले विचार गरिसक्यौं। यदि बाइबलले आज हामीलाई अहिले चित्तबुझ्दो जवाफ दिनसक्छ भने पक्कै पनि अतीतबारे त्यसले बताउने कुरा अनि भविष्यबारे त्यसले गरेका भविष्यवाणीहरू केलाएर हेर्नु योग्यका छन्‌।

बाइबल पढेर सकेसम्म धेरै लाभ कसरी उठाउने

थुप्रै मानिसहरू बाइबल पढ्‌न त पढ्‌छन्‌ तर बुझ्न अप्ठ्यारो पर्ने अंश पुगेपछि पढ्‌न बन्द गर्छन्‌। यदि तपाईंलाई पनि त्यस्तै लाग्छ भने, यी सुझाउहरू तपाईंलाई मदतकारी लाग्ला।

सर्वप्रथम भरपर्दो अनि आधुनिक भाषामा लेखिएको अनुवाद छान्‍नुहोस्‌, जस्तै पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद (अंग्रेजी)। a केही मानिसहरू सुसमाचारको पुस्तकदेखि पढ्‌न सुरु गर्छन्‌। सुसमाचारको पुस्तकमा पाइने येशूको जीवनी अनि डाँडाको उपदेशजस्ता उहाँका शिक्षाहरूले मानव व्यवहारबारे राम्रो ज्ञान दिन्छ र आफ्नो जीवन उकास्ने सन्दर्भमा विस्तृत जानकारी प्रदान गर्छ।—मत्ती अध्याय ५ देखि ७ हेर्नुहोस्‌।

बाइबल पढ्‌नुको अलावा विषय छानेर अध्ययन गर्नु जानकारीमूलक हुनसक्छ। यसका लागि कुनै विषयमा बाइबलले के भन्छ भनेर केलाउनुपर्ने हुन्छ। तर यसरी अध्ययन गर्दा तपाईंले प्राण, स्वर्ग, पृथ्वी, जीवन अनि मृत्युका साथै परमेश्‍वरको राज्य के हो र त्यसले के गर्नेछ त्यसबारे बाइबलले साँच्चै के भन्दो रहेछ, थाह पाउनुहुनेछ। b यहोवाका साक्षीहरूसित यसरी विषयअनुसार बाइबल अध्ययन गर्ने निश्‍शुल्क कार्यक्रम उपलब्ध छ। यस पुस्तिकाको पृष्ठ २ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा सम्पर्क राख्नुभएर तपाईंले त्यसबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

प्रमाणहरू जाँचिसकेपछि थुप्रै मानिसहरूले बाइबल साँच्चै परमेश्‍वरको अर्थात्‌ धर्मशास्त्रअनुसार “यहोवाको” हो भन्‍ने निष्कर्षमा आएका छन्‌। (भजन ८३:१८) शायद तपाईंलाई बाइबल साँच्चै परमेश्‍वरको वचन हो भनेर विश्‍वास लागेको छैन होला। तर जाँचेर हेरे कसो होला? हामी निर्धक्क छौं, बाइबलका कुराहरू सिकेर मनन गरेर अनि बाइबलका चिरकालीन सुझाउहरू व्यवहारमा उतारेर तपाईं पनि बाइबल, साँच्चै सबै मानिसका लागि अनि विशेषगरि तपाईंका लागि उपयोगी किताब हो भनेर विश्‍वस्त हुनुहुनेछ।

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने किताबले थुप्रै मानिसहरूलाई विषयअनुसार बाइबल अध्ययन गर्न सहयोग गरेको छ।