सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भविष्यवाणीको किताब

भविष्यवाणीको किताब

भविष्यवाणीको किताब

मानिसहरूलाई भविष्य थाह पाउन मन पर्छ। हावापानीदेखि लिएर आर्थिक उतारचढाउसम्म सबै कुराको भरपर्दो पूर्वानुमान तिनीहरू खोज्छन्‌। तर त्यस्ता पूर्वानुमानहरूअनुसार चल्दा तिनीहरू अक्सर निराश हुनुपरेका छन्‌। बाइबलमा पनि थुप्रै पूर्वानुमान वा भविष्यवाणीहरू छन्‌। यी भविष्यवाणीहरू कत्ति सही छन्‌? के ती भविष्यवाणीहरू घटना हुनुभन्दा अघि लेखिएका हुन्‌ वा घटना भइसकेपछि?

भनिन्छ, रोमी राजनीतिज्ञ काटोले (सा.यु.पू. २३४-१४९) एक पटक यसो भने: “एउटा ज्योतिषी अर्को ज्योतिषी देखेर कसो नहाँसी बस्न सकेको होला।” a निस्सन्देह, अहिले पनि थुप्रै मानिसहरू भावी बताउने र ज्योतिषीहरूलाई हाँसोमा उडाउँछन्‌। नउडाऊन्‌ पनि किन? किनकि यस्ता ज्योतिषीहरूको प्रायजसो पूर्वानुमानहरू अस्पष्ट हुनुका साथै दश थरि अर्थ लाग्ने हुन्छन्‌।

बाइबलका भविष्यवाणीहरू नि? के बाइबलका भविष्यवाणीहरूलाई शंका वा खिसी गर्ने कारण छ? छैन भने विश्‍वास गर्ने के आधार छ त?

बुद्धि पुऱ्‍याएर गरेको अड्‌कल मात्र होइन

ज्ञानी मानिसहरूले भइरहेका कुराहरूलाई विचार गरेर भविष्यबारे सही अनुमान लगाउने कोसिस गर्नसक्छन्‌। तर तिनीहरूका अनुमान सधैं सही साबित हुँदैनन्‌। अप्रत्याशित भविष्य (अंग्रेजी) भन्‍ने किताब यसो भन्छ: “प्रत्येक समाजले हुनसक्ने मात्र होइन पक्कै हुनसक्ने अनि आफूले चाहने भविष्यको कल्पना गरेको हुन्छ।” त्यसपछि सोही किताब अगाडि यसो भन्दै थप्छ: “निस्सन्देह, कसैले भविष्यमा हुने सबै कुरा ‘थाह’ पाउन सक्दैन। हामीले आफ्ना पूर्वानुमानहरूलाई योजनाबद्धरूपमा मिलाउन अनि तीमध्ये कुन पूरा होला भन्‍ने अनुमान मात्र गर्नसक्छौं।”

तर बाइबल लेखकहरूले “सम्भाव्य” ठानेर वा “अड्‌कल” काटेर भावी घटनाहरू बताएका थिएनन्‌। नता तिनीहरूले भनेका कुराहरूलाई अस्पष्ट एवं विभिन्‍न अर्थ लगाउनसक्ने विवरण मान्‍न सकिन्छ। यी सबैको विपरीत तिनीहरूले प्रायजसो सुस्पष्ट भाषा अनि घटनाविशेषलाई तोकेरै भविष्यवाणी गरेका थिए र कतिपय स्थितिमा तिनीहरूले सामान्यतः मानिसहरूले आशा गर्ने भिन्‍न घटनाको पूर्वानुमान लगाए। उदाहरणका लागि, प्राचीन बाबेल शहरबारे बाइबलले गरेको पूर्ववाणीलाई ध्यान दिनुहोस्‌।

‘सर्वनाशरूपी खरेटोले बढ़ारिने’

प्राचीन बाबेल “राज्यहरूको रत्न” थियो। (यशैया १३:१९, द न्यु अमेरिकन बाइबल) बाबेल शहर फारसको खाडीदेखि भूमध्य सागरसम्मको व्यापारिक मार्गबीच फैलिएको थियो। अति अनुकूल स्थानमा परेको यो शहर पूर्व र पश्‍चिमका लागि थल तथा जल व्यापार केन्द्र भएको थियो।

सा.यु.पू. सातौं शताब्दीसम्म बेबिलोनी साम्राज्यको राजधानी बाबेल अजेय भने पनि हुने स्थितिमा पुगिसकेको थियो। बाबेल शहर युफ्रेटिस नदीमा बसालिएको हुँदा नदीको सदुपयोग गरेर यत्रतत्र फराकिलो अनि गहिरा नहरहरू बनाइएका थिए। त्यति मात्र होइन। शहरलाई दुइ दुइवटा अग्ला पर्खालहरूले घेरेको थियो र पर्खालको बीचबीचमा सामरिक महत्त्वका थुप्रै किल्लाहरू थिए। अतः बाबेल शहरवासीहरूले आफूलाई सुरक्षित महसुस गर्नु स्वाभाविक हो।

तर यसो भए तापनि, सा.यु.पू. आठौं शताब्दीमा, मतलब बाबेल आफ्नो गौरवको चरमसीमामा पुग्नुअगावै भविष्यवक्‍ता यशैयाले बाबेललाई ‘सर्वनाशरूपी खरेटोले बढारिनेछ’ भनेर अगमवाणी गरिसकेका थिए। (यशैया १३:१९; १४:२२, २३) बाबेलको पतन कुन ढंगमा कसरी हुनेछ भनेरसमेत यशैयाले वर्णन गरेका थिए। तिनको विवरणअनुसार बाबेलका शत्रुहरूले त्यसका नदी अर्थात्‌ नहरले दिने सुरक्षाको स्रोत ‘सुकाइदिएर’ शहरलाई कमजोर बनाउने थिए। यशैयाले शहरमाथि विजय हासिल गर्ने व्यक्‍तिको नाउँ “कोरेस” हुनेछ र यस महान्‌ फारसी राजासामु ‘ढोकाहरू खोलिनेछन्‌, र मूल–ढोकाहरू बन्द हुनेछैनन्‌’ भनेर पनि तोकेका थिए।—यशैया ४४:२७–४५:२, द न्यु इंग्लिस बाइबल।

कति निर्भीक पूर्वानुमान! तर के ती पूरा भए त? इतिहासले के जवाफ दिन्छ, हामी हेरौं।

“युद्ध नलडिकनै”

यशैयाले आफ्नो भविष्यवाणी लेखेको दुइ शताब्दीपछि सा.यु.पू. ५३९, अक्टोबर ५ को रात मादी र फारसीहरूका सिपाहीहरूले महान्‌ कोरेसको नेतृत्वमा बाबेल नजीकै छाउनी लगाए। तर बेबिलोनीहरू डराएनन्‌। युनानी इतिहासकार हेरोदोटसअनुसार (सा.यु.पू. पाँचौं शताब्दी) यी बेबिलोनीहरूले वर्षौंसम्म पुग्ने अन्‍न थुपारेर राखेका थिए। अनि युफ्रेटिस नदी र बलिया पर्खालहरूमा तिनीहरूको पूरापूर भरोसा थियो। तर यी सबका बावजूद नेबोनाइडसको इतिहासअनुसार त्यसै रात “कोरेसका सिपाहीहरूले युद्ध नलडिकनै बाबेलभित्र प्रवेश गरे।” यो कसरी सम्भव हुनसक्छ र?

हेरोदोटस त्यसको जवाफ यसरी दिन्छन्‌। शहरभित्र मानिसहरू “चाडको खुशीयालीमा नाच्दै मोजमज्जा गर्दै थिए।” तिनीहरू त्यसरी मोजमज्जामा मस्त छँदा उता शहरबाहिर कोरेसले युफ्रेटिसको पानीलाई अर्कैतर्फ मोडिदिइसकेका थिए। फलतः नदीको पानी घट्यो र तिघ्रा तिघ्रासम्म आइपुग्ने पानीहुँदो कोरेसका सिपाहीहरूले नदी तरे। हेरोदोटस भन्छन्‌, “नदीका ढोकाहरू खुल्ला थिए।” लापरवाही भएर खुल्ला छाडेका त्यही ढोकाहरू भएर सिपाहीहरू शहरभित्र घुसे र विजय हासिल गरे। (तुलना गर्नुहोस्‌ दानियल ५:१-४; यर्मिया ५०:२४; ५१:३१, ३२) जेनोफोनलगायत (लगभग सा.यु.पू. ४३१-३५२) अन्य इतिहासकारहरू अनि पुरातत्त्वविद्‌हरूले पत्ता लगाएको कीलाक्षर पाटीहरूले कोरेसको हातबाट बाबेलको पतन तुरुन्तै भयो भन्‍ने पुष्टि दिन्छ।

यसप्रकार यशैयाले बाबेलबारे जे भविष्यवाणी गरे, ती पूरा भए। कि कुरा अर्कै छ? कतै बाबेलको पतन भइसकेपछि यशैयाले पूर्वानुमान गरी टोपलेका त होइनन्‌? त्यसो हो भने, यशैयाको मात्र किन वास्तवमा बाइबलका अन्य भविष्यवाणीहरूबारे पनि त्यस्तै प्रश्‍न गर्न सकिन्छ, होइन र?

घटनाहरू भइसकेपछि पूर्वानुमान?

यदि यशैयालगायत बाइबलका अन्य भविष्यवक्‍ताहरूले साँच्चै घटनाहरू भइसकेपछि पूर्वानुमान गरी टोपलेका हुन्‌ भने यी मानिसहरूभन्दा महाजाली अरू को होला? तर तिनीहरूलाई त्यसरी छल गर्नु नै किन पऱ्‍यो? साँचो भविष्यवक्‍ताहरूले घूस लिन इन्कार गरेका विवरणहरू हामी बाइबलमा खुलस्त लेखिएको पाउँछौं। (१ शमूएल १२:३; दानियल ५:१७) अनि बाइबल लेखकहरू (जसमध्ये प्रायः भविष्यवक्‍ता थिए) भरोसायोग्य छन्‌ र आफू लाजमा पर्नसक्ने गोप्य कुराहरूसमेत यिनीहरूले स्वेच्छापूर्वक बताए भनेर केही अघि मात्र हामीले जबरजस्त प्रमाणहरू हेरिसक्यौं। यति इमानदार पुरुषहरूले घटनाहरू भइसकेपछि त्यसलाई पूर्वानुमानको नाउँ दिएर त्यति ठूलो जालझेल गर्ला जस्तो लाग्दैन।

तर यहाँ विचार गर्नुपर्ने अर्को कुरा पनि छ। बाइबलका थुप्रै भविष्यवाणीहरूमा भविष्यवक्‍ताका पूजाहारी, शासकलगायत आफ्नै जातिको भर्त्सना गरेको हामी पाउँछौं। उदाहरणका लागि, यशैयाले तत्कालीन इस्राएली नेता एवं मानिसहरूको घिनलाग्दो नैतिक अवस्थाको भर्त्सना गरेका थिए। (यशैया १:२-१०) अरू कतिपय भविष्यवक्‍ताहरूले पूजाहारीहरूका पापहरूको समेत जबरजस्त पर्दाफास गरे। (सपन्याह ३:४; मलाकी २:१-९) अतः कल्पनै गर्न नसकिने ढंगमा आफ्नो मानिसहरूको घोर भर्त्सना गर्ने यी भविष्यवक्‍ताहरूले किन कपोलकल्पित भविष्यवाणीहरू गर्थे होलान्‌ र? अनि भविष्यवक्‍ताहरूको त्यस्तो चर्तिकलालाई पूजाहारीहरूले किन पो साथ दिन्थे होलान्‌ र?

यसबाहेक, यी भविष्यवक्‍ताहरू साँच्चै जालीहरू थिए भने तिनीहरू कसरी जनताको नजरबाट उम्कन सके त? किनकि इस्राएल राष्ट्रमा साक्षरतालाई जोड दिइन्थ्यो। कलिलै उमेरदेखि केटाकेटीलाई लेख्न, पढ्‌न सिकाइन्थ्यो। (व्यवस्था ६:६-९) जनसमक्ष धर्मशास्त्र पढ्‌नु भन्‍ने आज्ञा पनि तिनीहरूलाई दिइएको थियो। (भजन १:२) हप्तेवारी विश्रामका दिन सभाघरहरूमा जनसमक्ष धर्मशास्त्र पढिन्थ्यो। (प्रेरित १५:२१) अतः त्यति ठूलो झूटले धर्मशास्त्रमा पोख्त अनि साक्षर, पूरै राष्ट्रलाई झुक्यायो होला भनेर कल्पना गर्नु गाह्रो छ।

विचारणीय कुरा अर्को के पनि छ भने, यशैयाले बाबेलको भविष्यवाणी गर्दा यस्ता कुराहरू पनि बताएका थिए जुन बाबेलको विनाश हुने बित्तिकै पछि लेखेको हुनै सक्दैन।

“यसको कहिल्यै आबादी हुनेछैन”

बाबेलको पतनपछि त्यसको हविगत के हुने थियो त? यशैयाले त्यसबारे के भविष्यवाणी गरे ध्यान दिनुहोस्‌: “त्यसको कहिल्यै आबादी हुनेछैन। पुस्तौंसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। गोठालाहरूले आफ्नो बगाल त्यहाँ विश्राम गर्नदिनेछैनन्‌।” (यशैया १३:२०) सर्वसम्पन्‍न त्यस सुन्दर शहर फेरि कहिल्यै आबाद हुनेछैन भनेर पूर्वानुमान लगाउनु अविश्‍वसनीय सुनिंदैन र? के यशैयाले बाबेलको भग्नावशेषहरूलाई हेरेर भविष्यवाणी गरेका हुनसक्छन्‌ त?

कोरेसले बाबेल कब्जा गरेपछि त्यो पहिलेजस्तो वैभवशाली अवस्थामा नभए पनि शताब्दीयौंसम्म अस्तित्वमा रह्‍यो। मृत सागरमा फेला परेको यशैयाको सम्पूर्ण किताब सा.यु.पू. दोस्रो शताब्दीका थिए भन्‍ने कुरा पनि सम्झनुहोस्‌। त्यतिबेला बाबेल पार्थियनहरूको कब्जामा थियो। अझ सा.यु. प्रथम शताब्दीतिर बाबेलमा यहूदीहरूको बस्ती नै थियो र बाइबल लेखक पत्रुससमेत त्यहाँ पुगेका थिए। (१ पत्रुस ५:१३) मृत सागरमा फेला परेको यशैया पुस्तकको मुट्ठा मात्रै पनि त्यतिञ्जेल दुइ शताब्दी पुरानो भइसकेको थियो। एकछिन विचार गर्नुहोस्‌, सा.यु. प्रथम शताब्दीसम्म पनि बाबेल पूर्णतया नाश भइसकेको थिएन। तर यशैयाले कुन जुगमा आफ्नो किताब लेख्न सिध्याइसकेका थिए।

भविष्यवाणी गरेझैं अन्ततः बाबेल “उजाड़को ढेर” भयो। (यर्मिया ५१:३७) हिब्रू विद्वान जेरोमअनुसार (सा.यु. चौथो शताब्दी) तिनको समयमा बाबेल “हर प्रकारको जंगली जनावर” पाइने शिकार खेल्ने थलो भइसकेको थियो। बाबेल अहिले हाम्रो समयसम्म पनि उजाडै छ।

बाबेल उजाड भएको यशैयाले देख्न पाएनन्‌। तर कुनै समय सारा संसारको सबैभन्दा शक्‍तिशाली शहरको भग्नावशेष वर्तमान इराकको राजधानी, बगदादको यस्तै ८० किलोमिटर पर दक्षिणतर्फ अहिलेसम्म छँदैछ। ढुंगा र माटोको थुप्रोबीच पस्रिरहेको बाबेलको भग्नावशेषले यी शब्दहरूको मौन प्रमाण दिन्छ: “त्यसको कहिल्यै आबादी हुनेछैन।” पर्यटन क्षेत्रको रूपमा बाबेलको जीर्णोद्धार गरेमा शायद मानिसहरूको भीड लाग्ला तर बाबेलको “सन्तान दर–सन्तान” सधैं सधैंका लागि हराइसके।—यशैया १३:२०; १४:२२, २३.

अतः भविष्यवक्‍ता यशैयाले जुनसुकै भावी घटनाहरूमा लागू गर्न मिल्ने अस्पष्ट पूर्वानुमान लगाएका थिएनन्‌ नता घटनाहरू भइसकेपछि त्यसलाई पूर्वानुमानको नाउँ दिएका थिए। यसो विचार गर्नुहोस्‌, शक्‍तिशाली बाबेलमा कहिल्यै आबाद हुनेछैन भनेर कुन चाहिं जालीले पो आफ्नो नियन्त्रणमै नभएको कुरा “भविष्यवाणी” गर्ला?

बाबेलको पतनको यो भविष्यवाणी बाइबलका थुप्रै भविष्यवाणीहरूमध्ये एउटा नमुना मात्र हो। b थुप्रै मानिसहरूले बाइबलका भविष्यवाणीहरूको पूर्ति देखेपछि बाइबल साँच्चै मानिसभन्दा उच्च स्रोतबाट आएको हुनुपर्छ भन्‍ने बलियो आधार पाएका छन्‌। शायद, त्यस हदसम्म नभए पनि कम से कम यो भविष्यवाणीको किताब जाँचेर हेर्नु योग्यको रहेछ भन्‍ने निष्कर्षमा तपाईं अवश्‍य पुग्नुभयो होला। तर जे होस्‌ एउटा कुरा भने पक्का छ। आजभोलि ज्योतिषीहरूले गर्ने अस्पष्ट अनि सनसनीपूर्ण पूर्वानुमानभन्दा बाइबलका स्पष्ट अनि निर्दिष्ट भविष्यवाणीहरू धेरै गुना उच्च छन्‌।

[फुटनोटहरू]

a यशैयालगायत सम्पूर्ण हिब्रू धर्मशास्त्र सा.यु. प्रथम शताब्दीभन्दा धेरै अघि लेखिसकिएको थियो भन्‍ने ठोस प्रमाण छ। इतिहासकार जोसेफसले (सा.यु. प्रथम शताब्दी) तिनको समयसम्ममा हिब्रू धर्मशास्त्रमा कुन कुन किताबहरू समावेश गरिने भनेर निर्णय भइसकेको थियो भनेर बताएको हामी पाउँछौं। यसबाहेक, हिब्रू धर्मशास्त्रको युनानी अनुवाद अर्थात्‌ युनानी सेप्टुआजिन्ट तयार पार्ने काम सा.यु.पू. तेस्रो शताब्दीमा सुरु भएर सा.यु.पू. दोस्रो शताब्दीतिर पूरा भइसकेको थियो।

b बाइबलका भविष्यवाणीहरूको पूर्ति अनि त्यसका ऐतिहासिक तथ्यहरू जान्‍नु परेमा कृपया वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित बाइबल—परमेश्‍वरको वचन हो वा मानिसको? (अंग्रेजी) भन्‍ने किताबको पृष्ठ ११७-३३ हेर्नुहोस्‌।

[पृष्ठ २८-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबल लेखकहरू साँचो भविष्यवक्‍ताहरू थिए वा कुटिल जाली?

[पृष्ठ २९-मा भएको चित्र]

प्राचीन बाबेलको भग्नावशेष