सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्‍यो?

यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्‍यो?

यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्‍यो?

प्राचीन लेखोटहरूका तीन जन्मजात शत्रुहरू छन्‌—आगो, पानी अनि ढुसी। बाइबललाई यी कुराहरूले नछोएको होइन। लामो समयको अन्तरालमा पनि बाइबल कसरी बच्यो र विश्‍वमा सबैभन्दा सजिलै पाइने किताब कसरी बन्यो त्यसको रेकर्ड आफै पनि प्राचीन लेखहरूको भन्दा निकै गजबको छ। तथापि, बाइबलको यो इतिहास चासोको कुरा मात्र होइन।

बाइबल लेखकहरूले आफ्ना शब्दहरू ढुंगामा कुँदेका थिएनन्‌ नता कुनै टिकाउ पाटीमै कोरेका थिए। हामीले अहिलेसम्म पाएको प्रमाणअनुसार ती लेखकहरूले नाशवान्‌ वस्तु—पपाइरस (पपाइरस भन्‍ने मिस्री बिरुवाबाट बनेको कागज) अनि चर्मपत्रमा (जनावरका छालाबाट बनिएको पत्र) लेखेका थिए।

त्यसोभए पपाइरस वा चर्मपत्रमा लेखिएका सुरुका लेखोटहरू के भए त? सम्भवतः धेरैअघि प्राचीन इस्राएल देशमै प्रायजसो लेखोटहरू कुहिएर नाश भए। यस सन्दर्भमा विद्वान अस्कर पारेट बेलीबिस्तार लगाउँदै यसो भन्छन्‌: “लेख्नका निम्ति प्रयोग गरिने यी दुवै साधनलाई [अर्थात्‌ पपाइरस र छाला] पानी, ढुसी र विभिन्‍न कीराहरूले सजिलै नाश गर्नसक्छन्‌। खुला हावा वा ओसिलो कोठामा कागज अनि बलियो से बलियो छालासमेत कसरी कुहिएर जान्छ, त्यो हामीलाई थाह भएकै कुरा हो।”

यदि बाइबलका सुरु सुरुका लेखोटहरू अस्तित्वमा छैनन्‌ भने बाइबल लेखकका शब्दहरू कसरी अहिलेसम्म नहराएका त?

अति सावधान प्रतिलिपकहरूद्वारा संरक्षित

बाइबल लेखिने बित्तिकै मानिसहरूले त्यसका हस्त प्रतिलिपिहरू तयार पार्न थाले। वास्तवमा प्राचीन इस्राएलमा यसरी धर्मशास्त्रको प्रतिलिपि तयार पार्नु एक किसिमको पेशै थियो। (एज्रा ७:६; भजन ४५:१) तर ती प्रतिलिपिहरू पनि नाशवान्‌ वस्तुमै तयार पारिएका थिए। फलतः समयमा ती प्रतिलिपिहरूको पनि प्रतिलिपि बनाउनुपऱ्‍यो। मूल प्रतिहरू नाश भएपछि यी नै प्रतिलिपिहरू भावी हस्तलिपिहरूका आधार भए। यसप्रकार प्रतिलिपिको प्रतिलिपि बनाउने काम शताब्दीयौंसम्म जारी रह्‍यो। त्यसोभए के प्रतिलिपकहरूले शताब्दीयौंबीच गर्दै आएका गल्तीहरूले बाइबलको मूल हाउभाउ नै परिवर्तन गरेनन्‌ त? प्रमाणअनुसार गरेनन्‌।

पेशेवर बाइबल प्रतिलिपकहरू आफ्नो काममा अति समर्पित हुन्थे। आफूले प्रतिलिपि उतारेका शब्दहरूको तिनीहरू बडो श्रद्धा गर्थे। तिनीहरू असाध्यै होशियार पनि थिए। कतिसम्म भने, “प्रतिलिपक” भनी अनुवाद गरिएको हिब्रू शब्द, सोफेर-ले गन्‍ने अनि मात्र अभिलेख गर्ने भन्‍ने बोध गराउँछ। यी प्रतिलिपकहरूले कुन हदसम्म शब्दहरू ठीक ठीकसँग उतार्थे त्यसको लागि मेसोरेटहरूलाई विचार गर्नुहोस्‌। a यी मेसोरेटहरूबारे विद्वान थोमस हार्टवेल हर्न यसरी वर्णन गर्छन्‌: “पेन्टाटुकको [बाइबलका प्रथम पाँच किताबहरूको सँगालो] बीचमा कुन अक्षर छ तिनीहरूलाई थाह हुन्थ्यो। हरेक किताबको बीचमा कुन वाक्यांश छ अनि हिब्रू धर्मशास्त्रभरि कुन [हिब्रू] वर्ण कति पटक दोहरिएको छ तिनीहरू राम्ररी जान्दथे।”

यी दक्ष प्रतिलिपकहरूले दोहऱ्‍याइ तेहऱ्‍याइ बारम्बार जाँच्ने थुप्रै तरिकाहरू विकास गरे। बाइबलको एउटै अक्षर पनि नछुटोस्‌ भनेर यी प्रतिलिपकहरूले शब्दहरू मात्र होइन अक्षरहरू-समेत गन्थे। बिचराहरूलाई कति गाह्रो भयो होला आफै विचार गर्नुहोस्‌। रिपोर्टअनुसार तिनीहरूले जम्माजम्मी हिब्रू धर्मशास्त्रका ८,१५,१४० अक्षरहरू गने! तिनीहरूको त्यस्तो मेहनतले गर्दा प्रतिलिपि बनाउँदा कुनै पनि शब्द छुटेन।

तथापि, प्रतिलिपकहरू पनि मानिस नै थिए। तिनीहरूबाट भूलचूक हुँदै हुँदैन भन्‍ने होइन। उसोभए, शताब्दीयौंसम्म त्यसरी प्रतिलिपिहरू बनाउँदा बाइबल जस्ताको तस्तै रह्‍यो भन्‍ने के प्रमाण छ?

भरोसा गर्ने ठोस आधार

हाम्रो समयसम्मै बाइबलको सही सही प्रतिलिपिहरू बनाइए भनेर विश्‍वास गर्ने ठोस कारण जरुर पनि छ। हिब्रू धर्मशास्त्रका झन्डै ६,००० जति पूरा वा आंशिक हस्तलिपि टुक्राहरू अनि मसीही युनानी धर्मशास्त्रका लगभग ५,००० हस्तलिपि टुक्राहरूले त्यसको प्रमाण दिन्छ। यी टुक्राहरूमा १९४७ तिर पत्ता लागेको हिब्रू धर्मशास्त्रको त्यो टुक्रा पनि पर्छ जसले बाइबलको कति सही सही प्रतिलिपिहरू बनाइए भन्‍ने उदाहरण प्रस्तुत गर्छ। यसलाई “आधुनिक युगमा पत्ता लागेका हस्तलिपिहरूमध्ये सबैभन्दा उल्लेखनीय” भन्‍ने संज्ञा पनि दिइएको छ।

सन्‌ १९४७ को प्रारम्भतिरको कुरा हो, बेडुइन भन्‍ने गोठालोले बगाल चराउँदै गर्दा मृत सागर नजीकै एउटा गुफा फेला पारे। गुफाभित्र तिनले अनगिन्ती माटाका भाँडाहरू भेट्टाए। तीमध्ये प्रायजसो खाली भए तापनि अलि कसेर ढकनी लगाइएको एउटा भाँडामा चाहिं तिनले मिहिन कपडाले राम्ररी बेहरेर राखेको छालाको मुट्ठा फेला पारे। त्यो छालाको मुट्ठा बाइबलको यशैया भनिने किताबको पूर्ण अंश थियो। मुट्ठालाई राम्ररी जोगाएर राखिएको भए तापनि निकै पुरानो भइसकेको थियो र ठाउँ ठाउँमा मर्मत गरिएका दागहरू पनि थिए। तथापि, त्यो गोठालोलाई आफ्नो हातमा भएको त्यस प्राचीन मुट्ठाले कुनै दिन अन्तरराष्ट्रिय ख्याति पाउनेछ भन्‍ने अत्तोपत्तो थिएन।

यो मुट्ठाको त्यस्तो के विशेषता छ? सन्‌ १९४७ सम्ममा सा.यु. दशौं शताब्दीताका पूर्ण हिब्रू हस्तलिपिहरू मात्र उपलब्ध थिए। तर गुफामा फेला परेको यो मुट्ठा सा.यु.पू. दोस्रो शताब्दीको b अर्थात्‌ हजार वर्षभन्दा पनि पुरानो थियो। c यो मुट्ठामा लेखिएका कुराहरू अनि तीभन्दा धेरैपछिका प्रतिलिपिहरू कत्तिको मिल्दाजुल्दा छन्‌ भनेर जाँच्न विद्वानहरू असाध्यै उत्सुक थिए।

विद्वानहरूले त्यस्तै एउटा अध्ययनमा मृत सागरमा पाइएको यशैयाको मुट्ठाको ५३ औं अध्यायलाई हजार वर्षपछि लेखिएका मेसोरेट पदसित तुलना गरे। त्यस तुलनाको नतिजा के निस्क्यो, त्यसबारे बाइबलको सामान्य परिचय (अंग्रेजी) भन्‍ने पुस्तक यसरी वर्णन गर्छ: “यशैया ५३ अध्यायका जम्माजम्मी १६६ वटा अक्षरहरूमध्ये १७ वटा अक्षरहरू मात्र शंकास्पद देखिए। यीमध्ये दशवटा केवल हिज्जेका कारणले भएको साधारण गल्ती थिए। जसले वाक्यको अर्थमा कुनै फरक पार्दैन। चारवटा अक्षर चाहिं संयोजकको प्रयोगजस्ता लेखनशैलीका कारण भएका साधारण परिवर्तनहरू थिए। बाँकी तीन अक्षरहरू चाहिं ‘ज्योति’ अर्थ लाग्ने शब्द हुन्‌ जुन पद ११ मा थपिएको थियो। त्यसले वाक्यको अर्थमा त्यति फरक पारेको देखिंदैन। . . . यसप्रकार हजारौं वर्षको दौडान अनगिन्ती प्रतिलिपिहरू बनाइए तापनि १६६ वटा शब्दहरू भएको एउटा अध्यायमा (तीन अक्षरको) एउटै मात्र शंकास्पद शब्द भेटियो—र त्यो शब्दले त्यस परिच्छेदले बुझाउन खोजेको कुरामा कुनै खास परिवर्तन गरेको छैन।”

मृत सागरमा पाइएका ती मुट्ठाहरूको वर्षौंसम्म अध्ययन गर्ने अर्को प्राध्यापक मिलर बरोज पनि त्यस्तै निष्कर्षमा पुगे: “यशैयाको मुट्ठा र मेसोरेट पदबीचका प्रायजसो भिन्‍नतालाई प्रतिलिपि उतार्दा हुने सामान्य भूल भन्‍न सकिन्छ। अन्यथा, मध्यकालीन युगका हस्तलिपिहरूसित प्रायः सबै कुरा मेल खान्छ। यसप्रकार त्यति पुरानो हस्तलिपिसित मेल खानु परापूर्वकालदेखि प्रयोग भई आएका पदहरू सही छन्‌ भन्‍ने आश्‍वासनदायी प्रमाण हो।”

मसीही युनानी धर्मशास्त्रका प्रतिलिपिहरूको पनि “आश्‍वासनदायी प्रमाण” छन्‌। उदाहरणका लागि, १९ औं शताब्दीमा फेला परेको कोडेक्स सेनाइटिकसलाई लिनुहोस्‌। सा.यु. चौथो शताब्दीताकको यस चर्मपत्रलाई शताब्दीयौं पछि लेखिएका मसीही युनानी धर्मशास्त्रका हस्तलिपिसित तुलना गर्दा सही सही प्रतिलिपि बनाइएको रहेछ भन्‍ने कुरा प्रस्ट भयो। त्यस्तैगरि, मिस्रको फाइय्यम भन्‍ने जिल्लामा यूहन्‍नारचित सुसमाचारका हस्तलिपिहरू भेटिए। परीक्षण गर्दा त्यो मूल लेखोटभन्दा ५० वर्षभन्दा पनि कम पुरानो अर्थात्‌ सा.यु. दोस्रो शताब्दीको बीचतिरको हो भन्‍ने ठहरियो। शताब्दीयौंसम्म बालुवामा सुरक्षित राखिएको यस प्रतिलिपिलाई पछि पछिका हस्तलिपिहरूसँग तुलना गर्दा मेल खाएको पाइयो।

यसप्रकार, बाइबलका प्रतिलिपकहरू असाध्यै होशियार भएर प्रतिलिपि तयार पार्थे भनेर यी प्रमाणहरूले देखाउँछ। तथापि, तिनीहरूले जरुर गल्ती गरे। मृत सागरमा फेला पारिएको यशैया पुस्तकको मुट्ठालगायत कुनै पनि हस्तलिपि शतप्रतिशत सही छैन। तर त्यसोभए तापनि विद्वानहरू त्यस्ता गल्तीहरू पत्ता लगाएर त्यसलाई मूल लेखोटअनुरूप सच्याउन सफल भएका छन्‌।

प्रतिलिपकहरूको भूल सुधार

मानि लिनुहोस्‌, १०० जना मानिसहरूलाई एउटा लामो लेखोटको हस्त प्रतिलिपि बनाउन अह्राइयो। निस्सन्देह, तिनीहरूमध्ये कसै न कसैले अवश्‍य गल्तीहरू गर्नेथिए। तथापि, सबैले एकै प्रकारका गल्तीहरू गरेनन्‌। तपाईंले मूल लेखोट कहिल्यै नदेखे तापनि त्यसका ती १०० वटा प्रतिलिपिहरूलाई बडो ध्यान पुऱ्‍याएर तुलना गर्नुभयो भने भूलहरू भेट्टाउन अनि मूल लेखोटका शब्दहरू थाह लगाउन गाह्रो पर्नेछैन।

त्यस्तैगरि बाइबलका प्रतिलिपक सबैले एकै किसिमको गल्ती गरेनन्‌। बाइबलका हजारौं हस्तलिपिहरू अझै अस्तित्वमा भएकोले तिनीहरूको तुलनात्मक जाँच गरेर विद्वानहरूले गल्तीहरू छुटाएर मूल शब्दहरू चयन गर्न र आवश्‍यक भूलसुधारहरू गर्नसकेका छन्‌। त्यस्तो गहिरो अध्ययनको फलले गर्दा अहिले यी विद्वानहरूले मूल भाषाका मूल लेखोटहरू तयार पार्नसकेका छन्‌। यी संशोधित हिब्रू एवं युनानी शास्त्रपदहरूले सामान्यतया सबैले मूल मानि आएका शब्दहरू प्रयोग गरेका छन्‌ र प्रायजसो स्थानहरूमा पादटिप्पणीहरू लेखेर केही हस्तलिपिहरूमा फेला परेका भिन्‍न वा वैकल्पिक वाक्यहरू उल्लेख गरेका छन्‌। यी विद्वानहरूले तयार पारेका संशोधित संस्करणहरूलाई आधार मानेर बाइबल अनुवादकहरू बाइबललाई आधुनिक भाषाहरूमा अनुवाद गर्छन्‌।

अतः आज तपाईंले बाइबलका आधुनिक अनुवाद पल्टाएर हेर्दा त्यसका हिब्रू एवं युनानी पदहरू बाइबलका मूल लेखकहरूकै शब्दहरूसित मेल खाने पदहरू हुन्‌ भनी विश्‍वस्त हुने प्रशस्त कारण छ। d हजारौं वर्षको दौडान हातले बनाइएका प्रतिलिपिहरू मार्फत बाइबल कसरी हाम्रो समयसम्म आइपुग्यो, साँच्चै गजबलाग्दो छ। त्यसैकारण, बेलाइती संग्रहालयका सञ्चालक सर फ्रेडरिक केन्यनले यसो भन्‍नसके: “बाइबलका एक एक शब्दहरू सही छन्‌ भन्‍नुमा कुनै गल्ती हुनेछैन। . . . संसारको अरू कुनै प्राचीन पुस्तकबारे त्यस्तो दाबी गर्न सकिंदैन।”१०

[फुटनोटहरू]

a मेसोरेटहरू (मतलब, “परम्पराका गुरुहरू”) सा.यु. छैटौंदेखि दशौं शताब्दीतिर हिब्रू धर्मशास्त्रका प्रतिलिपि बनाउने पेशेवरहरू थिए। तिनीहरूले प्रतिलिपि उतारेका प्रतिहरूलाई मेसोरेट पद भनिन्छ।

b सा.यु.पू. भनेको “सामान्य युग पूर्व” अनि सा.यु. भनेको “सामान्य युग” हो। जसलाई अंग्रेजीमा ए. डी. (सन्‌) वा एन्‍नो डोमिनी अर्थात्‌ “हाम्रो प्रभुको वर्ष” पनि भनिन्छ।

c हिब्रू शास्त्रको पाठलोचना (अंग्रेजी) भन्‍ने किताबमा इमानुएल टोभ यसो भन्छन्‌: “कार्बन फोर्टिन परीक्षणद्वारा 1QIsaa [मृत सागरमा भेट्टाइएको यशैया पुस्तकको मुट्ठा] सा.यु.पू. २०२ देखि १०७ बीचको (पुरातात्त्विक मिति: सा.यु.पू. १२५-१००) हुनुपर्छ भनेर पक्का भइसक्यो। . . . गत वर्ष यता निकै प्रगति भइसकेको पुरातात्त्विक मिति निर्धारण विधि तुलनात्मक रूपमा अहिले निकै भरपर्दो उपाय साबित भइसक्यो। जसअनुसार लेखोटहरूको अक्षरको आकार अनि स्थानलाई मिति कुँदिएको सिक्का, शिलालेखसँग दाँजेर सही मिति निर्धारण गरिन्छ।”

d निस्सन्देह, अनुवाद गर्ने व्यक्‍ति व्यक्‍तिअनुसार कसैले मूल हिब्रू अनि युनानी शास्त्रको हुबहु अनुवाद गर्छन्‌ त कसैले हल्कासित लिन्छन्‌।

[पृष्ठ ८-मा भएको चित्र]

सिपालु प्रतिलिपकहरूले बाइबललाई जोगाए

[पृष्ठ ९-मा भएको चित्र]

मृत सागरमा फेला परेको यशैया पुस्तकको मुट्ठा (यो प्रतिलिपि हो) हजारौं वर्षपछि तयार पारिएका मेसोरेट पदसित हुबहु मेल खान्छ भने पनि हुन्छ