सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब

संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब

संसारमा सबैभन्दा व्यापक वितरण भएको किताब

“इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पढिएको किताब बाइबल हो। . . . बाइबल जति वितरण भएको किताब अरू कुनै छैन। यसबाहेक सबैभन्दा धेरै पटक अनि धेरै भाषामा अनुवाद भएको किताब पनि बाइबल नै हो।”—“द वर्ल्ड बूक इनसाइक्लोपीडिया।”१

एक अर्थमा भन्‍ने हो भने, किताब पनि मानिसजस्तै हो। मानिसजस्तै किताब पनि देखापर्छ। मानिसजस्तै त्यो लोकप्रिय पनि हुनसक्छ र औंलामा भाँच्न मिल्ने केही उत्कृष्ट कृतिहरूबाहेक बाँकी सबै मानिसजस्तै बूढा हुन्छन्‌ र मर्छन्‌। मानिसहरूको जस्तै किताबहरूको पनि चिहान हुन्छ। त्यो हो, पुस्तकालय। जहाँ अनगिन्ती पुराना अनि कहिल्यै नपढिएका किताबहरू लाससरि थन्काइएका हुन्छन्‌।

तथापि, बाइबललाई उत्कृष्ट किताबहरूको पनि अपवादको रूपमा लिन सकिन्छ। किनकि, बाइबल ३,५०० वर्षअघि लेखिएको भए तापनि अझै जीवित छ। वास्तवमा पृथ्वीमा सबैभन्दा व्यापक वितरण भएको किताब पनि बाइबल नै हो। a हरेक वर्ष पूर्ण वा आंशिक रूपमा बाइबलका छ करोड प्रति वितरण हुन्छन्‌। लगभग १४५५ तिर जर्मन आविष्कारक योआनेस गुटेनबर्गको छापाखानामा मुभेबल टाइप प्रविधिद्वारा बाइबलको पहिलो संस्करण छापिएको थियो। त्यहाँदेखि यता (पूर्ण वा आंशिक रूपमा) चार अरब बाइबलहरू छापिसकिएको अनुमान छ। धार्मिक होस्‌ वा अन्य, अरू कुनै किताब बाइबल जति प्रकाशित भएको छैन।

बाइबल, इतिहासमा सबैभन्दा धेरै अनुवाद गरिएको किताब पनि हो। बाइबल पूर्ण वा आंशिक रूपमा २,१०० भन्दा धेरै भाषाहरूमा अनुवादित भइसकेको छ। b लगभग ९० प्रतिशत मानिसहरूले बाइबलको एउटै अंश मात्र भए पनि आफ्नै भाषामा पढ्‌ने सुविधा पाएका छन्‌। यसरी बाइबल सबै देशहरूमा पाइने अनि सबै जाति वा रंगका मानिसहरूले पढ्‌नसक्ने किताब भएको छ।

तथापि, यी आँकडा तपाईंलाई बाइबल जाँच्ने यथेष्ट कारण नलाग्ला। तर जे होस्‌, बाइबल यसरी धेरै वितरित हुनु, धेरै भाषामा अनुवादित हुनु निकै प्रभावशाली छ र त्यसले बाइबल साँच्चै विश्‍वव्यापी किताब हो भन्‍ने पुष्टि पनि दिन्छ। निस्सन्देह, मानव इतिहासमै सबैभन्दा धेरै बिक्ने अनि अनुवाद हुने किताब तपाईंले हेर्नु लायकको छ।

[फुटनोटहरू]

a बाइबल पछि व्यापक वितरण भएको अर्को प्रकाशन माओत्सेतुंगका लेखहरूबाट लिइएका उद्धरणहरू (अंग्रेजी) भन्‍ने रातो खोल भएको पुस्तिका मानिन्छ। यो पुस्तिकाका झन्डै ८० करोड प्रति बेचिएको वा वितरण गरिएको अनुमान छ।

b बाइबल अनुवाद भएका भाषाहरूको आँकडा युनाइटेड बाइबल सोसाइटीद्वारा प्रकाशित तथ्यांकहरूमा आधारित छन्‌।

[पृष्ठ ६-मा भएको चित्र]

मुभेबल टाइप प्रविधिद्वारा छापिएको पहिलो अनि पूर्ण किताब, ल्याटिन भाषी गुटेनबर्ग बाइबल