प्रेषित १:१-२६

 हे थियोफिलस, येशूले सुरुदेखि जे-जे गर्नुभयो अनि सिकाउनुभयो, मैले ती सबै आफ्नो पहिलो विवरणमा लेखेको छु। २  आफूले रोजेका प्रेषितहरूलाई* पवित्र शक्तिद्वारा आज्ञा दिएपछि उहाँ स्वर्ग लगिनुभएको दिनसम्मका कुरा मैले त्यसमा लेखेको छु। ३  विभिन्न कष्ट सहेर मर्नुभएपछि उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन यिनीहरूलाई थुप्रै बलिया प्रमाण दिनुभयो अनि तिनीहरूसामु चालीस दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्वरको राज्यबारे बताउनुभयो। ४  अनि तिनीहरूसित भेटघाट गर्नुहुँदा उहाँले यस्तो आज्ञा दिनुभयो: “यरूशलेम छोडेर कतै नजाओ तर बुबाले प्रतिज्ञा गर्नुभएको कुरा नपाएसम्म पर्खिरहो, जसबारे तिमीहरूले मबाट सुनेका थियौ। ५  किनभने यूहन्नाले पानीमा बप्तिस्मा* गराए तर अबको केही दिनमै पवित्र शक्तिद्वारा तिमीहरूको बप्तिस्मा हुनेछ।” ६  यस्तै अर्को पटक भेला हुँदा तिनीहरूले उहाँलाई यसो भनेर सोधेका थिए: “प्रभु, के तपाईंले इस्राएलमा परमेश्वरको राज्य अहिले पुनर्स्थापित गर्न लाग्नुभएको हो?” ७  उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ, त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्यक छैन। ८  तर पवित्र शक्ति* आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” ९  यी कुराहरू भन्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै उहाँ मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। त्यसपछि तिनीहरूले उहाँलाई देखेनन्‌। १०  उहाँ मास्तिर गइरहनुभएको बेला तिनीहरूले आकाशतिर हेरिरहेका थिए अनि हेर, सेता लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेवैमा उभिए, ११  र तिनीहरूलाई भने: “ए गालीलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।” १२  त्यसपछि जैतुन डाँडा नाम गरेको पहाडबाट ओर्लेर तिनीहरू यरूशलेम फर्के। यरूशलेमबाट त्यो पहाड नजिकै थियो, अर्थात्‌ विश्राम-दिनमा* जति यात्रा गर्न मिल्थ्यो,* त्यति मात्र पर थियो। १३  अनि सहरभित्र पसिसकेपछि तिनीहरू आफू बस्ने गरेको माथिल्लो तलाको कोठामा गए। तिनीहरू हुन्‌: पत्रुस, यूहन्ना, याकूब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरा याकूब र जोसिलो भनिने सिमोन अनि याकूबको छोरा यहूदा। १४  यिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए। तिनीहरूसित केही स्त्रीहरू, येशूकी आमा मरियम र उहाँका भाइहरू पनि थिए। १५  ती दिनमा लगभग एक सय बीस जना मानिस भेला भएको बेला तिनीहरूमाझ उभिएर पत्रुसले यसो भने: १६  “भाइहरू हो, दाऊदले पवित्र शक्तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहूदाको विषयमा भनेका थिए, जसले सिपाहीहरू लगेर येशूलाई गिरफ्तार गऱ्यो। १७  त्यसको गन्ती हामीसँगै हुने गर्थ्यो र हामीसँगसँगै त्यसले सेवा पनि गर्थ्यो। १८  हो, यही मानिसले कुकर्मको ज्यालाबाट एउटा खेत किन्यो र उँधोमुन्टो भई खस्दा भुँडी फुटेर त्यसको आन्द्रा सबै बाहिर निस्क्यो। १९  यस घटनाबारे यरूशलेमका सबै बासिन्दाहरूले पनि थाह पाए। त्यसैले आफ्नो भाषामा तिनीहरूले त्यस खेतको नाम हकल्दामा अर्थात्‌ रगतको खेत राखे। २०  यसबारे भजनको पुस्तकमा यस्तो लेखिएको छ: ‘उसको बासस्थान उजाड होस् र त्यहाँ कसैले बास नगरोस्’ अनि ‘निरीक्षण गर्ने उसको कार्यभार अरू कसैले सँभालोस्।’ २१  त्यसैले त्यसको सट्टामा हामीले यहाँ भेला भएका पुरुषहरूमध्येबाट यस्तो मानिसलाई रोज्नु आवश्यक छ, जो प्रभु येशूले आफ्ना विभिन्न कामहरू गर्नुहुँदा सधैं हामीसित थियो, २२  अर्थात्‌ यस्तो व्यक्ति जो यूहन्नाद्वारा उहाँको बप्तिस्मा भएको दिनदेखि माथि लगिनुभएको दिनसम्मै हामीसित थियो। अनि हामीले जस्तै उसले पनि प्रभु पुनर्जीवित* हुनुभएको देखेको हुनुपर्छ।” २३  तब तिनीहरूले यूसुफ भनिने बर्साबास, जसलाई जस्तस पनि भनिन्छ, तिनको अनि मत्तियासको नाम प्रस्ताव गरे। २४  त्यसपछि तिनीहरूले यसो भन्दै प्रार्थना गरे: “हे, सबैको मनको कुरा जान्नुहुने यहोवा, यी दुई पुरुषमध्ये तपाईंले कसलाई रोज्नुभएको छ, हामीलाई देखाइदिनुहोस् २५  र उसले त्यो सेवा अनि प्रेषितको जिम्मेवारी ग्रहण गरोस्, जुन कुरा त्यागेर यहूदा आफ्नै बाटो लागेका थिए।” २६  त्यसपछि तिनीहरूले ती दुईको नाममा गोला हाले र त्यो गोला मत्तियासको नाममा पऱ्यो। त्यसबेलादेखि तिनको गन्ती पनि एघार प्रेषितहरूसँगै हुन थाल्यो।

फुटनोटहरू

प्रे १:२ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलोस।”
प्रे १:५ मत्ती ३:१ को फुटनोट हेर्नुहोस्।
प्रे १:८ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
प्रे १:१२ मत्ती १२:१ को फुटनोट हेर्नुहोस्।
प्रे १:१२ * लगभग ८९० मिटरको दूरी।
प्रे १:२२ * वा, “पुनरुत्थान।”