प्रेषित १४:१-२८

१४  अब आइकोनियममा यहूदीहरूको सभाघरभित्र पसेर पावल र बर्णाबासले यत्ति राम्ररी बोले कि यहूदी र ग्रीकहरूको ठूलो भीडले प्रभुमा विश्वास गर्न थाल्यो। २  तर विश्वास नगर्ने यहूदीहरूले अन्यजातिका मानिसहरूलाई भड्काएर भाइहरूविरुद्ध रुष्ट बनाए। ३  यहोवाबाट अख्तियार पाएको हुनाले पावल र बर्णाबासले साहसी भई निकै समय बोले। साथै, तिनीहरूले सुनाइरहेको परमेश्वरको असीम अनुग्रहको वचन उहाँकै तर्फबाट हो भनेर देखाउन उहाँले तिनीहरूको हातबाट चमत्कार अनि आश्चर्यजनक कार्यहरू गराउनुभयो। ४  तर सहरका मानिसहरूमा फाटो उत्पन्न भयो अनि कसैले यहूदीहरूको पक्ष लिए भने कसैले प्रेषितहरूको। ५  अब अन्यजातिका मानिसहरूले अनि यहूदीहरू र उनीहरूका शासकहरूले तिनीहरूको बेइज्जत गर्ने र तिनीहरूलाई ढुङ्गा हान्ने योजना बनाए। ६  तर यसको सुइँको पाएर तिनीहरू लाइकाओनियाका सहरहरू अर्थात्‌ लिस्त्रा र डर्बी अनि त्यसको वरपरका इलाकाहरूमा भागे। ७  अनि त्यहाँ तिनीहरू सुसमाचार सुनाउँदै हिंडे। ८  अब लिस्त्रामा एक जना अपाङ्ग मानिस थियो। आमाको गर्भैदेखि लङ्गडो भएकोले ऊ कहिल्यै हिंडेको थिएन। ९  यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरिरहेका थिए र उसलाई निको पार्न लायकको विश्वास उसमा छ भन्ने देखेपछि १०  ठूलो सोरमा तिनले यसो भने: “आफ्नो खुट्टाको भरमा सीधा भएर उठ।” ऊ बुर्लुक्क उफ्रेर खडा भयो अनि हिंड्न थाल्यो। ११  अनि पावलको यो काम देखेपछि भीडले लाइकाओनियाली भाषामा ठूलठूलो सोरमा यसो भन्न लाग्यो: “देवताहरू मानिसको भेषमा हामीकहाँ आएछन्‌!” १२  तिनीहरूले बर्णाबासलाई ज्युस* देवता तर पावललाई चाहिं हर्मेस * देवता भन्न थाले, किनकि अघि सरेर बोल्ने तिनी नै थिए। १३  तब सहरको मूलढोकानेर भएको ज्युसको मन्दिरका पुजारीले मूलढोकामा साँढेहरू र फूलमाला ल्याए अनि भीडसित मिलेर बलि चढाउने इच्छा गरे। १४  तर जब प्रेषितहरू अर्थात्‌ बर्णाबास र पावलले यो कुरा सुने, तब तिनीहरूले आफ्नो लुगा च्याते अनि भीडमा हामफालेर यसो भन्दै चिच्याए: १५  “हे मानिसहरू हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईंहरूजस्तै कमीकमजोरी भएका मानिसहरू हौं। अनि यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी र समुद्र अनि तिनमा भएका सबै थोक बनाउनुहुने जीवित परमेश्वरकहाँ आउनुहोस् भनेर तपाईंहरूलाई सुसमाचार सुनाउन आएका मात्र हौं। १६  विगतमा उहाँले सबै जातिका मानिसहरूलाई आ-आफ्नै मार्गमा चल्न दिनुभयो, १७  तापनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो अर्थात्‌ उहाँले तपाईंहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुरा अनि आनन्दले तपाईंहरूको मन भरिदिनुभयो।” १८  यति भनेर तिनीहरूले बल्लतल्ल भीडलाई तिनीहरूको निम्ति बलि चढाउनदेखि रोके। १९  तब एन्टिओक र आइकोनियमबाट आइपुगेका यहूदीहरूले भीडलाई उक्साए। अनि तिनीहरूले पावललाई ढुङ्गा हाने र तिनी मरे होलान्‌ भन्ठानेर सहरबाहिर घिसार्दै लगे। २०  तर जब चेलाहरू तिनको वरिपरि उभिए, तिनी उठे र सहरभित्र पसे। अनि भोलिपल्ट बर्णाबाससँग डर्बी गए। २१  त्यस सहरमा सुसमाचार प्रचार गरेर निकै चेलाहरू बनाइसकेपछि तिनीहरू फर्केर लिस्त्रा, त्यसपछि आइकोनियम र अन्तमा एन्टिओक गए। २२  अनि चेलाहरूलाई ढाडस दिए र विश्वासमा रहिरहन प्रोत्साहन दिंदै यसो भने: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।” २३  यसबाहेक, तिनीहरूले प्रत्येक मण्डलीमा एल्डरहरू नियुक्त गरे अनि प्रार्थना गर्नुका साथै उपवास बसेपछि तिनीहरूले यी एल्डरहरूलाई यहोवाको जिम्मा लगाए, जसमाथि यिनीहरूले विश्वास गरेका थिए। २४  अनि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आइपुगे। २५  अनि पर्गामा वचन प्रचार गरिसकेपछि तिनीहरू अटालिया झरे। २६  त्यहाँबाट समुद्री यात्रा गरेर तिनीहरू एन्टिओक गए। तिनीहरूले भर्खरै पूरा गरेको कामको लागि यहीं एन्टिओकमै भाइहरूले उनीहरूमाथि परमेश्वरको असीम अनुग्रह रहोस् भनेर बिन्ती चढाएका थिए। २७  त्यहाँ पुगेर मण्डलीलाई एकसाथ भेला गराइसकेपछि कसरी परमेश्वरले तिनीहरूमार्फत थुप्रै काम गर्नुभयो अनि अन्यजातिहरूले पनि प्रभुमा विश्वास गरून्‌ भनेर उहाँले कसरी ढोका खोलिदिनुभयो, त्यो सुनाउन थाले। २८  त्यसैले तिनीहरूले चेलाहरूसित निकै समय बिताए।

फुटनोटहरू

प्रे १४:१२ * वा, “जुपिटर।”
प्रे १४:१२ * वा, “मर्करी।”