प्रेषित १७:१-३४

१७  त्यसपछि अम्फिपोलिस र अपोल्लोनिया हुँदै तिनीहरूले आफ्नो यात्रा जारी राखे र थिस्सलोनिका आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो। २  तब आफ्नो बानीअनुसार पावल सभाघरभित्र पसे र तीन हप्तासम्म हरेक विश्राम-दिनमा ती यहूदीहरूसित धर्मशास्त्रबाट तर्क गरे। ३  अनि ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट ब्यूँतनु आवश्यक छ भनेर बुझाउनुका साथै धर्मशास्त्रका विभिन्न वचनहरूबाट प्रमाण पनि दिए अनि भने: “यही ख्रीष्ट अनि येशूबारे म तपाईंहरूलाई प्रचार गर्दैछु।” ४  तिनको कुरा सुनेर केही मानिसहरू येशूको अनुयायी बने अनि पावल र सिलाससित सङ्गत गर्न थाले। साथै, परमेश्वरको उपासना गर्ने ग्रीकहरूको ठूलो जमात अनि थुप्रै गण्यमान्य स्त्रीले पनि तिनीहरूसित सङ्गत गरे। ५  तर यो देखेर यहूदीहरू डाहले भरिए र बजारका बदमास आवाराहरू भेला गरेर जुलुस निकाले अनि सहरभरि तहल्का मच्चाए। त्यसपछि जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई हूलदङ्गाको सिकार बनाउन तिनीहरूलाई खोजे। ६  तिनीहरूलाई फेला पार्न नसकेपछि जेसन र केही भाइहरूलाई घिस्याउँदै तिनीहरूले नगर प्रशासकहरूकहाँ लगे अनि भने: “पूरै पृथ्वीलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आएका छन्‌, ७  अनि जेसनले तिनीहरूलाई आफ्नो पाहुना बनाएर राखेको छ। येशू भन्ने एक जना अर्कै राजा छन्‌ भनेर यिनीहरू सबैले सम्राट्को* आदेशको विरोध गर्छन्‌।” ८  यस्तो कुरा गरेर ती यहूदीहरूले मानिसहरूको भीड अनि नगर प्रशासकहरूलाई निकै भड्काए। ९  तब नगर प्रशासकहरूले जेसन र तिनीसित हुनेहरूलाई धरौटीमा रिहा गरिदिए। १०  तब रातारात भाइहरूले पावल र सिलासलाई बिरिया पठाए अनि त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र पसे। ११  अब बिरियालीहरू थिस्सलोनिकीहरूभन्दा भलादमी अनि खुला विचारधाराका थिए। किनकि तिनीहरू असाध्यै उत्सुक भएर परमेश्वरको वचन ग्रहण गर्थे र ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे। १२  त्यसैले, तिनीहरूमध्ये धेरै जना येशूका अनुयायी बने। त्यति मात्र होइन, नाम चलेका थुप्रै ग्रीक स्त्री अनि पुरुषले पनि विश्वास गरे। १३  तब पावलले बिरियामा पनि परमेश्वरको वचन प्रचार गरेछन्‌ भनी थाह पाएपछि थिस्सलोनिकामा बस्ने यहूदीहरू मानिसहरूलाई भड्काएर हूलदङ्गा मच्चाउन त्यहाँ पनि आइपुगे। १४  यो थाह पाउनेबित्तिकै भाइहरूले पावललाई समुद्र किनारसम्मै पुऱ्याए तर सिलास र तिमोथी भने बिरियामै बसे। १५  तथापि, पावललाई पुऱ्याउन गएकाहरू एथेन्ससम्मै गए। तब सिलास र तिमोथीलाई सकेसम्म छिट्टै फर्कनू भनिदेओ भनेर पावलले उनीहरूलाई भने अनि त्यो खबर लिएर उनीहरू त्यहाँबाट फर्के। १६  अब एथेन्समा तिनीहरूलाई पर्खंदै गरेको बेला सहरभरि मूर्ति नै मूर्ति देखेर पावललाई छटपटी* हुन थाल्यो। १७  त्यसैले सभाघरभित्र पसेर तिनले यहूदीहरू अनि परमेश्वरको उपासना गर्ने अरू मानिसहरूसित तर्क गर्न थाले अनि हरेक दिन बजारमा ज-जसलाई भेटिन्छ, उनीहरूसित पनि त्यसै गर्थे। १८  तर केही इपिक्युरसवादी अनि स्तोइकवादी दार्शनिकहरूले तिनीसित वाद-विवाद गर्न लागे। उनीहरूमध्ये कोही-कोही यसो भन्थे: “यो बकबकेले के भन्न खोज्दैछ?” अनि अरूचाहिं यसो भन्थे: “यो त विदेशी देवताहरूको प्रचारक हो कि जस्तो देखिन्छ।” पावलले येशूको अनि पुनर्जीवनको विषयमा सुसमाचार सुनाइरहेको हुनाले उनीहरूले त्यसो भनेका थिए। १९  त्यसैले उनीहरूले पावललाई अरियोपागस* लगेर सोधे: “तपाईं यो कुन नौलो शिक्षा सिकाउँदै हुनुहुन्छ, हामीलाई बताइदिनुहुन्छ कि? २०  किनकि हामीले कहिल्यै नसुनेको कुरा तपाईं सिकाउँदै हुनुहुन्छ। त्यसैले तपाईंले सुनाउनुभएको कुराको अर्थ के हो, हामी जान्न चाहन्छौं।” २१  कुरा के हो भने, सबका सब एथेन्सवासीहरू अनि त्यहाँ आउने विदेशीहरूसमेत फुर्सत हुनेबित्तिकै नौला-नौला कुराहरू अरूलाई सुनाएर अनि सुनेर समय कटाउँथे। २२  तब अरियोपागसको बीचमा उभिएर पावलले भने: “हे एथेन्सका मानिसहरू हो, देवीदेवताहरूप्रति तपाईंहरूको भक्ति* अरू मानिसहरूको भन्दा धेरै रहेछ भनेर म देख्दैछु। २३  उदाहरणका लागि, तपाईंहरूले पुज्ने चीजबीजहरू नियाल्दै घुमफिर गर्दा एउटा वेदीमा ‘अज्ञात देवमा समर्पित’ भनेर लेखिएको भेट्टाएँ। जुन परमेश्वरलाई तपाईंहरू नचिनीकनै पुज्नुहुन्छ, उहाँकै विषयमा म तपाईंहरूलाई बताउँदैछु। २४  सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने त्यही परमेश्वर आकाश र पृथ्वीको स्वामी हुनुहुन्छ; त्यसैले हातले बनाएका मन्दिरहरूमा उहाँ बास गर्नुहुन्न, २५  न त मानिसहरूको हातले चढाएको कुनै सेवा उहाँलाई चाहिन्छ, किनकि उहाँले नै सबै मानिसहरूलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ। २६  सारा पृथ्वीमा बसोबास गराउन उहाँले एउटै मानिसबाट विभिन्न जातिका मानिसहरू बनाउनुभयो र तिनीहरूको अवधि र निवासस्थानको सिमाना तोक्नुभयो। २७  किनकि तिनीहरूले परमेश्वरलाई खोजून्‌ अनि छामछाम-छुमछुम गरेर उहाँलाई भेट्टाऊन्‌ भन्ने उहाँ चाहनुहुन्थ्यो; भनौं भने, उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न। २८  उहाँले गर्दा नै हामीले जीवन पाएका हौं, चलहल गर्छौं अनि अस्तित्वमा छौं; ‘हामी त उहाँकै सन्तान हौं’ भनेर तपाईंहरूकै कोही-कोही कविहरूले पनि भनेका छन्‌। २९  “परमेश्वरकै सन्तान हौं भनेर थाह हुँदाहुँदै हामीले उहाँलाई सुन, चाँदी, वा पत्थरले बनेको सम्झनु वा मानिसहरूको कला वा कल्पनाको उपज ठान्नु उचित हुँदैन। ३०  हो, मानिसहरूले जुन बेला अज्ञानतामा त्यसो गरे, परमेश्वरले त्यसको वास्ता गर्नुभएको छैन। तर अब भने तिनीहरू सबैले पश्‍चात्ताप गर्नुपर्छ भनेर उहाँले मानिसजातिलाई भन्दै हुनुहुन्छ। ३१  किनकि आफूले निर्धारण गरेको स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ र आफूले नियुक्त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्यूँताएर परमेश्वरले सबै मानिसहरूलाई यसको ग्यारेन्टी दिनुभएको छ।” ३२  मरिसकेका मानिसहरू पुनर्जीवित हुने विषयमा सुनेर कसै-कसैले तिनको गिल्ला गरे तर अरूहरूले चाहिं यसो भने: “अर्को पटक हामी फेरि यस विषयमा तपाईंको कुरा सुन्नेछौं।” ३३  त्यसपछि, पावल त्यहाँबाट गए ३४  तर कोही-कोहीले तिनीसित सङ्गत गरे अनि येशूको अनुयायी बने, जसमध्ये एक जना अरियोपागसको अदालतका न्यायाधीश डियनुसियस थिए। त्यसैगरि, डामारिस नाम गरेकी स्त्री अनि अरू मानिसहरू पनि उहाँको अनुयायी बने।

फुटनोटहरू

प्रे १७:७ * ग्रीकमा “सिजर।”
प्रे १७:१६ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
प्रे १७:१९ * प्राचीन एथेन्सको पहाड, जहाँ सर्वोच्च अदालत बस्ने गर्थ्यो।
प्रे १७:२२ * वा, “डर।”