प्रेषित २०:१-३८

२०  हूलदङ्गा थामिएपछि पावलले चेलाहरूलाई बोलाएर प्रोत्साहन दिए अनि उनीहरूसित बिदाबारी भएपछि तिनी म्यासिडोनियाको यात्रामा निस्के। २  त्यस ठाउँको चारैतिर गई त्यहाँका चेलाहरूसित धेरै कुरा गरेर उनीहरूलाई प्रोत्साहन दिएपछि तिनी ग्रीस पुगे। ३  अनि त्यहाँ तीन महिना बिताएपछि समुद्री यात्रा गरेर सिरिया जानै लाग्दा आफूविरुद्ध यहूदीहरूले रचेको षड्यन्त्रबारे तिनले थाह पाए। त्यसैले तिनले म्यासिडोनिया भएर फर्कने विचार गरे। ४  बिरियाली पाइरसका छोरा सोपाटर, थिस्सलोनिकी अरिस्तार्खस र सिकन्डस, डर्बीका गायस, तिमोथी अनि एसिया प्रान्तका टाइकिकस र त्रोफिमस पनि तिनीसँगै थिए। ५  तिनीहरू हामीभन्दा अघि त्रोआस पुगेर हामीलाई पर्खिरहे। ६  हामी भने अखमिरा रोटीको चाडपछि फिलिप्पीबाट जहाज चढ्यौं र पाँच दिनमा त्रोआस पुग्यौं, जहाँ तिनीहरू थिए। अनि हामीले त्यहाँ सात दिन बितायौं। ७  हप्ताको पहिलो दिन, हामी खाना खान भेला भएको बेला पावलले उनीहरूलाई भाषण दिन थाले। भोलिपल्ट उनीहरूसित बिदा भएर जान लागेको हुनाले पावलको भाषण मध्यरातसम्म पनि टुङ्गिएन। ८  हामी भेला भएको माथिल्लो तलाको कोठामा थुप्रै दियो बलिरहेका थिए। ९  युटाइकस नाम गरेको एक जना ठिटो झ्यालमा बसेका थिए। पावलले कुरा गरिरहँदा उनी निद्राले झुल्न थाले र भुसुक्कै निदाएर तीन तला माथिबाट खसेर मरे। १०  तब पावल तल ओर्लेर उनीमाथि लम्पसार परे अनि उनलाई अँगालो हालेर भने: “शान्त होओ, किनकि ऊ फेरि जिउँदो* भइसकेको छ।” ११  तिनी फेरि माथि उक्ले अनि रोटी भाँचेर खाए। त्यसपछि बिहान नहोउन्जेल कुराकानी गरिरहे र अन्तमा उनीहरूसित बिदाबारी भएर हिंडे। १२  तब उनीहरूले त्यस ठिटोलाई लगे र उनी जिउँदो भएकोले उनीहरूले धेरै सान्त्वना पाए। १३  तब हामी अघि-अघि गयौं र जहाज चढेर अस्सोस पुग्यौं। हामीले पावललाई पनि जहाजमै लैजाने विचार गरेका थियौं तर हामीलाई जहाज चढ्ने निर्देशन दिएर आफू भने पैदल यात्रा गर्ने तिनको सोचाइ थियो। १४  जब तिनले हामीलाई अस्सोसमा भेट्टाए, तब हामीले तिनलाई जहाजमा चढायौं र मितिलेने गयौं। १५  अनि भोलिपल्ट त्यहाँबाट यात्रा गरेर हामी चिओस टापुको छेउमा पुग्यौं अनि त्यसको भोलिपल्ट सामोसमा केही बेर रोकिएर पर्सिपल्ट मिलेटसमा पुग्यौं। १६  एसिया प्रान्तमा समय बिताउन नपरोस् भनेर पावलले एफिससमा नरोकी जाने निधो गरेका थिए, किनकि सम्भव भएसम्म पेन्तिकोसको चाडअघि नै यरूशलेम पुग्न तिनी हतारिएका थिए। १७  तिनले मिलेटसबाट एफिससमा खबर पठाएर मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए। १८  उनीहरू आइपुगेपछि तिनले भने: “तपाईंहरूलाई थाहै छ, एसिया प्रान्तमा पाइला टेकेको दिनदेखि हरबखत तपाईंहरूसितै रहेर १९  मैले ज्यादै विनम्रतासाथ प्रभुको सेवा गरें अनि यहूदीहरूको षड्यन्त्रले गर्दा कत्ति धेरै आँसु बगाएँ अनि परीक्षाहरू सहें। २०  साथै, तपाईंहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ न त तपाईंहरूलाई जनसमक्ष र घरघरमा सिकाउन नै पछि हटें। २१  तर मैले यहूदी र ग्रीक दुवैलाई पश्‍चात्ताप गरेर परमेश्वरतर्फ फर्कने र हाम्रा प्रभु येशूमा विश्वास गर्ने विषयमा राम्ररी साक्षी दिएँ। २२  अब हेर्नुहोस्, पवित्र शक्तिको निर्देशनबमोजिम म यरूशलेम जाँदैछु र त्यहाँ मलाई के हुने हो, त्यो मलाई थाह छैन। २३  मलाई यति मात्र थाह छ, कैद र सङ्कष्टले मेरो बाटो ढुकिरहेको छ भनेर पवित्र शक्तिले सहरैपिच्छे मलाई बारम्बार चेतावनी दिनेगर्छ। २४  तैपनि म आफ्नो जीवनलाई* प्रिय ठान्दिनँ, बरु मेरो इच्छा यही छ, कि म आफ्नो दौड र प्रभु येशूबाट पाएको त्यो सेवा पूरा गर्न सकूँ, जुन सेवा मैले परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन पाएको थिएँ। २५  “अब हेर्नुहोस्, तपाईंहरू ज-जसलाई मैले राज्यको प्रचार गरें, तपाईंहरूमध्ये कसैले पनि मेरो अनुहार देख्न पाउनुहुनेछैन भनेर मलाई थाह छ। २६  त्यसैले सबै मानिसहरूको रगतबाट म निर्दोष छु भन्ने कुराको आज तपाईंहरू साक्षी हुनुहुन्छ, २७  किनकि तपाईंहरूलाई परमेश्वरको उद्देश्यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैन। २८  तपाईंहरू आफ्नो विषयमा होसियार हुनुहोस् र पूरै बगालको हेरचाह गर्नुहोस्, किनकि परमेश्वरले आफ्नै छोराको रगतद्वारा किन्नुभएको मण्डलीलाई गोठालोले झैं डोऱ्याउन पवित्र शक्तिले तपाईंहरूलाई यस बगालमा निरीक्षक नियुक्त गरेको छ। २९  मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईंहरूबीच घुस्नेछन्‌ र बगालसित कठोर व्यवहार गर्नेछन्‌, ३०  अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्ने मानिसहरू पनि तपाईंहरूकै बीचबाट उठ्नेछन्‌। ३१  “त्यसैले जागा बस्नुहोस् अनि तीन-तीन वर्षसम्म दिनरात आँसु बगाएर तपाईंहरू हरेकलाई मैले कसरी सम्झाइबुझाइ गरें, त्यो नबिर्सनुहोस्। ३२  अब म तपाईंहरूलाई परमेश्वरको अनि असीम अनुग्रहले भरिपूर्ण उहाँको वचनको जिम्मा लगाउँछु, किनकि त्यो वचनले तपाईंहरूलाई सुदृढ बनाउन सक्छ र सबै पवित्र जनहरूमाझ तपाईंहरूलाई उत्तराधिकार पनि दिन सक्छ। ३३  मैले कसैको चाँदी वा सुन वा लुगाफाटाको लालच गरेको छैन। ३४  कसरी यी हातहरूले मेरो अनि मसित हुनेहरूको आवश्यकता पूरा गऱ्यो, त्यो तपाईंहरूलाई थाहै छ। ३५  मैले तपाईंहरूलाई हरतवरले देखाएको छु, कि कसरी तपाईंहरूले पनि मेहनत गरेर कमजोरहरूलाई मदत गर्नुपर्छ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’ भनेर प्रभु येशू आफैले भन्नुभएको वचन सधैं सम्झनुपर्छ।” ३६  यी कुरा भनिसकेपछि उनीहरू सबै जनासँगै घुँडा टेकेर पावलले प्रार्थना गरे। ३७  तब उनीहरूमाझ निकै रुवाबासी भयो अनि उनीहरूले पावललाई अँगालो हालेर चुम्बन गरे। ३८  उनीहरूले अबउसो तिनको अनुहार देख्न पाउनेछैनन्‌ भन्ने पावलको कुराले गर्दा उनीहरू झनै दुःखी भएका थिए। अन्तमा तिनलाई जहाजसम्म पुऱ्याएर उनीहरूले बिदाबारी गरे।

फुटनोटहरू

प्रे २०:१० * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
प्रे २०:२४ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।