प्रेषित २२:१-३०
२२ “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, अब मैले तपाईंहरूसामु दिन लागेको सफाइ सुन्नुहोस्।”
२ (तिनले हिब्रू भाषामा सम्बोधन गरेको सुनेर उनीहरू झनै चुप लागे। त्यसपछि तिनले भने:)
३ “म सिलिसियाको टार्ससमा जन्मेको यहूदी हुँ। तर यहीं यरूशलेममा मैले गमलिएलको चरणमा शिक्षा पाएँ; हाम्रा पुर्खाहरूको व्यवस्था एक-एक पालन गर्न मलाई सिकाइएको थियो अनि अहिले तपाईंहरू परमेश्वरको लागि जति जोसिलो हुनुहुन्छ, म पनि त्यत्तिकै जोसिलो थिएँ।
४ मैले त्यस मार्गमा* लाग्ने पुरुष र स्त्री दुवैलाई बाँधेर झ्यालखानामा हालिदिन्थें, तिनीहरूको खेदो गर्थें अनि तिनीहरूलाई मार्न लगाउँथे,
५ जसको साक्षी प्रधान पुजारी र धर्म-गुरुहरूको सम्पूर्ण सभा छन्। उनीहरूबाट मैले दमीशकका यहूदी बन्धुहरूको नाममा पुर्जी पनि लिएको थिएँ अनि त्यहाँ भएकाहरूलाई पनि सजाय दिनको लागि बाँधेर यरूशलेम ल्याउन म त्यतैतिर जाँदै थिएँ।
६ “मध्यदिनतिर, यात्रा गरेर म दमीशक पुग्नै लागेको थिएँ, तब अकस्मात् मेरो चारैतिर आकाशबाट चहकिलो ज्योति चम्कियो
७ अनि म भुइँमा पछारिएँ र मलाई यस्तो भन्दै गरेको आवाज मैले सुनें: ‘शावल, ए शावल, तिमी किन मेरो खेदो गर्दैछौ?’
८ मैले भनें: ‘प्रभु, तपाईं को हुनुहुन्छ?’ उहाँले जवाफ दिनुभयो: ‘म नासरी येशू हुँ, जसको तिमी खेदो गरिरहेका छौ।’
९ मसँग भएका मानिसहरूले ज्योति त देखे तर मसित कुराकानी गर्नेको आवाज भने सुनेनन्।*
१० त्यसपछि मैले सोधें: ‘हे प्रभु, म के गरूँ?’ प्रभुले मलाई भन्नुभयो: ‘उठ, अनि दमीशक जाऊ। तिमीले गर्नुपर्ने सबै कामबारे तिमीलाई त्यहीं बताइनेछ।’
११ तर ज्योतिको चमकले गर्दा मैले केही देख्न सकिनँ; त्यसैले मसित भएका मानिसहरूले मेरो हात समातेर डोऱ्याउँदै मलाई दमीशक पुऱ्याए।
१२ “तब मोशाको व्यवस्थाअनुसार भक्त र त्यहाँ बसोबास गर्ने सबै यहूदीहरूमाझ राम्रो नाम कमाएका हननिया
१३ मकहाँ आए अनि मेरो छेवैमा खडा भएर तिनले भने, ‘हे भाइ शावल, तपाईंको दृष्टि फर्कोस्!’ अनि उत्तिखेरै मैले तिनलाई देखें।
१४ तिनले भने, ‘हाम्रा पुर्खाहरूका परमेश्वरको उद्देश्य तपाईंलाई थाह होस् अनि परमेश्वरको स्तरबमोजिम असल काम गर्ने त्यस मानिसलाई हेर्न र उहाँको सोर सुन्न सकोस् भनेर उहाँले तपाईंलाई रोज्नुभएको छ,
१५ किनकि आफूले देखेका र सुनेका कुराहरूको विषयमा तपाईंले सबै मानिसहरूलाई साक्षी दिनुपर्नेछ।
१६ अब किन अलमल गर्नुहुन्छ? उठ्नुहोस् र बप्तिस्मा गर्नुहोस् अनि उहाँको नाम पुकारेर आफ्ना पापहरू पखाल्नुहोस्।’
१७ “म यरूशलेम फर्केर मन्दिरमा प्रार्थना गरिरहेको बेला मैले एउटा दर्शन देखें।
१८ उहाँले मलाई यसो भनिरहनुभएको थियो, ‘छिटो गर अनि यरूशलेमबाट तुरुन्तै निस्किहाल, किनकि मेरो विषयमा तिमीले दिएको साक्षी तिनीहरूले स्वीकार्नेछैनन्।’
१९ अनि मैले भनें, ‘प्रभु, तिनीहरूलाई यो राम्ररी थाह छ, कि तपाईंमाथि विश्वास गर्नेहरूलाई म झ्यालखानामा हाल्थें अनि एकपछि अर्को सभाघरमा गएर तिनीहरूलाई पिट्थें;
२० अनि तपाईंको साक्षी स्तिफनसको रगत बगाइँदा छेवैमा उभिएर मैले पनि सहमति जनाइरहेको थिएँ अनि तिनलाई मार्नेहरूको लुगा कुरेर बसिरहेको थिएँ।’
२१ तैपनि उहाँले मलाई भन्नुभयो, ‘उठ र जाऊ, किनकि म तिमीलाई टाढा-टाढा अन्यजातिहरूकहाँ पठाउनेछु।’ ”
२२ यतिबेलासम्म उनीहरू तिनको कुरा सुन्दै थिए तर अब भने उनीहरू यसो भन्दै कराउन थाले: “यस्तो मानिसलाई जिउँदो छोड्नुहुन्न, किनकि यो बाँच्न योग्यको छैन!”
२३ उनीहरू आफ्नो खास्टो हावामा हुर्ऱ्याउँदै अनि धूलो उडाउँदै चिच्याइरहेका थिए।
२४ त्यसैले के कारण उनीहरू पावलविरुद्ध यत्तिको चिच्याइरहेका हुन् भनेर पत्ता लगाउन सेनापतिले* तिनलाई छाउनीभित्र ल्याउन र कोर्रा लगाएर केरकार गर्न आदेश दिए।
२५ तर जब उनीहरूले तिनलाई कोर्रा लगाउनलाई बाँधे, तब पावलले त्यहाँ उभिरहेका सैनिक अफिसरलाई सोधे: “दोषी नठहराईकनै एक जना रोमी नागरिकलाई तपाईंहरूले कोर्रा लगाउनु के न्यायसङ्गत हो?”
२६ यो सुनेपछि ती सैनिक अफिसर सेनापतिकहाँ गए र यसो भने: “तपाईंले यो के गर्न लाग्नुभएको? यो मानिस त रोमी नागरिक पो रहेछ।”
२७ तब ती सेनापति पावलकहाँ गएर तिनलाई सोधे: “मलाई भन, के तिमी रोमी नागरिक हौ?” तिनले जवाफ दिए: “हुँ।”
२८ सेनापतिले भने: “मैले धेरै पैसा खर्च गरेर यो नागरिक-हक किनेको हुँ।” पावलले भने: “तर मैले त यो जन्मजातै पाएको हुँ।”
२९ त्यसैले तिनलाई यातना दिएर केरकार गर्न लागेका ती मानिसहरू पछि हटे अनि तिनी रोमी नागरिक रहेछन् भन्ने पक्का भएपछि सेनापति डराए, किनकि उनले तिनलाई बाँध्न लगाएका थिए।
३० यहूदीहरूले तिनलाई किन आरोप लगाएका रहेछन् भनेर थाह पाउने इच्छा भएकोले भोलिपल्ट उनले पावललाई बाँधेको साङ्लो फुकाइदिए अनि मुख्य पुजारीहरू र यहूदी न्यायपरिषद्का सबै सदस्यहरूलाई भेला हुन आदेश दिए। त्यसपछि उनले पावललाई तल ल्याएर उनीहरूमाझ खडा गराए।