प्रेषित २५:१-२७

२५  आफ्नो प्रान्तमा* आएर कार्यभार सँभालेको तीन दिनपछि फेस्तस सिजरियाबाट यरूशलेम गए। २  तब मुख्य पुजारीहरू र यहूदीहरूका गण्यमान्य मानिसहरूले पावलको अभियोग उनीसामु पेस गरे। अनि तिनीहरूले उनलाई के बिन्ती गरे भने, ३  पावलविरुद्ध तिनीहरूको आग्रह सुन्दै उनले तिनलाई यरूशलेम पठाऊन्‌, किनकि तिनलाई बाटैमा सिध्याउन तिनीहरू धराप थापेर बसेका थिए। ४  तर फेस्तसले तिनीहरूलाई पावल सिजरियामै रहनुपर्छ भने अनि आफू पनि चाँडै त्यतै जाँदैछु भन्ने जवाफ दिए। ५  उनले भने: “यहाँ तिमीहरूमध्ये जो-जो उच्च ओहदामा छौ, मसँगै आओ र त्यस मानिसविरुद्ध केही उजुरी छ भने उसलाई आरोप लगाओ।” ६  तिनीहरूसित आठ-दस दिनजति बिताएपछि उनी सिजरिया ओर्ले अनि त्यसको भोलिपल्ट न्यायआसनमा बसे र पावललाई हाजिर गराउने आदेश दिए। ७  पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले तिनलाई घेरे अनि थुप्रै गम्भीर आरोप लगाउन थाले तर उनीहरूले कुनै प्रमाण भने पेस गर्न सकेनन्‌। ८  तब आफ्नो प्रतिवाद गर्दै पावलले यसो भने: “मैले न यहूदीहरूको व्यवस्थाविरुद्ध, न मन्दिरविरुद्ध न त सम्राट्विरुद्ध* नै केही पाप गरेको छु।” ९  यहूदीहरूलाई खुसी पार्ने मनसायले फेस्तसले पावललाई सोधे: “के तिमी यरूशलेम गएर मेरोसामु यी कुराहरूको न्याय गरिएको चाहन्छौ?” १०  तर पावलले जवाफ दिए: “म सम्राट्को न्यायआसनसामु खडा छु र यहीं मेरो न्याय हुनुपर्छ। मैले यहूदीहरूको केही खराबी गरेको छैन, जुन कुरा हजुरले पनि राम्ररी बुझिसक्नुभएको छ। ११  केही गरी, यदि मैले गल्ती नै गरेको रहेछु र मृत्युदण्ड पाउन योग्य कुनै काम गरेकै रहेछु भने म मर्नदेखि पछि हट्दिनँ। तर अर्कोतिर, यदि यी मानिसहरूले मलाई जे-जे आरोप लगाएका छन्‌, तीमध्ये एउटै सत्य होइन भने तिनीहरूलाई खुसी पार्न मलाई तिनीहरूको हातमा सुम्पिने अधिकार कसैसित पनि छैन। म सम्राट्लाई अपिल गर्छु!” १२  तब आफ्ना सल्लाहकारहरूको समूहसित छलफल गरेपछि फेस्तसले भने: “तिमीले सम्राट्लाई अपिल गरेका छौ; त्यसैले तिमी सम्राट्कहाँ नै जानेछौ।” १३  अब केही दिनपछि फेस्तससित शिष्टाचार भेट गर्न राजा अग्रिपा* र बर्णिस सिजरिया आए। १४  उनीहरू निकै दिन त्यहाँ बस्ने गरी आएकाले फेस्तसले यसो भन्दै राजालाई पावलको विषयमा बताए: “फेलिक्सले एक जना मानिसलाई कैदमा राखेर गएका रहेछन्‌। १५  म यरूशलेममा छँदा मुख्य-पुजारीहरू र यहूदीहरूका धर्म-गुरुहरूले उसको विरुद्धमा लगाइएको अभियोग मसामु पेस गरे अनि उसलाई सजाय दिन माग गरे। १६  आरोपितले आरोपकलाई आमनेसामने भेटेर उजुरीको प्रतिवाद नगरेसम्म कसैलाई खुसी पार्नकै लागि उसलाई सुम्पन रोमी कानुनले दिंदैन भनेर मैले जवाफ दिएँ। १७  त्यसैले तिनीहरू यहाँ भेला भएपछि कुनै अलमल नगरी भोलिपल्टै म न्यायआसनमा बसें र त्यस मानिसलाई हाजिर गराउने आदेश दिएँ। १८  आरोपकहरू खडा भए तर उसले जे-जस्तो दुष्कर्महरू गरेको होला भनेर मैले सोचेको थिएँ, त्यस्तो कुनै दुष्कर्मको आरोप तिनीहरूले लगाएनन्‌। १९  तिनीहरूको आफ्नै देवताको उपासनाको विषयमा र येशू भन्ने एक जना मानिसको विषयमा मतभेद भएको मात्र रहेछ। हुन त त्यस मानिसको मृत्यु भइसक्यो तर पावल भने ऊ जिउँदै छ भनेर जिद्दी गर्न छोड्दैन। २०  यो मतभेद कसरी सुल्झाउने भनेर रनभुल्लमा परेकोले मैले उसलाई यरूशलेम गएर त्यहीं यी कुराहरूको न्याय गरिएको चाहन्छौ कि भनेर सोधें। २१  तर पावलले मौसुफबाट* निर्णय नआउन्जेल यहीं कैदमा रहन पाऊँ भनी अपिल गरेको हुनाले मैले उसलाई सम्राट्कहाँ नपठाउन्जेल यहीं राख्ने आदेश दिएँ।” २२  तब अग्रिपाले फेस्तसलाई भने: “म पनि त्यस मानिसको कुरा सुन्न चाहन्छु।” उनले जवाफ दिए: “हजुरले भोलि उसको कुरा सुन्नुहोला।” २३  त्यसकारण भोलिपल्ट अग्रिपा र बर्णिस आफ्ना सेनापतिहरू र सहरका प्रतिष्ठित मानिसहरूसहित बडो धूमधामका साथ सभाकक्षमा प्रवेश गरे। तब फेस्तसले आदेश दिएपछि पावललाई भित्र ल्याइयो। २४  अनि फेस्तसले भने: “हे राजा अग्रिपा तथा उपस्थित सज्जनवृन्द, तपाईंहरूले देखिरहनुभएको यस मानिसलाई जिउँदो छोड्नुहुन्न भनेर सबै यहूदीहरूले यरूशलेममा र यहाँ ठूलठूलो सोरमा कराउँदै मलाई बिन्ती गरेका छन्‌। २५  तर मृत्युदण्ड पाउन योग्य कुनै काम यसले गरेको छ जस्तो मलाई लागेन। तथापि, यस मानिस आफैले मौसुफलाई अपिल गरेको हुनाले मैले यसलाई पठाउने निर्णय गरें। २६  तर यस मानिसको विषयमा मौसुफसामु जाहेर गर्न मिल्ने खासै कुरा मसित केही छैन। त्यसैले मैले यसलाई तपाईंहरूसामु, अझ विशेष गरी, हे राजा अग्रिपा, हजुरसामु हाजिर गराएको छु, ताकि तपाईंहरूले न्यायिक छानबिन गर्नुभएपछि मसित लेख्न लायक केही कुरा होस्। २७  किनकि आरोपै नखुलाई कैदीलाई पठाउनु मलाई मनासिब लागेन।”

फुटनोटहरू

प्रे २५:१ * अर्थात्‌, “यहूदा प्रान्तमा।” राज्यपालको निवासस्थान सिजरियामा थियो।
प्रे २५:८ * ग्रीकमा “सिजर।”
प्रे २५:१३ * अर्थात्‌, “हेरोद अग्रिपा द्वितीय।”
प्रे २५:२१ * वा, “अगस्तस।” सम्राट् नेरोको उपाधि; यिनी यो उपाधि पहिलो पटक धारण गर्ने अक्टाभियन पछिका चौथा सम्राट् हुन्‌।