प्रेषित २६:१-३२
२६ तब अग्रिपाले पावललाई भने: “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” त्यसपछि आफ्नो हात तन्काएर पावलले यसरी आफ्नो प्रतिवाद गरे:
२ “हे राजा अग्रिपा, यहूदीहरूले ममाथि लगाएका सबै आरोपहरूको विषयमा आज हजुरसमक्ष आफ्नो प्रतिवाद प्रस्तुत गर्न पाएकोमा म खुसी छु,
३ किनभने हजुरसित यहूदीहरूका सबै रीतिथितिका साथै विवादहरूको राम्रो ज्ञान छ। त्यसैले मेरो कुरा धैर्य गरी सुनिदिनुहुन म हजुरलाई बिन्ती गर्छु।
४ “युवावस्थादेखि मैले आफ्नो जातिबीच अनि यरूशलेममा जुन किसिमको जीवन बिताएँ, त्यसबारे सबै यहूदीहरू,
५ जो मसित पहिलेदेखि परिचित छन्, तिनीहरूलाई थाह छ। यदि तिनीहरू चाहन्छन् भने, हाम्रो धर्मको सबैभन्दा कट्टर गुटमा लागेर मैले कसरी फरिसीको जीवन बिताएको थिएँ भनेर मेरो पक्षमा साक्षी दिन सक्छन्।
६ तर परमेश्वरले हाम्रा पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञामाथि आशा राखेकै कारण अहिले मेरो न्याय गरिंदैछ;
७ यही प्रतिज्ञा पूरा भएको हेर्ने आशा गर्दै हाम्रा बाह्र कुल तल्लीन भएर दिनरात उहाँको उपासना गर्दैछन्। हे राजा, यही आशा राखेको हुनाले यहूदीहरूले मलाई दोष लगाएका हुन्।
८ “मरिसकेको मानिसलाई परमेश्वरले ब्यूँताउनुहुन्छ भनेर तपाईंहरू किन पत्याउनुहुन्न?
९ मेरो आफ्नै विषयमा भन्नुपर्दा, मैले नासरी येशूको घोर विरोध गर्नुपर्छ भन्ठानेको थिएँ;
१० हुन पनि, मैले यरूशलेममा त्यसै गरें। मैले थुप्रै पवित्र जनलाई झ्यालखानामा थुनें, किनकि मैले मुख्य पुजारीहरूबाट त्यसो गर्ने अख्तियार पाएको थिएँ; अनि तिनीहरूलाई मृत्युदण्ड दिने निर्णय हुँदा, मैले त्यसको पक्षमा मत खसालें।
११ साथै, सभाघरैपिच्छे तिनीहरूलाई धेरै पटक सजाय दिएर आफ्नो धर्म त्याग्न तिनीहरूलाई मैले जबरजस्ती गरें। तिनीहरूसित रिसाएर म यत्ति पागल भएको थिएँ, कि अरू सहरहरूमा समेत मैले तिनीहरूको खेदो गर्न थालें।
१२ “यस्तै काम गरिरहेको बेला मुख्य पुजारीहरूबाट पाएको अख्तियार अनि आदेशसहित म दमीशक जाँदै थिएँ,
१३ तब हे राजा, मध्यान्हको बेला बाटोमा आकाशबाट घामको उज्यालोभन्दा पनि चहकिलो ज्योति चम्केको मैले देखें र त्यो म अनि मसित यात्रा गरिरहेका मानिसहरूको चारैतिर चम्कियो।
१४ अनि हामी सबै भुइँमा पछारियौं र हिब्रू भाषामा मलाई यसो भन्दै गरेको आवाज मैले सुनें, ‘शावल, हे शावल, तिमी किन मेरो खेदो गर्दैछौ? सुइरोमा लात हिर्काउँदा तिमीलाई नै दुःख हुन्छ।’
१५ तब मैले सोधें, ‘प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि प्रभुले भन्नुभयो: ‘म येशू हुँ, जसको तिमीले खेदो गरिरहेका छौ।
१६ अब उठ, किनकि तिमीलाई आफ्नो सेवक बनाउन र तिमीले जे-जे देखेका छौ अनि मेरो विषयमा जे-जे म तिमीलाई देखाउनेछु, ती कुराहरूको साक्षी बनाउन म तिमीसामु प्रकट भएको हुँ।
१७ अनि तिमीलाई यो जाति अनि अन्यजातिका मानिसहरूको हातबाट जोगाउनेछु, जसकहाँ म तिमीलाई पठाउँदैछु।
१८ तिनीहरूले ममाथि राखेको विश्वासको आधारमा आफ्ना पापहरूको क्षमा पाऊन् अनि मैले पवित्र ठहराएकाहरूले पाउने उत्तराधिकार पनि पाऊन् भनेर तिनीहरूको आँखा खोल्न, तिनीहरूलाई अन्धकारबाट उज्यालोतिर फर्काउन, सैतानको अख्तियारबाट मुक्त गरेर तिनीहरूलाई परमेश्वरको अख्तियारमुनि ल्याउन म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु।’
१९ “हे राजा अग्रिपा, त्यस स्वर्गीय दर्शनमा मलाई दिइएको आदेश मैले पालन गरें।
२० त्यसैले म सबैभन्दा पहिला दमीशक, त्यसपछि यरूशलेम अनि यहूदियाका सारा इलाका र अन्यजातिका मानिसहरूलाई तिनीहरूले पश्चात्ताप गर्नुपर्छ र त्यस्तो पश्चात्ताप प्रकट हुने कामहरू गरेर परमेश्वरतर्फ फर्कनुपर्छ भन्ने सन्देश सुनाउँदै हिंडें।
२१ मैले यही काम गरें भनेर यहूदीहरूले मलाई मन्दिरमा समाते अनि मार्न खोजे।
२२ तथापि, परमेश्वरको मदत पाएकोले आजको दिनसम्मै साना र ठूला सबैलाई म साक्षी दिंदैछु। तर हुनआउने कुराहरूको विषयमा भविष्यवक्ताहरूले अनि मोशाले जे भने, त्योबाहेक अरू कुनै कुरा म तिनीहरूलाई बताउँदिनँ,
२३ यही कि, ख्रीष्टले दुःख भोग्नु आवश्यक थियो र मरेका मानिसहरूमध्येबाट सबैभन्दा पहिले पुनर्जीवित हुनुहुने व्यक्तिको हैसियतमा उहाँले यस जाति अनि अन्यजातिका मानिसहरूलाई ज्योति प्रकट गर्नुहुने थियो।”
२४ आफ्नो प्रतिवाद गर्दै तिनले यी कुराहरू भनिरहेका बेला फेस्तसले ठूलो स्वरमा यसो भने: “तिमी बौलायौ पावल! धेरै ज्ञानले तिमीलाई बौलाहा बनाउँदैछ!”
२५ तर पावलले जवाफ दिए: “हे महामहिम फेस्तस, म बौलाएको होइन, किनकि म सत्य अनि सद्दे कुरा बोल्दैछु।
२६ भनौं भने, राजालाई यी कुराहरू राम्ररी थाह छ; त्यसैले त निर्धक्क भई साहसका साथ म बोल्दैछु। यीमध्ये एउटा कुरा पनि उहाँको नजरबाट लुकेको छैन भनेर म विश्वस्त छु, किनकि यो गुप्तमा भएको कुरा होइन।
२७ हे राजा अग्रिपा, के हजुर भविष्यवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? मलाई थाह छ, हजुर विश्वास गर्नुहुन्छ।”
२८ तब अग्रिपाले पावललाई भने: “तिमीले त थोरै समयमै मलाई ख्रीष्टियन बनाउला जस्तो छ।”
२९ उनको कुरा सुनेर पावलले भने: “चाहे थोरै समय लागोस् वा धेरै, हजुर मात्र होइन, आज मेरो कुरा सुन्नेजति सबै जना मजस्तै होऊन् भनी म परमेश्वरसित कामना गर्छु। बस् यति, कि तिनीहरू मजस्तै साङ्लाले बाँधिन नपरोस्।”
३० तब राजा खडा भए अनि राज्यपाल, बर्णिस र उनीहरूसँगै बसेका मानिसहरू पनि खडा भए।
३१ अनि बाहिर निस्कँदै गर्दा उनीहरू आपसमा यसो भन्दै कुराकानी गर्न थाले: “यस मानिसले मृत्युदण्ड वा कैदको सजाय पाउन योग्य कुनै काम गरेको रहेनछ।”
३२ अनि अग्रिपाले फेस्तसलाई भने: “सम्राट्लाई अपिल नगरेको भए, यस मानिसलाई मुक्त गरिदिए पनि हुन्थ्यो।”