प्रेषित २७:१-४४
२७ हामीलाई जहाज चढाएर इटाली पठाउने निर्णय गरिएको हुँदा तिनीहरूले पावल अनि अरू कैदीहरूलाई अगस्तस गणका जुलियस नाम गरेका सैनिक अफिसरको जिम्मा लगाए।
२ एड्रामिटियमबाट एउटा जहाज एसिया प्रान्तको समुद्री किनारामा पर्ने ठाउँहरू हुँदै जान लागेको थियो। हामी त्यही जहाज चढ्यौं अनि हामीसित म्यासिडोनियाली अरिस्तार्खस पनि थिए, जो थिस्सलोनिकामा बस्थे।
३ भोलिपल्ट हामी सीदोनमा उत्रियौं। त्यहाँ जुलियसले मानवताको नाताले पावललाई दया देखाए र तिनलाई आफ्ना मित्रहरूकहाँ गएर उनीहरूको अतिथि-सत्कारको आनन्द उठाउने अनुमति दिए।
४ त्यसपछि, जहाज चढेर साइप्रस टापुको छेउ लाग्दै हामी अगाडि बढ्यौं, किनकि हामीतिर उल्टो दिशाबाट बतास चलिरहेको थियो;
५ अनि खुला समुद्रमा जहाज खियाएर सिलिसिया र पाम्फिलिया हुँदै लाइसियाको माइरा बन्दरगाहमा उत्रियौं।
६ त्यहाँ सैनिक अफिसरले अलेक्जेन्ड्रियाबाट आएको एउटा जहाज देखे, जुन इटाली जाँदै थियो र उनले हामीलाई त्यही जहाजमा चढाए।
७ निकै दिनसम्म सुस्तरी यात्रा गरेपछि हामी मुस्किलले कनीडस पुग्यौं। बतासले गर्दा अगाडि बढ्न गाह्रो भएकोले सालमोनेमा क्रेट टापुको छेउ लाग्दै हामी त्यहाँबाट अगाडि बढ्यौं।
८ अनि किनारै किनार बडो मुस्किलले सुन्दर बन्दरगाह भनिने ठाउँमा पुग्यौं, जुन लसिया सहरको नजिकै पर्थ्यो।
९ निकै दिन बितिसकेकोले अनि प्रायश्चित-दिनको उपवाससमेत नाघिसकेको हुनाले यात्रा जारी राख्नु अब जोखिमपूर्ण भइसकेको थियो। त्यसैले पावलले उनीहरूलाई यस्तो सुझाव दिए:
१० “मित्रहरू हो, मलाई लाग्छ, यसरी जहाज खियाउँदै अगाडि बढिरह्यौं भने जहाज र मालसामानको ठूलो क्षति हुनुका साथै हाम्रो ज्यानसमेत* खतरामा पर्नेछ।”
११ तर पावलको कुरा सुन्नुको साटो सैनिक अफिसरले जहाजको कप्तान र जहाज-धनीको कुरा माने।
१२ यो बन्दरगाहमा हिउँद काट्न गाह्रो हुने भएकोले धेरैजसो यात्रुहरूले त्यहाँबाट जसोतसो फिनिक्स बन्दरगाहमा पुगेर त्यहीं हिउँद काट्ने सुझाव दिए। क्रेट टापुमा पर्ने यो बन्दरगाह उत्तर-पूर्व र दक्षिण-पूर्वतिर फर्किएको छ।
१३ यसबाहेक, दक्षिणबाट मन्द बतास चल्न थालेपछि उनीहरूले आफूले सोचेजस्तै हुनेछ भन्ठाने र लङ्गर तानेर क्रेट टापुको छेउ लाग्दै जहाजलाई अगाडि बढाए।
१४ तर केही समय बित्न नपाउँदै क्रेटबाट युरोक्विलो भन्ने भीषण समुद्री आँधी चल्न थाल्यो।
१५ तब आँधीले जहाजलाई बेस्सरी हल्लायो र त्यसले आँधीको सामना गर्न सकेन। त्यसैले आँधीलाई जता मन लाग्छ, त्यतै लगोस् भनेर हामीले जहाजलाई त्यत्तिकै छोडिदियौं।
१६ तब बतासबाट बच्न कौदा नाम गरेको सानो टापुको छेउ लाग्दै हामी अगाडि बढ्यौं। तैपनि, जहाजको पछिल्लो भागमा राखिएको सानो डुङ्गा तान्नसमेत हामीलाई हम्मेहम्मे परिरहेको थियो।
१७ अनि त्यसलाई तानेर माथि ल्याएपछि उनीहरूले जहाजलाई डोरीले फन्को पारेर बेरे। साथै, सिरटिस भन्ने बलौटे दलदलमा जहाज धसिएला भनेर उनीहरूले डोरी फुकाएर पाल झारे र जहाजलाई आफै बहन दिए।
१८ समुद्री आँधीले जहाजलाई बेस्सरी उचाल्न र पछार्न नछोडेको हुनाले भोलिपल्ट उनीहरूले मालसामान फ्याँकेर जहाजलाई हलुङ्गो बनाउन थाले।
१९ अनि तेस्रो दिन उनीहरूले आफ्नै हातले मस्तुलका डोरीहरू समुद्रमा फ्याँकिदिए।
२० घाम वा ताराहरू देखिन छाडेको पनि अब धेरै दिन भइसकेको थियो अनि आँधी पनि लगातार चलिरहेको हुनाले हामीले बाँच्ने आशा मार्न थाल्यौं।
२१ अनि उनीहरूले खाना नखाएको पनि धेरै दिन भइसकेको थियो। त्यसैले उनीहरूमाझ उभिएर पावलले भने: “मित्रहरू हो, तपाईंहरूले मेरो सुझाव मानेर क्रेटबाट यात्रा अगाडि नबढाएको भए यस्तो क्षति अनि नोक्सानी भोग्नुपर्ने थिएन।
२२ तैपनि म तपाईंहरूलाई भन्छु, हरेस नखानुहोस्, किनकि तपाईंहरूमध्ये कसैको पनि ज्यान* जानेछैन तर यो जहाज मात्र नष्ट हुनेछ।
२३ किनकि म जुन परमेश्वरको सेवक हुँ अनि जसलाई म पवित्र सेवा चढाउँछु, हिजो राती मेरो छेवैमा आएर उहाँको दूतले यसो भने:
२४ ‘नडराऊ पावल। तिमी सम्राट्सामु* खडा हुनै पर्छ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्वरले जोगाउनुहुनेछ!’
२५ त्यसैले मित्रहरू हो, हरेस नखानुहोस्, किनकि स्वर्गदूतले मलाई भनेको कुरा परमेश्वरले अवश्य पूरा गर्नुहुनेछ भनेर मलाई पूरा विश्वास छ।
२६ तर हाम्रो जहाज भने कुनै टापुमा पक्कै क्षतिग्रस्त हुनेछ।”
२७ अनि चौधौं रातमा पनि हाम्रो जहाज एड्रिया समुद्रमा यताउता हुत्तिरहेको बेला मध्यरातमा नाविकहरूले जहाज कुनै जमिनको नजिकै पुगेको हो कि भनेर अड्कल काटे।
२८ अनि गहिराइ नापेर हेर्दा तिनीहरूले छत्तीस मिटर रहेछ भनी पत्ता लगाए; त्यसपछि जहाज अलि अगाडि बढाएर फेरि नाप्दा सत्ताइस मिटर पाए।
२९ जहाज कतै चट्टानमा बज्रिने हो कि भनी डराएर उनीहरूले जहाजको पछिल्लो भागबाट चार वटा लङ्गर झारे अनि कहिले उज्यालो हुने होला भनी पर्खन थाले।
३० तर नाविकहरू जहाजबाट भाग्न खोजे र जहाजको अघिल्लो भागबाट लङ्गर झार्ने बहाना बनाएर उनीहरूले सानो डुङ्गा पानीमा उतारे।
३१ तब पावलले सैनिक अफिसर अनि सिपाहीहरूलाई यसो भने: “यी मानिसहरू जहाज छोडेर गए भने तपाईंहरू बच्नुहुनेछैन।”
३२ त्यसैले सिपाहीहरूले डोरी काटेर सानो डुङ्गालाई पानीमा खसालिदिए।
३३ अब बिहानीपख पावलले यसो भन्दै सबैलाई केही खान प्रोत्साहित गर्न थाले: “तपाईंहरूले केही नखाई भोकभोकै बसेर यसरी बाटो हेर्न थाल्नुभएको आज चौध दिन भइसक्यो।
३४ त्यसैले तपाईंहरूकै भलाइलाई ध्यानमा राखेर केही खान म तपाईंहरूलाई आग्रह गर्छु; किनकि तपाईंहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन।”
३५ यति भनेर तिनले एउटा रोटी पनि लिए अनि उनीहरू सबैसामु परमेश्वरलाई धन्यवाद चढाएपछि भाँचेर खान थाले।
३६ तब सबैको अनुहार उज्यालो भयो अनि उनीहरूले पनि खानेकुरा खान थाले।
३७ जहाजमा हामी सबै गरी दुई सय छयहत्तर जना* थियौं।
३८ खानेकुरा खाएर तृप्त भएपछि उनीहरूले गहुँजति समुद्रमा फालेर जहाजलाई हलुङ्गो बनाउन थाले।
३९ उज्यालो भएपछि आफूहरू कुन ठाउँमा आइपुगेको हो, उनीहरूले ठम्याउन सकेनन् तर उनीहरूले एउटा खाडी र त्यसको बलौटे किनारा देखे अनि सम्भव भएसम्म यही किनारामा जहाज बिसाउने अठोट गरे।
४० त्यसैले उनीहरूले डोरी काटेर लङ्गरहरूलाई समुद्रमा खसाल्नुका साथै पतवार बाँध्ने डोरी पनि खुकुलो पारे। त्यसपछि, जहाजको अघिल्लो भागको पाल उठाएर त्यसलाई हावा बहिरहेको दिशातर्फ फर्काए अनि किनारातर्फ लागे।
४१ उनीहरूको जहाज समुद्री लहरले थुपारेको बालुवाको ढिस्कोमा गएर ठोकियो र जहाजको अघिल्लो भाग हल्लिनै नसक्ने गरी त्यसमा धसियो अनि जहाजको पछिल्लो भागचाहिं समुद्री छालको झोक्काले गर्दा टुक्रिन थाल्यो।
४२ एक जना कैदी पनि पौडेर भाग्न नपाओस् भनेर सिपाहीहरूले उनीहरूलाई मार्ने निर्णय गरे।
४३ तर सैनिक अफिसरले सिपाहीहरूलाई त्यसो गर्नदेखि रोके, किनकि उनी पावललाई बचाउन चाहन्थे। अनि उनले पौडन सक्नेजति सबैलाई समुद्रमा हामफालेर अरूभन्दा पहिला किनारामा पुग्ने आदेश दिए।
४४ त्यसपछि, बाँकी अरूलाई पनि जहाजका फल्याक वा त्यस्तै अरू चीजको सहारा लिएर किनारामा जाने आदेश दिए। यसरी उनीहरू सबै जना सकुशल किनारामा पुगे।