प्रेषित ३:१-२६
३ अब पत्रुस र यूहन्ना प्रार्थनाको समयमा अर्थात् दिउँसो तीन बजेतिर मन्दिरमा उक्लिरहेका थिए।
२ अनि त्यहाँ मानिसहरूले आमाको गर्भैदेखिको लङ्गडो मानिसलाई बोकेर ल्याउँदैथिए। तिनीहरूले दिनहुँ उसलाई मन्दिरको सुन्दर भनिने ढोकानजिकै लगेर राखिदिन्थे। अनि त्यहाँ बसेर उसले मन्दिरभित्र जानेहरूसित भीख माग्थ्यो।
३ जब उसले पत्रुस र यूहन्नालाई मन्दिरभित्र छिर्न लागेको देख्यो, तब उसले तिनीहरूसित भीख माग्न थाल्यो।
४ तर पत्रुस र यूहन्ना दुवैले उसलाई एक टक लगाएर हेरे अनि यसो भने: “हामीलाई हेर।”
५ त्यसैले तिनीहरूबाट केही पाउने आशा गरेर उसले टुलुटुलु हेऱ्यो।
६ तर पत्रुसले भने: “मसित सुन-चाँदी त छैन तर जे छ, त्यही म तिमीलाई दिन्छु: नासरी येशू ख्रीष्टको नाममा म तिमीलाई भन्छु, उठेर हिंड!”
७ यति भनेपछि पत्रुसले उसको दाहिने हात समाएर उसलाई उठाइदिए। अनि उत्तिखेरै उसको पैताला र गोलीगाँठोमा तागत आयो;
८ अनि बुर्लुक्क उफ्रेर ऊ उभियो र हिंड्न थाल्यो। त्यसपछि हिंड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै ऊ तिनीहरूसँगै मन्दिरभित्र पस्यो।
९ अनि सबै मानिसले ऊ हिंडेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे।
१० यति मात्र होइन, मन्दिरको सुन्दर ढोकामा बसेर भीख माग्ने मानिस यही हो भनेर पनि तिनीहरूले चिने र उसलाई जे भएको थियो, त्यो देखेर तिनीहरू तीनछक परे अनि हर्षित भए।
११ अनि त्यो मानिस पत्रुस र यूहन्नालाई समात्दै पछि-पछि लागिरहेको बेला सबै जना दगुर्दै सुलेमानको दलान भनिने ठाउँमा आए, किनकि तिनीहरू असाध्यै छक्क परेका थिए।
१२ यो देखेर पत्रुसले मानिसहरूलाई भने: “इस्राएलका मानिसहरू हो, तपाईंहरू किन यस कुरामा अचम्म मान्नुहुन्छ अथवा हामीले आफ्नै शक्तिले वा परमेश्वरको भक्तिले गर्दा उसलाई हिंड्न सक्ने बनाएका हौं जस्तो गरी हामीलाई टुलुटुलु हेरिरहनुहुन्छ?
१३ अब्राहाम, इसहाक र याकूबका परमेश्वर अर्थात् हाम्रा पुर्खाहरूका परमेश्वरले आफ्नो सेवक, येशूलाई महिमित पार्नुभएको छ, जसलाई तपाईंहरूले पक्रेर सुम्पिदिनुभयो अनि पिलातसले उहाँलाई मुक्त गरिदिने निर्णय गर्दा तपाईंहरूले तिनकै सामुन्ने इन्कार गर्नुभयो।
१४ हो, तपाईंहरूले ती पवित्र अनि परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसलाई इन्कार गर्नुभयो र उहाँको बदलामा एक जना हत्यारालाई मुक्त गरिदिने माग गर्नुभयो,
१५ जबकि जीवनको मुख्य माध्यमलाई भने तपाईंहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृत्युबाट ब्यूँताउनुभयो, जसको साक्षी हामी छौं।
१६ यसकारण उहाँको नामले गर्दा अर्थात् उहाँको नाममा राखेको हाम्रो विश्वासले गर्दा यो मानिस बलियो भएको हो, जसलाई तपाईंहरू देख्दै हुनुहुन्छ र चिन्नु पनि हुन्छ। अनि उहाँमाथिको हाम्रो विश्वासले गर्दा नै यो मानिस तपाईंहरू सबैको सामु पूर्णतया तन्दुरुस्त भएको हो।
१७ अब ए भाइहरू हो, मलाई थाह छ, तपाईंहरूका शासकहरूले* जस्तै तपाईंहरूले पनि अनजानमै त्यसो गर्नुभयो।
१८ तर ख्रीष्टले दुःख भोग्नुहुनेछ भनेर सबै भविष्यवक्ताहरूद्वारा पहिल्यै घोषणा गरिएका कुराहरू उहाँले यसरी पूरा गर्नुभएको छ।
१९ “त्यसैले पश्चात्ताप गर्नुहोस् अनि फर्केर परमेश्वरकहाँ आउनुहोस्, ताकि तपाईंहरूको पाप मेटिओस् अनि स्वयम् यहोवाबाट स्फूर्ति प्राप्त होस्।
२० अनि तपाईंहरूका लागि नियुक्त गरिएका ख्रीष्ट अर्थात् येशूलाई उहाँले पठाइदिऊन्।
२१ तथापि, उहाँ तबसम्म स्वर्गमा रहनै पर्छ, जबसम्म परमेश्वरले विगतमा आफ्ना पवित्र भविष्यवक्ताहरूद्वारा भन्नुभएका सबै कुरा पुनर्स्थापित हुने समय आउँदैन।
२२ वास्तवमा, मोशाले भनेका थिए: ‘यहोवा परमेश्वरले तिमीहरूका भाइहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्ता खडा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुन्छ, तिमीहरूले ती सबै सुन्नू।
२३ वास्तवमा, जसले* त्यस भविष्यवक्ताको कुरा सुन्दैन, उसलाई परमेश्वरले पूर्णतया नाश गर्नुहुनेछ।’
२४ भनौं भने, शमूएल अनि तिनीपछि ज-जसले भविष्यवाणी गरे, ती सबै भविष्यवक्ताहरूले यी दिनहरूको विषयमा प्रस्ट घोषणा गरेका छन्।
२५ तपाईंहरू भविष्यवक्ताहरूका र तपाईंहरूका पुर्खाहरूसित परमेश्वरले गर्नुभएको त्यस करारका सन्तान हुनुहुन्छ, जुन करार गर्दा उहाँले अब्राहामलाई यसो भन्नुभएको थियो, ‘पृथ्वीका सबै परिवारहरूले तिम्रै वंशद्वारा आशिष् पाउनेछन्।’
२६ आफ्नो सेवकलाई ब्यूँताउनुभएपछि, परमेश्वरले तपाईंहरू प्रत्येकलाई तपाईंहरूका दुष्ट कामहरूबाट फर्काएर आशिष् दिन तिनलाई सबैभन्दा पहिला तपाईंहरूकहाँ पठाउनुभयो।”