प्रेषित ७:१-६०
७ तब प्रधान पुजारीले सोधे: “के यो कुरा साँचो हो?”
२ तिनले जवाफ दिए: “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, मेरो कुरा सुन्नुहोस्। हारानमा बस्नुअघि मेसोपोटामियामै छँदा हाम्रो पुर्खा अब्राहामकहाँ महिमाका परमेश्वर देखा पर्नुभयो,
३ अनि तिनलाई भन्नुभयो: ‘तिम्रो देश अनि तिम्रा नातेदारहरूलाई छोडेर त्यस देशमा जाऊ, जुन म तिमीलाई देखाउनेछु।’
४ त्यसैले तिनी कल्दीहरूको देशबाट निस्के अनि हारानमा बसोबास गर्न थाले। तिनको बुबा मरेपछि परमेश्वरले तिनलाई फेरि त्यो ठाउँ छोडेर जाने निर्देशन दिनुभयो र तिनी त्यहाँबाट यो देशमा आइपुगे, जहाँ अहिले तपाईंहरू बस्नुहुन्छ।
५ यद्यपि, यस देशमा उहाँले पुर्ख्यौली सम्पत्तिको नाममा तिनलाई केही पनि दिनुभएन। अहँ, एक बित्ता जमिनसमेत दिनुभएन तर तिनलाई अनि तिनीपछि तिनको वंशलाई यो देश सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो, जबकि त्यतिखेरसम्म तिनको सन्तान नै भएको थिएन।
६ साथै, परमेश्वरले यो कुरा भन्नुभयो कि तिनको वंश विदेशी भूमिमा प्रवासी हुनेछन् र त्यस देशका मानिसहरूले तिनीहरूलाई दास बनाएर चार सय वर्षसम्म सताउनेछन्।
७ परमेश्वरले यसो पनि भन्नुभयो: ‘अनि जुन जातिको तिनीहरू दास बन्नेछन्, त्यस जातिको म न्याय गर्नेछु र यी सब भएपछि तिनीहरू त्यहाँबाट निस्केर आउनेछन् र यस ठाउँमा मलाई पवित्र सेवा चढाउनेछन्।’
८ “परमेश्वरले तिनीसित खतनाको* करार पनि गर्नुभयो; र यसप्रकार तिनी इसहाकको बुबा बने र आठौं दिनमा उनको खतना गरे। त्यसैगरि इसहाक याकूबको अनि याकूबचाहिं बाह्र जना कुलपुरुषका बुबा बने।
९ तर यी कुलपुरुषहरूले यूसुफको डाह गरे अनि तिनलाई मिश्रीहरूको हातमा बेचिदिए। तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो
१० र तिनका सबै सङ्कष्टहरूबाट तिनलाई मुक्त गर्नुभयो। साथै, उहाँले गर्दा तिनले मिश्रको राजा फारोको* अनुग्रह पाए अनि बुद्धि प्रदर्शन गर्ने मौका पनि पाए। अनि राजाले तिनलाई मिश्र र आफ्नो सारा घरानाको रेखदेख गर्न नियुक्त गरे।
११ तर सारा मिश्र अनि कनानभरि अनिकाल परेर ठूलो सङ्कष्ट आइलाग्यो र हाम्रा पुर्खाहरूले खानेकुरा केही पाएनन्।
१२ तब मिश्रमा खानेकुरा पाइन्छ भनेर याकूबले सुने अनि हाम्रा पुर्खाहरूलाई पहिलो चोटि त्यहाँ पठाए।
१३ अनि दोस्रो पटक मिश्र जाँदा यूसुफले आफ्ना दाजुभाइसामु आफूलाई चिनाए; अनि यूसुफको पूरै खानदान फारोलाई थाह भयो।
१४ तब यूसुफले खबर पठाएर आफ्नो बुबा याकूब अनि सबै नातेदारसमेत गरी जम्माजम्मी पचहत्तर जनालाई* कनानबाट बोलाए।
१५ याकूब मिश्र गए अनि त्यहीं तिनको मृत्यु भयो, त्यसैगरि हाम्रा पुर्खाहरू पनि त्यहीं बिते।
१६ पछि, तिनीहरूको हाडखोड शकेम लगियो र त्यहाँ अब्राहामले हमोरका सन्तानलाई चाँदीको पैसा तिरेर किनिराखेको चिहानमा त्यसलाई गाडियो।
१७ “परमेश्वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा हुनै लाग्दा मिश्रमा इस्राएलीहरू बढेर धेरै भए।
१८ तब मिश्रमा अर्कै राजा देखा पऱ्यो, जसले यूसुफलाई चिन्दैनथ्यो।
१९ उसले हाम्रा जातिविरुद्ध धूर्त चाल चल्यो र बालकहरू जिउँदो नरहून् भनेर हाम्रा पुर्खाहरूलाई शिशुहरू जन्मने बित्तिकै जबरजस्ती त्याग्न लगायो।
२० यसैबेला मोशाको जन्म भयो। परमेश्वरको नजरमा समेत तिनी अति सुन्दर थिए। अनि तिनका आमाबुबाले तीन महिनासम्म आफ्नै घरमा तिनको स्याहारसुसार गरे।
२१ तर जब तिनको आमाबुबाले तिनलाई त्यागे, तब फारोकी छोरीले तिनलाई आफूसित लगी अनि आफ्नै छोराजस्तै गरी तिनलाई हुर्काई।
२२ फलस्वरुप, मिश्रीहरूको सारा विद्यामा मोशा निपुण भए। भनौं भने, तिनी वचन र काम दुवैमा शक्तिशाली भए।
२३ “चालीस वर्षको भएपछि तिनले आफ्ना भाइहरू अर्थात् इस्राएलका सन्तानहरूको हालत बुझ्ने विचार गरे।
२४ अनि जब तिनले एक जना मिश्रीले आफ्नो भाइलाई कुटिरहेको देखे, तब त्यस मिश्रीलाई प्रहार गरेर तिनले आफ्नो भाइको निम्ति बदला लिए।
२५ परमेश्वरले आफूमार्फत तिनीहरूको उद्धार गर्न लाग्नुभएको छ भनेर आफ्ना भाइहरूले बुझ्लान् भन्ने आशा मोशाले गरेका थिए तर तिनीहरूले बुझेनन्।
२६ अर्को दिन तिनीहरूकहाँ जाँदा तिनले दुई जनालाई झगडा गरिरहेको देखे। तिनले यसो भन्दै तिनीहरूलाई रोक्न खोजे: ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी कुटाकुट गर्छौ?’
२७ तर आफ्नो भाइलाई कुट्नेचाहिंले यसो भन्दै तिनको कुरा मान्न इन्कार गऱ्यो: ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्त गऱ्यो?
२८ हिजो तिमीले त्यो मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न चाहन्छौ?’
२९ यो कुरा सुनेर मोशा त्यहाँबाट भागे अनि मिद्यान देशमा प्रवासी भएर बसे, जहाँ तिनी दुई छोराका बुबा भए।
३० “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाडस्थानमा बलिरहेको पोथ्रामा तिनीकहाँ स्वर्गदूत देखा परे।
३१ यस्तो दृश्य देखेर मोशा छक्क परे अनि के रहेछ भनी हेर्न नजिक जाँदा तिनले यहोवाको यस्तो सोर सुने:
३२ ‘म तिम्रा पुर्खाहरूको परमेश्वर हुँ; म अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर हुँ।’ तब डरले थरथर काँपेका मोशाले अझ नजिक गएर हेर्ने आँट गरेनन्।
३३ अनि यहोवाले तिनलाई भन्नुभयो: ‘तिम्रो खुट्टाको जुत्ता फुकाल, किनकि तिमी जहाँ उभिरहेका छौ, त्यो पवित्र भूमि हो।
३४ मिश्रमा मेरा मानिसहरूले भोगिरहेको दुर्व्यवहार मैले अवश्य देखेको छु, अनि तिनीहरूको वेदना मैले सुनेको छु र तिनीहरूलाई मुक्ति दिन तल ओर्लेको छु। अब आऊ, म तिमीलाई मिश्र पठाउनेछु।’
३५ यही मोशा, जसलाई तिनीहरूले ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्त गऱ्यो?’ भनेर इन्कार गरेका थिए, हो, तिनैलाई परमेश्वरले पोथ्रामा तिनीकहाँ देखा परेको स्वर्गदूतमार्फत शासक अनि मुक्तिदाताको रूपमा पठाउनुभयो।
३६ यी मानिसले मिश्रमा, लाल समुद्रमा अनि चालीस वर्ष उजाडस्थानमा विभिन्न आश्चर्यजनक कार्य अनि चमत्कारहरू गरेर तिनीहरूलाई डोऱ्याएर ल्याए।
३७ “यी तिनै मोशा हुन्, जसले इस्राएलका सन्तानलाई यसो भनेका थिए: ‘परमेश्वरले तिमीहरूका भाइहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्ता खडा गर्नुहुनेछ।’
३८ यी तिनै मानिस हुन्, जो तिनीसित सीनै पर्वतमा कुरा गर्ने अनि हाम्रा पुर्खाहरूसित कुरा गर्ने स्वर्गदूतसित इस्राएलको समुदायमाझ थिए अनि तिनले तपाईंहरूलाई सुम्पिदिन जीवित पवित्र वचन पाए।
३९ तर हाम्रा पुर्खाहरूले तिनको आज्ञा मान्न इन्कार गरेर तिनलाई पन्छयाए। अनि मिश्रमा फर्केर जाने मन गर्दै तिनीहरूले
४० हारूनलाई यसो भने: ‘हाम्रो अगि-अगि जाने देवताहरू हाम्रो निम्ति बनाइदिनुहोस्। किनकि हामीलाई मिश्र देशबाट डोऱ्याएर ल्याउने यस मोशालाई के भयो, हामीलाई थाह छैन।’
४१ तब ती दिनमा तिनीहरूले बाछाको मूर्ति बनाए अनि त्यसको निम्ति बलि चढाएर आफ्नो हातको काममा खुसीयाली मनाउन थाले।
४२ त्यसैले परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो अनि तिनीहरूले सूर्य, चन्द्र अनि ताराहरूकै उपासना गरून् भनेर तिनीहरूलाई छाड्नुभयो, जस्तो भविष्यवक्ताहरूको पुस्तकमा लेखिएको पनि छ: ‘हे इस्राएलको घराना, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म मेरै निम्ति पशुबलि अनि बलिदानहरू चढाएका थियौ?
४३ तिमीहरूले त मोलेकको पाल अनि रेफन देवताको तारा अर्थात् तिमीहरूले उपासना गर्न बनाएका मूर्तिहरूलाई पो बोक्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा पर धपाउनेछु।’
४४ “उजाडस्थानमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू भनेर परमेश्वरले मोशासित कुरा गर्दा आदेश दिनुभएको थियो।
४५ अनि तिनीहरूपछिका हाम्रा पुर्खाहरूले यहोशूसँगै अन्यजातिहरूको देशमा जाँदा त्यसलाई पनि आफूसितै लगे। परमेश्वरले ती अन्यजातिहरूलाई हाम्रा पुर्खाहरूकै सामने धपाउनुभयो र दाऊदको दिनसम्मै त्यो पाल यहीं रह्यो।
४६ तिनले परमेश्वरको निगाह पाए र याकूबको परमेश्वरको निम्ति भवन बनाउने सुअवसरको निम्ति बिन्ती गरे।
४७ तथापि, सुलेमानले उहाँको निम्ति भवन बनाए।
४८ तर सर्वोच्च परमेश्वर हातले बनाएका भवनहरूमा बास गर्नुहुन्न, जस्तो एक जना भविष्यवक्ताले पनि भनेका छन्,
४९ ‘यहोवा भन्नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान। तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ? अथवा मेरो बासस्थान कहाँ हो?
५० के यी सबै कुरा मैले आफ्नै हातले बनाएको होइन र?” ’
५१ “हे अटेरी अनि मन र कानको खतना नभएका मानिसहरू हो, तपाईंहरू पवित्र शक्तिको सधैं विरोध गर्नुहुन्छ। तपाईंहरूका पुर्खाहरूले जे गरे, तपाईंहरू पनि त्यसै गर्नुहुन्छ।
५२ तपाईंहरूका पुर्खाहरूले कुनचाहिं भविष्यवक्ताको पो खेदो गरेनन् र? हो, आउन लागेका त्यस न्यायी मानिसबारे पहिल्यै घोषणा गर्ने भविष्यवक्ताहरूलाई तिनीहरूले मारे अनि अहिले तपाईंहरू पनि त्यही असल मानिसलाई धोका दिने र हत्या गर्ने मानिसहरू हुनुभएको छ।
५३ स्वर्गदूतहरूमार्फत दिइएको मोशाको व्यवस्था तपाईंहरूले पाउनुभयो तर पालन भने गर्नुभएन।”
५४ यो सुनेर तिनीसित रिसले चूर भई तिनीहरूले दाह्रा किट्न लागे।
५५ तर तिनले भने पवित्र शक्तिले भरिपूर्ण भई एकटक लगाएर स्वर्गतिर हेरे अनि परमेश्वरको महिमा देख्नुका साथै येशूलाई उहाँको दाहिने हाततिर उभिरहनुभएको देखे।
५६ तब तिनले भने: “हेर, म स्वर्ग उघ्रिएको अनि मानिसको छोरालाई परमेश्वरको दाहिने हाततिर उभिरहेको देख्दैछु।”
५७ यो सुनेर तिनीहरू ठूलो सोरले चिच्याए अनि आफ्नो कान थुन्दै सबै जना एकैचोटि तिनीमाथि जाइलागे।
५८ अनि तिनलाई सहरबाहिर लगेपछि तिनीहरूले ढुङ्गा हान्न थाले। तिनीविरुद्ध साक्षी दिनेहरूले आ-आफ्नो लुगा शावल नाम गरेको युवकको खुट्टानेर छोडेका थिए।
५९ तिनीहरूले ढुङ्गा हान्दै गर्दा स्तिफनस यसो भनेर बिन्ती गर्दै थिए: “हे प्रभु येशू, म आफ्नो सास* तपाईंलाई अर्पण गर्दैछु।”
६० त्यसपछि घुँडा टेकेर तिनले ठूलो सोरमा भने: “हे यहोवा, यिनीहरूलाई यो पापको दोष नलागोस्।” त्यसपछि तिनी मृत्युको चिर निद्रामा परे।