प्रेषित ९:१-४३
९ तर शावल अझै पनि प्रभुका चेलाहरूलाई धम्क्याउने र तिनीहरूलाई मार्ने धुनमा थिए। त्यसैले तिनी प्रधान पुजारीकहाँ गए
२ अनि त्यस मार्गमा* लाग्ने पुरुष र स्त्रीहरू, ज-जसलाई भेटिन्छ, तिनीहरू सबैलाई बाँधेर यरूशलेम ल्याउन दमीशकका सभाघरहरूको नाममा पुर्जी मागे।
३ यात्रा गरेर दमीशक पुग्नै लाग्दा अकस्मात् तिनको चारैतिर आकाशबाट ज्योति चम्कियो
४ अनि तिनी भुइँमा पछारिए र आफूलाई यस्तो भन्दै गरेको आवाज तिनले सुने: “शावल, ए शावल, तिमी किन मेरो खेदो गर्दैछौ?”
५ तिनले भने: “प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले भन्नुभयो: “म येशू हुँ, जसको तिमीले खेदो गरिरहेका छौ।
६ अब उठ र सहरभित्र पस। तिमीले के गर्नुपर्छ, त्यो तिमीलाई बताइनेछ।”
७ तिनीसँगै यात्रा गरिरहेका मानिसहरू अक्क न बक्क भएर उभिरहेका थिए, किनकि कोही बोलेको आवाज त तिनीहरूले सुने तर कसैलाई देखेनन्।
८ तब शावल भुइँबाट उठे। आँखा खुल्लै भए तापनि तिनले देख्नचाहिं केही देखेनन्। त्यसैले तिनको हात समातेर डोऱ्याउँदै उनीहरूले तिनलाई दमीशकसम्म पुऱ्याए।
९ तीन दिनसम्म तिनले केही देखेनन् अनि खानपिन पनि गरेनन्।
१० दमीशकमा हननिया नाम गरेका एक जना चेला थिए। दर्शनमा प्रभुले तिनलाई यसो भन्नुभयो: “हननिया!” तिनले जवाफ दिए: “हजुर प्रभु।”
११ प्रभुले तिनलाई भन्नुभयो: “उठ र सीधा भन्ने मार्गमा जाऊ र यहूदाको घरमा गएर शावल नाम गरेको टार्ससको मानिसलाई खोज। किनकि हेर, तिनी प्रार्थना गर्दैछन्
१२ अनि हननिया नाम गरेको मानिस भित्र आएर आफूमाथि हात राखिदिएको र आफ्नो दृष्टि फर्केको दर्शन तिनले देखेका छन्।”
१३ तर हननियाले जवाफ दिए: “प्रभु, तिनले यरूशलेममा भएका तपाईंका पवित्र जनहरूको कत्ति हानि गरेका छन् भनेर त्यस मानिसको विषयमा मैले धेरै जनाबाट सुनेको छु।
१४ अनि तिनले यहाँ पनि तपाईंको नाम पुकार्नेजति सबैलाई पक्रने अख्तियार मुख्य पुजारीहरूबाट पाएका छन्।”
१५ तर प्रभुले तिनलाई भन्नुभयो: “तिमी आफ्नो बाटो लाग, किनकि यी मानिस जाति-जातिका मानिसहरू, राजाहरू अनि इस्राएलका सन्तानहरूलाई मेरो नाम बताउन मैले रोजेको पात्र हुन्।
१६ मेरो नामको खातिर तिनले कत्ति धेरै दुःख भोग्नुपर्नेछ, त्यो म तिनलाई राम्ररी देखाउनेछु।”
१७ त्यसैले हननिया गए र त्यस घरभित्र पसे अनि तिनीमाथि आफ्नो हात राखेर उनले भने: “भाइ शावल, तपाईंको दृष्टि फर्कोस् र तपाईं पवित्र शक्तिले भरियोस् भनेर प्रभु येशूले मलाई पठाउनुभएको हो, जो तपाईं आउँदै गर्दा बाटोमा देखापर्नुभएको थियो।”
१८ अनि उत्तिखेरै तिनको आँखाबाट पाप्राजस्तो केही चीज झऱ्यो र तिनले फेरि दृष्टि पाए। त्यसपछि तिनी उठे अनि बप्तिस्मा गरे
१९ र खानेकुरा खाएर बल पाए।
अनि तिनले दमीशकका चेलाहरूसित केही दिन बिताए
२० र येशू नै परमेश्वरको छोरा हुनुहुन्छ भनेर तुरुन्तै त्यहाँका सभाघरहरूमा प्रचार गर्न थाले।
२१ तर तिनको कुरा सुन्नेजति सबै जना छक्क पर्दै यसो भन्थे: “के यो त्यही मानिस होइन, जसले यरूशलेममा यो नाम पुकार्नेजति सबैलाई संहार गर्थ्यो अनि त्यही उद्देश्यले यहाँ पनि तिनीहरूलाई पक्रेर मुख्य पुजारीहरूकहाँ लैजान आएको होइन?”
२२ तर शावल झन्-झन् प्रभावशाली बन्दै गए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर तर्कसङ्गत ढङ्गमा प्रमाणित गर्दै दमीशकमा बस्ने यहूदीहरूको मुख टालिदिए।
२३ यसरी तिनले निकै दिन बिताएपछि यहूदीहरूले तिनलाई मार्ने मतो गरे।
२४ तर शावलले तिनीहरूको षड्यन्त्र चाल पाए। तिनलाई मार्न तिनीहरू दिनरात सहरको मूलढोकामा ढुकेर बस्थे।
२५ त्यसैले तिनका चेलाहरूले तिनलाई एउटा टोकरीमा राखेर राती सहरको पर्खालको झ्यालबाट बाहिर ओराले।
२६ यरूशलेम पुगेपछि तिनले चेलाहरूलाई भेट्ने कोसिस गरे तर उनीहरू सबै जना तिनीसित डराए, किनकि तिनी चेला बनिसके भनेर उनीहरूलाई पत्यारै लागेन।
२७ त्यसैले बर्णाबासले तिनलाई मदत गरे; उनले तिनलाई चेलाहरूकहाँ लगेर तिनले बाटोमा प्रभुलाई देखेको, उहाँले तिनीसित कुरा गर्नुभएको अनि दमीशकमा तिनले येशूको नाममा साहसका साथ बोलेको विषयमा सविस्तार सुनाए।
२८ अनि तिनी चेलाहरूसित यरूशलेममै रहन थाले। तिनी खुलमखुला हिंडडुल गर्थे र प्रभुको नाममा साहसका साथ बोल्थे।
२९ अनि तिनी ग्रीकभाषी यहूदीहरूसित कुराकानी र बहस गर्थे। तर यिनीहरूले तिनलाई मार्ने कोसिस गरे।
३० जब भाइहरूले यो कुरा चाल पाए, तब उनीहरूले तिनलाई तल सिजरिया ल्याए र टार्ससतिर पठाए।
३१ तब सारा यहूदिया, गालील र सामरियाको मण्डलीमा शान्ति छायो र सुदृढ हुँदै गयो। यहोवाको डर अनि पवित्र शक्तिबाट पाएको प्रोत्साहनअनुसार हिंड्दा मण्डलीको वृद्धि हुँदै गयो।
३२ विभिन्न ठाउँहरूको भ्रमण गर्ने क्रममा पत्रुस लिड्डामा भएका पवित्र जनहरूकहाँ पनि गए।
३३ त्यहाँ तिनले एनियास नाम गरेको एक जना मानिसलाई भेटे। पक्षाघातले गर्दा उनी ओछ्यान परेको आठ वर्ष भइसकेको थियो।
३४ अनि पत्रुसले उनलाई भने: “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। त्यसैले उठ, आफ्नो ओछ्यान मिलाऊ।” अनि उत्तिखेरै उनी उठे।
३५ लिड्डा र शारोनको बेंसीमा बस्नेहरू सबैले उनलाई देखे र यिनीहरूले प्रभुमा विश्वास गर्न थाले।
३६ जोप्पामा तबीता नाम गरेकी एक जना चेला थिइन्, जसको नामको अनुवाद गर्दा अर्थ हुन्छ, हरिणी।* उनी थुप्रै असल काम र दानपुण्य गर्थिन्।
३७ पत्रुस लिड्डामै छँदा उनी बिरामी परिन् र मरिन्। त्यसैले तिनीहरूले उनलाई नुहाइदिएर माथिल्लो तलाको कोठामा लगेर राखे।
३८ लिड्डा जोप्पाबाट नजिकै थियो। त्यसैले पत्रुस लिड्डामा छन् भन्ने सुनेपछि चेलाहरूले दुई जना मानिसलाई यसो भनेर बिन्ती गर्न पठाए: “कृपया, तुरुन्तै हामीकहाँ आउनुहोस्।”
३९ तब पत्रुस उठेर उनीहरूसित गए। त्यहाँ पुगेपछि तिनीहरूले पत्रुसलाई माथिल्लो तलाको कोठामा लगे। तब सबै विधवाहरूले रूँदै तबीताले आफू जिउँदो छँदा बनाएका लुगाहरू तिनलाई देखाए।
४० तर पत्रुसले सबैलाई बाहिर पठाए अनि घुँडा टेकेर प्रार्थना गरेपछि लासतिर फर्कंदै यसो भने: “तबीता, उठ!” उनले आफ्नो आँखा उघारिन् र पत्रुसलाई देखेपछि उठेर बसिन्।
४१ तब आफ्नो हात दिएर तिनले उनलाई उठाए अनि पवित्र जन र विधवाहरूलाई बोलाएर जीवित भइसकेकी तबीता तिनीहरूलाई जिम्मा लगाए।
४२ यो कुरा जोप्पाभरि फैलियो र धेरै जनाले प्रभुमा विश्वास गर्न थाले।
४३ तिनी केही दिनसम्म जोप्पामै सिमोन नाम गरेको चर्मकारकहाँ बसे।