यूहन्ना ११:१-५७
११ अब मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीमा लाजरस भन्ने एक जना मानिस बिरामी परेका थिए।
२ वास्तवमा, यी तिनै मरियम थिइन्, जसले प्रभुलाई सुगन्धित तेल घसेकी थिइन् र आफ्नो कपालले उहाँको पाउ पुछेकी थिइन्। बिरामी परेका लाजरस तिनकै भाइ थिए।
३ त्यसैले लाजरसका दिदीहरूले उहाँकहाँ यस्तो खबर पठाए: “प्रभु, हेर्नुहोस्, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्।”
४ तर यो कुरा सुनेपछि येशूले भन्नुभयो: “यस बिमारीको अन्तिम परिणाम मृत्यु हुनेछैन तर यसले परमेश्वरको महिमा गर्नेछ, ताकि यसद्वारा परमेश्वरको छोराको महिमा होस्।”
५ मार्था, तिनकी बहिनी र लाजरसलाई येशू माया गर्नुहुन्थ्यो।
६ तैपनि जब उहाँले तिनी बिरामी परेको खबर पाउनुभयो, उहाँ अझै दुई दिन पहिलेकै ठाउँमा बस्नुभयो।
७ त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “आओ, हामी फेरि यहूदिया जाऔं।”
८ चेलाहरूले उहाँलाई भने: “रब्बी, यहूदियाका मानिसहरूले भर्खरै तपाईंलाई ढुङ्गा हान्न खोजेका थिए, तैपनि तपाईं फेरि त्यहीं जाँदै हुनुहुन्छ?”
९ येशूले जवाफ दिनुभयो: “दिनमा बाह्र घण्टा उज्यालो हुन्छ, होइन? यदि कोही दिनको उज्यालोमा हिंड्छ भने ऊ कुनै कुरामा ठोक्किंदैन, किनकि उसले यस संसारको ज्योति देख्छ।
१० तर यदि कोही राती हिंड्छ भने ऊ केही न केहीमा ठोक्किन्छ, किनकि ऊसित ज्योति छैन।”
११ यी कुराहरू भनेपछि उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन् तर म त्यहाँ तिनलाई निद्राबाट ब्यूँझाउन जाँदैछु।”
१२ त्यसैले चेलाहरूले उहाँलाई भने: “प्रभु, यदि तिनी सुतेका छन् भने त ठीक हुन्छन् होला।”
१३ तथापि, येशूले तिनको मृत्युको विषयमा कुरा गर्नुभएको थियो। तर तिनीहरूले भने निद्रा लागेर सुतेको विषयमा उहाँले भन्नुभएको होला भन्ठाने।
१४ त्यसैले येशूले तिनीहरूलाई प्रस्टसित बताउनुभयो: “लाजरस मरिसकेका छन्,
१५ तर म त्यहाँ थिइनँ, त्यसैले तिमीहरूको खातिर म रमाउँछु, किनकि अब तिमीहरूको विश्वास अझ बलियो हुनेछ। अब हामी तिनीकहाँ जाऔं।”
१६ त्यसैले दिदुमस भनिने थोमाले अरू चेलाहरूलाई भने: “लौ, हामी पनि जाऔं अनि उहाँसितै मरौं।”
१७ जब येशू आइपुग्नुभयो, तब लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको रहेछ भनेर उहाँले थाह पाउनुभयो।
१८ बेथानी यरूशलेमबाट नजिकै, लगभग तीन किलोमिटर* पर थियो।
१९ भाइको मृत्यु भएकोमा मार्था र मरियमलाई सान्त्वना दिन धेरै जना यहूदी तिनीहरूकहाँ आएका थिए।
२० तब येशू आउँदै हुनुहुन्छ भन्ने सुनेर मार्था उहाँलाई भेट्न गइन् तर मरियमचाहिं घरमै बसिरहिन्।
२१ त्यसकारण मार्थाले येशूलाई भनिन्: “हे प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।
२२ अनि अहिले पनि मलाई थाह छ, तपाईंले परमेश्वरसित जेसुकै माग्नुभए तापनि उहाँले तपाईंलाई दिनुहुनेछ।”
२३ येशूले तिनलाई भन्नुभयो: “तिम्रो भाइ ब्यूँतनेछ।”
२४ मार्थाले उहाँलाई भनिन्: “मलाई थाह छ, अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ।”
२५ येशूले तिनलाई भन्नुभयो: “पुनर्जीवन र जीवन मै हुँ। जसले ममाथि विश्वास गर्छ, ऊ मऱ्यो भने पनि फेरि जीवित हुनेछ।
२६ अनि जो अहिले जीवित छ र ममाथि विश्वास गर्छ, ऊ कहिल्यै मर्नेछैन। के तिमी यो कुरा विश्वास गर्छ्यौ?”
२७ तिनले उहाँलाई भनिन्: “गर्छु प्रभु। तपाईं नै परमेश्वरका छोरा अनि संसारमा आउनेवाला ख्रीष्ट हुनुहुन्छ भनेर मैले विश्वास गरेकी छु।”
२८ अनि यति भनिसकेपछि तिनी फर्किन् र आफ्नी बहिनी मरियमलाई बोलाएर खुसुक्क भनिन्: “गुरुज्यू उपस्थित हुनुभएको छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ।”
२९ यो सुन्नेबित्तिकै मरियम तुरुन्तै उठेर उहाँलाई भेट्न गइन्।
३० येशू यतिबेलासम्म गाउँभित्र पसिसक्नुभएको थिएन; उहाँ अझै मार्थाले भेटेकै ठाउँमा हुनुहुन्थ्यो।
३१ त्यसकारण ती यहूदीहरू, जो तिनको घरमा थिए र जसले तिनलाई सान्त्वना दिइरहेका थिए, तिनीहरूले मरियमलाई तुरुन्तै उठेर गएको देख्नेबित्तिकै तिनी चिहानमा रुन गएकी होलिन् भन्ठानेर तिनको पछि-पछि लागे।
३२ जब मरियम येशू हुनुभएको ठाउँमा आइपुगिन् र उहाँलाई देखिन्, तब उहाँको पाउमा घोप्टो पर्दै यसो भनिन्: “हे प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।”
३३ त्यसकारण, जब येशूले तिनलाई र तिनीसित आएका यहूदीहरूलाई रोइरहेको देख्नुभयो, तब अत्यन्तै विचलित भएर उहाँले सुस्केरा हाल्नुभयो*
३४ र सोध्नुभयो: “तिमीहरूले उसलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने: “प्रभु, आएर हेर्नुहोस्।”
३५ तब येशू रुनुभयो।
३६ यो देखेर यहूदीहरूले भन्न थाले: “हेर त, उहाँले तिनलाई कत्ति माया गर्नुहुँदो रहेछ!”
३७ तर तिनीहरूमध्ये केहीले यसो भने: “अन्धो मानिसको आँखा खोलिदिने यस मानिसले के उसलाई चाहिं मर्नदेखि रोक्न सकेन?”
३८ तब येशूले फेरि सुस्केरा हाल्नुभयो र उहाँ चिहानमा जानुभयो। वास्तवमा, यो ओडार थियो र यसको मुखमा ढुङ्गा राखिएको थियो।
३९ येशूले भन्नुभयो: “ढुङ्गा हटाओ।” मृतककी दिदी मार्थाले उहाँलाई भनिन्: “प्रभु, अहिलेसम्म त गन्हाउन थालिसक्यो होला, किनकि चार दिन भइसक्यो।”
४० येशूले तिनलाई भन्नुभयो: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले ममाथि विश्वास गऱ्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछ्यौ?”
४१ त्यसपछि तिनीहरूले ढुङ्गा हटाए। तब येशूले आकाशतिर हेरेर भन्नुभयो: “हे बुबा, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो प्रार्थना सुन्नुभएको छ।
४२ हो, मलाई थाह थियो, तपाईंले सधैं मेरो प्रार्थना सुन्नुहुन्छ तर वरपर उभिरहेको भीडको खातिर मैले तपाईंलाई यसो भनें, ताकि तपाईंले नै मलाई पठाउनुभएको हो भनेर यिनीहरूले विश्वास गर्न सकून्।”
४३ अनि यी कुराहरू भनिसकेपछि उहाँले ठूलो स्वरमा भन्नुभयो: “ए लाजरस, बाहिर आऊ!”
४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेह्रिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”
४५ त्यसकारण, मरियमकहाँ आएका र उहाँले गर्नुभएका कामहरू देखेका यहूदीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे,
४६ तर तिनीहरूमध्ये केहीले फरिसीहरूकहाँ गएर येशूले गर्नुभएका कामहरूबारे बताइदिए।
४७ तब मुख्य पुजारीहरू र फरिसीहरूले यहूदी न्यायपरिषद्को बैठक बोलाए अनि यसो भन्न थाले: “यस मानिसले धेरै चमत्कार गर्छ, अब हामी के गरौं?
४८ यदि हामीले त्यसलाई त्यत्तिकै छोडिदियौं भने तिनीहरू सबैले त्यसमाथि विश्वास गर्नेछन् र रोमीहरू आएर हाम्रो ठाउँ* र हाम्रो जाति दुवै कब्जा गर्नेछन्।”
४९ तर तिनीहरूमध्ये एक जना अर्थात् कैयाफा, जो त्यस वर्ष प्रधान पुजारी थिए, तिनले भने: “तिमीहरूलाई केही पनि थाह छैन,
५० अनि पूरै जाति नाश हुनुभन्दा सबै मानिसहरूको निम्ति एक जना मानिस मर्नु तिमीहरूको निम्ति फाइदाजनक हो भनेर तिमीहरू सोच्दैनौ।”
५१ तथापि, यो तिनको आफ्नै कुरा थिएन तर त्यस वर्ष प्रधान पुजारी भएकोले तिनले यो भविष्यवाणी गरेका थिए कि पूरै जातिको लागि येशू मर्नुपर्नेछ,
५२ अनि त्यस जातिको लागि मात्र होइन तर छरिएर रहेका परमेश्वरका सन्तानहरूलाई एकसाथ जम्मा गर्नलाई पनि उहाँ मर्नुपर्नेछ।
५३ त्यसैले त्यस दिनदेखि उसो उहाँलाई मार्न तिनीहरूले मतो गरे।
५४ त्यसैले त्यस उप्रान्त येशू यहूदीहरूमाझ खुलमखुला हिंड्नुभएन, बरु त्यो ठाउँ छोडेर उहाँ उजाडस्थाननजिकै पर्ने इलाकामा एप्रैम भनिने सहरमा जानुभयो र आफ्ना चेलाहरूसित त्यहीं बस्नुभयो।
५५ अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै मानिस परम्पराअनुसार निस्तार-चाडअघि आफूलाई शुद्ध पार्न आ-आफ्ना इलाकाहरूबाट निस्केर यरूशलेम गए।
५६ तब तिनीहरूले येशूलाई खोज्न थाले र मन्दिर परिसरमा उभिएर तिनीहरू आपसमा यसो भन्न लागे: “तिमीहरूलाई कस्तो लाग्छ? उहाँ चाडमा आउँदै आउनुहुन्न होला त?”
५७ कुरा के थियो भने, उहाँलाई पक्रन सकियोस् भनेर मुख्य पुजारीहरू र फरिसीहरूले उहाँ कहाँ हुनुहुन्छ भनी कसैलाई थाह भएमा त्यसबारे खबर गर्नू भनेर आदेश दिएका थिए।