यूहन्ना १९:१-४२
१९ त्यसैले, त्यही बेला पिलातसले येशूलाई लगेर कोर्रा हान्न लगाए।
२ त्यसपछि, सिपाहीहरूले काँडाको मुकुट गुथेर उहाँको शिरमा पहिराइदिए र बैजनी रङ्गको लुगा लगाइदिए;
३ अनि उहाँको छेउमा गएर तिनीहरूले यसो भन्न थाले: “हे यहूदीहरूका राजा, प्रणाम!” तिनीहरूले उहाँको मुखमा थप्पड पनि हिर्काए।
४ तब फेरि बाहिर मानिसहरूकहाँ गएर पिलातसले यसो भने: “हेर, मैले उसमा कुनै दोष भेटिनँ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।”
५ तब काँडाको मुकुट अनि बैजनी रङ्गको लुगा पहिरिनुभएको येशू बाहिर निस्कनुभयो। त्यसपछि, पिलातसले मानिसहरूलाई यसो भने: “हेर, यो मानिस!”
६ तर उहाँलाई देखेपछि मुख्य पुजारीहरू अनि पहरेदारहरू यसो भन्दै चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!” यो सुनेर पिलातसले तिनीहरूलाई भने: “तिमीहरू आफै लगेर उसलाई खम्बामा टाँग, किनकि म उसमा कुनै दोष भेट्टाउँदिनँ।”
७ तर यहूदीहरूले तिनलाई भने: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ, किनकि यसले आफू परमेश्वरको छोरा हुँ भन्ने दाबी गऱ्यो।”
८ तिनीहरूको यो कुरा सुनेर पिलातस झन् डराए;
९ अनि फेरि महलभित्र पसेर येशूलाई सोधे: “तिमी कहाँका हौ?” तर येशूले तिनलाई कुनै जवाफ दिनुभएन।
१० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई खम्बामा टाँग्ने अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”
११ येशूले तिनलाई जवाफ दिनुभयो: “यदि परमेश्वरले तपाईंलाई नदिनुभएको भए, मेरो विरुद्धमा कदम चाल्ने यो अख्तियार तपाईंसित हुनेथिएन। त्यसैले जसले मलाई तपाईंकहाँ सुम्प्यो, त्यसले झन् ठूलो पाप गरेको छ।”
१२ यसकारण उहाँलाई कसरी मुक्त गर्ने भनेर पिलातसले उपाय खोज्न थाले। तर यहूदीहरू भने यसो भन्दै चिच्याए: “यदि तपाईंले यस मानिसलाई मुक्त गर्नुभयो भने तपाईं सम्राट्को* मित्र होइन। आफूलाई राजा तुल्याउने जोसुकै मानिस सम्राट्को विरुद्धमा हुन्छ।”
१३ त्यसैले, यी कुराहरू सुनेपछि पिलातसले येशूलाई बाहिर ल्याए र तिनी ढुङ्गे-पेटी अर्थात् हिब्रूमा गब्बथा भनिने ठाउँमा राखिएको न्यायआसनमा बसे।
१४ त्यतिखेर, निस्तार-चाडको तयारी चलिरहेको थियो अनि लगभग मध्यान्हको बाह्र बजेको थियो। तब पिलातसले यहूदीहरूलाई भने: “हेर, तिमीहरूको राजा!”
१५ तर तिनीहरू यसो भन्दै चिच्याए: “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!” पिलातसले तिनीहरूलाई सोधे: “के म तिमीहरूको राजालाई खम्बामा टाँगूँ?” मुख्य पुजारीहरूले जवाफ दिए: “सम्राट्बाहेक हाम्रो अरू कुनै राजा छैन।”
१६ तसर्थ, त्यही बेला पिलातसले उहाँलाई खम्बामा टाँग्न तिनीहरूलाई सुम्पिदिए।
अनि तिनीहरूले येशूलाई आफ्नो जिम्मामा लिए।
१७ तब यातनाको खम्बा* आफैले बोकेर येशू, खप्पर अर्थात् हिब्रूमा गलगथा भनिने ठाउँमा जानुभयो;
१८ अनि तिनीहरूले उहाँलाई त्यहाँ खम्बामा टाँगे। साथै, तिनीहरूले त्यहाँ अरू दुई जना मानिसलाई पनि टाँगे। दुई जनाको बीचमा येशू पर्ने गरी तिनीहरूले एक जनालाई एकापट्टि अनि अर्कोलाई अर्कापट्टि टाँगे।
१९ पिलातसले एउटा दोष-पत्र पनि तयार पारेर त्यसलाई यातनाको खम्बामा टाँग्न लगाए। त्यसमा यस्तो लेखिएको थियो: “नासरी येशू, यहूदीहरूका राजा।”
२० येशूलाई टाँगिएको ठाउँ सहरनजिकै पर्ने भएकोले धेरै यहूदीले यो दोष-पत्र पढे; अनि त्यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
२१ तर यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई यसो भन्न लागे: “ ‘यहूदीहरूका राजा’ भनेर होइन, तर यसले ‘म यहूदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्।”
२२ पिलातसले जवाफ दिए: “मैले जे लेखें, सो लेखें।”
२३ अब येशूलाई खम्बामा टाँगिसकेपछि सिपाहीहरूले उहाँको बाहिरी लुगा चार भाग लगाएर एक-एक भाग लिए। उहाँले त्यसमुनि लगाइराख्नु भएको लुगा पनि तिनीहरूले लिए। त्यो सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो।
२४ त्यसैले तिनीहरूले आपसमा भने: “यसलाई चाहिं नच्यातौं, बरु कसको भागमा पर्छ, गोला हालेर हेरौं।” “तिनीहरूले मेरो बाहिरी लुगा आपसमा भाग लगाए अनि मेरो कपडाचाहिं गोला हालेर लिए” भनी धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर यस्तो भएको थियो। यसरी ती सिपाहीहरूले धर्मशास्त्रमा लेखिएजस्तै गरे।
२५ येशू टाँगिनुभएको यातनाको खम्बाको छेवैमा उहाँकी आमा अनि उहाँकी सानीमाका साथै क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।
२६ त्यसैले, आफ्नी आमा र आफूले प्रेम गरेको चेलालाई उभिरहेको देखेर उहाँले आफ्नी आमालाई भन्नुभयो: “आमा, हेर्नुहोस्, ऊ तपाईंको छोरा!”
२७ त्यसपछि उहाँले ती चेलालाई भन्नुभयो: “हेर, तिम्री आमा!” त्यसबेलादेखि ती चेलाले तिनलाई आफ्नै घरमा लगे।
२८ यसपछि, जब येशूले सबै कुरा अब पूरा भइसक्यो भनेर थाह पाउनुभयो, तब धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर उहाँले यसो भन्नुभयो: “मलाई तिर्खा लाग्यो।”
२९ त्यहाँ अमिलो दाखमद्यले टन्न भरिएको एउटा भाँडो थियो। त्यसैले दाखमद्यमा स्पन्ज चोपेर तिनीहरूले त्यसलाई हिसपमा* अड्काए अनि उहाँको मुखसम्म पुऱ्याए।
३० अमिलो दाखमद्य चाखेपछि येशूले भन्नुभयो: “सबै पूरा भयो!” अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।
३१ त्यो दिन, तयारीको दिन* थियो। त्यसैले विश्राम दिनको बेला (किनकि यो महाविश्राम दिन थियो) यातनाको खम्बामा कुनै लास नरहोस् भनेर यहूदीहरूले पिलातसलाई तिनीहरूको खुट्टा भाँचेर तिनीहरूको लास खम्बाबाट उतार्न लगाउन आग्रह गरे।
३२ त्यसैले सिपाहीहरू आए अनि उहाँसँगै खम्बामा टाँगिएको पहिलो मानिसको खुट्टा भाँचे। तिनीहरूले त्यसैगरि अर्कोचाहिंको पनि खुट्टा भाँचे।
३३ तर येशूकहाँ पुग्दा तिनीहरूले उहाँलाई मरिसकेको पाए, त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।
३४ तैपनि, ती सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भाला घोप्यो अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो।
३५ जसले यो सब आफैले देख्यो, उसैले यसको साक्षी दिएको हो र उसको साक्षी साँचो छ। आफूले भनेको कुरा सत्य हो भनेर यस मानिसलाई थाह छ, त्यसैले तिमीहरू पनि उसको कुरा पत्याओ।
३६ वास्तवमा, धर्मशास्त्रमा लेखिएको यो वचन पूरा होस् भनेर यी कुरा भएका थिए: “उनको एउटै हड्डी भाँचिनेछैन।”
३७ त्यसैगरि धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ: “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्।”
३८ अब यी कुराहरू भएपछि अरिमथियाका यूसुफ, जो यहूदीहरूको डरले गर्दा गुप्तमा येशूका चेला बनेका थिए, तिनले येशूको शव लैजान पाऊँ भनी पिलातसलाई बिन्ती गरे; अनि पिलातसले तिनलाई अनुमति दिए। त्यसैले गएर तिनले उहाँको शव उतारे।
३९ उहाँकहाँ पहिलो चोटि रातको बेला आउने निकोदेमस पनि लगभग तेत्तीस किलो मर्र* अनि अगरु लिएर त्यहाँ आए।
४० तब तिनीहरूले येशूको शव लगे अनि शव गाड्ने यहूदी चलनअनुसार त्यसलाई सुगन्धित मसला दलेर पट्टीले बेह्रे।
४१ संयोगको कुरा, उहाँलाई खम्बामा टाँगिएको ठाउँमा एउटा बगैंचा थियो अनि त्यस बगैंचामा एउटा नयाँ चिहान थियो, जहाँ त्यसअघि कसैलाई राखिएको थिएन।
४२ यहूदीहरूको चाडको निम्ति तयारी गर्नुपर्ने भएकोले अनि चिहान पनि नजिकै भएकोले तिनीहरूले येशूलाई त्यहीं राखे।