यूहन्ना २१:१-२५

२१  यी कुराहरू भएपछि, टाइबेरियस समुद्रनेर येशू चेलाहरूसामु फेरि प्रकट हुनुभयो। उहाँ तिनीहरूसामु यसरी प्रकट हुनुभयो। २  त्यतिखेर सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको काना भन्ने ठाउँका नथनेल, जब्दीका छोराहरू अनि येशूका अरू दुई चेला सँगै थिए। ३  तब सिमोन पत्रुसले तिनीहरूलाई भने: “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने: “हामी पनि तिमीसँगै आउँछौं।” अनि तिनीहरू सबै गए र डुङ्गा चढे तर त्यो रात तिनीहरूले एउटै माछा पक्रन सकेनन्‌। ४  बिहान हुनै लाग्दा येशू किनारामा आएर उभिनुभयो। अनि हो, चेलाहरूले उहाँ येशू नै हुनुहुन्छ भनेर चिनेनन्‌। ५  तब येशूले तिनीहरूलाई भन्नुभयो: “बाबुहरू हो, तिमीहरूसित खानेकुरा केही छ कि?” तिनीहरूले उहाँलाई जवाफ दिए: “अहँ, छैन!” ६  उहाँले तिनीहरूलाई भन्नुभयो: “डुङ्गाको दाहिनेतिर जाल हान अनि तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे अनि जालमा धेरै माछा परेकोले तिनीहरूले तान्न सकेनन्‌। ७  तब जुन चेलालाई येशू प्रेम गर्नुहुन्थ्यो, तिनले पत्रुसलाई भने: “उहाँ प्रभु हुनुहुन्छ!” उहाँ प्रभु हो भनेर सुन्नेबित्तिकै सिमोन पत्रुस बाहिरी लुगा लगाएर समुद्रमा हामफाले, किनकि तिनी नाङ्गै थिए। ८  तर बाँकी अरू चेलाहरू भने डुङ्गामा माछाले भरिएको जाल तान्दै किनारातिर आए, किनकि तिनीहरू किनाराबाट धेरै टाढा होइन तर लगभग नब्बे मिटर मात्र पर थिए। ९  तर जब तिनीहरू किनारामा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्ग्रोमा माछा राखिएको अनि रोटी देखे। १०  येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले भर्खरै समातेको केही माछा यता ल्याओ।” ११  त्यसैले सिमोन पत्रुस डुङ्गामा चढे र एक सय त्रिपन्न वटा ठूलठूला माछाले भरिएको जाल तानेर किनारामा ल्याए। त्यति धेरै माछा भए तापनि जाल भने फाटेन। १२  येशूले तिनीहरूलाई भन्नुभयो: “आओ, नास्ता गर।” तर चेलाहरूमध्ये एक जनाले पनि उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनेर सोध्ने आँट गरेनन्‌, किनकि उहाँ प्रभु नै हुनुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। १३  तब आएर येशूले रोटी लिनुभयो र तिनीहरूलाई दिनुभयो। त्यसैगरि, माछा पनि दिनुभयो। १४  मृत्युबाट ब्यूँताइएपछि येशू आफ्ना चेलाहरूसामु देखा पर्नुभएको यो तेस्रो पटक थियो। १५  तिनीहरूले नास्ता गरिसकेपछि, येशूले सिमोन पत्रुसलाई सोध्नुभयो: “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” तिनले उहाँलाई जवाफ दिए: “गर्छु प्रभु, म तपाईंलाई माया गर्छु भनेर तपाईंलाई थाहै छ नि।” उहाँले तिनलाई भन्नुभयो: “मेरा पाठाहरूलाई खुवाऊ।” १६  उहाँले तिनलाई दोस्रो चोटि फेरि सोध्नुभयो: “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” तिनले उहाँलाई जवाफ दिए: “गर्छु प्रभु, म तपाईंलाई माया गर्छु भनेर तपाईंलाई थाहै छ नि।” उहाँले तिनलाई भन्नुभयो: “गोठालोले झैं मेरा साना भेडाहरूको हेरचाह गर।” १७  उहाँले तिनलाई तेस्रो चोटि सोध्नुभयो: “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” उहाँले तेस्रो चोटि “के तिमी मलाई माया गर्छौ?” भनेर सोध्नुभएकोले पत्रुस दुःखी भए। त्यसैले तिनले उहाँलाई जवाफ दिए: “प्रभु, तपाईंलाई सबै कुरा थाह छ; म तपाईंलाई माया गर्छु भनेर पनि तपाईंलाई थाह छँदै छ नि।” येशूले तिनलाई भन्नुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ। १८  तिमीलाई म साँच्चै भन्छु, जब तिमी जवान थियौ, तब आफ्नो पटुका आफैले कसेर आफूलाई मन लागेको ठाउँमा जान्थ्यौ। तर जब तिमी बूढो हुनेछौ, तब तिमीले आफ्नो हात फैलाउनेछौ अनि अर्को मानिसले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई जहाँ जान मन लाग्दैन, उसले तिमीलाई त्यहीं लैजानेछ।” १९  तिनले कस्तो मृत्युको सामना गरेर परमेश्वरको महिमा गर्नेछन्‌ भनी देखाउन येशूले त्यसो भन्नुभएको थियो। तब यो कुरा भनेपछि उहाँले तिनलाई भन्नुभयो: “तिमी निरन्तर मेरो पछि लाग।” २०  पत्रुसले फर्केर हेर्दा येशूको त्यस चेलालाई पछि-पछि आइरहेका देखे, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो र जसले साँझको भोजमा उहाँको छातीमा अडेस लागेर उहाँलाई यसरी सोधेका थिए: “प्रभु, तपाईंलाई धोका दिने को हो?” २१  त्यसैले, तिनलाई देखेपछि पत्रुसले येशूलाई सोधे: “प्रभु, यस मानिसलाई चाहिं के हुनेछ?” २२  येशूले जवाफ दिनुभयो: “म नआउन्जेल ऊ रहिरहोस् भन्ने मेरो इच्छा छ भने पनि तिमीलाई के मतलब? बरु तिमीचाहिं निरन्तर मेरो पछि लाग।” २३  यसले गर्दा, ती चेला मर्नेछैनन्‌ भन्ने हल्ला भाइहरूमाझ फैलियो। तर तिनी मर्नेछैनन्‌ भनेर येशूले भन्नुभएको थिएन, बरु “म नआउन्जेल ऊ रहिरहोस् भन्ने मेरो इच्छा छ भने पनि तिमीलाई के मतलब?” मात्र भन्नुभएको थियो। २४  यी त्यही चेला हुन्‌, जसले यी कुराहरूको साक्षी दिन्छन्‌ र जसले यी कुराहरू लेखे अनि तिनले दिने साक्षी सत्य छ भनेर हामीलाई थाह छ। २५  वास्तवमा येशूले अरू पनि धेरै कुरा गर्नुभएको थियो। मलाई लाग्छ, ती सबै एक-एक बयान गरेर लेखिएका भए, ती मुठाहरू संसारमा अटाउने थिएनन्‌।

फुटनोटहरू