यूहन्ना ४:१-५४
४ यूहन्नाले भन्दा येशूले धेरै जनालाई चेला बनाएर बप्तिस्मा गराउँदै हुनुहुन्छ भनेर फरिसीहरूले सुने भनी जब प्रभुले थाह पाउनुभयो,—
२ हुन त येशू आफैले नभई उहाँका चेलाहरूले बप्तिस्मा गराउँथे—
३ तब यहूदियाबाट निस्केर उहाँ फेरि गालील जानुभयो।
४ तर उहाँ सामरिया भएर जानु आवश्यक थियो।
५ त्यसैले उहाँ सामरियाको सुखार भनिने सहर पुग्नुभयो, जुन याकूबले आफ्नो छोरा यूसुफलाई दिएको खेतनजिकै पर्थ्यो।
६ वास्तवमा, याकूबको इनार त्यहीं थियो। तब यात्राले गर्दा थाक्नुभएको येशू इनारको छेउमा बसिरहनुभएको थियो। त्यतिखेर दिउँसोको बाह्र बजेको थियो।
७ तब सामरियाकी एउटी स्त्री पानी भर्न त्यहाँ आई। येशूले उसलाई भन्नुभयो: “मलाई पानी पिउन देऊ।”
८ (किनकि उहाँका चेलाहरू खानेकुरा किन्न सहर गएका थिए।)
९ त्यसैले त्यस सामरी स्त्रीले उहाँलाई सोधी: “तपाईं यहूदी भईकन म सामरी आइमाईसित कसरी पानी माग्नु हुन्छ?” (किनकि यहूदीहरू सामरीहरूसित कुनै सम्बन्ध राख्दैनन्।)
१० येशूले जवाफ दिंदै उसलाई भन्नुभयो: “परमेश्वरले सित्तैंमा दिनुहुने उपहार तिमीले थाह पाएकी भए अनि ‘मलाई पानी पिउन देऊ’ भन्नेलाई चिनेकी भए तिमीले ऊसित माग्नेथियौ अनि उसले तिमीलाई जीवन दिने पानी दिनेथियो।”
११ उसले उहाँलाई सोधी: “हजुर, इनार गहिरो छ अनि तपाईंसित पानी उघाउने बाल्टीसमेत छैन। तब तपाईंसित जीवन दिने पानी कहाँबाट आयो?
१२ हाम्रा पुर्खा याकूब, जसले हामीलाई यो इनार दिनुभयो अनि जसले यही इनारबाट पानी पिउनुभयो र जसका छोराहरू अनि गाईवस्तुहरूले पनि यही इनारबाट पिए, के तपाईं उहाँभन्दा महान् हुनुहुन्छ र?”
१३ तब येशूले उसलाई जवाफ दिनुभयो: “जसले यो पानी पिउँछ, ऊ फेरि तिर्खाउँछ,
१४ तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन। बरु, मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।”
१५ त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, मलाई त्यो पानी दिनुहोस्, ताकि म कहिल्यै तिर्खाउन नपरोस् अनि पानी भर्न यहाँ फेरि-फेरि आइरहन नपरोस्।”
१६ उहाँले उसलाई भन्नुभयो: “जाऊ, तिम्रो पतिलाई बोलाएर यहाँ ल्याऊ।”
१७ स्त्रीले जवाफ दिई: “मेरो पति हुनुहुन्न।” येशूले उसलाई भन्नुभयो: “ ‘मेरो पति हुनुहुन्न’ भनेर तिमीले ठीकै भन्यौ।
१८ किनकि तिम्रो पाँच जना पति भइसकेका छन्, र अहिले तिमी जोसित बसिरहेकी छ्यौ, ऊ तिम्रो पति होइन। तिमीले साँचो कुरा गऱ्यौ।”
१९ त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईं भविष्यवक्ता हुनुहुन्छ जस्तो छ।
२० हाम्रा पुर्खाहरूले यस डाँडामा उपासना गरे; तर मानिसहरूले उपासना गर्नुपर्ने ठाउँ यरूशलेम हो भनेर तपाईंहरू भन्नुहुन्छ।”
२१ येशूले उसलाई भन्नुभयो: “ए नारी, मलाई विश्वास गर, यस्तो बेला आउनेछ, जब तिमीहरूले न यस डाँडामा न त यरूशलेममा परमेश्वरको उपासना गर्नेछौ।
२२ तिमीहरू जे जान्दैनौ, त्यसको उपासना गर्छौ; हामी जे जान्दछौं, त्यसको उपासना गर्छौं, किनकि उद्धार त यहूदीहरूबाटै आउँछ।
२३ तर बेला आउँछ र त्यो अहिल्यै हो, जब साँचो उपासकहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्वरको उपासना गर्नेछन्, किनकि परमेश्वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।
२४ परमेश्वर अदृश्य व्यक्ति* हुनुहुन्छ र उहाँको उपासना गर्नेहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नै पर्छ।”
२५ त्यस स्त्रीले उहाँलाई भनी: “ख्रीष्ट भनिने मसीह आउँदै हुनुहुन्छ भनेर मलाई थाह छ। अनि उहाँ आउनुभएपछि हामीलाई सबै कुरा खुलस्त बताउनुहुनेछ।”
२६ येशूले उसलाई भन्नुभयो: “त्यो मानिस मै हुँ।”
२७ त्यतिनै खेर उहाँका चेलाहरू आइपुगे र उहाँलाई स्त्रीसित कुरा गरिरहेको देखेर छक्क पर्न थाले। हुन त, तिनीहरूमध्ये कसैले पनि “तपाईं के खोज्दै हुनुहुन्छ?” अथवा “तपाईं किन ऊसित कुरा गर्दै हुनुहुन्छ?” भनेर सोधेनन्।
२८ तब आफ्नो घैंटो छोडेर ऊ सहरभित्र पसी र त्यहाँका पुरुषहरूलाई यसो भनी:
२९ “आउनुहोस्, त्यस मानिसलाई हेर्नुहोस्, किनकि मैले गरेका सबै काम उहाँले बताइदिनुभयो। कतै उहाँ ख्रीष्ट त हुनुहुन्न?”
३० त्यसैले तिनीहरू सहरबाट निस्केर उहाँकहाँ आउन थाले।
३१ त्यसबीच, चेलाहरूले उहाँलाई यसो भन्दै आग्रह गरिरहेका थिए: “रब्बी, खानुहोस् न।”
३२ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “मसँग यस्तो खानेकुरा छ जसबारे तिमीहरूलाई थाह छैन।”
३३ यो सुनेर चेलाहरू आपसमा यसो भन्न लागे: “कतै उहाँलाई कसैले खानेकुरा ल्याइदियो कि?”
३४ तर येशूले तिनीहरूलाई भन्नुभयो: “मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।”
३५ बाली काट्ने समय आउन अझ चार महिना बाँकी छ भनेर के तिमीहरू भन्दैनौ? तर हेर, म तिमीहरूलाई भन्छु: आफ्नो आँखा उठाएर खेततिर हेर, किनकि बाली पाकेर पहेंला भइसकेका छन्।
३६ बाली काट्नेले आफ्नो ज्याला पाउँदैछ र अनन्त जीवनका लागि फसल बटुल्दैछ। त्यसैले बीउ छर्ने र काट्ने सँग-सँगै रमाउँछन्।
३७ यस सन्दर्भमा यो भनाइ पक्कै पनि सत्य हो, कि एउटाले छर्छ, अर्कोले काट्छ।
३८ आफूले परिश्रमै नगरेको बाली काट्न मैले तिमीहरूलाई पठाएँ। अरूले परिश्रम गरे तर तिनीहरूको परिश्रमको फल तिमीहरूले पनि पाइरहेका छौ।”
३९ अब त्यस सहरका थुप्रै सामरीले उहाँमाथि विश्वास गरे, किनकि त्यस स्त्रीले यसो भनेर साक्षी दिएकी थिई: “मैले गरेका सबै काम उहाँले बताइदिनुभयो।”
४० त्यसैले उहाँकहाँ आएर ती सामरीहरूले आफूसित बस्न उहाँलाई कर गर्न थाले अनि उहाँ दुई दिन त्यहाँ बस्नुभयो।
४१ फलस्वरूप, उहाँको कुरा सुनेर अझ अरू थुप्रैले उहाँमाथि विश्वास गरे,
४२ अनि तिनीहरूले त्यस स्त्रीलाई यसो भन्न थाले: “अब तिम्रो कुराको भरमा मात्र हामीले विश्वास गरेका होइनौं, किनकि हामी आफैले उहाँको कुरा सुन्यौं र उहाँ साँच्चै नै संसारको उद्धारक हुनुहुन्छ भनेर हामीलाई थाह भयो।”
४३ दुई दिनपछि उहाँ त्यहाँबाट गालील जानुभयो।
४४ तथापि, भविष्यवक्ताले आफ्नै गृहनगरमा आदर पाउँदैन भनेर येशू आफैले साक्षी दिनुभएको थियो।
४५ तसर्थ, जब उहाँ गालील आइपुग्नुभयो, तब उहाँले चाडको बेला यरूशलेममा गर्नुभएका सबै काम देखेका हुनाले गालीलीहरूले उहाँको स्वागत गरे, किनकि तिनीहरू पनि चाड मनाउन त्यहाँ गएका थिए।
४६ त्यसपछि, उहाँ फेरि गालीलको काना पुग्नुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको थियो। त्यहाँ राजाको एक जना सेवक पनि थियो, जसको छोरा कफर्नहुममा बिरामी परेको थियो।
४७ येशू यहूदियाबाट निस्केर गालील पुग्नुभयो भनी जब यस मानिसले सुन्यो, तब ऊ उहाँकहाँ गयो अनि आफूसित आएर आफ्नो छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गर्न लाग्यो, किनकि उसको छोरा मर्नै आँटेको थियो।
४८ तर येशूले उसलाई भन्नुभयो: “चमत्कार अनि अचम्मका कामहरू नदेखेसम्म तिमीहरू कुनै हालतमा विश्वास गर्दैनौ।”
४९ राजाको त्यस सेवकले उहाँलाई भन्यो: “हे प्रभु, मेरो सानो बाबु मर्नुअघि नै मसित आइदिनुहोस्।”
५० येशूले उसलाई भन्नुभयो: “जाऊ, आफ्नो बाटो लाग, तिम्रो छोरा बाँच्छ।” त्यस मानिसले येशूको कुरा विश्वास गऱ्यो र आफ्नो बाटो लाग्यो।
५१ तर ऊ बाटोमै छँदा उसका दासहरू आएर उसको छोरा बाँच्यो भन्ने खबर सुनाए।
५२ तब आफ्नो छोरा कुन बेला निको भएको हो भनेर उसले तिनीहरूलाई सोध्न लाग्यो। तिनीहरूले उसलाई जवाफ दिए: “हिजो दिउँसो एक बजे उसलाई ज्वरोले छोड्यो।”
५३ येशूले “तिम्रो छोरा बाँच्छ” भन्नुभएकै समयमा छोरा निको भएको रहेछ भनेर उसले थाह पायो। अनि ऊ र उसको घरमा भएकाहरू सबैले येशूमाथि विश्वास गरे।
५४ यहूदियाबाट निस्केर गालील पस्नुभएपछि येशूले गर्नुभएको यो दोस्रो चमत्कार थियो।