यूहन्ना ९:१-४१
९ अब बाटोमा जाँदै गर्दा उहाँले एक जना जन्मजात अन्धो मानिसलाई देख्नुभयो।
२ अनि चेलाहरूले उहाँलाई सोधे: “रब्बी, कसले पाप गरेकोले यो मानिस अन्धो जन्मियो, यसले कि यसका आमाबुबाले?”
३ येशूले जवाफ दिनुभयो: “न यस मानिसले पाप गरेकोले न त यसका आमाबुबाले पाप गरेकोले, तर यस घटनाबाट परमेश्वरका कामहरू प्रकट होऊन् भनेर यसो भएको हो।
४ मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ, किनकि रात आउँदैछ, जब कुनै मानिसले काम गर्न सक्दैन।
५ जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ।”
६ यी कुराहरू भनेपछि उहाँले भुइँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो र त्यस मानिसको आँखामा लगाइदिनुभयो,
७ अनि उसलाई भन्नुभयो: “जाऊ, सिलोआमको (जसको अनुवाद हो, ‘पठाइएको’) कुण्डमा गएर पखाल।” तब गएर उसले पखाल्यो अनि देख्ने भएर फर्कियो।
८ त्यसैले छिमेकीहरूले अनि ज-जसले पहिला ऊ माग्न बसेको देख्ने गर्थे, तिनीहरूले यसो भन्न लागे: “के यो त्यही मानिस होइन र, जो पहिला माग्न बस्थ्यो?”
९ कोही-कोहीले भन्थे: “त्यही हो।” अरूले भन्थे: “अहँ, होइन तर हेर्दाचाहिं ऊजस्तै देखिन्छ।” त्यस मानिसले भन्थ्यो: “म त्यही मानिस हुँ।”
१० तब तिनीहरूले उसलाई सोध्न थाले: “त्यसोभए, तिम्रो आँखा कसरी खुल्यो त?”
११ उसले जवाफ दियो: “येशू नाम गरेको एक जना मानिसले माटोको लेप बनाएर मेरो आँखामा दलिदिनुभयो र मलाई ‘सिलोआममा गएर पखाल’ भन्नुभयो। त्यसैले गएर पखालें अनि मैले दृष्टि पाएँ।”
१२ यो सुनेर तिनीहरूले उसलाई सोधे: “त्यो मानिस कहाँ छ?” उसले भन्यो: “मलाई थाह छैन।”
१३ तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई फरिसीहरूकहाँ लगे।
१४ संयोगको कुरा, येशूले माटोको लेप बनाएर उसको आँखा खोलिदिनुभएको दिनमा विश्राम-दिन परेको थियो।
१५ त्यसकारण, उसले कसरी दृष्टि पायो भनेर अब फरिसीहरूले पनि उसलाई सोध्न लागे। उसले तिनीहरूलाई भन्यो: “उहाँले मेरो आँखामा माटोको लेप लगाइदिनुभयो अनि मैले पखालें र दृष्टि पाएँ।”
१६ त्यसैले केही फरिसीहरूले भन्न लागे: “त्यो मानिस परमेश्वरबाट आएको होइन, किनभने त्यसले विश्राम-दिन मान्दैन।” अरू भने यसो भन्न लागे: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?” यसरी तिनीहरूमाझ फूट उत्पन्न भयो।
१७ यसैले तिनीहरूले त्यस अन्धो मानिसलाई फेरि सोधे: “जसले तिम्रो आँखा खोलिदियो, उसको विषयमा तिमी के भन्छौ?” त्यस मानिसले भन्यो: “उहाँ भविष्यवक्ता हुनुहुन्छ।”
१८ तर यहूदीहरूले त्यस अन्धो मानिसका आमाबुबालाई बोलाएपछि मात्र ऊ अन्धो थियो र उसले दृष्टि पाएको हो भनेर पत्याए।
१९ तब तिनीहरूले सोधे: “के यो तिमीहरूको छोरा हो, जो जन्मैदेखि अन्धो थियो भनी तिमीहरू भन्छौ? त्यसोभए, अहिले उसले कसरी देख्न सक्यो त?”
२० अनि उसका आमाबुबाले जवाफ दिए: “यो हाम्रो छोरा हो र ऊ जन्मैदेखि अन्धो थियो भनेर हामीलाई थाह छ।
२१ तर ऊ अहिले कसरी देख्ने भयो वा कसले उसको आँखा खोलिदियो, त्योचाहिं हामीलाई थाह छैन। उसैलाई सोध्नुहोस्। उसको उमेर पुगिसक्यो। आफ्नो विषयमा ऊ आफैले बताउनुपर्छ।”
२२ यहूदीहरूसित डराएर उसका आमाबुबाले यसो भनेका थिए, किनकि जसले उहाँलाई ख्रीष्टको रूपमा स्वीकार्छ, उसलाई सभाघरबाट निकाल्ने* भनी यहूदीहरूको पहिल्यै सहमति भइसकेको थियो।
२३ यसैकारण उसका आमाबुबाले भने: “उसको उमेर पुगिसक्यो। उसैसित सोधपूछ गर्नुहोस्।”
२४ त्यसैले तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई दोस्रो चोटि बोलाएर भने: “सत्य बोलेर परमेश्वरको महिमा गर; यो मानिस पापी हो भनेर हामीलाई थाह छ।”
२५ अनि उसले जवाफ दियो: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाह छैन। मलाई यति मात्र थाह छ, पहिला म अन्धो थिएँ तर अहिले देख्ने भएको छु।”
२६ त्यसैले तिनीहरूले उसलाई सोधे: “उसले तिमीलाई के गऱ्यो? उसले तिम्रो आँखा कसरी खोलिदियो?”
२७ उसले तिनीहरूलाई जवाफ दियो: “मैले तपाईंहरूलाई पहिल्यै भनिसकें नि, तर तपाईंहरूले सुन्नुभएन। तपाईंहरू किन फेरि सुन्न चाहनुहुन्छ? तपाईंहरू पनि उहाँको चेला बन्न चाहनुहुन्छ कि?”
२८ यो सुनेर तिनीहरूले उसलाई गाली गर्दै भने: “तिमी नै हौ, त्यस मानिसको चेला; हामी त मोशाका चेलाहरू हौं।
२९ परमेश्वरले मोशासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ; तर यस मानिसको विषयमा भने ऊ कहाँबाट आएको हो, हामीलाई थाह छैन।”
३० त्यस मानिसले तिनीहरूलाई जवाफ दियो: “कस्तो अचम्मको कुरा! उहाँ कहाँबाट आउनुभएको हो, तपाईंहरूलाई थाह छैन, तैपनि उहाँले मेरो आँखा खोलिदिनुभयो।
३१ हामीलाई थाह छ, परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न तर यदि कसैले परमेश्वरको डर मान्छ अनि उहाँको इच्छा पूरा गर्छ भने उहाँले उसको कुरा सुन्नुहुन्छ।
३२ जन्मजात अन्धो मानिसको आँखा कसैले खोलिदियो भनेर आजसम्म सुनिएको छैन।
३३ यदि उहाँ परमेश्वरबाट आउनुभएको नहुँदो हो त, उहाँले केही पनि गर्न सक्नुहुने थिएन।”
३४ तब तिनीहरूले उसलाई जवाफ दिए: “पापैमा जन्मेको मानिस भएर पनि के तिमी हामीलाई सिकाउँदैछौ?” अनि तिनीहरूले उसलाई बाहिर निकाले। *
३५ तब तिनीहरूले उसलाई बाहिर निकालेछन् भनी येशूले सुन्नुभयो र उसलाई भेटेपछि उहाँले सोध्नुभयो: “के तिमी मानिसको छोरामाथि विश्वास गर्छौ?”
३६ त्यस मानिसले जवाफ दियो: “हजुर, उहाँ को हुनुहुन्छ, ताकि मैले उहाँमाथि विश्वास गर्न सकूँ?”
३७ येशूले भन्नुभयो: “तिमीले उसलाई देखेका छौ र वास्तवमा तिमी अहिले उसैसित कुरा गरिरहेका छौ।”
३८ तब उसले भन्यो: “प्रभु, म उहाँमाथि विश्वास गर्छु।” अनि उसले उहाँलाई दण्डवत् गऱ्यो।
३९ येशूले भन्नुभयो: “म यस्तो न्याय गर्न संसारमा आएको हुँ: ज-जसले देख्दैनन्, तिनीहरूले देखून् र ज-जसले देख्छन्, तिनीहरू अन्धा होऊन्।”
४० उहाँसँगै भएका फरिसीहरूले जब यो कुरा सुने, तब तिनीहरूले उहाँलाई सोधे: “हामी त अन्धा होइनौं नि, हौं र?”
४१ येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू अन्धा हुँदा हौ त, तिमीहरूमा पाप हुने थिएन। तर अहिले तिमीहरू ‘हामी देख्छौं’ भन्छौ। त्यसैले तिमीहरूको पाप रहिरहन्छ।”