२ यूहन्ना १:१-१३

१  एक जना एल्डरको* नाताले चुनिएकी नारी र उनका छोराछोरीहरूलाई म लेख्दैछु, जसलाई म साँच्चै प्रेम गर्छु र मैले मात्र होइन तर ती सबैले पनि, जसले सत्यलाई चिनेका छन्‌। २  त्यो सत्य, जसको कारण हामी तिमीहरूलाई प्रेम गर्छौं र जो हामीसित सधैंभरि रहिरहनेछ। ३  तब परमेश्वर, हाम्रा बुबाको अनि उहाँको छोरा येशू ख्रीष्टको असीम अनुग्रह, कृपा र शान्ति हामीसित हुनुका साथै सत्य र प्रेम पनि हुनेछ। ४  हाम्रा बुबाबाट हामीले आज्ञा पाएबमोजिम तिम्रा छोराछोरीहरूमध्ये कोही-कोही सत्यमा हिंडिरहेका छन्‌ भनेर थाह पाएकोले म असाध्यै खुसी छु। ५  त्यसैले अब हे नारी, म तिमीलाई कुनै नयाँ आज्ञा होइन तर हामीले सुरुदेखि नै पाएको आज्ञा अर्थात्‌ आपसमा प्रेम गर भनी आग्रह गर्दै लेख्छु। ६  उहाँका आज्ञाबमोजिम हामी हिंडिरहनु नै प्रेम हो। तिमीहरूले सुरुदेखि नै सुनेको आज्ञा पनि यही हो, कि तिमीहरू प्रेममा हिंडिरहनुपर्छ। ७  किनकि भ्रममा पार्ने थुप्रै मानिस संसारमा देखा परेका छन्‌, जसले येशू ख्रीष्ट मानव शरीर धारण गरेर आउनुभएको थियो भनेर स्वीकार्दैनन्‌। भ्रममा पार्ने र ख्रीष्ट विरोधी यिनै हुन्‌। ८  हामीले परिश्रम गरेर तिमीहरूमा फलाएको कुरा नगुमाउन होसियार बस, बरु त्यसको पूरा इनाम पाउन सक। ९  हरेक जो ख्रीष्टको शिक्षाभन्दा बाहिर जान्छ र त्यसमा रहँदैन, ऊसँग परमेश्वर रहनुहुन्न। जो यस शिक्षामा रहन्छ, ऊसँग बुबा र छोरा दुवै रहनुहुन्छ। १०  यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने उसलाई आफ्नो घरभित्र कहिल्यै पस्न नदेओ र उसलाई अभिवादन पनि नगर। ११  किनकि जसले उसलाई अभिवादन गर्छ, उसका दुष्कर्महरूमा सहभागी हुन्छ। १२  मैले तिमीहरूलाई भन्नुपर्ने कुरा त धेरै छन्‌, तर म कागज र मसीले ती लेख्न चाहन्नँ। तर तिमीहरूको आनन्द पूर्ण होस् भनेर तिमीहरूकहाँ आएर आमनेसामने कुरा गर्ने आशा गर्दैछु। १३  तिम्री दिदी, जो चुनिएकी जन हुन्‌, उनका छोराछोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्‌।

फुटनोटहरू

२यू १:१ प्रेषित ११:३० को फुटनोट हेर्नुहोस्।