३ यूहन्ना १:१-१४
१ एक जना एल्डरको* नाताले म प्रिय गायसलाई लेख्दैछु, जसलाई म साँच्चै प्रेम गर्छु।
२ प्रिय भाइ, म यही प्रार्थना गर्छु, कि जसरी अहिलेसम्म तिम्रो प्रगति भइरहेको छ, त्यसरी नै सबै कुरामा तिम्रो उत्तरोत्तर प्रगति होस् अनि तिम्रो स्वास्थ्य पनि सधैं राम्रो रहिरहोस्।
३ तिमीले सत्यलाई पक्रिरहेका छौ भनेर भाइहरूले आएर मलाई सुनाउँदा म ज्यादै आनन्दित भएँ। हो, मलाई थाह छ, तिमी सत्यमा चलिरहेका छौ।
४ मेरा छोराछोरीहरू सत्यमा चलिरहेका छन् भनेर सुन्न पाउनुभन्दा बढ्ता खुसीको कुरा मसित अरू छैन।
५ प्रिय भाइ, तिमीले अपरिचित भाइहरूका निम्ति जे-जति गरिरहेका छौ, त्यसमा तिमी विश्वासयोग्य छौ,
६ जसले मण्डलीसामु तिम्रो प्रेमको विषयमा साक्षी दिएका छन्। तिनीहरूलाई यात्रामा पठाउन तिमीले जे-जे गर्छौ, त्यो परमेश्वरलाई मनपर्ने किसिमको होस्।
७ किनकि तिनीहरू अन्यजातिका मानिसहरूबाट केही नलिई उहाँको नामको खातिर निस्किएका हुन्।
८ त्यसैले यस्ता मानिसहरूको अतिथि-सत्कार गर्नु हाम्रो कर्तव्य हो। यसरी हामी सत्यमा तिनीहरूको सहकर्मी बन्न सक्नेछौं।
९ मैले मण्डलीलाई केही लेखेको थिएँ तर तिनीहरूमाझ पहिलो स्थान ओगट्न चाहने डियोत्रिफसले हामीले भनेको कुनै पनि कुरा स्वीकार्दैन।
१० त्यसैले म आएँ भने उसले गरिरहेका कामहरू प्रकट गरिदिनेछु, किनकि ऊ हाम्रो विषयमा दुष्ट कुरा गर्दै हिंड्छ। अनि त्यतिमा चित्त नबुझाएर उसले भाइहरूको स्वागत-सत्कार गर्दैन अनि जसले गर्न चाहन्छ, तिनीहरूलाई पनि गर्न दिंदैन, बरु उल्टो तिनीहरूलाई मण्डलीबाट निकाल्न खोज्छ।
११ प्रिय भाइ, जे खराब छ, त्यसको होइन तर जे असल छ, त्यसको अनुसरण गर। जसले असल गर्छ, ऊ परमेश्वरको हो। जसले खराब काम गर्छ, उसले परमेश्वरलाई देखेको हुँदैन।
१२ डेमेत्रियसको असल गुणबारे तिनीहरू सबैले अनि सत्य आफैले साक्षी दिएको छ। वास्तवमा, हामीले पनि साक्षी दिइरहेका छौं अनि तिमीलाई थाह छ, हामीले दिने साक्षी साँचो छ।
१३ तिमीलाई भन्नुपर्ने कुरा त धेरै छन्, तर म मसी र कलमले ती लेख्न चाहन्नँ।
१४ बरु म तिमीलाई चाँडै भेट्ने आशा गर्दैछु। त्यतिबेला हामी आमनेसामने बसेर कुरा गरौंला।
तिमीलाई शान्ति होस्।
भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्। त्यहाँका भाइहरूलाई नाम तोकेरै मेरो अभिवादन छ भनिदेऊ।