इजकिएल ६:१-१४
६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो:
२ “हे मानिसको छोरा, इस्राएलका पहाडहरूतिर आफ्नो अनुहार फर्काऊ र त्यसविरुद्ध भविष्यवाणी गर।
३ तिमीले यसो भन्नू: ‘हे इस्राएलका पहाडहरू हो, ब्रह्माण्डका मालिक यहोवाको वचन सुन: ब्रह्माण्डका मालिक यहोवा पहाड, डाँडा, खोला र बेँसीहरूलाई यसो भन्नुहुन्छ: “हेर, म तिमीहरूविरुद्ध तरबार उठाउनेछु र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू* नष्ट गर्नेछु।
४ म तिमीहरूका वेदीहरू ध्वस्त पारिदिनेछु, तिमीहरूका धूपदानीहरू टुक्राटुक्रा पारिदिनेछु+ र मारिएकाहरूलाई तिमीहरूका घिनलाग्दा मूर्तिहरूअगाडि* फालिदिनेछु।+
५ इस्राएलीहरूका लास तिनीहरूका घिनलाग्दा मूर्तिहरूकै अगाडि फालिदिनेछु र तिनीहरूका हड्डीहरू तिनीहरूकै वेदीवरिपरि छरिदिनेछु।+
६ तिमीहरू जहाँसुकै बसे पनि, जुनसुकै सहरमा बसे पनि ती उजाड पारिनेछन्+ र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू ध्वस्त पारिनेछन् र ती उजाडै रहनेछन्।+ तिमीहरूका वेदीहरू धुलोपिठो पारिनेछन्, तिमीहरूका घिनलाग्दा मूर्तिहरू सर्वनाश हुनेछन्, तिमीहरूका धूपदानीहरू भाँचिनेछन् र तिमीहरूका कामको नामोनिसान रहनेछैन।
७ काटिएका मानिसहरू तिमीहरूकै बीचमा ढल्नेछन्।+ तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+
८ “‘“तर तिमीहरूमध्ये कसै-कसैलाई म जीवितै छोडिदिनेछु। तिमीहरू जातिजातिमाझ तितरबितर हुँदा कोही-कोहीचाहिँ तरबारबाट उम्कनेछौ।+
९ अनि जो-जो उम्कन्छन्, तिनीहरूले आफूलाई बन्दी बनाएर लगिएको ठाउँमा मलाई सम्झनेछन्।+ तिनीहरूको हृदय विश्वासघाती भएर* मबाट तर्किएकोले+ र तिनीहरूका आँखा कामुक भएर घिनलाग्दा मूर्तिहरूको पछि लागेकोले+ मेरो मन कत्ति दुःखी भएको थियो भनेर तिनीहरूले बुझ्नेछन्। आफूले गरेका सबै खराब र घिनलाग्दा कामहरूका कारण तिनीहरू लाजमा पर्नेछन् र ती कामहरूलाई घृणा गर्नेछन्।+
१० तब म नै यहोवा हुँ र मैले तिनीहरूमाथि विपत्ति ल्याउनेछु भनेर दिएको चेतावनी खोक्रो धम्की रहेनछ भनेर तिनीहरूले जान्नेछन्।”’+
११ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘दुःखी हुँदै थपडी मार अनि आफ्नो खुट्टा बजार र इस्राएलको घरानाले गरेका सबै खराब र घिनलाग्दा कामहरूका लागि विलाप गर। तिनीहरू तरबार, अनिकाल र महामारीले गर्दा ढल्नेछन्।+
१२ टाढा भएकाहरू महामारीले गर्दा मर्नेछन्, नजिकै भएकाहरूचाहिँ तरबारले काटिनेछन् र यी सबैबाट उम्केर बचेकाहरूचाहिँ अनिकालले गर्दा मर्नेछन्। म तिनीहरूमाथि मेरो भएभरको रिस पोख्नेछु।+
१३ तरबारले काटिएर ढलेका तिनीहरूका मानिसहरूको लास तिनीहरूकै घिनलाग्दा मूर्तिहरूअगाडि, वेदीहरूको वरिपरि,+ अग्ला डाँडाहरूमाथि, पहाडका टाकुराहरूमाथि, झ्याम्म परेका रूखहरूमुनि र घिनलाग्दा मूर्तिहरूका निम्ति तिनीहरूले सुगन्धित धूप चढाउने ठूलठूला रूखका हाँगाहरूमुनि+ अलपत्र पर्नेछन्। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+
१४ म तिनीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरू बस्ने ठाउँ उजाड बनाइदिनेछु। तिनीहरूका देशलाई दिब्लाहको निर्जनभूमिभन्दा पनि उजाड बनाइदिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।’”
फुटनोटहरू
^ यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
^ वा “भ्रष्ट र पतित भएर।”