उत्पत्ति ४४:१-३४
४४ त्यसपछि युसुफले आफ्नो घरको रेखदेख गर्ने मानिसलाई यस्तो आदेश दिए: “ती मानिसहरूको धोक्रोमा उनीहरूले बोक्न सक्नेजति अन्न भरिदेऊ र उनीहरूको पैसा पनि धोक्रोको मुखमा राखिदेऊ।+
२ तर कान्छोको धोक्रोमा पैसासँगै मेरो चाँदीको कचौरा पनि राखिदेऊ।” युसुफले अह्राएझैँ उसले गऱ्यो।
३ भोलिपल्ट उज्यालो भएपछि उनीहरूलाई आ-आफ्नो गधासँगै त्यहाँबाट पठाइयो।
४ उनीहरू सहरबाट निस्केर अलि पर पुग्न नपाउँदै युसुफले आफ्नो घरको रेखदेख गर्ने मानिसलाई यसो भने: “उठ! ती मानिसहरूको पछिपछि जाऊ! अनि उनीहरूलाई भेट्टाएपछि यसो भन: ‘तिमीहरूले किन गुनको साटो बैगुन गऱ्यौ?
५ तिमीहरूले मेरो मालिकको कचौरा किन चोऱ्यौ? उहाँले यही कचौराबाट पिउँदै शकुन-अपशकुन पत्ता लगाउनुहुन्थ्यो। तिमीहरूले कसरी यस्तो नीच काम गऱ्यौ?’”
६ उनीहरूलाई भेट्टाएपछि युसुफको घरको रेखदेख गर्ने मानिसले त्यसै भन्यो।
७ तर उनीहरूले यस्तो जवाफ दिए: “हजुर के भन्दै हुनुहुन्छ? हामी हजुरका दासहरूले मनमा समेत त्यस्तो खराब कुरा चिताएका छैनौँ।
८ हामीले पहिले धोक्रोमा फेला पारेको पैसा त फिर्ता गऱ्यौँ+ भने हजुरको मालिकको घरबाट सुनचाँदी किन चोर्थ्यौँ होला र?
९ हामी हजुरका दासहरूमध्ये कसैसित त्यो फेला पऱ्यो भने हजुरले उसको ज्यान लिनुहोस् अनि हामी बाँकी पनि हजुरका दास हुनेछौँ।”
१० अनि उसले भन्यो: “तिमीहरूले भनेझैँ होस्। तर जसको धोक्रोमा कचौरा फेला पर्छ, ऊ मात्र मेरो दास हुनेछ अनि बाँकीचाहिँ निर्दोष ठहरिनेछन्।”
११ तब उनीहरूले तुरुन्तै आ-आफ्नो धोक्रो गधाबाट झारे र खोले।
१२ युसुफको घरको रेखदेख गर्ने मानिसले जेठोदेखि कान्छोसम्म पालैसित सबैको धोक्रोको खानतलासी गऱ्यो। अन्तमा बिन्यामिनको धोक्रोमा कचौरा फेला पऱ्यो।+
१३ तब दुःखी हुँदै उनीहरू सबैले आफ्नो लुगा च्याते। अनि आफ्नो धोक्रो गधामा लादेर फेरि सहरतिर फर्के।
१४ यहुदा+ र उनका दाजुभाइ युसुफकहाँ पुग्दा युसुफ घरमै थिए। उनीहरूले लम्पसार परेर युसुफलाई ढोगे।+
१५ युसुफले उनीहरूलाई भने: “तिमीहरूले यो के गऱ्यौ? मैले शकुनहरू हेर्न जानेको छु भनेर तिमीहरूलाई थाह थिएन?”+
१६ तब यहुदाले यस्तो जवाफ दिए: “मालिक, हामी हजुरलाई के भनौँ? हामीसित भन्ने कुरा के नै छ र? हामी निर्दोष छौँ भनेर कसरी प्रमाण देऔँ? साँचो परमेश्वरले नै हामीलाई सजाय दिनुभएको हो।+ मालिक, अब हामी हजुरका दास भयौँ। हामी र जसको धोक्रोमा कचौरा फेला पऱ्यो, सबै नै हजुरका दास भयौँ।”
१७ तर तिनले भने: “अहँ! मबाट त्यस्तो नीच काम हुनै सक्दैन। जोसित कचौरा फेला पऱ्यो, ऊ मात्र मेरो दास हुनेछ।+ बाँकी आफ्नो बुबाकहाँ फर्क।”
१८ तब यहुदाले नजिकै गएर युसुफलाई भने: “हे मेरो मालिक, बिन्ती! रिसानी माफ होस् हजुर! यस दासलाई केही बोल्न दिनुहोस्। हजुर फारोसरह हुनुहुन्छ।+
१९ हजुरले ‘तिमीहरूका बुबा अथवा दाजुभाइ कोही छ’ भनेर आफ्ना दासहरूलाई सोध्नुभएको थियो।
२० त्यतिबेला हामीले यस्तो जवाफ दिएका थियौँ, ‘हाम्रो वृद्ध बुबा हुनुहुन्छ र उहाँको बुढेसकालको एउटा छोरो पनि छ—हाम्रो सबैभन्दा कान्छो भाइ।+ उहाँ उसलाई असाध्यै माया गर्नुहुन्छ, उसको दाइ मरिसकेकोले+ उसको साक्खै दाजुभाइ कोही छैन।’+
२१ त्यसपछि हजुरले नै ‘उसलाई यहाँ ल्याऊ, म उसलाई हेर्न चाहन्छु’ भन्नुभएको थियो।+
२२ तर हामीले हजुरलाई यसो भनेका थियौँ: ‘उसलाई ल्याउन मिल्दैन। उसलाई ल्यायो भने बुबा शोकमै डुबेर बित्नुहुनेछ।’+
२३ तर हजुरले ‘कान्छो भाइलाई नल्याएसम्म तिमीहरू यहाँ मुख देखाउन नआउनू’ भनेर हामी हजुरका दासहरूलाई जवाफ दिनुभएको थियो।+
२४ “त्यसपछि हामी हाम्रा बुबा हजुरको दासकहाँ फर्क्यौँ र उहाँलाई हजुरले भन्नुभएको कुरा सुनायौँ।
२५ केही समयपछि बुबाले हामीलाई भन्नुभयो: ‘जाओ, फेरि केही अन्न किनेर ल्याओ।’+
२६ तर हामीले भन्यौँ: ‘अहँ! हामी जान सक्दैनौँ। कान्छो भाइलाई हामीसँग पठाउनुभयो भने मात्र हामी जानेछौँ। उसलाई नलगेसम्म हामी ती मानिससामु आफ्नो मुख देखाउन सक्दैनौँ।’+
२७ त्यसपछि हजुरका दास मेरो बुबाले भन्नुभयो: ‘मेरी पत्नीले दुई छोरा+ जन्माएकी थिई भनेर तिमीहरूलाई थाहै छ।
२८ तिनीहरूमध्ये एउटा छोरा त मैले गुमाइसकेँ र मैले अहिलेसम्म उसको मुख देख्न पाएको छैनँ। मैले भनेको थिएँ: “उसलाई पक्कै पनि जङ्गली जनावरले लुछेर खाएको हुनुपर्छ।”+
२९ अब तिमीहरूले कान्छोलाई पनि लग्यौ र यात्रामा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।’+
३० “बुबा हाम्रो कान्छो भाइलाई आफूलाई भन्दा धेरै माया गर्नुहुन्छ। त्यसैले भाइलाई नलिई म फर्केँ
३१ र बुबाले भाइलाई हामीसित देख्नुभएन भने उहाँको मृत्यु हुनेछ; वृद्ध भइसक्नुभएको हाम्रो बुबा शोक गर्दागर्दै चिहानमा* जानुहुनेछ र त्यसको दोष हामीलाई लाग्नेछ।
३२ म, हजुरको दासले कान्छो भाइको जिम्मा लिएर बुबालाई यसो भनेको थिएँ, ‘यदि मैले उसलाई तपाईँकहाँ फर्काएर ल्याउन सकिनँ भने म जीवनभर तपाईँसामु दोषी ठहरिनेछु।’+
३३ त्यसैले बिन्ती छ हजुर, उसलाई आफ्ना दाइहरूसित फर्कन दिनुहोस्। बरु उसको साटो म हजुरको दास हुनेछु।
३४ भाइलाई नलिई म कसरी बुबाकहाँ जाऊँ? बुबाको पीडा म कसरी हेरूँ?”