एज्रा ९:१-१५
९ यी सबै काम सिद्धिएपछि मानिसहरूका मुखियाहरू मकहाँ आए र यसो भने: “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले वरपरका जातिहरू—कनानीहरू, हित्तीहरू, परिज्जीहरू, यबुसीहरू, अम्मोनीहरू, मोआबीहरू, मिश्रीहरू+ र एमोरीहरूबाट+ अनि उनीहरूका घिनलाग्दा रीतिथितिबाट आफूलाई अलग राखेका छैनन्।+
२ तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरेका छन् र आफ्ना छोराहरूको विवाह पनि उनीहरूसितै गराइदिएका छन्।+ अब तिनीहरू, जो पवित्र वंश हुन्,+ वरपरका जातिहरूसित मिसिएका छन्।+ यसरी परमेश्वरसित विश्वासघात गर्नेहरूमा मुखियाहरू र उप-शासकहरू नै सबैभन्दा अगाडि छन्।”
३ यो कुरा सुन्नेबित्तिकै मैले आफ्नो लुगा र अलखा* च्यातेँ, कपाल र दाह्री लुछेँ अनि इन्तु न चिन्तु भएर भुईँमा थचक्क बसेँ।
४ अनि ज-जसको मनमा परमेश्वरले भन्नुभएका कुराहरूप्रति गहिरो आदर थियो, तिनीहरू सबै मेरो वरिपरि जम्मा भए। किनकि निर्वासनबाट फर्केर आएका मानिसहरूले परमेश्वरसित विश्वासघात गरेकोले तिनीहरू दुःखी भएका थिए। मचाहिँ साँझको अन्नभेटी चढाउने बेलासम्मै अवाक् भएर बसिरहेँ।+
५ साँझको अन्नभेटी चढाउने बेला भएपछि+ म आफ्नो शोकाकुल अवस्थाबाट उठेँ; मेरो लुगा र अलखा च्यातिएको थियो। मैले आफ्ना परमेश्वर यहोवासामु घुँडा टेकेँ र आफ्नो हात फैलाएर उहाँलाई यसो भनेँ:
६ “हे मेरा परमेश्वर! म यत्ति लज्जित र अपमानित भएको छु कि म आफ्नो अनुहार तपाईँतिर फर्काउन सक्दिनँ। किनकि हे मेरा परमेश्वर, हाम्रा पापहरू ज्यादै धेरै छन् र हाम्रो दोष स्वर्गसम्मै पुगेको छ।+
७ हाम्रा पितापुर्खाको पालादेखि आजसम्मै हामीले साह्रै खराब काम गरेका छौँ।+ हाम्रा गल्तीहरूले गर्दा हामी, हाम्रा राजाहरू र हाम्रा पुजारीहरू देश-देशका राजाहरूको हातमा पऱ्यौँ। हामी तरबारले नाश भयौँ,+ बन्दी बनाएर लगियौँ,+ लुटियौँ+ र अपमानित भयौँ। आज पनि हाम्रो हालत त्यस्तै छ।+
८ तर हे हाम्रा परमेश्वर यहोवा! केही समयदेखि तपाईँले हामीलाई दया गर्नुभएको छ। तपाईँले हामीलाई पूरै नाश हुन दिनुभएन बरु हामीलाई आफ्नो पवित्र ठाउँमा एक सुरक्षित स्थान दिनुभयो।+ हे हाम्रा परमेश्वर! यसरी तपाईँले हाम्रो आँखामा चमक ल्याइदिनुभएको छ र हाम्रो दासत्वबाट हामीलाई केही हदसम्म राहत दिनुभएको छ।
९ किनकि हे हाम्रा परमेश्वर, हाम्रो दासत्वमा पनि+ तपाईँले हामीलाई त्याग्नुभएको छैन। बरु फारसका राजाहरूलाई हामीमाथि दया गर्न लगाएर हामीलाई अटल प्रेम देखाउनुभएको छ।+ उजाड भएको तपाईँको भवन हामीले फेरि बनाउन सकौँ भनेर तपाईँले हामीलाई छुटाउनुभएको छ।+ अनि तपाईँले यहुदा र यरुसलेममा हामीलाई चारैतिरबाट सुरक्षा दिनुभएको छ।*
१० “तर हे हाम्रा परमेश्वर, अब हामी के नै भन्न सक्छौँ र? किनकि हामीले तपाईँका आज्ञाहरू पालन गरेनौँ।
११ तपाईँले आफ्ना सेवकहरू—भविष्यवक्ताहरूमार्फत हामीलाई यस्तो आज्ञा दिनुभएको थियो: ‘तिमीहरूले अधिकार गर्न लागेको देश अशुद्ध छ। किनकि त्यहाँका मानिसहरू अशुद्ध छन् र तिनीहरूले त्यस देशलाई आफ्ना घिनलाग्दा कामहरूले दूषित पारेका छन्। तिनीहरूले त्यस देशलाई एउटा कुनादेखि अर्को कुनासम्म आफ्ना अशुद्ध कामहरूले भरेका छन्।+
१२ त्यसैले आफ्ना छोरीहरूको विवाह तिनीहरूका छोराहरूसित नगराउनू अनि तिनीहरूका छोरीहरूको विवाह पनि आफ्ना छोराहरूसित नगराउनू।+ तिनीहरूको शान्ति र संवृद्धिको लागि तिमीहरूले कहिल्यै केही नगर्नू।+ तब तिमीहरू शक्तिशाली हुनेछौ र देशको असल उब्जनी खान पाउनेछौ। अनि त्यो देश आफ्ना छोराहरूलाई सधैँका लागि पैतृक सम्पत्तिको रूपमा दिन सक्नेछौ।’
१३ हामीले आफ्ना खराब कामहरूको अनि ठूलो अपराधको सजाय पायौँ। तर हे हाम्रा परमेश्वर, हामी जति सजाय पाउन लायकका थियौँ, तपाईँले हामीलाई त्यति सजाय दिनुभएन।+ बरु हामीलाई छुटाउनुभयो।+
१४ तर अब हामीले फेरि तपाईँका आज्ञाहरू तोड्यौँ र यस्ता घिनलाग्दा कामहरू गर्ने मानिसहरूसित वैवाहिक नाता गाँस्यौँ भने के तपाईँ क्रोधित हुनुहुनेछैन र?+ अनि के तपाईँले हामीलाई एक जना पनि बाँकी नरहनेगरि नाश गर्नुहुनेछैन र?
१५ हे इस्राएलका परमेश्वर यहोवा! तपाईँ न्यायी हुनुहुन्छ।+ त्यसैले तपाईँले हामीलाई अहिलेसम्म जीवितै राख्नुभएको छ। हामी तपाईँसामु दोषी छौँ; हाम्रो अपराधले गर्दा हामीमध्ये कोही पनि तपाईँसामु खडा हुन लायक छैनौँ।”+
फुटनोटहरू
^ वा “बाहुला नभएको अलखा।” गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
^ वा “ढुङ्गाको पर्खाल खडा गरिदिनुभएको छ।”