एस्तर ३:१-१५

  • राजाले हामानलाई उच्च तुल्याउँछन्‌ (१-४)

  • हामान यहुदीहरूलाई नाश गर्ने षड्‌यन्त्र रच्छन्‌ (५-१५)

३  यी सबै घटना भएपछि राजा आहासुरसले अगागी+ हाम्मेदाथाका छोरा हामानको पदोन्‍नति गरिदिए+ र उनलाई अरू सबै भारदारभन्दा उच्च ओहदामा राखिदिए।+ २  राजमहलको ढोकामा भएका राजाका सबै सेवक हामानसामु निहुरिन्थे र घोप्टो पर्थे किनकि राजाले यस्तै गर्ने हुकुम दिएका थिए। तर मोर्दकैले भने हामानसामु निहुरिन वा घोप्टो पर्न इन्कार गरे। ३  त्यसैले राजमहलको ढोकामा भएका राजाका सेवकहरूले मोर्दकैलाई सोधे: “तपाईँ किन राजाको आदेश पालन गर्नुहुन्‍न?” ४  तिनीहरू मोर्दकैलाई दिनदिनै यही प्रश्‍न सोध्थे तर मोर्दकै तिनीहरूको कुरा सुन्दैनथे। त्यसैले तिनको यस्तो व्यवहार स्वीकार्य छ कि छैन भनी थाह पाउन तिनीहरूले यसबारे हामानलाई बताइदिए।+ किनकि मोर्दकैले तिनीहरूलाई आफू एक यहुदी हुँ भनी बताएका थिए।+ ५  मोर्दकैले उनीसामु निहुरिन र घोप्टो पर्न इन्कार गरेको देखेर हामान रिसले आगो भए।+ ६  तर मोर्दकैलाई मात्र मारेर हामानलाई चैन हुँदैनथ्यो किनकि उनले मोर्दकैका मानिसहरू—यहुदीहरूबारे पनि थाह पाएका थिए। त्यसैले उनले आहासुरसको पूरै साम्राज्यमा भएका सबै यहुदीको नामोनिसान मेटाइदिने उपाय खोज्न थाले। ७  यहुदीहरूलाई कुन महिनाको कुन दिन नाश गर्ने भनी पत्ता लगाउन राजा आहासुरसको शासनकालको १२ औँ वर्षको पहिलो महिना अर्थात्‌ नीसान* महिनामा+ हामानसामु पूर (अर्थात्‌ गोला) हालियो।+ अनि त्यो गोला १२ औँ महिना अर्थात्‌ अदार* महिनामा पऱ्‍यो।+ ८  तब हामानले राजा आहासुरसलाई यसो भने: “हजुरको साम्राज्यका सबै प्रान्तमा+ छरिएर बसेको एउटा जाति छ।+ तिनीहरूको चलन अरू सबै जातिको भन्दा फरक छ। तिनीहरू राजाको कानुन समेत पालन गर्दैनन्‌। तिनीहरूलाई केही गर्नुभएन भने राजाको ठूलो नोक्सानी हुनेछ। ९  त्यसैले यदि राजालाई उचित लाग्छ भने तिनीहरूलाई नाश गरियोस्‌ भनेर एउटा लिखित उर्दी जारी गर्नुहोस्‌। म शाही ढुकुटीमा राख्न अफिसरहरूलाई १० हजार टालेन्ट* चाँदी दिनेछु।”* १०  तब राजाले आफ्नो हातको छापऔँठी खोले+ अनि अगागी+ हाम्मेदाथाका छोरा हामानलाई दिए,+ जो यहुदीहरूका शत्रु थिए। ११  अनि राजाले हामानलाई भने: “म ती मानिसहरू र तिनीहरूका चाँदी तिमीलाई नै दिन्छु। तिमीलाई जे ठीक लाग्छ, तिनीहरूलाई त्यसै गर।” १२  तब पहिलो महिनाको १३ औँ दिनमा राजाका सचिवहरूलाई+ बोलाइयो। तिनीहरूले राजाका बडाहाकिमहरू, प्रान्तहरूका राज्यपालहरू र विभिन्‍न जातिका अगुवाहरूको निम्ति हामानले दिएको सबै आदेश लेखे।+ प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा* र प्रत्येक जातिलाई उनीहरूकै भाषामा ती आदेशहरू लेखिए। ती आदेशहरू राजा आहासुरसको नाममा जारी गरियो र राजाको छापऔँठीले त्यसमा छाप लगाइयो।+ १३  ती पत्रहरू राजदूतहरूमार्फत राजाका सबै प्रान्तमा पठाइए। ती पत्रहरूमा सबै यहुदीलाई—जवान, वृद्ध, केटाकेटी, स्त्री सबैलाई एकै दिनमा अर्थात्‌ १२ औँ महिना—अदार महिनाको १३ औँ दिनमा मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू+ अनि तिनीहरूसित भएको सबथोक लुट्‌नू+ भन्‍ने आदेश दिइएको थियो। १४  पत्रमा लेखिएका कुराहरूलाई हरेक प्रान्तमा कानुनकै रूपमा लागू गर्नुपर्ने थियो र सबै मानिस त्यस दिनको निम्ति तयार रहन सकून्‌ भनेर यसबारे चारैतिर घोषणा गर्नुपर्ने थियो। १५  राजाको आदेशअनुसारै राजदूतहरू तुरुन्तै ती पत्रहरू लिएर गए।+ सुसन*+ किल्लामा* पनि यो कानुन लागू गरियो। तब सुसन सहरमा खैलाबैला मच्चियो तर राजा र हामान भने मद्य पिएर बसिरहेका थिए।

फुटनोटहरू

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा सम्भवतः “यो काम गर्नेहरूको लागि म शाही ढुकुटीमा १० हजार टालेन्ट चाँदी जम्मा गर्नेछु।”
वा “लेखनशैलीमा।”
वा “सुसा।”
वा “महलमा।”