गन्ती १८:१-३२

  • पुजारीहरू र लेवीहरूको काम (१-७)

  • पुजारीहरूले पाउने भाग (८-१९)

    • नुनको करार (१९)

  • लेवीहरूले पाउने र दिने दशांश (२०-३२)

१८  त्यसपछि यहोवा परमेश्‍वरले हारुनलाई भन्‍नुभयो: “कसैले पवित्र स्थानसम्बन्धी* नियम तोडेमा तिमी, तिम्रा छोराहरू र तिम्रो बुबापट्टिको घराना जबाफदेही हुनेछौ।+ अनि कसैले पुजारी पदको अवहेलना गरेमा तिमी र तिम्रा छोराहरू जबाफदेही हुनेछौ।+ २  अनि तिमी र तिम्रा छोराहरूले गर्ने सेवामा साथ दिन+ तिम्रो बुबाको कुल अर्थात्‌ लेविको कुलका तिम्रा दाजुभाइलाई साक्षीपाटी राखिएको पालमा ल्याउनू।+ ३  तिमीले सुम्पेका कामहरू र पालको सबै जिम्मेवारी तिनीहरूले पूरा गरून्‌।+ तर तिनीहरू पवित्र ठाउँका सामग्रीहरू र वेदीको नजिक भने नआऊन्‌ नत्र तिमी पनि तिनीहरूसँगै मर्नेछौ।+ ४  तिनीहरूले तिमीसँगै मिलेर भेट हुने पालको तथा यससित सम्बन्धित सबै कामको रेखदेख गरून्‌। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* तिम्रो नजिक नआओस्‌।+ ५  तिमीले पवित्र ठाउँ+ र वेदीप्रतिको+ जिम्मेवारी पूरा गर्नू; यसो गरेमा इस्राएलका मानिसहरूमाथि मेरो क्रोध अझ दन्किनेछैन।+ ६  तिम्रा दाजुभाइ अर्थात्‌ लेवीहरूलाई इस्राएलीहरूको माझबाट रोजेर मैले तिमीलाई उपहारस्वरूप दिएको छु।+ तिनीहरूले भेट हुने पालमा सेवा गरून्‌ भनेर तिनीहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरिएका छन्‌।+ ७  पुजारीको रूपमा वेदी र पर्दाभित्र* गरिने सबै काम सम्हाल्ने जिम्मा तिमी र तिम्रा छोराहरूकै हो+ र तिमीहरूले ती सबै जिम्मेवारी पूरा गर्नू।+ मैले तिमीहरूलाई उपहारस्वरूप पुजारीको काम सुम्पेको छु। लेवीहरूबाहेक अरू कोही मानिस पवित्र स्थानको नजिक आएमा ऊ मारियोस्‌।”+ ८  यहोवा परमेश्‍वरले हारुनलाई अझ भन्‍नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+ ९  आगोमा चढाइने यी महापवित्र भेटीहरूको केही अंश तिम्रै हिस्सा होस्‌: अन्‍नभेटी,+ पापभेटी,+ दोषभेटीलगायत+ तिनीहरूले मेरो निम्ति ल्याएका जुनसुकै भेटी। तिमी र तिम्रा छोराहरूले यसलाई महापवित्र ठान्‍नू। १०  तिमीहरूले यसलाई एकदमै पवित्र ठाउँमा खानू।+ सबै पुरुषले त्यो खाऊन्‌। तिमीहरूले यसलाई पवित्र ठान्‍नू।+ ११  यो पनि तिमीहरूकै हिस्सा हो: इस्राएलीहरूले चढाएका डोलाउने भेटी+ र त्यससँगै चढाइएका उपहारहरू।+ मैले यो तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ तिम्रो घरमा जो-जो शुद्ध छन्‌, तिनीहरूले त्यो खाऊन्‌।+ १२  “तिनीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सर्वोत्तम तेल, नयाँ दाखमद्य* र अन्‍न अर्थात्‌ तिनीहरूले आफ्नो उब्जनीबाट चढाउने सबै पहिलो फल+ म तिमीहरूलाई दिनेछु।+ १३  तिनीहरूले आफ्नो उब्जनीबाट यहोवा परमेश्‍वरकहाँ ल्याएका फल तिमीहरूका होऊन्‌।+ तिम्रो घरमा जो-जो शुद्ध छन्‌, तिनीहरूले त्यो खाऊन्‌। १४  “इस्राएलमा जे-जे परमेश्‍वरलाई अर्पण गरिन्छ,* ती सबै तिमीहरूकै होस्‌।+ १५  “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात्‌ जसलाई तिनीहरू यहोवा परमेश्‍वरसामु अर्पण गर्छन्‌, ती तिमीहरूकै होऊन्‌। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+ १६  एक महिना वा सोभन्दा माथिकाहरूलाई छुटाउन पवित्र ठाउँको शेकेलअनुसार* चाँदीको पाँच शेकेल* छुटकाराको मोलस्वरूप तिर्नू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ। १७  पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठोलाई भने त्यसरी मोल तिरेर नछुटाउनू।+ तिनीहरू पवित्र छन्‌। तिनीहरूको रगत वेदीमा छर्कनू+ र यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना आओस्‌ भनेर बोसोचाहिँ आगोमा जलाउनू।+ १८  मासुचाहिँ तिमीहरूले लिनू। डोलाउने भेटीको ह्‍याकुला र दाहिने खुट्टा लिएझैँ यो पनि तिमीहरूले लिनू।+ १९  इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सबै पवित्र दान+ मैले तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ यो यहोवा परमेश्‍वरसामु तिमी र तिम्रो सन्तानको लागि सधैँभरि रहिरहने नुनको करार* हो।” २०  यहोवा परमेश्‍वरले हारुनलाई अझै भन्‍नुभयो: “इस्राएलमा तिमीले कुनै पैतृक सम्पत्ति पाउनेछैनौ अनि जग्गाजमिनको कुनै हिस्सा पनि पाउनेछैनौ।+ इस्राएलीहरूमाझ तिम्रो हिस्सा र तिम्रो अंश म नै हुँ।+ २१  “भेट हुने पालमा सेवा गरेबापत मैले लेविका सन्तानलाई अंशस्वरूप इस्राएलमा सबै थोकको दशांश* दिएको छु।+ २२  अब उप्रान्त इस्राएलीहरू भेट हुने पालको नजिक नआऊन्‌ नत्र तिनीहरू पापको दोषी हुनेछन्‌ र मर्नेछन्‌। २३  लेवीहरूले नै भेट हुने पालमा सेवा गरून्‌ र मानिसहरूले पवित्र ठाउँसम्बन्धी नियम तोडेमा त्यसको दोषी लेवीहरू नै होऊन्‌।+ इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌।+ यो नियम तिनीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ। २४  इस्राएलका मानिसहरूले यहोवालाई दशांशस्वरूप चढाएका भेटीहरू मैले लेवीहरूलाई अंशस्वरूप दिएको छु। त्यसैले ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌’+ भनेर मैले तिनीहरूलाई भनेको छु।” २५  त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २६  “लेवीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्नो अंशस्वरूप दशांश पाउनेछौ+ अनि तिमीहरूले त्यसको दशांश यहोवा परमेश्‍वरलाई भेटीस्वरूप चढाउनू।+ २७  त्यस भेटीलाई तिमीहरूकै खलाको अन्‍न+ वा तिमीहरूकै कोलबाट निस्केको दाखमद्य वा तेलजस्तै ठानिनेछ। २८  यसरी इस्राएलीहरूबाट पाएको दशांशबाट तिमीहरूले पनि यहोवा परमेश्‍वरलाई भेटी चढाउन सक्नेछौ। अनि यहोवा परमेश्‍वरलाई चढाइएको त्यो भेटीचाहिँ पुजारी हारुनलाई दिनू। २९  तिमीहरूले पाएको उपहारमध्ये सर्वोत्तमचाहिँ पवित्र भेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउनू।’+ ३०  “तिमीले लेवीहरूलाई यसो पनि भन्‍नू, ‘तिमीहरूले सर्वोत्तम थोक चढाउँदा त्यसलाई तिमीहरूकै खलाको अन्‍न वा तिमीहरूकै कोलबाट निस्केको दाखमद्य वा तेलजस्तै ठानिनेछ। ३१  तिमी र तिम्रो घरानाले यसलाई जुनसुकै ठाउँमा खान सक्छौ किनकि यो तिमीहरूले भेट हुने पालमा सेवा गरेबापत पाएको ज्याला हो।+ ३२  तिमीहरूले आफूले पाएको भेटीबाट सर्वोत्तम थोक चढाएमा तिमीहरू पापको दोषी हुनेछैनौ। इस्राएलीहरूले चढाएको पवित्र भेटीलाई तिमीहरूले अशुद्ध नपार नत्र तिमीहरू मर्नेछौ।’”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शा., “कुनै पराई” अर्थात्‌ जो मानिस हारुनको परिवारको होइन।
शब्दावली हेर्नुहोस्‌।
अङ्‌गुरबाट बनेको रक्सी।
यसले ती सबै कुरालाई जनाउँछ, जुन फेरि फिर्ता लिन नसक्नेगरि र मोल तिरेर छुटाउन नमिल्नेगरि परमेश्‍वरको निम्ति अर्पण गरेर पवित्र तुल्याइन्थ्यो।
वा “पवित्र शेकेलअनुसार।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “शान्त पार्ने।”
अर्थात्‌, सधैँ रहने र कहिल्यै परिवर्तन नहुने करार।
शब्दावली हेर्नुहोस्‌।