गन्ती २२:१-४१

  • बालाक बालामलाई ज्यालामा बोलाउँछन्‌ (१-२१)

  • बालामको गधा बोल्छ (२२-४१)

२२  त्यसपछि इस्राएलीहरू त्यहाँबाट हिँडे र तिनीहरूले मोआबको मरुभूमिमा अर्थात्‌ यर्दन नदीको किनारामा पाल टाँगे। यर्दन नदीको पारिपट्टिचाहिँ यरिहो सहर थियो।+ २  इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए, त्यसबारे जिप्पोरका छोरा बालाकले सुनेका थिए।+ ३  अनि इस्राएलीहरूको सङ्‌ख्या धेरै भएकोले मोआबका मानिसहरू डराए; भनौँ भने तिनीहरू डरले मुर्छा परे।+ ४  त्यसैले मोआबका मानिसहरूले मिद्यानका नाइकेहरूलाई यसो भने:+ “गोरुले चउरको घाँस स्वाहा पारेझैँ यस समुदायले हाम्रो वरपरका ठाउँहरूलाई स्वाहा पार्नेछ।” त्यतिबेला जिप्पोरका छोरा बालाक मोआबका राजा थिए। ५  तिनले बेअरका छोरा बालामलाई बोलाउन आफ्ना सन्देशवाहकहरू पठाए।+ बालाम युफ्रेटिस नदीनजिकै आफ्नो जन्मथलो पेथोरमा बस्थे। राजा बालाकले उनलाई यस्तो सन्देश पठाए: “हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी* ढाकिसके।+ यिनीहरू अहिले मेरै अगाडि पाल टाँगेर बसिरहेका छन्‌। ६  यिनीहरू मभन्दा शक्‍तिशाली छन्‌। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्‌न सक्छु। मलाई थाह छ, तपाईँ ज-जसलाई आशिष्‌ दिनुहुन्छ, तिनीहरूलाई आशिष्‌ लाग्छ अनि ज-जसलाई सराप दिनुहुन्छ, तिनीहरूलाई सराप लाग्छ।” ७  त्यसैले मोआबका नाइकेहरू अनि मिद्यानका नाइकेहरू सराप दिएबापत* बालामलाई+ तिर्नुपर्ने रकम लिएर बालामकहाँ गए र उनलाई राजा बालाकको सन्देश सुनाए। ८  बालामले तिनीहरूलाई यसो भने: “आज राती यहीँ बस्नुहोस्‌। यहोवा परमेश्‍वरले मलाई के-के भन्‍नुहुन्छ, म तपाईँहरूलाई पछि बताउँछु।” त्यसैले मोआबबाट आएका मानिसहरू त्यो दिन बालामकहाँ नै बसे। ९  त्यसपछि परमेश्‍वर बालामकहाँ आउनुभयो र सोध्नुभयो:+ “तिमीसँगै बसेका यी मानिसहरू को हुन्‌?” १०  बालामले साँचो परमेश्‍वरलाई यस्तो जवाफ दिए: “यिनीहरूलाई जिप्पोरका छोरा, मोआबका राजा बालाकले पठाएका हुन्‌। यिनीहरूले मकहाँ यस्तो सन्देश ल्याएका छन्‌, ११  ‘हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी ढाक्न लागिसके। त्यसैले यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्‌न सक्छु।’” १२  तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो: “तिमी तिनीहरूसित कदापि नजानू। अनि ती मानिसहरूलाई नसराप्नू किनभने तिनीहरू मेरो आशिष्‌ पाएका मानिसहरू हुन्‌।”+ १३  बिहान उठेर बालामले मोआबबाट आएका बालाकका भारदारहरूलाई यसो भने: “तपाईँहरू फर्कनुभए हुन्छ। यहोवा परमेश्‍वरले मलाई तपाईँहरूसित नजानू भन्‍नुभयो।” १४  त्यसैले मोआबका भारदारहरू फर्के र राजा बालाकलाई यस्तो खबर सुनाए: “बालाम हामीसित आउन मानेनन्‌।” १५  तर राजा बालाकले पहिलेभन्दा पनि धेरै अनि अझै उच्च दर्जाका भारदारहरू बालामकहाँ पठाए। १६  तिनीहरूले बालामकहाँ आएर यसो भने: “जिप्पोरका छोरा बालाकले यसो भन्‍नुभएको छ, ‘कृपया जसरी भए पनि आउनुहोस्‌। तपाईँलाई कुनै कुराले नअल्झाओस्‌। १७  म तपाईँलाई ठूलो इनाम दिएर सम्मान गर्नेछु। तपाईँ जे भन्‍नुहुन्छ, म त्यही गर्नेछु। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।’” १८  तर बालामले बालाकका ती सेवकहरूलाई यसो भने: “राजाले मलाई सुनचाँदीले भरिएको आफ्नो महल नै दिनुभए पनि मेरा परमेश्‍वर यहोवाले नगर्नू भन्‍नुभएको कुरा म गर्न सक्दिनँ, चाहे त्यो सानो होस्‌ या ठूलो।+ १९  तर आज राती कृपया तपाईँहरू यहीँ बस्नुहोस्‌। यहोवा परमेश्‍वरले के भन्‍नुहुन्छ, म हेर्छु।”+ २०  त्यसपछि परमेश्‍वर राती बालामकहाँ आउनुभयो र भन्‍नुभयो: “यी मानिसहरू तिमीलाई बोलाउन आएका हुन्‌ भने तिनीहरूसँगै जाऊ। तर म जे भन्छु, ती कुराहरू मात्र बोल।”+ २१  त्यसैले बालाम भोलिपल्ट बिहान उठे र गधामा* काठी कसेर मोआबबाट आएका ती भारदारहरूसँगै गए।+ २२  तर बालाम ती मानिसहरूसित गएकोले यहोवा परमेश्‍वरको क्रोध दन्क्यो अनि उहाँका एक जना स्वर्गदूत आएर उनको बाटो छेके। बालाम आफ्नो गधामाथि थिए अनि उनका दुई जना सहयोगी पनि उनीसँगै थिए। २३  यहोवा परमेश्‍वरको स्वर्गदूत हातमा तरबार लिएर बाटोमा उभिरहेको देखेपछि गधा खेततिर भाग्न खोज्यो। तर फेरि बाटोमा फर्काउन बालामले त्यसलाई पिट्‌न थाले। २४  त्यसपछि यहोवा परमेश्‍वरको स्वर्गदूत दुई वटा अङ्‌गुर बगानको बीचमा भएको साँघुरो बाटोमा गएर उभिए। त्यस बाटोको दुवैतिर ढुङ्‌गाको पर्खाल थियो। २५  यहोवा परमेश्‍वरको स्वर्गदूतलाई देखेपछि गधा पर्खालमा ढेसिन थाल्यो अनि बालामको खुट्टा पर्खालमा चेपियो। त्यसैले बालामले गधालाई फेरि पिट्‌न थाले। २६  त्यसपछि यहोवा परमेश्‍वरको स्वर्गदूत अलि अगाडि बढे र दायाँबायाँ फर्कन नमिल्ने साँघुरो ठाउँमा गएर उभिए। २७  यहोवा परमेश्‍वरको स्वर्गदूतलाई देखेपछि यस पटक भने त्यो गधा थचक्क बस्यो। त्यसैले बालाम रिसले चूर भए र गधालाई फेरि लौरोले पिट्‌न थाले। २८  आखिरमा यहोवा परमेश्‍वरले त्यो गधालाई बोल्न लगाउनुभयो।+ त्यसले बालामलाई भन्यो: “मैले तपाईँको के बिगारेको छु र मलाई यसरी तीन-तीन चोटि पिट्‌नुहुन्छ?”+ २९  बालामले गधालाई भने: “तैँले मेरो खिल्ली उडाइस्‌। मेरो हातमा तरबार भएको भए तँलाई टुक्राटुक्रा पारिदिन्थेँ!” ३०  त्यसपछि गधाले बालामलाई भन्यो: “आजको दिनसम्म तपाईँलाई बोकेर हिँड्‌ने गधा म नै होइनँ र? यसभन्दा अघि मैले कहिल्यै यस्तो गरेको थिएँ र?” बालामले भने: “अहँ, थिइनस्‌।” ३१  त्यसपछि यहोवा परमेश्‍वरले बालामको आँखा खोलिदिनुभयो।+ अनि तिनले यहोवा परमेश्‍वरको स्वर्गदूत हातमा तरबार लिएर बाटोमा उभिरहेको देखे। स्वर्गदूतलाई देख्नेबित्तिकै तिनी शिर निहुराएर घोप्टो परे। ३२  यहोवा परमेश्‍वरको स्वर्गदूतले बालामलाई भने: “यो गधालाई किन तीन-तीन चोटि हिर्कायौ? हेर, तिमीलाई रोक्ने त म हुँ! किनकि तिमी मेरो इच्छाविपरीत काम गर्न जाँदै छौ।+ ३३  यो गधा मलाई देखेर अहिलेसम्म तीन चोटि तर्क्यो+ र तिमी बाँच्यौ। नत्र त म तिमीलाई मारिसक्थेँ अनि तिम्रो गधालाई चाहिँ जिउँदै छोड्‌थेँ।” ३४  बालामले यहोवाका स्वर्गदूतलाई यसो भने: “मैले पाप गरेँ। तपाईँ मलाई भेट्‌न बाटोमा उभिरहनुभएको छ भनेर मलाई थाहै भएन। मैले गर्न लागेको काम तपाईँलाई ठीक लाग्दैन भने म यहीँबाट फर्कन्छु।” ३५  तर यहोवाका स्वर्गदूतले बालामलाई भने: “तिमी यी मानिसहरूसित जान त जाऊ तर म जे भन्छु, त्यही मात्र बोल।” त्यसपछि बालाम बालाकका भारदारहरूसित गए। ३६  बालाम आएको सुन्‍नेबित्तिकै बालाक उनलाई भेट्‌न मोआबको त्यस सहरमा गए, जुन मोआबको सिमानामा भएको अर्नोन नदीको किनारामा पर्थ्यो। ३७  बालाकले बालामलाई भने: “मैले पहिला बोलाउन पठाउँदाखेरि किन नआउनुभएको? मैले तपाईँलाई इनाम दिएर सम्मान गर्न सक्दिनँ जस्तो लाग्यो कि कसो?”+ ३८  बालामले भने: “हेर्नुहोस्‌, म तपाईँकहाँ आएको छु तर म आफ्नो इच्छाले केही बोल्न सक्दिनँ। परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, म त्यही मात्र बोल्न सक्छु।”+ ३९  त्यसपछि बालाम बालाकसितै गए अनि तिनीहरू किर्यथ-हुजोथ भन्‍ने ठाउँमा आइपुगे। ४०  त्यहाँ बालाकले बहरहरू र भेडाहरूको बलि चढाए अनि केही भाग बालामलाई र केहीचाहिँ बालामलाई लिन गएका भारदारहरूलाई दिए। ४१  भोलिपल्ट बिहान बालाक बालामलाई लिएर बामोथ-बाआलतिर उक्ले। त्यहाँबाट इस्राएलीहरूको पूरै समुदायलाई देख्न सकिन्थ्यो।+

फुटनोटहरू

वा “देश।”
वा “जोखना हेरेबापत।”
शा., “गधैनीमा।”