गन्ती २३:१-३०
२३ त्यसपछि बालामले बालाकलाई यसो भने: “यहाँ सात वटा वेदी बनाउनुहोस्+ अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्।”
२ बालाकले तुरुन्तै बालामले भनेझैँ गरे। त्यसपछि बालाक र बालाम दुवै मिलेर प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।+
३ अनि बालामले बालाकलाई यसो भने: “तपाईँ यहीँ अग्निभेटी अगाडि बस्दै गर्नुहोस्। मचाहिँ एकछिनमा आउँछु। सायद यहोवा परमेश्वर मकहाँ आउनुहुनेछ र मलाई केही भन्नुहुनेछ। उहाँले मलाई जे-जे भन्नुहुन्छ, आएर तपाईँलाई सुनाउँछु।” त्यसपछि बालाम एउटा उजाड डाँडामाथि उक्ले।
४ अनि परमेश्वर बालामकहाँ देखा पर्नुभयो+ र बालामले उहाँलाई यसो भने: “मैले लहरै सात वटा वेदी खडा गरेँ र प्रत्येकमा एक-एक वटा बहर र थुमा चढाएँ।”
५ तब यहोवा परमेश्वरले बालामको मुखमा एउटा सन्देश हालिदिनुभयो+ र यसो भन्नुभयो: “बालाककहाँ गएर यो सन्देश सुनाऊ।”
६ त्यसैले बालाम त्यहाँबाट फर्के। त्यतिबेला बालाक र मोआबका भारदारहरू अग्निभेटीअगाडि उभिरहेका थिए।
७ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+
“मोआबका राजा बालाकले मलाई अरामदेखि बोलाए,+पूर्वका डाँडाहरूदेखि ल्याएर तिनले मलाई भने:
‘आउनुहोस् र याकुबलाई सराप दिनुहोस्।
यहाँ आएर इस्राएलविरुद्ध बोल्नुहोस्।’+
८ जसलाई यहोवा परमेश्वरले सराप्नुभएको छैन, तिनीहरूलाई मैले कसरी सराप्ने?
जसलाई उहाँले विरोध गर्नुभएको छैन, तिनीहरूविरुद्ध मैले कसरी बोल्ने?+
९ चट्टानमाथिबाट मैले तिनीहरूलाई हेरेँ,डाँडाहरूबाट मैले तिनीहरूलाई नियालेँ,
तिनीहरूको समुदाय अलग्गै बस्छ;+तिनीहरू आफूलाई अरू जातिहरूसित गन्दैनन्।+
१० धुलोसरि अनगिन्ती याकुबका सन्तानलाई कसले गन्न सक्छ र?+इस्राएलको एक चौथाइ भागलाई समेत कसले गन्ती गर्न सक्छ र?
मेरो मृत्यु इमानदार मानिसहरूको जस्तो होस्,मेरो अन्त्य पनि तिनीहरूको जस्तै होस्।”
११ यो सुनेर बालाकले बालामलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएको थिएँ। तर तपाईँले त उल्टै तिनीहरूलाई आशिष् पो दिनुभयो।”+
१२ बालामले यस्तो जवाफ दिए: “यहोवा परमेश्वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, मैले त्यही बोल्नुपरेन र?”+
१३ तब बालाकले बालामलाई भने: “कृपया आउनुहोस्, अब अर्को ठाउँमा जाऔँ। त्यहाँबाट तिनीहरू सबैलाई त देख्न सकिँदैन तर केहीलाई भने देख्न सकिन्छ। त्यहीँबाट तिनीहरूलाई सराप दिनुहोस्।”+
१४ त्यसैले बालाकले बालामलाई पिस्गाहको टाकुरामा+ भएको जोफिमको मैदानमा लगे। त्यहाँ तिनले सात वटा वेदी बनाए र प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।+
१५ अनि बालामले बालाकलाई भने: “म त्यहाँ परमेश्वरसित कुरा गरेर आउँछु। तपाईँ यहीँ अग्निभेटीअगाडि बस्दै गर्नुहोस्।”
१६ तब यहोवा परमेश्वर बालामकहाँ देखा पर्नुभयो अनि उनको मुखमा एउटा सन्देश हालिदिनुभयो+ र यसो भन्नुभयो: “बालाककहाँ गएर यो सन्देश सुनाऊ।”
१७ त्यसैले बालाम फर्केर बालाककहाँ आए। बालाक र मोआबका भारदारहरू अग्निभेटीअगाडि उनलाई नै पर्खिरहेका थिए। बालाकले बालामलाई सोधे: “यहोवाले के भन्नुभयो त?”
१८ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+
“उठ बालाक, मेरो कुरा सुन।
हे जिप्पोरका छोरा, मेरो कुरामा ध्यान देऊ।
१९ परमेश्वर झूट बोल्नुहुन्न किनकि उहाँ मानिस हुनुहुन्न,+उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्न।+
उहाँले भनेपछि के त्यो गर्नुहुन्न र?
उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्न र?+
२० हेर्नुहोस्, मलाई त परमेश्वरले आशिष् दिन अह्राउनुभएको छ;उहाँले आशिष् दिइसक्नुभयो;+ म त्यो कसरी उल्टाउन सक्छु र?+
२१ याकुबलाई कसैले टुनामुना गरेको परमेश्वर सहन सक्नुहुन्नअनि उहाँ इस्राएलविरुद्ध कुनै विपत्ति आइपर्न दिनुहुन्न।
यहोवा तिनीहरूका परमेश्वर तिनीहरूसित हुनुहुन्छ,+तिनीहरू उहाँलाई आफ्नो राजा मानेर उहाँको जयजयकार गर्छन्।
२२ परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ।+
उहाँ तिनीहरूका लागि जङ्गली साँढेको सिङसरह हुनुहुन्छ।+
२३ कुनै अपशकुनले याकुबलाई छुन सक्दैन,+कुनै तन्त्रमन्त्रले इस्राएललाई छुन सक्दैन।+
अब याकुब र इस्राएलबारे यसो भनिनेछ:
‘हेर त, परमेश्वरले कत्ति ठूलो काम गर्नुभएको छ!’
२४ यी मानिसहरू सिंहझैँ खडा हुन्छन्,सिंहझैँ तिनीहरू जुरुक्क उठ्छन्।+
आफ्नो सिकार नखाएसम्म तिनीहरू पल्टँदैनन्सिकारको रगत नपिएसम्म ढल्कँदैनन्।”
२५ त्यसपछि बालाकले बालामलाई भने: “तपाईँ तिनीहरूलाई सराप दिन सक्नुहुन्न भने नदिनुहोस् तर तिनीहरूलाई आशिष् पनि नदिनुहोस्।”
२६ बालामले बालाकलाई यस्तो जवाफ दिए: “‘यहोवा परमेश्वरले जे भन्नुहुन्छ, मैले त्यही गर्नुपर्छ’ भनेर तपाईँलाई पहिल्यै भनेको थिइनँ र?”+
२७ बालाकले बालामलाई भने: “कृपया मसँगै आउनुहोस्, म तपाईँलाई अर्को एउटा ठाउँमा लैजान्छु। साँचो परमेश्वरले तपाईँलाई त्यहाँबाट चाहिँ तिनीहरूलाई सराप्ने अनुमति दिनुहुन्छ कि?”+
२८ त्यसैले बालाकले बालामलाई पोअर डाँडाको टाकुरामा लगे, जहाँबाट यसिमोन* देख्न सकिन्छ।+
२९ अनि बालामले बालाकलाई भने: “यहाँ सात वटा वेदी बनाउनुहोस् अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्।”+
३० बालाकले बालामले भनेझैँ गरे। तिनले प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।