गन्ती ५:१-३१
५ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो:
२ “कुष्ठरोग लागेको हरेक मानिस,+ धातु बगेको हरेक व्यक्ति+ र लास छोएर अशुद्ध भएको हरेक व्यक्तिलाई+ छाउनी बाहिर राख्नू भनेर इस्राएलीहरूलाई आज्ञा देऊ।
३ पुरुष होस् या स्त्री, तिनीहरूलाई छाउनी बाहिर राख्नू। म तिमीहरूमाझ बास गर्ने भएकोले+ त्यस्ता व्यक्तिहरूले छाउनीलाई अशुद्ध नपारून्+ भनेर तिनीहरूलाई छाउनीबाहिर लैजानू।”
४ इस्राएलीहरूले त्यसै गरे र तिनीहरूलाई छाउनीबाट बाहिर लगे। यहोवा परमेश्वरले मोसालाई भन्नुभएबमोजिमै इस्राएलीहरूले गरे।
५ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो:
६ “इस्राएलीहरूलाई भन, ‘सङ्गी मानवविरुद्ध पाप गरेर कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्वरलाई विश्वासघात गऱ्यो भने ऊ दोषी ठहरिनेछ।+
७ उसले* आफ्नो पाप स्विकारोस्+ अनि आफूले* गरेको अपराधको पूरा क्षतिपूर्ति तिरोस् र त्यसको पाँच भागको एक भाग पनि देओस्;+ उसले जसको विरुद्धमा पाप गरेको हो, उसैलाई त्यो रकम तिरोस्।
८ तर त्यो व्यक्ति मऱ्यो र क्षतिपूर्ति बुझ्ने उसको नजिकको आफन्त कोही छैन भने दोषीले त्यो रकम यहोवा परमेश्वरलाई बुझाओस् र त्यो पुजारीको भाग हुनेछ। साथै उसले प्रायश्चितको लागि जुन थुमा अर्पण गर्न ल्याउँछ, त्यसमाथि पनि पुजारीकै हक लाग्नेछ।+
९ “‘इस्राएलीहरूले पुजारीलाई दान गरेको सबै पवित्र थोक+ पुजारीकै हुनेछ।+
१० हरेक मानिसले पुजारीलाई दिन छुट्ट्याएको पवित्र थोक पुजारीकै हुनेछ। उसले जे-जति थोक पुजारीलाई दिन्छ, त्यो पुजारीकै हुनेछ।’”
११ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो:
१२ “इस्राएलीहरूलाई भन, ‘यदि कसैकी पत्नी बरालिई र उसले आफ्नो पतिलाई विश्वासघात गरी
१३ र परपुरुषले ऊसित यौनसम्बन्ध राख्यो+ तर यो कुरा उसको पतिलाई थाह भएन र गोप्य रह्यो अनि उसले आफूलाई बिटुलो पारेकी भए तापनि उसको विरुद्धमा साक्षी दिने कोही छैन र ऊ पक्राउ परेकी छैन भने यसो गर्नू:
१४ आफ्नी पत्नी बिटुलिएकोले पतिले डाह र शङ्का गरेको होस् अथवा पत्नी नबिटुलिए तापनि पतिले डाह र शङ्का गरेको होस्,
१५ पतिले आफ्नी पत्नीलाई पुजारीकहाँ ल्याओस् र एक एपा* जौको पीठोको दस भागको एक भाग पनि सँगै ल्याओस्, जुन उसकी पत्नीको खातिर चढाइने भेटी हो। उसले पीठोमा तेल वा सेतो धूप* नमिसाओस् किनभने यो डाहको मामिलामा चढाइने अन्नभेटी हो; यो अन्नभेटीले पापको सम्झना गराउनेछ।
१६ “‘पुजारीले त्यस स्त्रीलाई ल्याएर यहोवा परमेश्वरसामु उभ्याऊन्।+
१७ पुजारीले माटोको भाँडोमा शुद्ध पानी लेऊन् अनि वासस्थानको* भुईँबाट अलिकता माटो लिएर त्यो पानीमा हालून्।
१८ पुजारीले त्यस स्त्रीलाई यहोवा परमेश्वरसामु खडा गराऊन् र उसको केश फुकाइदिएर उसको हातमा सम्झनास्वरूप अन्नभेटी अर्थात् डाहको मामिलामा चढाइने अन्नभेटी राखिदेऊन्।+ पुजारीको हातमा भने सराप ल्याउने तीतो पानी होस्।+
१९ “‘त्यस स्त्रीलाई कसम खान लगाउन पुजारीले यसो भनून्: “यदि तिमीले आफ्नो पतिको अधीनमा छँदा+ कुनै परपुरुषसित यौनसम्बन्ध राखेकी छैनौ अनि सही बाटोबाट तर्केकी छैनौ र आफूलाई बिटुलो पारेकी छैनौ भने सराप ल्याउने त्यो तीतो पानीको असरबाट तिमी मुक्त हुनेछ्यौ।
२० तर पति हुँदाहुँदै बरालिएर आफूलाई बिटुलो पारेकी छ्यौ र परपुरुषसित यौनसम्बन्ध राखेकी छ्यौ भने—”+
२१ तब त्यस स्त्रीलाई सरापको कसम खान लगाउन पुजारीले यसो भनून्: “यहोवा परमेश्वरले तिम्रो जाँघ* कुहिन* र पेट फुल्न दिएर यहोवाले तिमीलाई मानिसहरूमाझ सराप र धिक्कारको पात्र बनाऊन्।
२२ सराप ल्याउने त्यो पानी तिम्रो भुँडीमा पसेर तिम्रो पेट फुल्नेछ अनि तिम्रो जाँघ कुहिनेछ।” यो सुनेपछि त्यस स्त्रीले “आमिन! आमिन!” भनोस्।
२३ “‘तब पुजारीले ती सरापहरू पुस्तकमा लेखून् र त्यसलाई तीतो पानीले पखालून्।
२४ पुजारीले सराप ल्याउने तीतो पानी त्यस स्त्रीलाई पिउन लगाऊन् अनि त्यो पानी उसको शरीरमा पसेपछि उसले पीडा भोग्नेछे।
२५ अनि पुजारीले त्यस स्त्रीको हातमा भएको डाहको मामिलामा चढाइने अन्नभेटी लेऊन्+ र यहोवा परमेश्वरसामु डोलाऊन् अनि भेटीलाई वेदीनेर ल्याऊन्।
२६ एक मुठी अन्नभेटी लिएर पुजारीले त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप वेदीमा जलाऊन्;*+ त्यसपछि त्यस स्त्रीलाई तीतो पानी पिउन लगाऊन्।
२७ उसले आफूलाई बिटुलो पारेकी छे र आफ्नो पतिलाई विश्वासघात गरेकी छे भने पुजारीले सराप ल्याउने पानी पिउन दिएपछि उसलाई पीडा हुनेछ, उसको पेट फुल्नेछ, जाँघ कुहिनेछ। अनि मानिसहरूले सराप्नुपर्दा उसलाई सम्झँदै सराप्नेछन्।
२८ तर यदि उसले आफूलाई बिटुलो पारेकी छैन र ऊ चोखो छे भने यस्तो दुःखद परिणाम भोग्नुपर्नेछैन; उसले गर्भधारण गर्न र सन्तान जन्माउन सक्नेछे।
२९ “‘डाहसित सम्बन्धित नियम यो हो:+ आफ्नो पति हुँदाहुँदै कुनै स्त्रीले बरालिएर आफूलाई बिटुलो पारी
३० अथवा कुनै पुरुषले आफ्नी पत्नीले आफूलाई विश्वासघात गरेको शङ्का गर्छ वा डाह गर्छ भने उसले आफ्नी पत्नीलाई यहोवा परमेश्वरसामु खडा गराओस्। अनि पुजारीले यो नियमअनुसार त्यस स्त्रीलाई जे-जे गर्नुपर्ने हो, सो गरून्।
३१ तब त्यो पुरुष निर्दोष ठहरिनेछ तर पत्नी दोषी साबित भएमा उसले कुकर्मको परिणाम भोग्नेछे।’”
फुटनोटहरू
^ शा., “तिनीहरूले।”
^ शा., “तिनीहरूले।”
^ एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ यसले प्रजनन अङ्गहरूलाई जनाएको हुनुपर्छ।
^ यसले प्रजनन क्षमता गुमाउनुलाई जनाएको हुनुपर्छ।
^ शा., “माथिसम्म धुवाँ उठ्नेगरि जलाऊन्।”