जकरिया १०:१-१२
१० “वसन्तको झरीको बेला यहोवासित झरीको लागि बिन्ती गर।
कालो बादल बनाउनुहुने,
मानिसहरूको लागि पानी बर्साउनुहुने+
अनि सबैलाई खेतको उब्जनी दिनुहुने यहोवा नै हुनुहुन्छ।
२ कुलदेवताका मूर्तिहरूले* छली कुरा* गरेका छन्;
जोखना हेर्नेहरूले झूटो दर्शन* देखेका छन्।
तिनीहरू व्यर्थका सपनाहरूबारे कुरा गर्छन्
अनि तिनीहरू सान्त्वना दिन बेकारको प्रयास गर्छन्।
त्यसकारण मानिसहरू भेडाजस्तै भौँतारिनेछन्;
गोठालो नभएकोले तिनीहरूले दुःख पाउनेछन्।
३ गोठालाहरूविरुद्ध मेरो रिस दन्केको छ
अनि अत्याचारी अगुवाहरूको* म लेखा लिनेछु;
सेनाहरूका यहोवाले आफ्नो बगालतर्फ,+ यहुदाको घरानातर्फ फेरि ध्यान दिनुभएको छ,
उहाँले तिनीहरूलाई युद्धको शानदार घोडाजस्तै बनाउनुभएको छ।
४ त्यसबाट* एक जना नाइके* निस्किआउनेछ,
त्यसबाट एक जना मदत गर्ने शासक* निस्किआउनेछ,
त्यसबाट युद्धको धनु निस्कनेछ,
प्रत्येक निरीक्षक* त्यसैबाट आउनेछ; तिनीहरू
सबै एकसाथ निस्कनेछन्।
५ तिनीहरू योद्धाहरूजस्तै हुनेछन्,
तिनीहरू हिलो कुल्चँदै लडाइँमा अघि बढ्छन्।
तिनीहरूले युद्ध लड्नेछन् किनकि यहोवा तिनीहरूको साथमा हुनुहुन्छ।+
अनि शत्रुका घोडसवारहरूको बेइज्जत हुनेछ।+
६ म यहुदाको घरानालाई उच्च तुल्याउनेछु
अनि युसुफको घरानालाई बचाउनेछु।+
म तिनीहरूमाथि कृपा देखाउनेछु+
र तिनीहरूलाई पहिलेकै अवस्थामा फर्काउनेछु;
मैले तिनीहरूलाई कहिल्यै नत्यागेझैँ तिनीहरू हुनेछन्+
किनकि म यहोवा तिनीहरूका परमेश्वर हुँ र म तिनीहरूको बिन्ती सुन्नेछु।
७ एप्रैमका मानिसहरू शक्तिशाली योद्धाजस्तै हुनेछन्
अनि मद्य पिएको बेलामा झैँ तिनीहरूको मन हर्षित हुनेछ।+
तिनीहरूका छोराहरूले त्यो देख्नेछन् र खुसी हुनेछन्;
अनि यहोवालाई सम्झेर तिनीहरूको मन रमाउनेछ।+
८ ‘म सिटी बजाएर तिनीहरूलाई एकै ठाउँमा भेला गर्नेछु।
म तिनीहरूलाई छुटाउनेछु+ र तिनीहरूको सङ्ख्या बढ्नेछ,
तिनीहरू निरन्तर बढिरहनेछन्।
९ मैले तिनीहरूलाई बिउझैँ जातिजातिमाझ छरेँ,
तैपनि टाढा-टाढाको देशबाट तिनीहरूले मलाई सम्झनेछन्;
तिनीहरू नयाँ जोसले भरिनेछन् र आफ्ना छोराहरूसितै फर्केर आउनेछन्।
१० म मिश्रबाट* तिनीहरूलाई फर्काएर ल्याउनेछु
अनि अस्सेरियाबाट तिनीहरूलाई भेला पार्नेछु;+
म तिनीहरूलाई गिलाद+ र लेबनानमा ल्याउनेछु,
ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।+
११ समुद्रले तिनीहरूको बाटो छेक्दा
म त्यहाँबाट जानेछु र त्यसको छाललाई हिर्काउनेछु;+
नाइल नदीले तिनीहरूलाई रोक्दा
म त्यसको पानीलाई सुकाइदिनेछु।
अस्सेरियाको घमन्ड तोडिनेछ।
अनि मिश्रको राजदण्ड त्यसबाट खोसिनेछ।+
१२ म यहोवाले नै तिनीहरूलाई उच्च तुल्याउनेछु+
अनि तिनीहरू मेरो नाममा हिँड्नेछन्,’+ यहोवा घोषणा गर्नुहुन्छ।”
फुटनोटहरू
^ हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्।
^ वा “टुनामुना; रहस्यमय कुरा।”
^ शा., “बाख्राहरूको।”
^ अर्थात्, यहुदाको घरानाबाट।
^ शा., “कुनाको धरहरा,” यसले मुख्य वा खास व्यक्तिलाई चित्रण गर्छ; मुखिया।
^ शा., “किला,” यसले सहयोग गर्ने व्यक्तिलाई चित्रण गर्छ; शासक।
^ वा “ठेकेदार।”
^ वा “इजिप्टबाट।”