जकरिया ६:१-१५
६ मैले फेरि माथि हेरेँ र के देखेँ भने, दुई वटा पहाडको बीचबाट चार वटा रथहरू आइरहेका थिए र ती पहाडहरू तामाका थिए।
२ पहिलो रथमा राता घोडाहरू थिए अनि दोस्रो रथमा काला घोडाहरू थिए।+
३ तेस्रो रथमा सेता घोडाहरू थिए अनि चौथो रथमा चाहिँ छिर्केमिर्के र थोप्ले घोडाहरू थिए।+
४ मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले सोधेँ: “हे मेरा प्रभु, यी के हुन्?”
५ स्वर्गदूतले मलाई जवाफ दिए: “यी स्वर्गका चार शक्तिहरू हुन्;+ यिनीहरू सारा पृथ्वीका मालिकसामु उपस्थित भएर निस्केका हुन्।+
६ काला घोडाहरू भएको रथ उत्तरको देशतिर जाँदै छ,+ सेता घोडाहरू समुद्रपारि जाँदै छन् अनि छिर्केमिर्के घोडाहरू दक्षिणको देशतिर जाँदै छन्।
७ अनि थोप्ले घोडाहरू पृथ्वीको फन्को मार्नलाई आतुर छन्।” तब तिनले यसो भने: “जाओ, पृथ्वीको फन्को मार।” अनि तिनीहरू पृथ्वीको फन्को मार्न निस्किए।
८ तब तिनले मलाई बोलाए र यसो भने: “हेर, उत्तरको देशतिर गएका घोडाहरूले गर्दा त्यस ठाउँमाथिको यहोवा परमेश्वरको क्रोध शान्त भएको छ।”
९ फेरि यहोवा परमेश्वरको यो वचन मकहाँ आयो:
१० “हेल्दै, तोबियाह र यदायाहले निर्वासनबाट ल्याएका कुराहरू तिनीहरूबाट लेऊ, जुन तिनीहरूले निर्वासनमा गएका मानिसहरूबाट ल्याएका थिए। अनि बेबिलोनबाट आएका यी मानिसहरूसित तिमी त्यही दिन सपन्याहका छोरा योसियाहको घरमा जाऊ।
११ तिमीले सुन र चाँदी लिनू अनि त्यसबाट एउटा मुकुट* बनाउनू र यहोजादाकका छोरा प्रधानपुजारी यहोसुको+ शिरमा त्यो पहिराइदिनू।
१२ अनि तिनलाई यसो भन्नू,
“‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “टुसा नामको मानिस यिनै हुन्।+ तिनी आफ्नै ठाउँबाट अङ्कुराउनेछन् र तिनले यहोवा परमेश्वरको मन्दिर निर्माण गर्नेछन्।+
१३ तिनले नै यहोवा परमेश्वरको मन्दिर बनाउनेछन् र तिनले नै गौरव पाउनेछन्। तिनले आफ्नो सिंहासनमा बसेर शासन गर्नेछन् र तिनी पुजारी पनि हुनेछन्+ अनि यी दुईबीच* शान्ति कायम रहनेछ।
१४ अनि त्यो मुकुट* यहोवा परमेश्वरको मन्दिरमा हेलेम, तोबियाह, यदायाह+ र सपन्याहका छोरा हेनको सम्झनाको चिनो* हुनेछ।
१५ अनि टाढा-टाढा रहेकाहरू आउनेछन् र यहोवा परमेश्वरको मन्दिर निर्माण गर्न सघाउनेछन्।” यो कुरा अवश्य पूरा हुनेछ। अनि तिमीहरूले यहोवा आफ्ना परमेश्वरको स्वर सुन्न छोडेनौ भने सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनेर तिमीहरूले जान्नेछौ।’”
फुटनोटहरू
^ वा “भव्य मुकुट।”
^ अर्थात्, राजा र पुजारीको रूपमा तिनले खेल्ने दोहोरो भूमिकाबीच।
^ वा “भव्य मुकुट।”
^ वा “सम्झना।”