नहुम ३:१-१९

  • “धिक्कार छ! रक्‍तपातले भरिएको त्यस सहरलाई!” (१-१९)

    • निनवेले सजाय पाउनुका कारणहरू (१-७)

    • निनवेको पतन नो-आमोनको जस्तै हुनेछ (८-१२)

    • निनवेको विनाश निश्‍चित छ (१३-१९)

३  धिक्कार छ! रक्‍तपातले भरिएको त्यस सहरलाई! त्यो छल र लुटले भरिएको छ। त्यसले सिकार गर्न कहिल्यै छोड्‌दैन!  २  कोर्राको स्वाँटस्वाँट आवाज र पाङ्‌ग्राको घडघड आवाज अनि वेगले कुदिरहेका घोडाहरूको आवाज र रथको गडगडाहट सुनिन्छ।  ३  घोडचढीहरू आइरहेका छन्‌, तरबार टल्किरहेको छ र भाला चमचम चम्किरहेको छ, काटिएका मानिसहरूको थुप्रो छ र लासहरूको गन्ती नै छैन; जताततै लास नै लास देखिन्छ। तिनीहरू जहाँ गए पनि लासमा अल्झिन्छन्‌।  ४  यी सबै त्यस वेश्‍याको वेश्‍यावृत्तिले गर्दा भएको हो। सुन्दर र आकर्षक त्यो स्त्री टुनामुना गर्न खप्पिस छे। त्यसले राष्ट्रहरूलाई आफ्नो वेश्‍यावृत्तिले र परिवारहरूलाई टुनामुनाले पासोमा पार्छे।  ५  सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, “हेर्‌! म तेरो* विरुद्धमा छु।+ म तेरो जामा तेरो अनुहारसम्म उठाइदिनेछु अनि राष्ट्रहरूले तेरो नग्नता देख्नेछन्‌; राज्यहरूले तेरो बेइज्जती देख्नेछन्‌।  ६  अनि म तँमाथि डुङडुङती गन्हाउने फोहोर फ्याँक्नेछु; तँलाई घृणित तुल्याउनेछु; तँ मानिसहरूको अगाडि तमासा हुनेछेस्‌।+  ७  तँलाई देख्ने सबै तँबाट भाग्नेछन्‌+ र यसो भन्‍नेछन्‌, ‘निनवे ध्वस्त भएको छ! त्यसको लागि कसले बिलौना गर्ला र?’ तँलाई सान्त्वना दिनेहरू म कहाँ भेट्टाऊँ?  ८  तँ नाइलका नहरहरूको+ छेउमा भएको नो-आमोनभन्दा*+ असल छेस्‌ र? त्यसको चारैतिर पानी थियो; त्यसको सम्पत्ति समुद्र थियो र समुद्रले त्यसको रक्षा गर्थ्यो।  ९  इथियोपिया र मिश्र* त्यसको अथाह शक्‍तिको स्रोत थियो। अनि पत+ र लिबिया त्यसका* सहायक थिए।+ १०  तर त्यो पनि निर्वासित भई; त्यसलाई कैदी बनाएर लगियो।+ त्यसका सन्तानलाई चोक-चोकमा पछारी-पछारी मारियो। त्यसका इज्जतदार मानिसहरूमाथि गोला हालियो अनि त्यसका सबै ठूलाबडा मानिसलाई साङ्‌लाले बाँधियो। ११  अनि तँ पिएर मात्तिने पनि छेस्‌;+ तँ लुक्नेछेस्‌, शत्रुबाट बच्न शरण खोज्नेछेस्‌। १२  तेरा सबै किल्ला अन्जिरका त्यस्ता रूखहरूजस्तै छन्‌, जसमा पहिलो फल पाकेको छ; ती रूखहरूलाई हल्लाइयो भने खाने मानिसहरूको मुखैमा ती फलहरू पर्छन्‌। १३  हेर्‌! तेरा सिपाहीहरू स्त्रीहरूजस्ता छन्‌। तेरो भूमिका ढोकाहरू तेरा शत्रुहरूका लागि खुला रहनेछन्‌। तेरा ढोकाहरूका गजबारहरूलाई आगोले भस्म गर्नेछ। १४  पानी भर्‌ र घेराबन्दीको लागि तयार हो!+ तेरा किल्लाहरू बलिया बना। हिलोमा जा र माटोलाई कुल्चीमिल्ची गर्‌ अनि इँटा बनाउने साँचो उठा। १५  त्यहाँ पनि तँलाई आगोले भस्म गर्नेछ। तरबारले तँलाई काट्‌नेछ।+ सलहको बच्चाले जस्तै त्यसले तँलाई सखाप पार्नेछ।+ सलहको बच्चाजस्तै तेरा योद्धाहरूको सङ्‌ख्या बढा! हो! आफूलाई सलहजस्तै अनगिन्ती बना! १६  तैँले तेरा व्यापारीहरूको सङ्‌ख्या आकाशका ताराहरूभन्दा धेरै बढाइस्‌। सलहको बच्चाले आफ्नो खोल छोड्‌छ र उडेर जान्छ। १७  तेरा पहरेदारहरू सलहजस्ता छन्‌ अनि तेरा अधिकारीहरू सलहको बथानजस्ता छन्‌। तिनीहरू जाडो हुँदा ढुङ्‌गाका चेपहरूमा लुक्छन्‌ तर घाम लागेपछि उडेर जान्छन्‌ अनि तिनीहरू कहाँ गए, कसैलाई पत्तो हुँदैन। १८  ए अस्सेरियाका राजा, तेरा गोठालाहरू निद्राले लट्ठिएका छन्‌; तेरा प्रतिष्ठित मानिसहरू आ-आफ्नै घरमा रहन्छन्‌। तेरा मानिसहरू डाँडाकाँडामा तितरबितर भएका छन्‌; तिनीहरूलाई जम्मा गर्ने त्यहाँ कोही छैन।+ १९  तैँले भोग्ने विपत्‌बाट तैँले राहत पाउनेछैनस्‌, तेरो घाउ कहिल्यै निको हुनेछैन। तेरो बारेमा सुन्‍ने सबैले ताली बजाउनेछन्‌+ किनकि तेरो हातबाट निरन्तर अत्याचार नभोग्ने को छ र?”+

फुटनोटहरू

अर्थात्‌, निनवेको।
अर्थात्‌, थेबेसभन्दा।
वा “इजिप्ट।”
शा., “तेरा।”