युहन्नालाई प्रकाश ११:१-१९
११ अनि मलाई नर्कटको एउटा टाँगो*+ दिइयो र यसो भनियो: “उठ, परमेश्वरको मन्दिर, वेदी अनि त्यहाँ उपासना गर्नेहरूको नाप लेऊ।
२ तर मन्दिरबाहिरको चोकलाई भने छोड, त्यसलाई ननाप किनभने त्यो अन्यजातिका मानिसहरूलाई दिइएको छ र तिनीहरूले पवित्र सहरलाई+ ४२ महिनासम्म आफ्नो खुट्टामुनि कुल्चीमिल्ची गर्नेछन्।+
३ म आफ्ना दुई जना साक्षीलाई १ हजार २ सय ६० दिनसम्म भाङ्ग्रा ओढेर भविष्यवाणी गर्न लगाउनेछु।”
४ यी दुई साक्षीलाई जैतुनका दुई वटा रूख अनि दुई वटा पानसले सङ्केत गर्छ+ र तिनीहरू पृथ्वीका मालिकको अगाडि उभिरहेका छन्।+
५ कसैले तिनीहरूलाई हानि पुऱ्याउन खोजेमा तिनीहरूको मुखबाट आगो निस्कन्छ र तिनीहरूका शत्रुहरूलाई भस्म गर्छ। यदि कसैले तिनीहरूलाई हानि पुऱ्याउन खोजेमा उसलाई यसरी नै मारिनेछ।
६ आफूले भविष्यवाणी गरिरहेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई बन्द गर्ने अख्तियार तिनीहरूसित छ+ अनि पानीलाई रगत बनाउने+ र आफूलाई जति मन लाग्छ उति खेप पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने अख्तियार पनि तिनीहरूसित छ।
७ तिनीहरूले साक्षी दिने काम सिद्ध्याएपछि अगाध खाडलबाट निस्केर आउने जङ्गली जनावरले तिनीहरूसित युद्ध गर्नेछ र तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई मार्नेछ।+
८ अनि तिनीहरूको लास त्यस ठूलो सहरको मूलबाटोमा त्यत्तिकै छोडिनेछ, जुन सहरलाई प्रतीकात्मक अर्थमा सदोम र मिश्र* भनिन्छ, जहाँ तिनीहरूका प्रभुलाई पनि खम्बामा मारिएको थियो।
९ तब जातिजाति, कुलकुल, भाषाभाषा र राष्ट्रराष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म तिनीहरूको लास हेर्नेछन्+ तर तिनीहरूको लासलाई चिहानमा राख्न भने दिनेछैनन्।
१० अनि तिनीहरूको मृत्यु भएकोमा पृथ्वीमा बास गर्नेहरू रमाउनेछन्, खुसीयाली मनाउनेछन् र उपहार आदानप्रदान गर्नेछन् किनकि ती दुई भविष्यवक्ताले पृथ्वीमा बास गर्नेहरूलाई सास्ती दिएका थिए।
११ साढे तीन दिनपछि परमेश्वरले दिनुहुने जीवनशक्ति तिनीहरूभित्र पस्यो+ र तिनीहरू आफ्नो खुट्टामा उभिए अनि ज-जसले तिनीहरूलाई देखे, तिनीहरूमा ठूलो डर छायो।
१२ अनि स्वर्गबाट आएको एउटा चर्को आवाजले आफूलाई यसो भनिरहेको तिनीहरूले सुने: “यहाँ माथि आओ।” त्यसपछि तिनीहरू बादलमा माथि आकाशतिर गए र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई देखे।*
१३ तब उत्तिखेरै ठूलो भूकम्प गयो र त्यस सहरको दस भागको एक भाग नष्ट भयो; त्यो भूकम्पले गर्दा ७ हजार मानिस मरे। बाँकीचाहिँ डराए अनि स्वर्गका परमेश्वरलाई महिमा दिए।
१४ दोस्रो विपत्ति+ गइसक्यो। हेर! तेस्रो विपत्ति छिट्टै आउँदै छ।
१५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+
१६ तब परमेश्वरको अगाडि आ-आफ्नो सिंहासनमा बसिरहेका २४ जना एल्डर+ घोप्टो परे अनि परमेश्वरको उपासना गर्दै
१७ यसो भने: “हे सर्वशक्तिमान् परमेश्वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+
१८ तर राष्ट्रहरू क्रोधित भए अनि तपाईँले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईँका दासहरू अर्थात् भविष्यवक्ताहरूका साथै+ पवित्र जनहरूलाई अनि के साना, के ठूला, तपाईँको डर मान्नेजति सबैलाई इनाम दिने+ र पृथ्वीका विनाशकारीहरूलाई*+ विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।”
१९ त्यसपछि स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो र उहाँको करारको सन्दुक त्यहाँ देखियो।+ तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, मेघहरू गर्जिए, भूकम्प गयो अनि ठूलठूलो असिना पऱ्यो।
फुटनोटहरू
^ वा “नाप्ने टाँगो।” शब्दावलीमा “नाप्ने टाँगो” हेर्नुहोस्।
^ वा “इजिप्ट।”
^ वा “हेरिरहेका थिए।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “पृथ्वीलाई भ्रष्ट पार्नेहरूलाई।”