युहन्नालाई प्रकाश १५:१-८
१५ अनि मैले स्वर्गमा अर्को एउटा चिन्ह देखेँ, जुन ठूलो अनि अचम्मलाग्दो थियो। मैले सात वटा विपत्ति लिएका सात स्वर्गदूत+ देखेँ। यी अन्तिम विपत्तिहरू हुन् किनकि यीद्वारा परमेश्वरको क्रोध समाप्त हुन्छ।+
२ अनि मैले काँचको समुद्रजस्तै+ केही देखेँ, जसमा आगो मिसिएको थियो। मैले तिनीहरूलाई पनि देखेँ, जसले जङ्गली जनावर, त्यसको मूर्ति+ अनि त्यसको नामको सङ्ख्यामाथि+ विजय हासिल गरेका थिए।+ तिनीहरू काँचको समुद्रको छेउमा परमेश्वरका वीणाहरू लिएर उभिरहेका थिए।
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+
“हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”
५ यी कुराहरू भएपछि मैले स्वर्गमा साक्षीको पालको+ पवित्र स्थान खोलिएको देखेँ+
६ अनि सात वटा विपत्ति+ लिएका सात स्वर्गदूत त्यहाँबाट निस्के। तिनीहरूले सफा र चहकिलो लुगा लगाएका थिए अनि तिनीहरूको छातीमा सुनको फित्ता बाँधिएको थियो।
७ तब चार जीवमध्ये एउटाले ती सात स्वर्गदूतलाई सुनका सात वटा कचौरा दिए। ती कचौराहरू सदासर्वदा जीवित हुनुहुने परमेश्वरको क्रोधले भरिएका थिए।+
८ अनि परमेश्वरको महिमा र शक्तिले गर्दा पवित्र स्थान धुवैँधुवाँले भरियो।+ सात स्वर्गदूतका सात वटा विपत्ति+ नसिद्धिएसम्म कोही पनि त्यहाँ भित्र पस्न सकेन।