प्रस्थान १:१-२२
१ इस्राएल अर्थात् याकुब मिश्र* जाँदा तिनका छोराहरू पनि आ-आफ्नो परिवार लिएर तिनीसितै गए। याकुबका छोराहरूको नाम यी नै हुन्:+
२ रुबेन, सिमियोन, लेवि र यहुदा;+
३ इस्साकार, जबुलुन र बिन्यामिन;
४ दान र नप्तालि; गाद र असेर।+
५ याकुबका सन्तान जम्मा ७० जना थिए। युसुफ भने पहिल्यै मिश्रमा थिए।+
६ पछि युसुफको मृत्यु भयो+ र तिनका दाजुभाइ अनि त्यस पुस्ताका सबै जना मरे।
७ इस्राएलीहरूबाट पछि धेरै सन्तान जन्मिए र तिनीहरूको वृद्धि हुँदै गयो। यसरी तिनीहरूको शाखासन्तान बढ्दै गयो। यसले गर्दा तिनीहरू ज्यादै शक्तिशाली भए; सारा देश नै तिनीहरूले भरियो।+
८ समय बित्दै जाँदा मिश्रमा एक जना नयाँ राजाले शासन गर्न थाले, जसलाई युसुफको विषयमा केही पनि थाह थिएन।
९ तिनले आफ्नो प्रजालाई यसो भने: “हेर, इस्राएलीहरू हामीभन्दा धेरै र शक्तिशाली भएका छन्!+
१० त्यसैले अब त हामीले केही गर्नै पर्छ। नत्र तिनीहरू बढ्दै जानेछन् अनि लडाइँ भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हामीसित लड्नेछन् र मिश्र छोडेर भाग्नेछन्।”
११ यसकारण इस्राएलीहरूलाई जबरजस्ती काममा जोताउन उनीहरूले नाइकेहरू नियुक्त गरे।+ अनि ती नाइकेहरूले इस्राएलीहरूलाई फारोको* अन्न र सरसामान जम्मा गर्न गोदामहरू भएका सहरहरू बनाउन लगाए। ती सहरहरूको नाम पिथोम र रामसेस थियो।+
१२ तर उनीहरूले इस्राएलीहरूलाई जति-जति दमन गरे, उति-उति तिनीहरूको सङ्ख्या बढ्न थाल्यो र तिनीहरू टाढा-टाढासम्म फिँजिँदै गए। अनि उनीहरू इस्राएलीहरूको डरले थरथर भए।+
१३ त्यसैले मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे र तिनीहरूलाई काममा दलाउनसम्म दलाए।+
१४ इँटा र इँटाको लागि चाहिने माटोको मसला बनाउन अनि खेतमा गरिने सबै किसिमका काम गर्न लगाएर उनीहरूले इस्राएलीहरूको जीवनै खल्लो बनाइदिए। हो, गाह्रो-गाह्रो काम गर्न लगाएर मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे।+
१५ मिश्रका राजाले सिफ्राह र पुआ नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाए
१६ र यसो भने: “तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्चा जन्माउन मदत गर्दा+ छोरा जन्मेमा त्यस बालकलाई मारिदिनू तर छोरी जन्मेमा चाहिँ नमार्नू।”
१७ तर ती सुँडेनीहरू साँचो परमेश्वरको डर राख्थे। त्यसैले तिनीहरूले मिश्रका राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्।+
१८ पछि मिश्रका राजाले ती सुँडेनीहरूलाई बोलाएर भने: “तिमीहरूले छोराहरूलाई किन मारेनौ?”
१९ सुँडेनीहरूले फारोलाई भने: “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्। तिनीहरू बलिया र हट्टाकट्टा छन्। तिनीहरूले हामी पुग्नुभन्दा पहिल्यै बच्चा जन्माइसकेका हुन्छन्।”
२० त्यसैले परमेश्वरले ती सुँडेनीहरूलाई आशिष् दिनुभयो; इस्राएलीहरूको सङ्ख्या झन्झनै बढ्दै गयो र तिनीहरू शक्तिशाली हुँदै गए।
२१ साँचो परमेश्वरको डर राखेकोले उहाँको आशिष् पाएर सुँडेनीहरूले पनि सन्तान जन्माए।
२२ पछि फारोले आफ्नो प्रजालाई यस्तो आदेश दिए: “हिब्रूहरूबाट जन्मेका छोराजति सबैलाई नाइल नदीमा फालिदिनू तर छोरीहरूलाई भने नमार्नू।”+