प्रस्थान ४:१-३१
४ तर मोसाले जवाफ दिए: “तिनीहरूले मेरो कुरा पत्याएनन् र मेरो कुरा सुनेनन् भने के गर्ने?+ किनकि तिनीहरूले भन्नेछन्, ‘यहोवा परमेश्वर तिमीसामु देखा पर्नुभएको हुनै सक्दैन।’”
२ त्यसपछि यहोवा परमेश्वरले मोसालाई सोध्नुभयो: “तिम्रो हातमा के छ?” तिनले जवाफ दिए: “लौरो।”
३ उहाँले भन्नुभयो: “त्यसलाई भुईँमा फाल।” तिनले त्यसलाई भुईँमा फालिदिए र त्यो सर्प बन्यो+ अनि मोसा डराएर भागे।
४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो हात अघि सारेर त्यसको पुच्छरमा समात।” अनि मोसाले त्यसलाई समाते र त्यो तिनको हातमा पहिलाजस्तै लौरो भयो।
५ अनि परमेश्वरले भन्नुभयो: “यो देखेपछि तिनीहरूका पुर्खाहरूका परमेश्वर अर्थात् अब्राहाम, इसहाक र याकुबका परमेश्वर यहोवा+ तिमीसामु देखा पर्नुभएको हो भनेर तिनीहरूले विश्वास गर्नेछन्।”+
६ यहोवा परमेश्वरले फेरि भन्नुभयो: “कृपया तिम्रो हात आफ्नो लुगाभित्र हाल।” अनि मोसाले आफ्नो हात लुगाभित्र हाले। हात निकालेर हेर्दा त कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ!+
७ अनि उहाँले भन्नुभयो: “तिम्रो हात फेरि आफ्नो लुगाभित्र हाल।” त्यसैले तिनले आफ्नो हात लुगाभित्र हाले। लुगाबाट निकालेर हेर्दा त हात पहिलेजस्तै सद्दे भइसकेको रहेछ!
८ उहाँले भन्नुभयो: “तिनीहरूले तिम्रो कुरा पत्याएनन् वा पहिलो चमत्कारलाई विश्वास गरेनन् भने पनि दोस्रो चमत्कार देखेपछि त पक्कै पत्याउनेछन्।+
९ तर तिनीहरूले यी दुवै चमत्कार देखेर पनि विश्वास गरेनन् र तिम्रो कुरा सुन्न मानेनन् भने नाइल नदीबाट अलिकति पानी ल्याउनू र त्यसलाई सुक्खा जमिनमा खन्याउनू। तिमीले नाइल नदीबाट ल्याएको पानी सुक्खा जमिनमा रगत बन्नेछ।”+
१० त्यसपछि मोसाले यहोवा परमेश्वरलाई भने: “माफ गर्नुस् यहोवा, म बोल्न सिपालु छैनँ र मेरो जिब्रो पनि त्यति लाग्दैन। म पहिला पनि बोल्न सिपालु थिइनँ र तपाईँ मसित बोल्नुभएपछि पनि सिपालु भएको छैनँ।”+
११ यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “मानिसको मुख कसले बनायो? मानिसलाई आँखा कसले दियो? अनि मानिसलाई लाटो, बहिरो वा अन्धो बनाउन सक्ने को छ? त्यसो गर्न सक्ने म यहोवाबाहेक अरू कोही छ र?
१२ त्यसैले अब जाऊ, म तिमीलाई बोल्न मदत गर्नेछु अनि तिमीले के भन्नुपर्ने हो, सो सिकाउनेछु।”+
१३ तर तिनले भने: “बिन्ती छ यहोवा परमेश्वर, यो काम गर्न अरू कसैलाई पठाउनुहोस्।”
१४ तब यहोवा परमेश्वरको क्रोध मोसामाथि दन्क्यो र उहाँले तिनलाई भन्नुभयो: “तिम्रो दाइ, लेवी हारुन+ छैनन् र? मलाई थाह छ, उनी राम्ररी बोल्न सक्छन् र तिमीलाई भेट्न उनी अहिले यतैतिर आउँदै छन्। अनि तिमीलाई भेटेर उनी खुसी हुनेछन्।+
१५ त्यसैले हारुनसँग कुरा गर अनि मैले भनेका सबै कुरा उनलाई बताइदेऊ।+ तिमीले बोल्दा म तिमीलाई अनि हारुनलाई पनि सघाउनेछु+ अनि तिमीहरूले के गर्नुपर्छ, त्यो सिकाउनेछु।
१६ उनले तिम्रो तर्फबाट मानिसहरूसित कुरा गर्नेछन् र उनी तिम्रो प्रवक्ता हुनेछन्। तिमी उनको लागि परमेश्वरजस्तै हुनेछौ।*+
१७ अनि यो लौरो लिएर जाऊ र यसलाई चलाएर चमत्कारहरू गर।”+
१८ तब मोसा आफ्ना ससुरा यिथ्रोकहाँ गए+ र उनलाई यसो भने: “मिश्रमा भएका मेरा दाजुभाइहरू जीवितै छन् कि छैनन् भनेर म हेर्न चाहन्छु। त्यसैले कृपया मलाई जान दिनुहोस्।” यिथ्रोले मोसालाई भने: “हुन्छ, राम्ररी जानुहोस्।”
१९ मोसा मिद्यानमै छँदा यहोवा परमेश्वरले तिनलाई यसो भन्नुभयो: “मिश्र फर्केर जाऊ किनकि तिमीलाई मार्न खोज्नेहरू सबै मरिसके।”+
२० त्यसपछि मोसाले आफ्नी पत्नी र छोराहरूलाई गधामा चढाए अनि मिश्रतिर लागे। साँचो परमेश्वरले तिनलाई आफूसँगै लैजाऊ भन्नुभएको लौरो पनि तिनले लिएर गए।
२१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्।+
२२ तिमीले फारोलाई यसो भन्नू, ‘यहोवा भन्नुहुन्छ: “इस्राएल मेरो छोरा हो, मेरो पहिलो सन्तान।+
२३ त्यसैले मेरो छोरालाई जान देऊ र उसले मेरो सेवा गर्न सकोस्। तर जान दिएनौ भने म तिम्रो पहिलो सन्तानलाई मार्नेछु।”’”+
२४ बास बस्ने ठाउँमा यहोवा परमेश्वर*+ तिनीसामु देखा पर्नुभयो र तिनलाई* मार्न खोज्नुभयो।+
२५ सिप्पोराले+ हत्त न पत्त धारिलो ढुङ्गा लिइन् र आफ्नो छोराको खतना* गरिदिइन्। अनि खलडीलाई* उनको खुट्टामा* राखिदिएर यसो भनिन्: “किनकि तपाईँ मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ।”
२६ त्यसैले परमेश्वरले तिनलाई जान दिनुभयो। खतना गरेको कारण सिप्पोराले “तपाईँ रगतको दुलहा हुनुहुन्छ” भनेकी थिइन्।
२७ अनि यहोवा परमेश्वरले हारुनलाई भन्नुभयो: “मोसालाई भेट्न निर्जनभूमिमा जाऊ।”+ उनी त्यहाँ गए र साँचो परमेश्वरको डाँडामा मोसालाई भेटे+ अनि तिनलाई म्वाइँ खाएर अभिवादन गरे।*
२८ अनि मोसाले आफूलाई पठाउनुहुने यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा+ र उहाँले देखाउनू भन्नुभएका सबै चमत्कारबारे+ हारुनलाई सुनाए।
२९ त्यसपछि मोसा र हारुनले गएर इस्राएलका सबै नाइकेलाई भेला गरे।+
३० यहोवा परमेश्वरले मोसालाई भन्नुभएका सबै कुरा हारुनले ती मानिसहरूलाई सुनाए अनि तिनीहरूको अगाडि चमत्कारहरू गरेर देखाए।+
३१ यसपछि ती मानिसहरूले विश्वास गरे।+ यहोवा परमेश्वरले इस्राएलीहरूतर्फ ध्यान दिनुभएको छ+ र तिनीहरूको दुःख देख्नुभएको छ+ भनी सुनेपछि मानिसहरूले लम्पसार परेर दण्डवत् गरे।
फुटनोटहरू
^ वा “तिमी उनको लागि परमेश्वरको प्रतिनिधि हुनेछौ।”
^ कुनै-कुनै पाण्डुलिपिमा ‘यहोवाको दूत’ भनिएको छ।
^ यसले मोसाको छोरालाई जनाएको हुन सक्छ।
^ यसले स्वर्गदूतको खुट्टालाई जनाएको हुन सक्छ।
^ लिङ्गको अघिल्लो भाग छोप्ने छाला।
^ त्यतिबेला अभिवादन गर्दा म्वाइँ खाने (जस्तै: गालामा) चलन थियो।