भजनसङ्ग्रह १०३:१-२२
दाउदको रचना।
१०३ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;म तनमनले उहाँको पवित्र नामको गुणगान गाउन चाहन्छु।
२ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+
३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+
४ तिमीलाई चिहानबाट निकालेर उहाँले तिम्रो ज्यान बचाउनुहुन्छ+अनि उहाँको अटल प्रेम र कृपाको मुकुट तिमीलाई पहिऱ्याउनुहुन्छ।+
५ तिम्रो जीवनभर असल कुराहरू दिएर उहाँले तिमीलाई सन्तुष्ट पार्नुहुन्छ,+त्यसैले तिमी चीलजस्तै तरुनो र छरितो रहनेछौ।+
६ थिचोमिचोमा परेकाहरू सबैसित+यहोवाले धार्मिकता+ र न्यायसाथ व्यवहार गर्नुहुन्छ।
७ उहाँले मोसालाई आफ्नो मार्ग+र इस्राएलका सन्तानलाई आफ्नो काम प्रकट गर्नुभयो।+
८ यहोवा कृपालु र दयालु हुनुहुन्छ,+उहाँ हतपती रिसाउनुहुन्न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+
९ उहाँ हरबखत दोष देखाइरहनुहुन्न+न त सधैँ रिस पालेर राख्नुहुन्छ।+
१० उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+
११ किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ,त्यसैगरि उहाँको भय मान्नेहरूप्रति उहाँको प्रेम* अपार छ।+
१२ पूर्वबाट पश्चिम जति टाढा छ,उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।+
१३ जसरी बुबाले आफ्नो छोरामाथि कृपा देखाउँछ,त्यसैगरि उहाँले आफ्नो भय मान्नेहरूमाथि कृपा देखाउनुभएको छ।+
१४ किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ;+हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।+
१५ मरिजाने मानिसको आयु त घाँसको आयुजत्तिकै हुन्छ;+ऊ मैदानको फूलजस्तै फक्रिन्छ।+
१६ तर जब बतास चल्छ, त्यो हराइहाल्छ,मानौँ, त्यो छँदै थिएन।*
१७ तर ज-जसले यहोवाको भय मान्छन्,तिनीहरूप्रति उहाँको अटल प्रेम सदा* रहिरहन्छ,+उहाँले तिनीहरूका सन्तान दरसन्तानसम्मलाई भलाइ देखाइरहनुहुन्छ।+
१८ हो, तिनीहरूलाई, जो उहाँको करारअनुसार चल्छन्+अनि उहाँका आज्ञाहरू होसियार भई पालन गर्छन्।
१९ यहोवाले स्वर्गमा आफ्नो सिंहासन स्थिर गरी बसाल्नुभएको छ+अनि उहाँको शासन सबैमाथि छ।+
२० हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो शक्तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+
२१ हे उहाँका सबै सेना हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो उहाँको इच्छा पूरा गर्ने उहाँका सेवकहरू हौ।+
२२ हे सारा सृष्टि हो, यहोवाको प्रशंसा गर,उहाँले शासन गर्नुहुने सबै ठाउँमा* उहाँको प्रशंसा गर।मेरो सारा ज्यानले यहोवाको प्रशंसा गरोस्।
फुटनोटहरू
^ वा “अटल प्रेम।”
^ शा., “त्यसको ठाउँले त्यसलाई चिन्न छोड्छ।”
^ वा “युगौँयुगसम्म।”
^ वा “उहाँको सार्वभौमिकता कायम रहेको ठाउँमा।”