मलाकि १:१-१४

  • आफ्ना मानिसहरूको लागि यहोवाको प्रेम (१-५)

  • पुजारीहरू खोट भएको बलि चढाउँछन्‌ (६-१४)

    • जातिजातिमाझ परमेश्‍वरको नाम महान्‌ हुनेछ (११)

 एउटा घोषणा: मलाकिमार्फत* इस्राएललाई यहोवाको वचन: २  यहोवा भन्‍नुहुन्छ, “मैले तिमीहरूलाई प्रेम गरेको छु।”+ तर तिमीहरू भन्छौ: “तपाईँले हामीलाई कसरी प्रेम गर्नुभएको छ?” यहोवा घोषणा गर्नुहुन्छ, “के एसाव याकुबको दाइ थिएन र?+ तर मैले याकुबलाई प्रेम गरेँ ३  अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+ ४  “एदोमले* यसो भनेको छ, ‘हामी चकनाचुर भएका छौँ तर हामी फर्कनेछौँ र भत्केका कुराहरूलाई फेरि बनाउनेछौँ।’ तर सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘तिनीहरूले बनाउनेछन्‌ तर म भत्काइदिनेछु। अनि तिनीहरू “दुष्टहरूको इलाका” र “यहोवा परमेश्‍वरले कहिल्यै नमेटिने सराप दिनुभएको जाति” भनेर चिनिनेछन्‌।+ ५  यो तिमीहरूले आफ्नै आँखाले देख्नेछौ र यसो भन्‍नेछौ: “इस्राएलमा यहोवाको महिमा होस्‌।”’” ६  “उहाँको नामको अपमान गर्ने पुजारीहरूलाई सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘छोराले आफ्नो बुबाको आदर गर्छ+ र दासले आफ्नो मालिकको आदर गर्छ। म बुबा हुँ भने+ मेरो आदर गरेको खोइ?+ म मालिक हुँ भने मेरो डर* मानेको खोइ?’+ “‘तर तिमीहरू भन्छौ: “हामीले कसरी तपाईँको नामको अपमान गरेका छौँ र?”’ ७  “‘मेरो वेदीमा दूषित खाना* चढाएर।’ “‘अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी दूषित बनाएका छौँ र?”’ “‘“यहोवाको टेबुल+ घिनलाग्दो छ” भनेर। ८  तिमीहरू अन्धो पशु बलि चढाउन ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।” लङ्‌गडो वा रोगी पशु ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।”’”+ “त्यस्तो पशु तिमीहरूका राज्यपाललाई एक चोटि दिई हेर त। के तिनी तिमीहरूसँग खुसी हुनेछन्‌ वा तिमीहरूलाई निगाह देखाउनेछन्‌?” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ९  “अब, परमेश्‍वरलाई बिन्ती गरेर उहाँलाई मनाई हेर। उहाँले तिमीहरूको हातबाट त्यस्ता भेटीहरू ग्रहण गरेर तिमीहरूमाथि अनुग्रह देखाउनुहोला र?” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। १०  “अनि तिमीहरूमध्ये को ढोका* बन्द गर्न राजी छौ?+ किनकि तिमीहरू त दाम नलिई मेरो वेदीमा आगोसमेत बाल्दैनौ।+ म तिमीहरूसित पटक्कै खुसी छैनँ। अनि तिमीहरूले चढाएको भेटीदेखि म प्रसन्‍न छैनँ।”+ ११  “पूर्वदेखि पश्‍चिमसम्म* जातिजातिमाझ मेरो नाम महान्‌ हुनेछ।+ सबै ठाउँमा मानिसहरूले मेरो नाम लिएर निष्खोट भेटीहरू चढाउनेछन्‌ अनि माथिसम्म धुवाँ उठ्‌नेगरि तिनीहरूले बलि चढाउनेछन्‌। किनकि जातिजातिमाझ मेरो नाम महान्‌ हुनेछ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। १२  “तर तिमीहरूले यसो भनेर यसको* अपमान गरिरहेका छौ,+ ‘यहोवाको टेबुल दूषित छ अनि यसमा भएका फल, खानेकुरा घिनलाग्दा छन्‌।’+ १३  अनि तिमीहरू नाकको पोरा फुलाउँदै खिसी गर्छौ र यसो भन्छौ, ‘उफ! कत्ति थकाइलाग्दो!’” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। “अनि तिमीहरू चोरेको, लङ्‌गडो र रोगी पशुहरू ल्याउँछौ। हो, तिमीहरू त्यस्ता पशुहरू भेटी चढाउन ल्याउँछौ! के म ती ग्रहण गरूँ?”+ यहोवा भन्‍नुहुन्छ। १४  “आफ्नो बगालमा खोटरहित पशु* हुँदाहुँदै आफ्नो भाकल पूरा गर्न खोट भएको पशु यहोवालाई चढाउने धूर्त मानिस श्रापित होस्‌। किनकि म महान्‌ राजा हुँ+ र जातिजातिमाझ मेरो नामले आश्‍चर्य र भय जगाउनेछ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

फुटनोटहरू

यसको अर्थ हो, “मेरो सन्देशवाहक।”
एसावको अर्को नाम। शब्दावलीमा “एदोम” हेर्नुहोस्‌।
वा “आदर।”
शा., “रोटी।”
यसले मन्दिरभित्र उपासनासम्बन्धी काम गर्दा ढोका बन्द गर्नुपर्ने जिम्मेवारीलाई जनाएको हुनुपर्छ।
वा “सूर्योदयदेखि सूर्यास्तसम्म।”
वा सम्भवतः “मेरो।”
शा., “भाले पशु।”