यर्मिया १:१-१९

  • यर्मिया अगमवक्‍ता नियुक्‍त हुन्छन्‌ (१-१०)

  • कागजी बदामको रूखको दर्शन (११, १२)

  • खड्‌कुँलोको दर्शन (१३-१६)

  • सुम्पिइएको जिम्मेवारी पूरा गर्न यर्मियालाई सुदृढ पारिन्छ (१७-१९)

 बिन्यामिनीहरूको इलाका अनातोतमा+ बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए, तिनका छोरा यर्मियाकहाँ* आएको परमेश्‍वरको वचन। २  यहुदाका राजा अमोनका+ छोरा योसियाहको शासनकालको+ १३ औँ वर्षमा यहोवाको वचन यर्मियाकहाँ आयो। ३  साथै यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालदेखि+ तिनका अर्का छोरा सिदकियाहको शासनकालको+ ११ औँ वर्षको पाँचौँ महिनासम्म अर्थात्‌ यरुसलेमका बासिन्दाहरूलाई कैदी बनाएर लगिएको समयसम्म पनि परमेश्‍वरको वचन यर्मियाकहाँ आयो।+ ४  यहोवाको यो वचन मकहाँ आयो:  ५  “मैले तिमीलाई आमाको गर्भमा रच्नुअघि नै चिनेको थिएँ,*+ तिमी जन्मनुअघि नै मैले तिमीलाई रोजेँ।+ जातिजातिहरूको भविष्यवक्‍ता हुन मैले तिमीलाई नियुक्‍त गरेँ।”  ६  तर मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा! म त राम्रोसँग बोल्न पनि जान्दिनँ;+ म सानै छु।”+  ७  अनि यहोवाले मलाई भन्‍नुभयो: “‘म सानै छु’ नभन। म तिमीलाई ज-जसकहाँ पठाउँछु, ती सबैकहाँ तिमी जानुपर्छ र मैले तिमीलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई सुनाउनुपर्छ।+  ८  तिनीहरूलाई देखेर नडराऊ+ किनकि म यहोवा यसो भन्छु, ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु।’”+ ९  त्यसपछि यहोवाले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो।+ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “मैले मेरो वचन तिम्रो मुखमा राखिदिएको छु।+ १०  हेर, मैले आज तिमीलाई देश-देश र राज्य-राज्यमाथि अधिकार दिएको छु। जातिजातिलाई उखेल्ने र भत्काउने, विनाश गर्ने र धुजा-धुजा पार्ने अनि रोप्ने र निर्माण गर्ने अधिकार।”+ ११  फेरि यहोवाको यो वचन मकहाँ आयो: “यर्मिया, तिमीले के देख्यौ?” मैले भनेँ: “कागजी बदामको रूखको* हाँगो।” १२  यहोवाले भन्‍नुभयो: “तिमीले ठीक भन्यौ। म आफ्नो वचन पूरा गर्न त्यसरी नै जागा बस्छु।” १३  दोस्रो चोटि यहोवाको यो वचन मकहाँ आयो: “तिमीले के देख्यौ, यर्मिया?” मैले भनेँ: “आगोमा बसालिएको खड्‌कुँलो। त्यो उत्तरबाट दक्षिणतिर ढल्केको छ।” १४  त्यसपछि यहोवाले मलाई भन्‍नुभयो: “यस भूमिमा बास गर्ने सबैमाथि उत्तरबाट ठूलो विपत्ति आउनेछ।+ १५  किनकि ‘म उत्तरतिरका राज्यहरूबाट सबै जातिलाई बोलाउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+ ‘अनि उनीहरू आउनेछन्‌ र आ-आफ्नो सिंहासन यरुसलेमका मूलढोकाहरूमा बसाल्नेछन्‌।+ उनीहरूले त्यसका पर्खालहरूलाई अनि यहुदाका सबै सहरलाई आक्रमण गर्नेछन्‌।+ १६  अनि म यरुसलेम र यहुदाका सहरहरूले गरेको कुकर्मको कारण तिनीहरूविरुद्ध फैसला सुनाउनेछु किनकि तिनीहरूले मलाई त्यागेका छन्‌,+ अरू देवताहरूका लागि आगोमा बलि चढाएका छन्‌+ अनि आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत्‌ गरेका छन्‌।’+ १७  तर तिमीचाहिँ आफ्नो कम्मर कस अनि खडा भएर मैले भनेको सबै कुरा तिनीहरूलाई सुनाऊ। तिनीहरूदेखि नडराऊ,+ नत्र त म नै तिमीलाई तिनीहरूदेखि त्रसित पार्नेछु। १८  यो सारा देश अर्थात्‌ यहुदाका सबै राजा तथा भारदारहरू, त्यसका पुजारीहरू र प्रजाविरुद्ध उभिन+ आज मैले तिमीलाई फलामको खामो अनि तामाको पर्खालसरि+ अनि पर्खालले घेरिएको सहरसरि तुल्याएको छु। १९  तिनीहरूले अवश्‍य तिमीसित युद्ध गर्नेछन्‌ तर तिनीहरूले तिमीलाई हराउनेछैनन्‌ किनकि ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

फुटनोटहरू

यसको अर्थ “यहोवाले उच्च पार्नुहुन्छ” हुन सक्छ।
वा “छानेको थिएँ।”
शा., “जागा रहने व्यक्‍तिको।”