यर्मिया १०:१-२५
१० ए इस्राएलको घराना, यहोवा तिमीहरूविरुद्ध के भन्नुहुन्छ, सुन!
२ यहोवा यसो भन्नुहुन्छ:
“अरू जातिको चालमा नहिँड।+
तिनीहरू आकाशका चिन्हहरू देखेर डराउँछन्+
तर तिमीहरूचाहिँ नडराओ।
३ तिनीहरूका रीतिथिति सब व्यर्थ हुन्।
तिनीहरूले पुज्ने कुरा त रूखको मुढो मात्र हो,
जसलाई कालिगडले आफ्नो औजार चलाएर आकार दिन्छन्।+
४ तिनीहरू त्यसलाई सुन र चाँदीले मोहोर्छन्+
अनि त्यो नढलोस् भनेर हतौडा र किलाले ठोकठाक पार्छन्।+
५ तिनीहरू काँक्राबारीमा राखिएको जुलुङ्गोजस्तै* छन्, जुन बोल्न सक्दैन+
अनि तिनीहरूलाई यताउता लैजान बोक्नुपर्छ किनकि तिनीहरू हिँड्न सक्दैनन्।+
तिनीहरूलाई देखेर नडराओ किनकि तिनीहरूले कुनै हानि गर्न सक्दैनन्
न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्।”+
६ हे यहोवा, तपाईँजस्तो कोही छैन।+
तपाईँ महान् हुनुहुन्छ अनि तपाईँको नाम महान् र शक्तिशाली छ।
७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्नु उचित छ;
जातिजातिका बुद्धिमान् मानिसहरूमध्ये अनि यी सारा राज्यभरि
तपाईँजस्तो अरू कोही छैन।+
८ तिनीहरू सबै निर्बुद्धि र मूर्ख छन्।+
एउटा काठको मुढोले मानिसलाई डोऱ्याउला भनेर सोच्नु मूर्खता हो।+
९ तर्सिसबाट चाँदी+ अनि उफजबाट सुन मगाइन्छ।
अनि कालिगडले ती काठहरूलाई त्यही सुनचाँदीले मोहोर्छन्
र ती मूर्तिहरूलाई निलो धागो अनि बैजनी ऊनले सिङ्गार्छन्।
ती मूर्तिहरू सिपालु कालिगडका हातका काम मात्र हुन्।
१० तर यहोवा साँचो परमेश्वर हुनुहुन्छ।
उहाँ जीवित परमेश्वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+
उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+
अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।
११ * तिमीले तिनीहरूलाई यसो भन्नू:
“ती देवताहरू, जसले यो आकाश र पृथ्वी सृष्टि गरेका होइनन्,
तिनीहरूको नामोनिसान यो पृथ्वीबाट अनि आकाशबाट मेटाइनेछ।”+
१२ उहाँले आफ्नो शक्तिले यो पृथ्वी सृष्टि गर्नुभयो;
आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+
अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+
१३ उहाँ बोल्दा
आकाशका पानीहरू छचल्किन्छन्;+
पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।+
उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ*
अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+
१४ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ।
हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+
किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन्
अनि तिनमा सास छैन।+
१५ ती सबै व्यर्थका काम हुन्, गिल्ला गर्न लायकका काम।+
तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्।
१६ तर याकुबका परमेश्वर* त्यस्तो हुनुहुन्न
किनकि उहाँले नै सबथोक रच्नुभयो।
इस्राएल उहाँको उत्तराधिकारको लौरो हो।+
उहाँको नाम सेनाहरूका यहोवा हो।+
१७ ए कैदमा परेका स्त्रीहरू हो,
भुईँमा भएको आ-आफ्नो पोकोपन्तरो बटुल।
१८ किनकि यहोवा यसो भन्नुहुन्छ:
“अब म यहाँका बासिन्दाहरूलाई जोडसित* फ्याँक्नेछु+
अनि तिनीहरूमाथि दुःख आइपर्न दिनेछु।”
१९ धिक्कार छ मलाई! किनकि मलाई चोट लागेको छ।+
मलाई निको नै नहुने चोट लागेको छ।
अनि मैले भनेँ: “यो त मेरो रोग हो; यसलाई मैले सहनै पर्छ।
२० मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्।+
मेरा छोराहरूले मलाई छोडेर गएका छन्; अब तिनीहरू मसँग छैनन्।+
मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन।
२१ गोठालाहरूले बुद्धि नपुऱ्याई काम गरेका छन्,+
तिनीहरूले यहोवासित केही सोधपुछ गरेका छैनन्।+
त्यसैले त तिनीहरूले मूर्ख काम गरेका छन्
अनि तिनीहरूको बगाल पनि तितरबितर भएको छ।”+
२२ हे मानिसहरू हो, सुन, एउटा खबर छ!
उत्तरको देशबाट ढ्वाङढ्वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+
त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+
२३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्याउन सक्दैन।
आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+
२४ हे यहोवा, मलाई तपाईँको स्तरअनुसार सुधार्नुहोस्।
आफ्नो बल्दो रिसमा त होइन+ नत्र त म भस्म हुनेछु।+
२५ तपाईँलाई चिन्न इन्कार गर्ने राष्ट्रहरूमाथि+
अनि तपाईँको नाम नपुकार्ने घरानाहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्।
किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्,+
हो, तिनीहरूले याकुबलाई विनाश हुनेगरि निलेका छन्+
अनि उसको भूमि उजाड पारिदिएका छन्।+
फुटनोटहरू
^ वा “पुतला, बुख्याचाजस्तै।”
^ पद ११ सुरुमा अरामी भाषामा लेखिएको थियो।
^ वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”
^ वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”
^ शा., “अंश।”
^ वा “घुयेँत्रोमा हालेर।”