यर्मिया १३:१-२७

  • सुतीको मक्किएको पटुका (१-११)

  • मशक टुक्राटुक्रा पारिनेछ (१२-१४)

  • अटेरी यहुदा निर्वासनमा लगिनेछ (१५-२७)

    • ‘के कुनै कुसीले आफ्नो छालाको रङ्‌ग फेर्न सक्छ?’ (२३)

१३  यहोवाले मलाई भन्‍नुभयो: “गएर मलमलको एउटा पटुका किन र त्यसलाई आफ्नो कम्मरमा बेर तर त्यसलाई पानीमा नडुबाऊ।” २  अनि मैले यहोवाले आज्ञा गर्नुभएझैँ एउटा पटुका किनेँ र त्यसलाई आफ्नो कम्मरमा बेरेँ। ३  यहोवाले फेरि मलाई यसो भन्‍नुभयो: ४  “तिमीले जुन पटुका किनेर कम्मरमा बाँधेका छौ, त्यसलाई लिएर युफ्रेटिस जाऊ र त्यसलाई त्यहाँ चट्टानको धाँजोमा लुकाइराख।” ५  त्यसैले म गएँ र यहोवाले भन्‍नुभएझैँ त्यसलाई युफ्रेटिस नदीको किनारमा लुकाइराखेँ। ६  धेरै दिनपछि यहोवाले मलाई भन्‍नुभयो: “उठ र युफ्रेटिस जाऊ अनि मैले तिमीलाई लुकाइराख्न आज्ञा गरेको पटुका लेऊ।” ७  अनि म युफ्रेटिस गएँ र लुकाइराखेको ठाउँबाट खनेर त्यो पटुका निकालेँ। पटुका मक्किसकेको थियो; कामै नलाग्ने भइसकेको थियो। ८  अनि यहोवाले मलाई भन्‍नुभयो: ९  “यहोवा यसो भन्‍नुहुन्छ, ‘ठीक यसरी नै म यहुदाको घमन्ड र यरुसलेमको सेखी झार्नेछु।+ १०  मेरो आज्ञा मान्‍न इन्कार गर्ने,+ हठी हुँदै मनमानी गर्ने,+ अरू देवताहरूको सेवा गर्न र तिनीहरूलाई पुज्न तिनीहरूको पछि लाग्ने यी दुष्ट मानिसहरू त्यो पटुकाजस्तै कामै नलाग्ने हुनेछन्‌।’ ११  ‘किनकि जसरी पटुका कम्मरको चारैतिर कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएल र यहुदाको सम्पूर्ण घरानालाई मेरो ख्याति,+ प्रशंसा र सम्मानको निम्ति मेरो प्रजा बनाउनलाई+ आफ्नै कम्मरमा कसेँ तर तिनीहरूले मेरो आज्ञा मानेनन्‌,’+ यहोवा घोषणा गर्नुहुन्छ। १२  “तिमीले तिनीहरूलाई यसो पनि भन्‍नू, ‘इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: “हरेक मशक मद्यले भरिनुपर्छ।”’ अनि तिनीहरूले तिमीलाई यसो भन्‍नेछन्‌, ‘हरेक मशक मद्यले भरिनुपर्छ भनेर हामीलाई थाह छैन र?’ १३  तब तिनीहरूलाई यसो भन, ‘यहोवा भन्‍नुहुन्छ: “म यस देशका सबै मानिसलाई अर्थात्‌ दाउदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, भविष्यवक्‍ताहरू र यरुसलेमका सम्पूर्ण बासिन्दालाई तिनीहरू मात्तिनेगरि पिउन लगाउनेछु।+ १४  अनि म तिनीहरूलाई आपसमा जुधाउनेछु, बुबा र छोरालाई समेत आपसमा जुधाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+ “म तिनीहरूमाथि टिठाउनेछैनँ, तिनीहरूमाथि दयामाया वा कृपा देखाउनेछैनँ; तिनीहरूलाई नाश गर्न मलाई कुनै कुराले रोक्नेछैन।”’+ १५  सुन, ध्यान देओ। अहङ्‌कारी नहोओ किनकि यहोवा स्वयम्‌ बोल्नुभएको छ। १६  उहाँले अन्धकार ल्याउनुअघि नै अनि अँध्यारोमा तिमीहरूको खुट्टाले पर्वतहरूमा ठेस खानुअघि नै तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई महिमा देओ। तिमीहरू उज्यालोको आशा गर्दै बस्नेछौ तर उहाँले घोर अन्धकार ल्याउनुहुनेछ; उहाँले उज्यालोलाई निस्पट्ट अन्धकारमा परिणत गर्नुहुनेछ।+ १७  तिमीहरूले सुनेनौ भने तिमीहरूको घमन्डको कारण म गुप्तमा रुनेछु। यहोवाको बगाललाई कैद गरेर लगिएकोले+ म धुरुधुरु रुनेछु, मेरो आँखाबाट आँसुको धारा बग्नेछ।+ १८  राजालाई र राजमातालाई यसो भन,+ ‘सिंहासनबाट तल झर्नुहोस्‌ किनकि तपाईँहरूको शोभायमान मुकुट तपाईँहरूको शिरबाट हट्‌नेछ।’ १९  दक्षिणका सहरहरू थुनिएका* छन्‌, तिनीहरूलाई खोल्ने कोही छैन। यहुदाका सबैलाई कैद गरेर लगिएको छ, कैदमा नलगिएको कोही छैन।+ २०  आफ्नो आँखा उठाएर उत्तरबाट आइरहेकाहरूलाई हेर।+ तिमीलाई दिइएको बगाल, ती सुन्दर भेडाहरू कहाँ छन्‌?+ २१  तिमीले सुरुदेखि जसलाई आफ्ना मित्रहरू बनाएका थियौ,+ उनीहरूले नै तिमीलाई सजाय दिँदा तिमी के भन्‍नेछौ? प्रसववेदनामा परेकी स्त्रीलाई झैँ तिमीलाई पीडा हुनेछैन र?+ २२  अनि तिमी मनमनै सोच्छौ, ‘ममाथि यस्तो कुरा किन आइलाग्यो?’+ तिम्रो घोर पापको कारण तिम्रो जामा जबरजस्ती फुकालिएको छ।+ तिम्रो कुर्कुच्चालाई हुनसम्मको पीडा भएको छ। २३  के कुनै कुसीले* आफ्नो छालाको रङ्‌ग वा चितुवाले आफ्नो छालाको थोप्ला फेर्न सक्छ?+ यदि सक्छ भने मात्र तिमीहरूले पनि असल काम गर्न सक्छौ किनकि तिमीहरूलाई खराब काम गर्ने बानी नै बसिसकेको छ। २४  त्यसैले म तिनीहरूलाई मरुभूमिको बतासले उडाएको परालझैँ तितरबितर पार्नेछु।+ २५  यहोवा घोषणा गर्नुहुन्छ, “तिम्रो हिस्सा यही हो, मैले तिम्रो लागि छुट्ट्याएको भाग यही हो किनकि तिमीले मलाई बिर्स्यौ+ र झूटा कुराहरूमाथि भरोसा राख्यौ।+ २६  त्यसैले म तिम्रो जामा उचालेर तिम्रो अनुहारसम्म पुऱ्‍याइदिनेछु अनि तिम्रो लाज देखिनेछ,+ २७  तिमीले गरेको व्यभिचार*+ र तिम्रो कामवासना* अनि तिम्रो लाजमर्दो वेश्‍यावृत्ति उदाङ्‌ग हुनेछ। डाँडाहरूमा अनि मैदानमा मैले तिम्रा घिनलाग्दा कामहरू देखेको छु।+ हे यरुसलेम, तिमीलाई धिक्कार छ! तिमी कहिलेसम्म अशुद्ध रहिरहन्छौ?”+

फुटनोटहरू

वा “घेरिएका।”
वा “इथियोपियालीले।”
शब्दावली हेर्नुहोस्‌।
वा “घोडाको जस्तो कामुक हिनहिनाइ।”