यर्मिया १४:१-२२
१४ खडेरीबारे यहोवाको यो वचन यर्मियाकहाँ आयो:+
२ यहुदा शोक गरिरहेको छ+ र त्यसका मूलढोकाहरू तहसनहस भएका छन्।
उदास भएर ती त्यसै भुईँमा पस्रिरहेका छन्।
यरुसलेमको रोदन स्वर्गसम्मै सुनिएको छ।
३ त्यहाँका ठूलाबडाहरू आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्।
तिनीहरू कुवामा जान्छन् तर पानी भेट्टाउँदैनन्।
रित्तो भाँडो लिएर तिनीहरू फर्कन्छन्।
तिनीहरू लज्जित र निराश हुन्छन्
अनि आफ्नो शिर ढाक्छन्।
४ किनकि एक थोपो पानी नपरेकोले
जमिनमा धाँजो फाटेको छ।+
किसानहरू हताश भएर आफ्नो शिर ढाक्छन्।
५ घाँस कतै नपाएकोले
मृगसमेत आफ्नो बच्चालाई छोडेर अन्तै जान्छ।
६ जङ्गली गधाहरू नाङ्गा डाँडाहरूमा ठिङ्ग उभिन्छन्।
स्यालझैँ तिनीहरू स्वाँस्वाँ गर्छन्।
हरियोपरियो खोज्दाखोज्दा तिनीहरूका आँखा थाकेका छन्।+
७ हाम्रो कुकर्मले हामीविरुद्ध गवाही दिन्छ,
तैपनि हे यहोवा, आफ्नो नामको खातिर केही गर्नुहोस्।+
हाम्रा अपराधहरू अनगिन्ती छन्,+
हामीले तपाईँकै विरुद्धमा पाप गरेका छौँ।
८ हे इस्राएलका आशा! विपत्तिबाट जोगाउनुहुने मुक्तिदाता!+
तपाईँ किन बास बस्न मात्र आएको यात्रीझैँ हामीलाई बेवास्ता गर्नुहुन्छ?
किन हामीसित परदेशीले झैँ व्यवहार गर्नुहुन्छ?
९ तपाईँ जिल्ल परेको मानिसजस्तै किन बन्नुहुन्छ?
वीर भईकन पनि बचाउन नसक्ने पुरुषझैँ किन बन्नुहुन्छ?
हे यहोवा! तपाईँ त हाम्रै माझ हुनुहुन्छ।+
हामी तपाईँकै नामले चिनिएका छौँ।+
त्यसैले हामीलाई नत्याग्नुहोस्।
१० यी मानिसहरूबारे यहोवा यसो भन्नुहुन्छ: “तिनीहरू यताउता चहार्न मन पराउँछन्;+ जता मन लाग्यो त्यतै जान्छन्।+ त्यसैले म यहोवा तिनीहरूसित पटक्कै खुसी छैनँ।+ म तिनीहरूका अपराध सम्झनेछु र त्यसको एक-एक हिसाब लिनेछु।”+
११ त्यसपछि यहोवाले मलाई यसो भन्नुभयो: “यी मानिसहरूको भलो होस् भनेर प्रार्थना नगर।+
१२ तिनीहरू उपवास बस्दा म तिनीहरूको बिन्ती सुन्नेछैनँ।+ तिनीहरूले अग्निभेटी अनि अन्नभेटी चढाउँदा म त्यसलाई स्विकार्नेछैनँ।+ म तिनीहरूलाई तरबार, अनिकाल र रुढीले* नाश गर्नेछु।”+
१३ अनि मैले यसो भनेँ: “हाय! सर्वशक्तिमान् परमेश्वर यहोवा! यी भविष्यवक्ताहरू मानिसहरूलाई यसो भन्दै छन्, ‘तिमीहरू तरबारले मारिनेछैनौ, अनिकालले तिमीहरूलाई सताउनेछैन। यो भूमिमा परमेश्वरले तिमीहरूलाई साँचो शान्ति दिनुहुनेछ।’”+
१४ अनि यहोवाले मलाई यसो भन्नुभयो: “ती भविष्यवक्ताहरूले मेरो नाममा झूटो भविष्यवाणी गरिरहेका छन्।+ मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ।+ उनीहरू झूटो भविष्यवाणी गर्छन्, व्यर्थै जोखना हेर्छन् र आफ्नै छली विचार बताउँछन्।+
१५ त्यसैले ती भविष्यवक्ताहरू, जसलाई मैले पठाएकै थिइनँ, जसले मेरो नाममा झूटा भविष्यवाणी गरे अनि यो भूमिमाथि तरबार र अनिकाल आइपर्नेछैन भनेर झूट बोले, उनीहरूलाई म यहोवा यसो भन्छु: ‘ती भविष्यवक्ताहरू तरबार र अनिकालले नामेट पारिनेछन्।+
१६ अनि उनीहरूले ज-जसलाई झूटा भविष्यवाणी सुनाए, तिनीहरू सबै अनिकाल र तरबारले गर्दा मर्नेछन्। तिनीहरू यरुसलेमका सडकहरूमा फालिनेछन् अनि तिनीहरूलाई गाड्ने कोही हुनेछैन।+ ती मानिसहरू, तिनीहरूका पत्नी र छोराछोरी सबैले यही दुर्दशा भोग्नेछन्। म तिनीहरूमाथि यो विपत्ति ल्याउनेछु; तिनीहरू यसैको लायक छन्।’+
१७ “तिमीले तिनीहरूलाई यसो भन्नू,
‘मेरो आँखाबाट रातदिन आँसुको धारा बगोस्+
किनकि मेरो प्रजाकी कुमारी छोरीलाई कुल्चीमिल्ची पारिएको छ।+
उसलाई गम्भीर चोट लागेको छ।
१८ बाहिर खुला ठाउँमा गएर हेर्दा
तरबारले काटिएकाहरू मात्रै म देख्छु।+
अनि सहरभित्र आएर हेर्दा
भोकमरीको कारण मानिसहरू रोगले ग्रस्त भएको देख्छु।+
त्यहाँका भविष्यवक्ताहरू र पुजारीहरू अनजान ठाउँतिर लागेका छन्।’”+
१९ के तपाईँले यहुदालाई सधैँको लागि तिरस्कार गर्नुभएको हो? वा सियोनलाई घृणा गर्नुभएको हो?+
निको नै नहुनेगरि तपाईँले किन हामीलाई घायल पार्नुभयो?+
हामीले शान्ति छाउने आशा गरेका थियौँ तर केही पनि राम्रो भएन,
अवस्था सुध्रिएला भन्ने आशा गरेका थियौँ तर आतङ्क पो मच्चियो!+
२० हे यहोवा! हामी दुष्ट हौँ भनेर हामी स्विकार्छौँ,
हाम्रा पितापुर्खाका अपराध पनि हामी स्विकार्छौँ।
हामीले तपाईँविरुद्ध पाप गरेका छौँ।+
२१ आफ्नो नामको खातिर हामीलाई नत्याग्नुहोस्।+
आफ्नो गौरवशाली सिंहासनलाई तुच्छ नठान्नुहोस्।
हामीसित गरेको करार सम्झनुहोस्, त्यसलाई खारेज नगर्नुहोस्।+
२२ जातिजातिका व्यर्थका मूर्तिहरूले झरी बर्साउन सक्छन् र?
अथवा के आकाश आफैले पानी बर्साउन सक्छ र?
हे यहोवा, हाम्रा परमेश्वर! त्यसो गर्न सक्ने त तपाईँ मात्र हुनुहुन्छ।+
हामी तपाईँमै भर पर्छौँ
किनकि यी सब गर्ने तपाईँ नै हुनुहुन्छ।
फुटनोटहरू
^ वा “रोगले।”